सुप्रसिद्ध इञ्जिनियरिङ कलेजबाट डिग्री लिएको रमेशले निजी संस्थाको आकर्षक जागिर छाडेर निजामती सेवामा प्रवेश गर्नुको एउटै मात्र कारण थियोः देशको विकासमा महत्वपूर्ण योगदान पुर्याउने इच्छा।
उसो त देशको विकास ठ्याक्कै कसरी हुन्छ, कसलाई नै पो थाहा थियो र?
त्यसमाथि प्राविधिक कर्मचारी, जसलाई न त सेवा प्रवेश तालिम दिइएको हुन्छ, न त निजामती सेवामा आवश्यक पर्ने भाषा र प्रशासनिक विषयमा नै दख्खल हुन्छ, त्यस्तालाई त नो चान्स।
तर लगनशील भएर काम गरे, मन, कर्म र वचन सफा राखे, र अनुभवी हाकिमहरूले भनेको माने एकदिन अवश्यै सफल भइन्छ भन्ने रमेशलाई विश्वास थियो।
यसरी हाकिमसँग सहकार्य गर्ने, इख नराख्ने र हाकिमले भनेको कुरा गुरूवचन सरी मान्ने रमेशको संकल्प पदस्थापनाको पहिलो दिन मै तब चकनाचुर भयो जब हाकिमले उसलाई आफ्नो कार्यकक्षमा बोलाएर मुस्कुराउँदै भने, “ल रमेशजी, आका गर्नुहोस्।”
आ… का?
हाकिमले भनेको सुनेर रमेशको मुख यसरी खुल्यो कि मानौं कसैले उसलाई “सानदार” मोमो पसलको दुई वटा मोमोको डल्ला एकैचोटि अटाउन कति मुख बाउनु पर्छ भनेर सोधेको होस्।
सुरूमा कन्फ्युज भएको रमेश विस्तारै डराउन थाल्यो। हाकिमले कसरी थाहा पाए!? साँच्चै भन्ने हो भने बिहान गेडा-गुडीको तरकारी खाएदेखि उसको पेट गुड-गुड गर्दै थियो। हाकिमले डाक्नुअघि पनि ऊ कति खेर टेबुलको साइडमा बस्ने पाण्डेजी बाथरूमबाट निस्केलान् र म जाउँला भनी कुरेर बसेको थियो।
अचानक रमेशको मनमा चिसो पस्यो। कतै पंखाको आवाजको आडमा कसैले नसुन्ने गरी त्यागेको अघिको अपानवायु हाकिमको कोठासम्म त आइपुगेन!?
‘सर…’ रमेशले रातोपिरो हुँदै भन्यो, ‘आइ एम सो सरी सर।’
उसको कुरा सुनेर अघिसम्म मुस्कुराइरहेका हाकिमको मिजास बदलियो र उनले केही चिसो हुँदै भने, ‘हेर्नुस् रमेशजी, भर्खर-भर्खर सेवामा आउनु भएको छ त्यसैले पहिलो र अन्तिम चोटि भन्दैछु, यस्तो गर्न थाल्नु भयो भने कार्यालयको काम गराईमा प्रतिकूल असर त पर्छ-पर्छ, कर्मचारी स्वयं आफूले पनि दुःख पाउनु पर्छ।’
रमेश अब विश्वस्त भयो। हाकिमले कार्यालयलाई नै प्रतिकूल असर पर्छ भनिसकेपछि त पक्कै पनि नराम्रै गरी गएको हुनुपर्छ। उसले लजाउँदै भन्यो, ‘हुन्छ सर। अहिले पाण्डेजी गर्दै हुनुहुन्छ, उहाँको सकिएपछि म जान्छु।’
हाकिमले फेरि आश्चर्यचकित हुँदै सोधै, ‘अनि के भयो त रमेशजी? पाण्डेजी आफ्नो गर्नुहुन्छ, तपाईं आफ्नो गर्नुस् न।’
कार्यालयमा भएको बाथरूम छाडेर फेरि अर्को कता खोज्न जानु र भन्ने सोच्दै रमेशले भन्यो, ‘हैन सर, पाण्डेजीलाई कुरौं न।’
हाकिमले आँखा यस्सो घुमाउँदै सोधे, ‘आज बिहान त्यो फलानो ठेकेदार आएको थियो हैन?’
‘हजुर सर,’ रमेशले बिहानै सुट-बुटमा आएको मान्छे सम्झिँदै भन्यो।
‘अनि अहिले पाण्डेजी ढोका-सोका लगाएर निकासाको काम गर्दै हुनुहुन्छ?’
अचम्मको छ प्रशासकीय भाषा पनि, रमेशले मनमनै सोच्यो। त्यस्तो क्रियालाई पनि कस्तो शिष्ट तवरले भन्न सकेको।
रमेशले जवाफ दियो, ‘हजुर सर, निकासा गर्दै हुनुहुन्छ।’
हाकिमले फेरि इन्ट्रेस्टेड भएर सोधे, ‘अनि तपाईंलाई पाण्डेजीले यसरी गोप्य भएर काम गरेको कस्तो लागिरहेको छ त?’
रमेशले नबुझेर सोध्यो, ‘स्वभाविक हैन र सर?’
हाकिम थोरै हाँस्दै सोध्न थाले, ‘स्वभाविक नै मान्नु हुन्छ? केही समस्या छैन तपाईंलाई?’
रमेशलाई अचम्म लाग्यो, ‘मलाई किन समस्या हुनु र सर। मैले पनि त आखिर त्यसरी नै गर्ने हो।’
अब भने हाकिम पूर्णरूपमा प्रसन्न भइसकेका थिए, ‘धन्न तपाईं व्यवहारिक हुनुहुँदो रहेछ रमेशजी। अब तपाईंको भर्खर पोस्टिङ भएको, के था कस्तो हुनुन्छ भन्ने लाग्यो नि! फेरि आजकालका ठिटाहरू हेर्नुस्, को कस्ता को कस्ता भन्नै सकिँदैन। तपाईं चाहिँ हाम्रै विरादरी पर्नु भयो, मलाई खुसी लाग्यो।’
रमेशले पनि गम्भीर भएर सोच्यो। साँच्चै नै सबैमा यस्तो व्यवहारिकता हुँदैन। पहिले डेरामा बस्दा ढोकै नलगाई बाथरूम जाने उसको बुढो घरबेटीको दिव्य दर्शन सम्झिँदा अहिले पनि रमेशलाई बान्ता आउला जस्तो हुन्थ्यो।
हाकिमले फेरि भने, ‘तपाईं चिन्ता नगर्नुस्, म पाण्डेजीसँग कुरा गर्छु। आखिर तपाईं पनि हामीजस्तै हुनुहुँदो रहेछ, अब उहाँलाई पनि ढुक्क हुन भन्छु। हेर्नुस् रमेशजी, मेरो स्पष्ट फण्डा छ। मन मिलिसकेपछि त्यसरी ढोका लगाएर, गोप्य रूपमा, कसैले देख्ला कि, सुन्ला कि भनेर किन गर्नु? यहाँ हामी सबै एउटै परिवार हैनौं र? म त भन्छु कोही कर्मचारीले कोही कर्मचारीसँग यस्तो कुरा लुकाउनु हुन्न र सकेसम्म त सबै जनाले मिलिजुली गर्नुपर्छ।’
आफूलाई २१ औं शताब्दीको अति-लिबरल मान्ने रमेश पनि एकछिन अक्क-न-वक्क पर्यो,
‘ढोका नलगाई? सबैजना मिलिजुली गर्ने सर?’
उसको हिचकिचाहट बुझेर हाकिमले भने, ‘हो त रमेशजी। म अन्य कार्यालयमा देख्छु, यसले थाहा पाउला कि, उसले थाहा पाउला कि भनेर कर्मचारीहरू तनाव लिएर बस्छन्। कुन बेला कसले माथि कुरा लाउँछ भनेर डराउँछन्।’
रमेशले पनि यस्सो माथि हेर्यो र मनमनै सोच्यो, सरकारी कार्यालय बस्ने भवनमा पनि घरबेटीले पानी फारु गर्न भन्दा रैछन्।
हाकिम उता भन्दै थिए, ‘त्यसैले रमेशजी, यो कार्यालयमा हामी सबै मिलिजुली गर्छौं। म पाण्डेजीलाई पनि आज ब्रिफ गरिदिन्छु। त्यतिञ्जेल तपाईंलाई अप्ठ्यारो लाग्छ भने यहीँ सोफामा बसेर गर्नुस्।’
रमेशको सातोपुत्लो उड्यो, ‘यै सोफामै गर्ने सर!!?’
‘अँ त। ल लिनुस् यो पत्र,” हाकिमले एउटा कागज थमाउन खोज्दै भने, “यसमा छिटो आका गर्नुस्।’
‘नाईं सर, प्लिज सर, पाण्डेजीको सक्की नै त हाल्यो। उहाँ निस्केपछि आरामले गरौंला न,” रमेशले आत्तिँदै भन्यो र पत्रबाट हात पन्छायो।
हाकिमले यो देखेर भने, “ए बाबा, कस्तो जिद्दी गरेको? पाण्डेजीको अहिले सकिँदैन क्या, उहाँको आजको निकासा अलिक ठूलै छ।”
रमेशले आत्तिँदै वरपर हेर्यो, हाकिमले बाथरूममा सिसिटिभी पो राखेका छन् कि क्या हो?
“तपाईंलाई कसरी थाहा भयो सर?” उसले सोध्यो।
“उहाँले धेरै समयदेखि होल्ड गरेर राख्नु भएको छ नि त, उहाँलाई समय लाग्छ,” हाकिमले भने।
रमेशले फेरि अचम्मित भएर सोध्यो, “किन होल्ड गर्नुभएको र सर?”
हाकिम झर्किए, “कस्तो किन? मैले भनेर नि। यो अफिसमा, कस्ले कतिञ्जेल होल्ड गर्ने, कति बेला निकासा गर्ने, सबै मैले नै फैसला गर्छु बुझ्नुभयो?”
“अनि अरूले मान्छन् सर तपाईंले होल्ड गर्न भन्दा?” रमेश तीनछक्क पर्यो। कस्तो ठाउँ हो यार! होल्ड नै गर्न लाइदिने? कन्सटिपेसन हुँदैन? स्वास्थ बिग्रिँदैन? फेरि कस्तो मान्छे रैछ पाण्डेजी पनि? आफ्नो विवेक भन्ने पनि कुरा हुन्छ नि, यत्तिकै हाकिमले भन्यो भनेर होल्ड गरिदिने?
“किन नमान्नु? कार्यालयमा हाकिमले भनेको नमाने दुःख पाइन्छ बुझ्नु भयो? ल यो सब कुरा छाड्नुस्, तपाईं खुरुक्क या बसेर सुरू गरिहाल्नुस्। पाण्डेजीको बाटो हेर्न थाल्नु भयो भने अबेर हुन्छ। उहाँको आजको निकासा कठिन छ। उस्तै परे मेरै सहयोग लिनुपर्ने हुनसक्छ।”
के सहयोग? कस्तो सहयोग? सोचेरै रमेशलाई फनफनी चक्कर आइसकेको थियो। त्यसमाथि हाकिम कुर्सीबाट उठेर ऊ भएतिर लम्किँदै थिए। रमेश आत्तिएर काप्न थाल्यो “आज त वित्यास नै पर्ने भयो। यी हाकिमले सोफामै गराई छाड्ने भए।”
त्यत्तिकैमा बाहिरबाट फट्याक्क गरेको आवाज आयो र रमेशको खुसीको सीमा रहेन। द्रौपदीको चीरहरण भइरहँदा भगवान् श्रीकृष्ण प्रकट भएपछि द्रौपदीलाई जस्तो महशुस भएको थियो, रमेशलाई पनि बाथरूमको ढोका खुलेको आवाजले त्यस्तै महशुस भयो।
धन्य प्रभु धन्य! भन्ने सोच्दै रमेश, “पाण्डेजी निस्किनु भयो! पाण्डेजी निस्किनु भयो!” भनेर चिच्याउँदै हाकिमको कोठाबाट फरार भयो।
बल्ल-बल्ल खाली भएको बाथरूम छिरिसकेर विसर्जनासनमा बसिसकेपछि रमेशले मनमनै दुई वटा निर्णय लियो। पहिलो, पाण्डेजीलाई निकासामा प्राय: समस्या पर्ने भएकोले एक बट्टा फाइबर किनेर उपहार दिने।
दोस्रो, अब उपरान्त अपानवायु त्याग्दा कम्तिमा पनि कार्यालयको १ किलोमिटर पर गएर मात्रै त्याग्ने। नत्र के थाहा हाकिमले फेरि सोफामै गर् पो भन्ने हुन् कि? त्यै पनि रमेश ढुक्क नै थियो, हाकिम थोरै नमूना परे त के भयो? कमसेकम भ्रष्टाचारी त परेनन्।