कविता
रैतीको आँखामा त्यो सेतो हात्ती कस्तो छ-
‘पुट्ट भुँडी –घोसे अनुहार
बिस वर्षदेखि हाँस्न बिर्से जस्तो’।
आहा! त्यो सेतो छाला
हो त्यो सेतो नै हो के,
मानौं रंगले आफ्नो अस्तित्व खोजे जस्तो
सेतो बाहेक त्यो सबै रंगको जस्तो देखिन्छ-
‘खरानी, खैरो र कुनाकाप्चामा लुकेको कालो पनि’।
आमा भन्नुहुन्थ्यो-‘कपडालाई इज्जत दिए पो कपडाले इज्जत दिन्छ’।
तर,
यहाँ सेतोलाई सेतो बनाइराख्नुमा कसलाई के-को चासो
कुर्सीमा बस्ने बित्तिकै विद्वान हुनेहरूको,
दिनभरि रैतीको दमाहा बजेको- बज्यै
त्यो दमाहाको उत्तर दिने साहस भए पो,
नैतिकता र उत्तरदायित्वलाई तिलाञ्जली दिई
पद मोहमा लिप्त सेतो हात्तीहरूको।
नयाँ काम एकचोटि लगाई त हेर्नुहोस्,
नौलो सुरूआत एकचोटि गराई त हेर्नुहोस्,
ओठ लेप्र्याउँदै मुन्टो बटार्छन्,
मुखले चाहिँ-‘हवस्, भैहाल्छ नि हजुर!’
छुट्टै दुनियाँ – छुट्टै ध्रुव अरे,
फरक सोच - फरक शैली अरे,
यथास्थिति वा भूतप्रभावी सोच राख्छन्,
अनि
बच्चा हात्तीलाई चाहिँ-‘रूपान्तरण यसरी गर अरे’।
दुनियाँ चन्द्रमा ऊ चाहिँ निन्द्रामा भन्थे,
नाकको डाडीमा चस्मा राखी यसो हेर्दै
गर्छन् कि त्यो आँखाले सारा संसार चिने जस्तो,
भागवद् गीता भन्छ- ‘अन्तर आत्मालाई उत्तर दिन सक्नुपर्छ’।
माउतेले हात्तीलाई किन थाङ्गने बनायो अब चाहिँ हामीले बुझ्नैपर्छ,
वन पाले दाइ भन्नुहुन्छ- ‘हात्ती कस्तो बनाउने माउतेको हातमा हुन्छ’।
यहाँ त हात्तीले चाहिँ माउतेको रंग-ढंग रचे जस्तो,
‘थाङ्गने हात्तीहरू कसरी तह लाउने’- भनि माउते सम्मेलन भयो अरे।
‘हात्तीहरूलाई ठेलेर-पेलेर गलाउने’- भनि मूल माउते अघि सर्यो अरे।
‘माउ हात्तीले पनि गहनाको लोभमा परी’- कानमा तेल हाल्यो अरे।
पहलमान हात्ती क्लब पनि माउते शक्ति सामु झुक्यो अरे।
जसको स्मरण शक्तिको गाथा सारा दुनियाँले गाउँ1छ-
के उसले ठेलेको-पेलेको- धोका खाको यस्तो सजिलै बिर्सेला?
माउतेले हात्ती डोर्याउने हो, हात्तीले खेल देखाउने हो।
हात्तीले खेल देखाउन नसके माउतेले तालिम र दाना बदल्नुपर्छ,
हात्तीलाई उचित तालिम दिन माउते आफैं पनि अनुशासित हुनैपर्छ,
माउतेको हात्तीले नटेरे उसले ध्रुवे हात्तीको उपमा लिनुपर्छ,
हात्तीकै हातमा छ उसले थाङ्गने भई रैती आतंकित बनाउने
वा,
कर्तव्य राम्रो देखाई रैतीबाट प्रसंशित चरित्र कमाउने।
उद्देश्य एउटे छ सुन्दर खेला देखाउने,
चाहना एकै छ रैतीको मन खुसाउने,
मलाई लाग्छ- माउते र हात्तीले सम्मान र सह-अस्तित्व खोज्नैपर्छ
किनकि,
माउतेले हात्ती चढ्नै पर्छ।
हात्तीले माउते बोक्नै पर्छ।।