धेरै महिनापछि सुनुलाई मुनुको फोन आयो। साथीको फोन आउँदा सुनु निकै खुसी थिई। साँझ सात बजेतिरको समय थियो।
धेरैपछि फोनमा कुरा गर्न पाएका उनीहरूले निकैबेर कुरा गरे।
‘खाना खायौ त?’ कुराको शिलशिलामा मुनुले सोधी।
‘छैन, छोरा छोरीहरूले त खाए मैले खाछैन’ अलि मलिन स्वरमा सुनुले भनी।
‘भिनाजू आउनु भा’छैन? भिनाजूलाई पर्ख्या होला’ मुनुले आफैं प्रश्न गरेर आफैं उत्तर दिई।
‘हैन, आइसक्नु भयो’ सुनुको स्वर अझै पनि त्यस्तै मलिन सुनिन्थ्यो।
‘अलि ढिलो खान्छौ जस्तो छ नि? हाम्ले पनि ढिलै खान्छौं कहिलेकाहीँ त खाइसक्दा राति दश बजिसक्छ’ मुनुले एकै पटक प्रश्न र टिप्पणी गर्दै भनी।
‘हैन। साँझ खान पाए पो खानु? मैले त साँझ खानै छोडिसके’ सुनुले आफ्नो व्यथा सुनाई।
‘किन मीठो लाग्दैन र?’ कुरो खोतल्दै मुनुले फेरि सोधी।
सुनु सानैदेखि नै खानाको मामलामा अलि अप्ठ्यारी थिई। सानामा उसले भान्टा, स्कुस, नरिचो, कुन्द्री, तिते करेला केही पनि खाँदैनथी। अहिले पनि सायद खाना छानी छानी खाने बानी छुटेको छैन होला भन्ने मुनुले अड्कल गरी।
‘हैन, मीठो त लाग्छ तर खान पाए पो खानु? खान पाए त अहिले मासु र भात एक माना सकाउँथें। तर के गर्ने, भाग्यमा पेटभरि खान लेखेको रहेनछ’ सुनुले भनी।
उसको स्वरबाट उसको पीडा सजिलै सुन्न सकिन्थ्यो।
साथीले पेटभरि भात पनि खान नपाउने स्थितिमा पुगेको त्यो दुर्दशा सुनेर मुनुको मन एकाएक चिसो भयो, नरमाइलो लाग्यो।
कुनै दिन आफूभन्दा अगाडि बढी भनेर उसको डाहा गर्ने मुनु सुनुको त्यो अवस्था थाहा पाएपछि एकाएक दुखी भई- आफ्नो मिल्ने साथी आफू भन्दा सबै कुरामा पछाडि नै होस् भन्ने प्रायः सबैले चाहन्छन् तर आफू भन्दा धेरै पछाडि पनि नपरोस् भन्ने चाहना हुँदो रहेछ भन्ने कुरा मुनुलाई पहिलो पटक थाहा भयो। साथीको दु:खमा उसको मुटु चस्कियो।
सुनु र मुनु सानैदेखि सँगै खेले हुर्केका साथी हुनाले निकै मिल्थे, सुख दु:खका कुरा सबै खोल्थे। मुनुको अलि छिटो बिहे भएको थियो। माइती नजिकै एकजना चिनेका जमिनदारको छोरासँग उसको बिहे भएको थियो।
गाउँको जिन्दगी भए पनि प्रसस्त जग्गा जमिन थियो, काम गर्ने मान्छे थिए। कुनै कुराको दुख थिएन। सुनुले पनि मुनुजस्तै दुलाहा पाए आफ्नो जिन्दगी पनि आरामले बित्थ्यो होला भन्ने आशा गरेकी थिई।
तर सुनुको काठमाडौंमा बिहे भयो। काठमाडौंमा बिहे भएपछि मुनुले आफूले सुनुको भन्दा राम्रो दुलाहा र घर पाएको ठानेकी थिई। काठमाडौं बिहे भएपछि सुनुको आफ्नो भन्दा राम्रो जिन्दगी भयो भन्ने मुनुलाई पनि लागेको थियो।
तर पछि काठमाडौंमा आफ्नै घर रहेनछ, डेरा गरेर पसेका पूर्व २ नम्बरका पहाडे रहेछन् भन्ने थाहा पाएपछि मुनुको मन अलि शान्त भएको थियो।
सुनुका लोग्नेले निजी कम्पनीमा काम गर्थे। कमाई राम्रै थियो तर न त काठमाडौंमा आफ्नो घर न त सरकारी जागिर, त्यसमाथि काठमाडौंको खर्च, जिन्दगी कठिन नै थियो।
मुनुले गाउँमै बसे पनि आफूलाई सुनुभन्दा भाग्यमानी ठानेकी थिई। बिहे भएको १२- १३ वर्षपछि उसले काठमाडौंमा घर बनाएकी छ रे भन्ने सुनेपछि मुनुलाई फेरि अलिकति डाहा लागेको थियो। अरूसँग नभने पनि मुनुसँग भने सुनुले सबै कुरा खोलेकी थिई- ऋण लिएर घर बनाएकी रहिछ।
तर सुनुको एक पेट खान पनि नपाउने स्थिति होला भन्ने मुनुले कल्पना पनि गरेकी थिइन। तर के गर्ने कोरोनाले सबैको आर्थिक स्थितिमा असर पारेको थियो। विशेषगरी सहरमा बस्ने र काम गरेर खाने समूहको त बेहाल नै बनाएको थियो।
सायद सुनुको पनि त्यही हालत भएको होला भन्ने उसले अड्कल काटी। सुनुका दुलाहाले आफ्नै ट्राभल एजेन्सी चलाउँथे। कोरोनाले गर्दा व्यवसाय चौपट हुने नै भयो, त्यसमाथि कर्मचारीहरूलाई तलब दिँदा, घर बनाउँदाको ऋण तिर्दा, छोराछोरीको स्कुलको फि तिर्दा कतिसम्म टिकोस्? तर आधा पेट खानुपर्ने स्थिति नै आउला भन्ने उसलाई लागेको थिएन।
काठमाडौंमा बसे पछि त्यहाँको बेफाइदा भनेको त्यही हो। एउटा घर र जागिरको भरबाहेक केही हुँदैन जागिर यताउता भयो भने सुनुको जस्तै भोकै बस्नु पर्ने स्थिति आउँछ।
काठमाडौंमा विभिन्न संस्थाले खाना खान पैसा नहुनेको लागि सार्वजनिक रूपमा खाना खुवाएको समाचार मुनुले देखेकै थिई। तर विचरी सुनु, आफ्नो इज्जतले गर्दा त्यस्तो ठाउँमा गएर खान पनि लाज मान्दी हो।
मानिस पनि अचम्मको प्राणी हो- आधा पेट खाएर बस्न तयार हुने तर इज्जतको चाहिँ ख्याल राख्नु पर्ने। त्यो मानेमा उसले आफूलाई निकै भाग्यमानी ठानी- कम से कम भोकै त सुत्नु पर्दैन।
दुई वर्ष पहिले दसैंमा माइत टीका लगाउन जाँदा सुनु र मुनुको भेट भएको थियो। त्यो बेला सुनु निकै ठाँटिएर गएकी थिई।
सुनका पहेंला गहनाले ऊ झकमक्क फुलेकी थिई। उसको पातलो जिउडाल पनि निकै आकर्षक देखिएको थियो। उसको सिलिक्क परेको सुन्दर शरीर देख्दा मुनुले आफ्नो मोटो भद्दा शरीरप्रति मनमनै घृणा गरेकी थिई।
तर सुनुको त्यो दुब्लो शरीर त विचरी पेटभरि खान नपाएर पो रहेछ कि जस्तो मुनुलाई बल्ल शंका लाग्यो। अनि ती सुनका गहना पनि नक्कली सुनका गहना थिए होलान् भन्ने शंका गरी।
सहरियाहरू बाहिर देखाउने एउटा, भित्र वास्तविकता अर्कै हुन्छ भन्ने मुनुले सुनेकी थिई, सुनुको हाल देखेर सही हो जस्तो लाग्न थाल्यो।
सुनुको ‘खान पाए त अहिले मासु र भात एक माना सकाउँथे’ भन्ने वाक्यपछि फोनमा केही समय सन्नाटा छाएको थियो।
त्यही सन्नाटाको बीचमा मुनुको दिमागमा त्यति धेरै कुरा खेलेका थिए। साथीको त्यस्तो स्थितिमा के भन्ने के भन्ने थाहा नपाएर अलि अप्ठ्यारो मान्दै फोनको सन्नाटा तोड्दै मुनुले सहानुभूतिको स्वरमा सोधी,‘अनि खाली पेट सुत्दा राति भोक लाग्दैन त?’
‘लाग्छ नि, तर लागेर के गर्नु? सहनु पर्छ। निकै भोक लाग्यो भने राति उठेर फ्रिजबाट दूध निकालेर ओभनमा तताएर खान्छु अनि सुत्छु। के गर्ने दुब्लाउनको लागि के के गर्नु पर्दो रहेछ। तै पनि ६० किलोमा झर्ने लक्ष्य अझै पूरा भएको छैन’ सुनुले भनी।
‘के दुब्लाउनको लागि खाना खान छोडेको?’ सुनुको उत्तरले झस्केकी मुनुले अचम्म मान्दै सोधी।
आफ्नो त्यो बेला सम्मको अड्कल सबै गल्ती निस्केकोमा मुनुलाई आफैंमाथि लाज लाग्यो अनि केही निमेष अगाडिसम्म सुनुप्रतिको उसको सहानुभूति अचानक फेरि डाहामा परिणत भैसकेको थियो।