ऊ यसरी रमाउँथी, मानौं मसँग रहँदा संसारको सारा खुसी पाउँछे। मानौं मभित्र छन्, उसका खुसीहरू ।
‘मसँग रहँदा कति धेरै खुसी हुन्छौ है तिमी,’ अचानक म उद्वेलित भएँ।
लसताले दुई औंला ओठतिर तेस्र्याई। दुई वटा औंलाले तल्लोपट्टिको ओठ च्यापी।
‘मन परेको मान्छेसँग त हो नि दिल खोलेर रमाउने !’ लसताको अनुहारमा रक्तमिश्रत आभा छायो। अनुहारमा खुसी बाक्लिन थाल्यो, क्रमशः
आइतबार भेट्ने साइत जुथ्र्यो, हामीलाई। प्रायः हप्ताको सुरूआती दिन रोटरी क्लबको बैठक हुन्थ्यो।
‘बैठक दुई दिन गर्न पाएँ हुने !’ अक्सर म सोचिरहन्थें।
उसको मनले पनि त्यस्तो केही सोच्दो हो। हप्ताको पहिलो दिन रोटरीकै मिटिङमा भुलिनुपथ्र्यो। दोस्रो दिन भए भेट्ने र अन्तरङ्ग कुराकानी गर्ने मौका मिल्दो हो।
त्यो चाहिँ शनिबारको दिन थियो। १५ दिन अघिकै सल्लाह थियो, नगरकोट जाने।
‘अब, हामी विवाह गर्ने नि !’ लसताले साविककै वाक्य दोहोर्याई।
नगरकोटबाट देखिने हिमश्रृंखलातिर आँखा नियाल्दा उसका आँखामा सपनाको झुल्के घाम उदाइरहेको थियो।
‘अनि ती हिमाल जसरी नै सँगै रहनुपर्छ,’ उसको आँखामा लाङटाङकै छायाछवि देखियो।
ठमेलको हिमालय जाभाको भेटमा लसताले भनेकी थिई ‘तिमीसँग विशेष कुरा गर्नुछ,’ कौतुहलताले भरिएको थियो, मन। त्यसदिन जति कर गर्दा पनि उसले कुरा उम्काइनँ।
‘अर्को, शनिबार नगरकोट जानुपर्छ घुम्न, त्यही दिन भन्छु,’ बिन्तीभाउ नै गर्न थालेपछि, उसले भनेकी थिई, “विशेष कुरा मात्रै होइन, योजना पनि हो त्यो।”
त्यसपछि मेरो काम दिन गन्ने रह्यो। शनिबार आउन पनि एकजुग लागेझैं प्रतीत भयो। निकै अत्यास लाग्यो, “कहिले आउला त्यो शनिबार ? के होला त्यस्तो विशेष कुरा।
मनमा खुल्दुली चलिरह्यो। लसताले यसरी कहिल्यै जिज्ञासु बनाएकी थिइन मलाई। कतै नराम्रो पो छ कि विशेष कुरा। मन काँपेको थियो, उस्तै।
नगरकोट पुगेपछि हिमालझैं छर्लंग भयो– विवाहको कुरा पो रहेछ।
लसता नेवारकी छोरी। म शेर्पाको छोरा। उसको र मेरो जात मिल्दैन। लसता न्युरोडको सम्पन्न परिवारमा हुर्किएकी केटी। उसको र मेरो आर्थिक हैसियत मिल्दैन। हिमालको काख सोलुको विकट गाउँमा हुर्केको केटा म। उसको र मेरो रहनसहन मिल्दैन।
ऊ र मबीचमा नमिल्ने कुरा धैरै छ। मिल्ने कुरा सीमित छन्। माया, हिमाल चढ्ने उत्कट अभिलासा, साथीत्वमात्रै मिल्छन्, हामीबीच।
‘तिम्रो घरमा माग्न आउँदा दिन्छन् त मलाई ?’
‘मैले तिमीसँगको प्रेमबारे अहिलेसम्म बुबाममीलाई मुख खोल्न सकेकी छैन।’ लसताले गम्भीर आँखाले मेरो अनुहार नियाली।
लसता र मेरो मुटु जोडिएको तीन वर्ष भयो। एकअर्कालाई असाध्यै माया गर्छौं। साथी भन्दै धेरैपटक लसताको दैलो कुल्चिएको छु।
‘ह्वाँ दोर्जी,’ मुसुक्क हाँस्दै चिनाउँथी लसताले।
साथी भनेको सुन्नेबित्तिकै उसका बाबुआमा पनि पुलकित हुन्थे।
व्यवहारको मामिलामा नौनी लाग्छ उसको परिवार। तर, जातको मामिलामा उस्तै कठोर छ रे ! र त, उसले मुख फोर्न सकेकी छैन– “मेरो मन शेर्पासँग नारिएको छ” भनेर।
जातको मामिलामा मेरो परिवार पनि पाषाण नै हो। आमा अक्सर भनिरहनुहुन्छ, “बिहे केटीसँग मात्रै होइन, जातसँग पनि गर्नुपर्छ। सिउँदोमात्रै हेर्ने होइन, जात पनि विचार पुर्याएस्।”
आमाको मन पगाल्ने काइदा मसँग थियो। तर, उसको परिवारलाई मनाउने अस्त्र उसँग थिएन। ऊ हिमाल चढ्न लालायित थिई। तर, जातको पर्खाल नाघ्ने हिम्मत थिएन।
“मैले घरमा दाइ भनेर चिनाएँ। बोलाउँदा पनि घरमा दाइ नै भने। शंका नै कहिल्यै गरेनन् बुबाआमाले। न आफन्तले नै शंका गरे। अनि कहिल्यै मिलेन प्रेमको कुरा गर्ने मौका ?” लसताको रक्तिम अनुहारमा क्रमशः निराशाको रङ बाक्लिँदै गयो।
“फेरि तिम्रो र मेरो प्रेमको कुरा घरमा थाहा भयो भने त ?” उसका आँखा अताल्लिए। ओठमा भयको तुफान चल्यो।
“के हुन्छ र ? तिम्रो र मेरो विवाह हुँदैन त उसोभए ?” म बोल्दै थिएँ। मुड्कीले पक्क तिघ्रामा हानी लसताले। मुखमा हात ल्याएर राखी। कुममा टोकेजस्तो गरेर ठुस्स रिसाई ऊ।
“लु, लु नरिसाऊ। माग्न आउँछु म तिम्रो घरमा। तर हाम्रो पढेलेखेको छोरी तिमीजस्तो केटालाई दिन्छु भन्दै लखेटे भने नि ?’ ओठ हाँसे पनि भित्री चेष्टा उसलाई फकाउने थियो।
“त्यसो त नगर्लान्। तर, हिजोआज धेरै ठाउँबाट कुरा आइरहेको छ। मेरो बिहे अरूसँगै गर्दिन सक्छन्। बिहे नगरे पनि तिमीसँग घुम्न भने अवश्य पठाउलान्। अनि हामी के गर्ने ?” यसपटक ऊ साँच्चै निराश देखिई।
‘तिमी साँच्चिकै सिरियस ?’ लसताको गम्भीर अनुहार नियालें मैले।
ऊ आकाशतिर आँखा हेर्दै कुन्नी केके सोच्दै थिई।
“तिम्रो यही जिस्कने बानी मन पर्दैन। जस्तो कुरा पनि सामान्य ढंगमा लिन्छौ, सिरियसनेस भन्ने कुरा नै छैन तिमीसँग।” उसले मेरो कुरामा गम्भीरता खोज्न थाली।
“अनि अरू के मन पर्दैन न त ?”
“रिसाएपछि धेरैबेर नबोली बस्छौ, यो पनि कत्ति मन पर्दैन मलाई” ऊ क्रमशः ठुस्किँदै गई।
“अनि अरू ” मैले उनको मन उत्खनन् गर्न थालें।
“मोटरसाइकल बढी कुदाउँछौ” उसले असन्तुष्टिका चाङ थप्दै गई।
“अनि अरू ?” म पनि कहाँ रोकिएको थिएँ र।
“मलाई सधैं कुराउँछौ,” उसले भेट भएयताका असन्तुष्टि थुपार्दै थिई।
“अझै सकिएन मन नपर्ने बानीको सूची ?”
“जहिल्यै हतारिन्छौ। बेलाबेलामा कपाल बिगारी दिन्छौ। खोज्दै जाने हो भने धेरै छन् तिम्रा नराम्रा बानी” उसले अनुहारको भाव अझै बिगारी।
“ए मन पर्ने चाहिँ भन्नु पर्दैन ?” म लाडिएँ।
“तिम्रा चिम्सा आँखा। थेप्चो नाक। ठाडो कपाल। हँसिलो अनुहार” उसले हातले नाक चुँडुँलाझैं गरी।
“अनि अरू ?” मैले जिस्किने उपक्रम त्यागेको थिइनँ।
“तिम्रो माया। तिम्रो केयर। तिम्रो बानी असाध्यै मनपर्छ। यसैले त तिमीलाई बिर्सन सक्दिनँ। प्लिज अब त सोच बिहे गर्ने कुरा,” उसले मन पर्ने कुराको पनि उरूङ लगाइदिई।
ऊ जतिबेला पनि बिहेकै कुरामा लगेर कुरा टक्क अड्याउँथी।
उसले मेरो चाहिँ के कुरा मनपर्छ भनेर समेत सोधिनँ। मभन्दा लसता निकै फरवार्ड थिई। अनुहार पनि उस्तै स्मार्ट।
मलाई चाहिँ मिस प्रेमिका लाग्थ्यो। सायद दिलमा रानीको कोठा जमाएर बसेकी भएर होला।
“काठमाडौंमा मेरो घर छैन। गाउँमा पनि सामान्य परिवारको केटा हुँ। तिमी न्युरोड जस्तो ठाउँको सम्पन्न परिवारमा हुर्किएकी मान्छे ! देलान् के ?” मैले उसलाई सम्झाउन खोजेजस्तो गरी मन चोर्ने दुस्साहस बटुलें।
“काठमाडौंमा घर भएको मान्छेले गाउँका घरसँग सम्बन्ध गाँस्न लागेको पनि होइन। मैले तिमीसँग विवाह गर्ने हो, तिम्रो सम्पत्तिसँग होइन। तिमी जोडें भने सम्पत्ति त तु जोडिहालिन्छ नि !” मैले सम्झाउन खोजेको तर उल्टै मलाई नै पो बुझाई।
ट्रेकिङ गाइड म। सिजनका बेला पर्यटकको पथप्रदर्शक।
अफसिजनमा चाहिँ लसतासँग काठमाडौंका डाँडा डुलेर समय व्यतीत गर्थें।
लसताको जीवनमा कुनै कुराको अभाव थिएन। मेरो मायासमेत थपिएपछि ऊ पनि एकप्रकारले पूर्ण नै भएकी थिई।
कहिलेकाहीँ सोच्थें– ठूलो घरानीयाकी छोरी। सपना पनि ठूलै होलान् उसका। सपनाभन्दा पनि ठूलो रहेछ मन। उसले मजस्तो सानो मान्छेसँगै खुसी हुने बाटो रोजी।
उसले मलाई गरेको माया र विश्वासमा नै जीवन अड्याउने आधार थियो। तर, म संकटमा थिएँ। न म बिहे गर्नको लागि उसको घरमा जान सक्थें, न त उसलाई भगाउन नै।
प्रायः जिन्दगी दोमनमा बाँच्छ।
विकल्प खोज्नु थियो मलाई।
सम्झिएँ– अघिल्लो वर्ष एभरेष्ट बेसक्याम्पको पाहुना बनेर आएकी थिइन्, म्यारी ड्याना। अमेरिकन नागरिक उनी १४ दिन ट्रेक गराउँदा नेपाली भइहालिन्।
“नेपालीको माया–ममता पाएकाले होला मन त नेपाली पो भएछ, जहाँ पुगे पनि तँलाई सम्झन्छु” उसले हिँड्ने बेलामा भनेकी थिई।
अमेरिका पुगेपछि पनि सम्बन्धमा गोडमेल गर्न भुलिनँ। पैसा हालिदिई रही। त्यसैले त काठमाडौंको डेरामा ग्यास बलेको थियो।
यो कुराबाट लसता पनि कहाँ पर थिई र ! उसलाई मैले गुमराहमा राख्न पनि त सक्दिनथें। किताबझैं खुलस्त पारेको थिएँ।
“म्यारी ड्यानालाई स्पोन्सर गर्न लगाएर अमेरिका जाऊँ, अनि त्यहीँ बिहे गरौं” बेलाबखत यस्तो उट्पट्याङ आइडिया लसताको दिमागमा पनि आउँथ्यो। हाँस्दै सुनाउँथी।
उसले हाँस्दै सुनाए पनि मलाई भने गज्जबको आइडिया लाग्थ्यो। अमेरिका गएर बिहे गर्ने योजनामा मेरो मनले सहीछाप धस्कायो।
बिहे गर्न पहिला म अमेरिका पुग्नु पर्दथ्यो। अमेरिका पुगिने हो कि होइन, मेरो मन अन्योलको भूमरीमा थियो।
तर, लसताचाहिँ अमेरिका पुग्नेमा ढुक्क थिई। पढ्ने बहानामा अमेरिका जाने सपना देखिकी थिई उसले।
भिसा पाउनेमा पनि ढुक्क थिई। लसतालाई पनि मेरै चिन्ताले पिरोलेको थियो।
“अमेरिका पुगेपछि विवाह गरेर सँगै बसिन्छ। परिवारलाई पछि जानकारी गराए पनि हुन्छ” लसता भावनामा बहकिन्थी र मलाई तरङ्गित तुल्याउँथी।
मैले लसताकै लागि भए पनि अमेरिकाको भिसा कोशिस गर्नु थियो। म्यारीलाई सबै कुरा बताएँ। उसले स्पोन्सर पनि गरी। कागजपत्र धेरै जुटाउनु पर्यो। कतिपय कागज त मलाई थाहा नभई लसताले नै तयारी गरी।
जुन २४ तारिख। अन्तर्वार्ता मिति।
१५ दिनअघिदेखि ऊ मन्दिर जान थालेकी थिई। मलाई पनि त मन्दिर जानु भनिरहन्थी।
“मन्दिर गएर, लसतालाई मेरी बनाई दिनु भन्नु हो? ” म आफूलाई फगत ख्याल ठट्टामा व्यस्त राख्थेँ ।
ऊचाहिँ ठुस्किन्थी मात्रै ।
“के भन्नु त, तिमी सिकाऊ ” मुसुक्क हाँसिदिन्थे ।
“अमेरिकाको भिसा लागोस्। लसतासँग अमेरिका गएर विवाह गर्न पाइयोस्,” भगवानसँग प्रार्थना गर्नु भनेर खुसुक्क कानमा भन्थी, ऊ।
बिहान ७ बजे। हरेक दिन फोनमा लसताको घण्टी बज्थ्यो। फोन उठाउने बित्तिकै मन्दिरमा बजेको घण्टीको आवाज कानमा ठोकिन्थ्यो।
“कहाँ छौ ?” यो आवाजले सिरक पन्छाउन बाध्य बनाउँथ्यो।
बालाजुमा बस्थें म। दैनिक स्वयम्भू जानु भनेकी थिई लसताले।
“स्वयम्भू,” म लसतालाई झुक्याउन खोज्थें।
“अमेरिकाको भिसा लागोस्। लसतासँग अमेरिका गएर विवाह गर्न पाइयोस्, भनेर आशीर्वाद माग्नू है,’ उसको फोनमा आग्रहभन्दा ज्यादा माया प्रकट हुन्थ्यो। भेट्दा पनि उसको कुरा भिसाकै हुन्थ्यो।
“जसरी नि तिमीले भिसा पाउने गरी अन्तर्वार्ता दिनुपर्छ है,” ऊ मलाई बेलाबेलामा भनिरहन्थिई, “घरमा बिहेको कुरा आइरहेको छ, सक्दो चाँडो हामी विवाह गर्नुपर्छ !”
“मेरो हातमा छ र भिसा?” हाँस्दै भन्थें म।
ऊ न परिवारको नाक काटेर भाग्न चाहन्थी। “भागेर पनि जाने ठाउँ कहाँ छ र ?” ऊ भन्थी, “परिवारको नाक काटेर गयो। फेरि यहीँ त आउनुपर्छ, भोलि कुन मुख लिएर फर्कनू!”
“भाग्दा अमेरिकै जाने। नेपालभित्र त भाग्दै नभाग्ने।” लसता विवाहको योजना सुनाइरहेकी हुन्थी।
हो पनि मैले पनि भगाएर लसतालाई कहाँ पो लैजान सक्छु र! मैले भिसा नपाउँदा ऊ धेरै निराश हुन सक्थी। त्यसपछि उसले के सोच्ने हो, मलाई नै पत्तो छैन। लसतालाई सम्झाउनु थियो मलाई।
“भिसा न तिमीसँग न मसँग। पाए जाउँला, नपाए यहीँ रमाउँला” म भन्थै जान्थें।
“तिमीले तयारी पनि गरेका छौ। भगवानलाई पनि उत्तिकै प्रार्थना गरेका छौ” भिसा पाउनेमा ऊ ढुक्कै थिई।
“मसँग अर्को आइडिया पनि छ। भिसा सजिलै पाइन्छ” उसको दिमागमा नयाँ आइडिया विचार तरङ्गित भयो।
“के होला भिसा सजिलै पाइने आइडिया ?” मैले जति सोधे पनि लसताले भनिन।
अन्तर्वार्ताको बिहानै उसले मलाई न्युरोड बोलाई।
“केही नखाई आउनू। ड्रेसअप, डकुमेन्ट बोक्नु त भन्नु नपर्ला,” उसले सम्झाएकी थिई।
अमेरिकन एम्बेसीमा टेक्ने दिन। उस्तै परे अमेरिका जाने बाटो खुल्ने दिन। फुरूङ्ग थिएँ म। उस्तै गद्गद् पनि। न्युरोड आएर फोन डायल गरें। बिनाअवरोध फोनको घन्टी बज्यो।
“संकटा मन्दिर आऊ,” उसले दुई रिङ जानसाथ फोन उठाइ र यत्ति भनी।
मन्दिरमा दर्शनार्थीहरू खचाखच थिए। त्यही भीडमा थिई लसता पनि। एउटा हातमा थाली थियो। अर्को हातमा लड्डुको बट्टा पनि।
“यति धेरै लड्डु किन नि ?”
“मन्दिरमा चढाउन,” उसले भनी ।
लाइनमा एक घण्टा टाँगियौं। मन्दिरमा दुवै जनाले लड्डु चढायौं, एक सय आठ।
“भिसा पाइयोस् भनेर माग है,” मन्दिरमा पनि कानमा साउती मारी उसले।
“एक सय आठ लड्डु चढाएपछि गणेशले चिताएको पुर्याउँछन्,” नेवारहरूले विश्वास गर्छन्।
लसताले लड्डु चढाएपछि निकैबेर हात जोडिरही। अमेरिकी एम्बेसीभन्दा भगवान ठूलो भयो उसको लागि।
“गणेशले त लड्डु खाएर पुराउने भए सबै मानिस अमेरिका पुगिसक्थे,” मैले मनमनै सोचें।
मलाई चाहिँ अमेरिकाले भिसा देला जस्तो लागेको थिएन। लसताको लागि भए पनि मैले भिसा पाउनु पर्दथ्यो। भगवानसँग मनमनै प्रार्थना गरें, “आज भिसा पाइयो भने भोलि फेरि १०८ लड्डु ल्याएर आउँनेछु !”
घडीमा ८ बजिसकेको थियो। लसता तयारी भएर आउन घरमा गई। ऊ हतारिएकी थिई। मानौं, एक सेकेन्ड ढिलो भएमा हवाई जहाज छुट्छ।
घ्याच्च स्कुटी रोकी। स्कुटीको पछाडि बसेर एम्बेसी गएँ अन्तर्वार्ताको लागि। मनमा ढुकढुकी बढ्न थालेको थियो। अन्तर्वार्ता बिग्रिन्छ कि भन्ने डर लागेको थियो। ऊ एम्बेसी बाहिर बसी कुरेर। अन्तर्वार्ता दिनेहरूको लाइन थियो मन्दिरमा भन्दा चर्को। मानौं न सबै अमेरिका होइन, सपनाको लोक जान हतारिइरहेका छन्।
एक घण्टापछि पालो आयो अन्तर्वार्ताको।
ऊ बाहिर कुरेर बसेकी थिई। अन्तर्वार्ता सकेपछि हाँसो थाम्न सकिनँ मैले। हाँस्दै निस्किएँ बाहिर।
लाइनमा बसेकाहरू भिसा पाइएको संकेत गरिरहेका थिए। मुन्टो हल्लाएर उत्तर दिएँ।
मेरो अनुहारमा देखिएको खुसी उसको आँखामा पनि जुधे। “बधाई छ, डियर,” उसको अनुहार निकै चहकिलो देखियो।
मलाई चाहिँ झन् हाँसो उठ्यो, खित्का परपरसम्म उछिट्टियो।
“किन हासिँरहेछौ तिमी ?” लसता मेरो हाँसोको तात्पर्य बुझ्न चाहन्थी।
म केही बोलिनँ। फगत हाँसिरहेँ। उसले सोही प्रश्न दोहोर्याई।
“एक सय आठ लड्डुले काम गरेन,” उसले म हाँस्नुको उत्तर पाई। भिसा नपाएकोमा प्रष्टपछि निरास भई ऊ। स्कुटीमा आएर बसी। अनि भनी, “धेरै नसोच, हिँड् जाऊँ। बस छिटो।”
म उसलाई छोइएला जसरी स्कुटीमा बसें। उसले सकुन्जेल स्कुटीको एक्सुलेटर बटारी।