म यो बन्द कोठामा एउटा कुनामा सिरक ओडेर भित्ताको आड लिएकी छु। बत्तीले आफ्नो उज्यालो दिइरहेको छ। कीर्तिपुर, यो सुनसान चिसो वातावरणमा कयौँ रात यही भित्ता, बत्ती र ऊसँग गन्थन गरेर बित्छ।
ऊ सदैव मेरो साथमा हुन्छु भन्छ। मेरो छातीमा टासिन खोज्छ। ऊ मेरै छेउमा आएर मलाई सान्त्वना दिदै भन्छ, 'चिन्ता नगर न ए!’ निदाउन नसकेको देखेर होला ऊ पनि चिन्तित देखिन्छ, किनभने भोलिपल्ट उसले धेरै कुराहरू सुझाउनु छ मलाई।
उसले मलाई सदैव साथ दिन्छ तर म भने संसारिक मायामा फसेर उसको मायालाई बेवास्ता गरिरहेछु। म त नदेखेको र नसुनेको जस्तै गर्छु। उसले भन्छ, ‘पाउनु मात्र माया होइन, गुमाउनु पनि माया हो।
माया कसैलाई पाउने आशामा हुँदैन न त गुमाउनु पर्ने चिन्तामै हुन्छ। स्वच्छन्द हुन्छ, माया स्वतह हुन्छ जहाँ कुनै प्रोमिसको आवश्यक पर्दैन। माया त्यो स्फटिक हो जस्लाई कुनै स्पर्श को जरुरी हुँदैन।
हृदयदेखि नै लिन हुनु नै वास्तविक प्रेम हो। उसले अझै थप्छ वास्तविक प्रेम सर्बत्र हुन्छ। तिमी नजिक हुँदा जति माया हुन्छ, दूरी बढे पनि उत्तिकै हुन्छ। तनको पो दूरी बढ्छ, मन त तिमीसँगै हुन्छ तिमी सधै मेरै आसपास भैरहन्छौ।'
यसरी उसले प्रेमको अर्थ बुझायो मलाई। सायद ऊ मलाई अत्यन्त चाहन्छ तर म भने आफ्नै पिर, आफ्नै व्यथा र विगत सम्झेर बसिरहेकी छु। न त कसैलाई प्रेम गर्न सक्छु न त कसैले आफूलाई गरेको प्रेमलाई म भने सदैव चिन्तित, निराश भएर उसलाई एक्लो पारिरहेछु।
तर ऊ कहिल्यै एक्लो देखिदैन थियो, सधैँ पूर्णिमाको जुन जस्तै मुस्कुराइ रहन्थ्यो। त्यसैले गर्दा कताकता म उसकै समीप हराएको महशुस हुन्थ्यो।
अब आशावादी हुनुपर्ने भयो, तिमीले गरेको प्रेमको कदर हुनुपर्छ। तिम्रो प्रेमको प्रस्ताव सहर्ष स्वीकार छ। आऊ अब खुलेआम एकअर्कालाई प्रेम गर्दै मनका वेदना भावना साटौँ।’
म लठ्ठिन्छु, अर्धबेहोस हुन्छु। तिम्रो झझल्कोमा हराएर बेखबर हुन्छु दुनियाँसँग। मदिराभन्दा पनि कडा हुँदो रहेछ नि तिम्रो मात। मदिरा त पिउन छोडेपछि मात उत्रदो रहेछ। तर, तिम्रो प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदो रहेछ। नशा रहेछ नशा।
नसोचेको कहाँ हो र? स्मृतिका पत्रहरु छर्दै तिमीसामु आइपुगूँ, अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेखूँ।
जहाँ हाम्रो प्रेममय कथा सार्वजनिक होस्।
एनिवे, छोडौँ यी रामायण,
मलाई धेरै माया गर्ने मेरो मायालु 'किताब', अबका दिन तिमीसँग हाँस्दै अविस्मरणीय बनाएर बिताउनेछु। तिम्रो छायाँमा नै यो जिन्दगी समर्पित गर्छु। हाम्रो प्रेमको फूलबारी रगीचंगी बनोस्। यो कोपिलाइरहेको अनुराग फक्रियोस् र सर्वत्र अनुराग छरोस्, मेरो कामना यही न हो।
मेरो जीवन जे जस्तो छ, आनन्द र मुक्तिले भरिपूर्ण छ, चिन्ता छैन, तनाव छैन। एक एक क्षण जीवनका गीत गाउन योग्य छन्। मैले हिँडेको जीवनको यो बाटो किताबहरूले कोरिदिएका हुन्। तिनै भित्रका स-साना अक्षरहरु मेरो हाँसोको कारण बन्छन् आजकाल।
फिर्ता आएका किताब यसो निकालेर पल्टाउँछु। कुनै बेलाका प्रेमीहरूले मन पराएका हरफ, पक्कै मेरो बारेमा सोचेका हुँदा हुन् ती हरफहरूमा रंग पोत्दै गर्दा। आजभोलि पुराना किताब पल्टाउँदा पानाहरू भित्र सरस्वतीलाई चढाएका फूलका थुंगा, कसैले जमानामा माया गरेर दिएका मयुरका प्वाँख, मिठो स्मृति बोकेका एल्बम हुन लाग्छ।
किताब उपहार दिनेहरू सुन्दर हुन्छन लाग्छ मलाई। किताबको बिच्चमा सुटुक्क मेरो नामसँग प्लस फलानो गरेर नाम लेखिदिने दिने साथी पनि कहाँ बिर्सन सक्छु र!
जब म तिमीमा घोत्लिइ महान् व्यक्तिको जीवनी तथा लेखकद्वारा लेखिएको आख्यान पढ्छु, मेरा जीवनमा आउने कुनै पनि प्रकारको समस्यामा किताबमा बताए अनुसारको अनुभवलाई आफूमा लागु गर्न कोशिश गर्छु। यसैले मलाई आफ्नो समस्याको हल गर्नको लागि धेरै कुराको मदतका साथै नयाँ नयाँ चुनौतिको सामाना गर्ने प्रेरणा पनि मिल्दछ।
तिमीले नै सिकाएको हो नि सपना देख्न। तिमी नै हो प्रकृतिको आदर गर्न अह्राउने। यस्तै कुराले त हृदय न्यानो हुँदो रहेछ।
एउटा विद्वानको सुझाव अझसम्म ताजा छ। 'बाँकी जे जति गर्नु छ गर्नु। किताब पढ्न नछोड्नु। जे पाइन्छ पढ्नु। एउटा किताब सुरु गरेपछि त्यसैले अर्कोतर्फ लिएर जाने रहेछ एकएक किताब अनि जीवनमा एक एक झ्याल बनेर खुल्ने रहेछन्।'
अब मेरा रात, मेरा चिन्तन, मेरा विचार अनि मेरा भावना सबै तिमीलाई नै सुनाउँला। तिमीसँगै रमाउँला, यो जिन्दगी अब तिमीलाई समर्पण गरुला। प्रेमले मानिसलाई परिवर्तन गराउँछ भन्थे, साच्चै गराउने रहेछ। तिम्रो प्रेममा शक्ति हुनुपर्छ।
मेरी प्यारो किताब, अब तिम्रो र मेरो प्रेमको चर्चा चल्छ र हाम्रो प्रेम जगतका लागि उदाहरण बन्नेछ अनि सबैले हाम्रो मायाको अनुशरण गर्ने छन्।