बिहानीको
सुनौलो किरणसँगै
चियाको चुस्की लिदै गर्दा
तिमीले
आलिसान महल भित्रबाट पठाएका
आश्वासनका आकाशवाणीहरु
पिउदैंछन्, अमृत मानेर
निर्दोष किसानहरु।
सरकार! मेरो बिन्ती छ,
रगत र पसिना छर्दै
खाना, नाना र छानाको लागि
आशाका थोपाहरु
वाश्पिकरण गर्दै
वास्तविकताको वर्षात् गराउन खोज्ने
ती किसानहरुले
आँसु छर्दै
तिमीलाई श्राप दिनु नपरोस्!
अनि,
माफियाले फुकेका
बेलुनको हावाले
तिम्रो श्वास-प्रश्वास नचलोस्
र,
उनैको वैशाखी टेकेर
उभिने तिम्रा गोडाहरुले
ती गरीब किसानहरु माथि
कहिल्यै लात नहानुन्!
प्रकृतिले नि:शुल्क दिएको
आफ्नो जीवन पनि
तिमीसँग भिख मागेझैं
सडक भर्नुपर्छ भने
सरकार! मेरो बिन्ती छ,
यदि,
मर्नु नै पर्छ भने
बरु म मरौंला
तर
मेरो देशमा
न्याय कहिल्यै नमरोस्!