पलपलमा जिन्दगीले, धोका मात्रै दिन्छ किन
सफलताको कुरै छैन, जाँच मात्रै लिन्छ किन!
जुन फूल टिप्न खोज्छु मैले, किरा मात्रै हुन्छ किन
खुसी दिने बहानामा पीडा मात्रै दिन्छ किन!
सवाल मात्रै खडा हुन्छन्, जवाफ कोही दिन्न किन
भित्र भित्रै टुट्यो यो मन जे गर्दा नि रुन्न किन!
जसलाई मैले आफ्नो ठान्छु, उही पराइ हुन्छ किन
सानो चोट ठूलो बनी दु:ख मात्रै दिन्छ किन!
जहाँ टेक्छु, जसलाई भेट्छु, उही बिरानो हुन्छ किन
बीच बाटोमै तड्पाएर, छुट्टै यात्रा चुन्छ किन!
यति ठूलो संसार पनि, सुनसान झैँ लाग्छ किन
जता हेर्छु भिडै देख्छु एक्लिए झैँ लाग्छ किन!
अतीत सम्झी बल्झिएर मनको घाउ दुख्छ किन
यात्रा सहज पार्न खोज्छु अधुरो भै टुट्छ किन!