चिसो चिसो मौसममा घामको ताप मधुरो थियो। मंसिर महिनाको मध्यतिर दिन हिडिरहेको थियो। जगुमानको मन भने न्यानो थियो। त्यस्तो जाडोमा पनि मन न्यानो हुनुको एउटा कारण थियो।
ऊ छोरा बुहारीको विवाह मण्डप नजिकै उभिएको थियो। उसको सम्धीको घर आँगनमा। बुहारीको माइतीघर र छोराको ससुराली आँगनमा। आँगनभरि मान्छेहरूको भिड थियो। जन्तीहरू। माइतीका दाजुभाइपट्टिकाहरू।
बिहेको निम्तो मान्न आएका आफन्तहरू र विवाह हेर्न आएका गाउँलेहरूको भिडले खुट्टा सार्ने ठाउँ थिएन। जग्गेमा आगो बलिरहेको थियो। जग्गेको एकछेउमा घुँडासम्म पुग्ने सेतो कछाड बेरेको। दुई काँधे जनै भिरेको। गर्धनसम्म पुग्ने टुप्पी पालेको पण्डित बाले विवाहको विधिमा मन्त्र जप्दै फलाक्दै थिए।
जगुमानको छोरा विधुर र बुहारी सञ्जलाको शुभ विवाह हुँदै थियो। जगुमानको आँखाले जग्गेमा बसिरहेकी बुहारी सञ्जलाको मुहार भित्र उसकै उजेलीको रुप झल्किरहेको देख्थ्यो। उसकै उजेलीको प्रतिबिम्ब। उजेलीको न्यास्रोमा बुहारीलाई हेरे फरक नपर्ने प्रतिबिम्ब।
त्यसैले जगुमान हर्ष र विस्मत मिश्रित मुस्कान छर्दै नव बेहुला बेहुलीतिर लुकीलुकी नजर डुलाउथे। आँगनको अर्को छेउमा पञ्चे बाजाको ताल घन्किँदै थियो। बाजाको तालमा नाच्नेहरूको प्रतिस्पर्धा चलिरहेको थियो।
जगुमान खुसीले मुसुमुसु हाँस्थे र कहिले भावुक भएर रूँला झैँ गरी रुन्चे अनुहार पार्थे। तर ऊ आफैं संयमित हुन्थे। छोराको खुसीमा मुस्कुराउँथे र उजेलीको याद आएपछि उसको अनुहार बिग्रिन्थ्यो। जग्गेको नजिकै उभिँरहँदा छेउमा उभिएकाहरू खासखुस गरेको आवाज उसको कानसम्म बज्न आइपुग्थ्यो।
'बा त उहाँ जस्तो पो हुनुपर्छ। सन्तानको खुसीको खातिर आफ्नो वैँशालु योवनको मतलब नगर्ने।' कसैले भन्दै थिए, 'हाम्री छोरी सञ्जला भाग्यमानी हुन्। उनी बिहे भएर गए पनि कर्मघरमा छोरी भएर बस्न पाउनेछे। असल ससुरा पाइ।'
प्रशंसकहरूको यस्तै कुरा सुनेर आनन्द माने। बुहारीको माइतीहरुसँग नयाँ साइनो मिलाउदै चिन्ने र चिनाउने काम पूरा भयो। विवाहको सबै रित र प्रकृयाहरू पूरा गरे। दाइजो केही पनि नलिने सहमति भएको थियो। तर निम्तो मान्न आउनेहरूले ल्याएको केही गर्धुवा र खामबन्दी उपहारहरू जम्मा भएको थियो।
माइतीहरूको मुहार निन्यौरो देखिन्थ्यो। त्यही घर आँगनमा ताती गर्दै खेलेर हुर्केकी एक चेलीलाई पराइको हातमा जिम्मा लगाएर कर्मघर पठाउँदै थिए। बेहुलापट्टिको मुहार सबैको उज्यालो र खुसी देखिन्थ्यो।
रात छिप्पिँदै जान लाग्दा जुनकिरीको बत्तीलाई ओझेल पार्दै गाडीले बत्तीको उज्यालो प्रकाश छर्दै बेहुला बेहुली सहित बाजा घन्काउँदै जन्ती लिएर बाटो लाग्यो। माइती गाउँ विस्तारै मधुरो हुँदै नजरबाट आलप भयो।
जन्तीहरू अवेला मात्र घर आइपुगेको थियो। सामाजिक रीतिरिवाज र संस्कार पूरा गरेर बेहुली भित्र्याउने काम सकियो। जन्तीहरू एकछिन नाचगान गरेर आ-आफ्नो घरतिर लागे।
'बुवा, हजुर पनि सुत्नुस्। बिहानैदेखि खट्नु भएकोले थाक्नु भएको छ' नौली बुहारीले मायालु र नम्र भएर बिन्ती बिसाइन्।
'हुन्छ बुहारी, सुत्छु अब। तिमीलाई यो घरकी बुहारी बनेको देख्न पाउँदा खुसीको सीमा छैन' जगुमान नरम स्वरमा बोले।
'यो त मेरो अहोभाग्य हो बुवा। हजुरहरूको छत्रछायाँमा सधैँभरि रमाइ रहन सकूँ’ मनोकांक्षा दर्शाउदै बोलिन्।
जगुमानको आँखा निन्द्राले पिरो पिरो हुन थाल्यो। छोरा बुहारीलाई सुत्न अह्राएर आफू पनि एउटा अम्खोरामा पानी लिएर कोठातिर लाग्छ। नव बेहुला र बेहुली आफ्नो शयन कक्ष तिर लाग्छन्। जगुमानले ढोका बन्द गर्छ। दिउँसो छोराबुहारीको विवाह मण्डपको नजिकै उभिएको स्मृतिपल आँखा अगाडि आएर घुम्न थाल्छन्।
ऊ एकटकले ती सिलसिलाहरू नियालीरहन्छ। आँखाको अगाडि कृत्रिम पर्दा लगाएर हेरिरहन्छ। सरसर्ती बिहानदेखि राति सम्मको श्रृङ्खलाहरू एकपछि अर्को हुँदै दोहोरिन्छ। त्यसपछि जगुमानको एकजोर आँखाहरू भित्तामा मुस्कुराइरहेको प्राणप्यारी पत्नी उजेलीको तस्बिरमा गएर टक्क रोकिन्छ।
ऊ तस्बिर नजिकै सर्छ। बत्तीको उज्यालोमा उजेलीको तस्बिर उज्याली रहेको हुन्छ। साँच्चै उजेली, नाम जस्तै उज्याली थिइन्। हाँस्दा दायाँपट्टिको गालामा डिम्पल पर्थ्यो। असाध्य राम्री नारी। मिजासिली, संस्कारी र सबैकी प्यारी। गाउँलेहरू कसैको आँखामा नबिझाउने असल बुहारी थिइन्।
जगुमानको जिन्दगीको प्रकाश। सुख दु:खको सहयात्री। जगुमान तस्बिरलाई हेरेर बोल्न थाल्छ।
'हेर उजेली, हाम्रो छोरा विधुरले आज बिहे गर्यो नि! तिमी जस्तै सुन्दर र असल छोरी सञ्जलालाई आज बुहारीको रुपमा भित्र्याएको छु। आज म धेरै खुसी छु। तिमी भएकी भए अझ कति खुसी हुन्थेँ हुँला। उजेली, तिम्ले देख्यौ होला नि बुहारीलाई? देख्यौ? कि तिम्ले माथिबाट देख्न नसकेनौ?' बोल्दा बोल्दै ऊ त्यही भक्कानिन पुग्छ।
सुकसुकाउन थाल्छ। रुवाइको आवाज छोराबुहारीले नसुनोस् भनेर आफैँ भित्र दबाउन प्रयास गर्छ। उसले उजेलीको तस्बिरलाई सुस्तरी सुम्सुमाउँछ। उसको हातहरू उजेलीको गाला हुँदै छाती भएर तल झर्छ। हातका औंलाहरू तस्बिरभन्दा तल पुग्दा खङ्ग्रङ्ग झस्किन्छ। र वास्तविक अवस्थितिमा आएर अडिन्छ।
जगुमान निदाउन सुस्ताउँछ। तर निन्द्रा फिटिक्कै लाग्दैन। विगतका स्मृतिहरू मानसपटलमा सलबलाउन थाल्छन्। र सम्झिन पुग्छ ती पीडादयी विगत। छोरा विधुर जन्मेको साल। पच्चीस वर्ष पुरानो त्यो कालो दिन। सोच्नै नसक्ने घटना। भुल्छु भन्दा पनि भुल्नै नसक्ने त्यो मुटु छियाछिया पार्ने घटना।
गाउँलेलाई रोपाइको चटारो थियो। पानी बर्सिने र रोकिने ठेगान थिएन। गाउँलेहरू सबैजसो दिनभरि मेलापातमा बेँसीतिरै हुन्थे। रातमा थकित ज्यानलाई विश्राम गर्न मात्र अँध्यारोमा घरमा आइपुग्थे।
उजेलीको पेट बढेर आज हो कि भोलि भैरहेको थियो। गाउँमा यातायातको सुविधा थिएन। स्वास्थ्यको नाममा सिटामोल र जीवनजल पनि धौ धौले पाउने उपस्वास्थ्य चौकी मात्र थियो। बाटो घाटो पानी परेर कतै पहिरोले कतै बाढीले छेकेको हुन्थ्यो। असारको महिना मानो खाएर मुरी फलाउने सपना बुनेर गाउँलेहरू काममा जोतिदै थिए।
आकाश अध्याँरो थियो। आकाश रोइरहेको थियो। आँसु बर्सिरहेको थियो तप्प तप्प। कसैले रिस उठाएको हुनु पर्छ। ठुस्स हुन्थ्यो आँसु बर्साइ हाल्थ्यो। जगुमानको मन त्यसरी नै अनियन्त्रित थियो। कहिले खुसीले रमाउथ्यो। कहिले कतै विपत परे के गर्ने होला सोचेर अतालिन्थ्यो। लोग्ने अतालिएको देखेर गर्भवती उजेलीले सम्झाउँथिन्।
त्यही असार महिनाको एक रात उजेलीलाई व्यथाले च्याप्यो। गाउँमा राखेर ठिक होला नदेखेपछि गाउँका युवाहरू सबैसंग गुहार मागेर बजारको ठूलो अस्पतालसम्म लैजाने तयारी गर्यो। घर कुर्ने र बस्तुभाउ हेर्न गाउँलेलाई जिम्मा लगाए। सुत्केरीलाई डोली जस्तो कपडाले झुलुङ्गो बनाएर बोक्दै बाटो लाग्यो।
आकाश रोइरहेकै थियो। आकाशबाट बर्सिएको आँसुले बाटो चिप्लो थियो। टर्चलाइटको उज्यालो सहाराको भरमा घण्टौं बोकेर गाडी बाटोसम्म निस्कँदै थिए। उजेलीलाई व्यथाले झन् साह्रो च्याप्न थाल्यो। सुत्केरी हुन नसकेर छट्पटाउन थालिन्।
एउटा चौतारीमा बिसाएर सुसार गर्न गएका महिलाहरूले स्याहार सुसार गर्न थाले। धेरै लामो प्रयासपछि बच्चा जन्मियो। छोरा जन्मियो। आमाको जस्तै अनुहार परेको बच्चा। जगुमान औधी रमायो। तर उसको खुसी क्षणिक बन्न पुग्यो। उसको मुहारमा अडिरहन मानेन। उजेलीको रक्तस्राव रोकिन जानेन।
गाउँमा चलन चल्तीमा गरेको र जानेको जति जडिबुटीदेखि हरेक जुटाउँदै खुवाएर रक्तस्राव रोक्ने जुक्ति गरे। तर बीसको उन्नाइस भएन। लगातर रक्तस्राव भएपछि बिहानको मिर्मिरेमा उजेलीले सबैसँग बिदा लिएर सधैँको लागि आकाशतिर बाटो लागिन्। जगुमान मुर्छा पर्यो।
जगुमानले सन्तान पाए तर जीवन सांगिनी सधैँको लागि गुमायो। छोरोलाई के खुवाएर बचाउने हो? कसरी हुर्काउने होला चिन्ताले सताउन थाल्यो। दिनहरू एकपछि अर्को हुँदै जटिल बन्दै गयो। न गाइ भैँसीको दूध छ न त हेरचाह, स्याहार गर्ने कुनै महिला छन् घरमा। जगुमानको जिन्दगीमा अप्ठ्याराका भित्ताहरू पर्खाल बनेर उभिन आयो।
त्यही दुखदायी समयमा गुज्रिरहेको बेला जगुमानले पण्डित बोलाएर छोराको चिना हेराएर दशा ग्रह खुट्याउन र नाम जुराउन मन गरेन। उसलाई मन लागेको विधुर नाम आफैले जुराइ दियो।
दिन सकिँदै अँध्यारो भएर रात पर्थ्यो। आमा खोजेर छोरा छटपटाउँदै रुन्थे। आमा मरेर गए पनि यो हाम्रो प्रेमको निशानीलाई बचाउनु पर्छ सोंचेको थियो। जसरी हुन्छ, उजेलीले छोडेर गएको नासोलाई बचाई राख्ने आफ्नो कर्तव्य मान्थे। तर शिशु रोएर न जगुमानलाई चैन थियो न त नजिकैका छिमेकीहरूलाई नै।
बच्चा मात्रै रोएन त्यहाँ। बच्चासँगै बा पनि धेरै रात रोए। त्यसपछि जगुमान समेत आजित हुन थाल्यो। छोराको चित्कार रुवाइ सहन नसकेर एकदिन जगुमानले जिन्दगीमा कठोर निर्णय गर्न पुग्यो। सोच्नै नसक्ने अकल्पनीय निर्णय गर्यो।
साउन महिनाको अन्तिम अन्तिम दिन थियो। खोलाले वैँश हालेको थियो। वरपर हुँदै खोलाको खोर ढाकेर बढेको थियो। आकाश रोइरहेको थियो। त्यसरी पानी रोकिन नजानेर बर्सिएको देखेर जगुमानले सोच्ने गर्थे, 'मेरी उजेली रुँदै छिन्। मसंग बिछोडिएर एक्लै माथि जानूुपर्दा असह्य भएर रोइरहेकी छिन्।'
दिउँसो एउटा कागजको पानामा केही किरिङ मिरिङ शब्दहरू कोरे उसले। त्यो कागजको टुक्रालाई आँटीमा राखेको बाकस माथि पट्याएर राख्यो। रात छिपिँदै गयो। जगुमानले आङमा छोरा बोकेर घरको दलिन नजिकै उभियो। उसले आँखा छिम्लेर एकपटक दाँत टोक्यो। छोरो रुँदै थिए।
ऊ पनि रुँदै बोल्यो, 'मेरी उजेली, म एक्लैले यो हाम्रो मायाको निशानीलाई सम्हाल्न नसक्ने भएँ। छोराको चित्कार रुवाइ सुन्न नसकेर हार खाइसकेँ। बच्चाको लागि त आमा नै चाहिदो रहेछ। बाबा नभए बरु शिशुहरू सजिलरी बाँच्न सकिन्छ होला। तर आमा बिना बाँच्न बच्चाहरूलाई मुस्किल हुँदो रहेछ। यस्तै तीतो विवस्ताहरू तिम्ले छोरा दिएर गएपछि भोग्दैछु उजेली। म छोरालाई साथमा लिएर तिम्लाई भेट्न छिट्टै आउँदैछु। पर्खिबसे है।'
बच्चालाई काखमा च्यापेर धरधरी रोइरह्यो। टर्चलाइट निकाल्यो। नयाँ ब्याट्री फेर्यो। शिरदेखि पाउसम्म ढाक्ने गरी ओढ्ने प्लाष्टिक तयार पार्यो। घरको ढोका लगायो। त्यही बेला गोठको गाई करायो। गोठतिर हेरेर एक तुरुक्क आँसु खसाल्यो। गाउँलेहरूले चाल नपाउने गरी आधा रातमा खोलातिर पाइला बढायो।
घरबाट केही पर पुगेपछि जङ्गल हुँदै ओरालो बाटो लाग्नु छ। जताततै पानी बगेको आवाज मात्र सुनिन्थ्यो। बाटो छेउछाउ बारीका अन्नबाली र वनजङ्गलका रूख रूखका पातहरूमा पानीको थोपा बर्सिँदा पर आवाज आउथ्यो। आफूले ओढेको प्लाष्टटिक माथि उहीँ आवाज बजिरहन्थ्यो।
टर्चलाइटको सहारामा बाटो पहिल्याउँदै जगुमान छोरालाई बोकेर खोलामा हाम फाल्न निस्केर जाँदै थियो। आकाश अँध्यारो छ। चकमन्न छ। काहीँ कतै जूनकिरीहरूले प्रकाश फ्याँकी दिन्थे। ऊ एकनासले हिडिरह्यो। आङमा छोरा रोइरहेको थियो। बाटो छेक्ने आँसु धारा झरेर बा पनि रूँदै हिडिरहेको छ।
छोराको एकतमासको रुवाइसँगै खोला नजिक नजिक हुँदैछ। उसले सोच्छ, मृत्य मेरै आसपास आइसकेको छ। जगुमान खोलाको तिरमा पुग्यो। खोला बडेमानको सर्प झैँ खोरै भरिएर लम्पसार विछ्याएर उर्लिरहेको थियो। उसले वरिपरि नियाल्यो। कुन ढुङ्गाबाट हाम फाल्ने ठाउँ खोज्न थाल्यो।
छोरोलाई पहिले फाल्ने कि सँगसँगै हाम फाल्ने उसको मन भित्र विवाद चर्किन थाल्यो। अन्तत: छोरोलाई बोकेरै हाम फाल्छु भनेर टुङ्गो लगायो। र फेरि उसले स्व. पत्नी उजेलीलाई सम्झ्यो। र रुँदै बरबराउन थाल्यो।
'उजेली, तिमी साथमा भएकी भए यो मनलाई ढुङ्गा जस्तै कठोर पारेर यस्तो निर्णय गर्ने नै थिइनँ। तिमीलाई मारेर त मैले पाप गरेँ। आज अर्को पाप गर्दैछु उजेली! केहीछिनमा निर्दोष छोरोलाई मार्दैछु। म पापी हुँ! म पापी हुँ उजेली!'
उसले हाम फाल्न रोजेको ढुङ्गामा चढ्यो। आँखा चिम्म गर्यो। जोडले दाँत किटकिटायो। एकपटक दह्रो गरी दाँत टोक्यो। ढुङ्गाबाट उफ्रिन मात्र के खोज्दै थिए, त्यही बेला नजिकैबाट कुइँ कुइँ आवाज आएर कानमा ठोक्कियो। उसले आँखा खोल्यो। हातको टर्चलाइटको प्रकाश उतै सोझ्यायो।
आकाशमा बिजुली चम्किन्थ्यो। धर्तीको तस्बिर खिच्थ्यो। झलक्क उज्यालो प्रकाश छोड्थ्यो। जगुमानको आँखा खोलाले बगाउँदै ल्याएको कुकुर जस्तै देखिने वस्तुमा पुग्यो। त्यो एउटा प्राणी नै थियो। माथिबाट बगाउँदै ल्याएको थियो। त्यो प्राणी निस्कने प्रयास गर्थ्यो।
पाखातिर निस्किनै लाग्दा फेरि बाढीको छालले मुल धारतिरै हुत्याउँथ्यो। फेरि तैरिँदै निस्किन प्रयास गर्थ्यो। फेरि ठूलो बाढीतिरै हुत्याएर लैजान्थ्यो। जता जता त्यो प्राणी बग्दै गए। उतै उतै टर्चलाइटको प्रकाश छर्दै जगुमान खोलाको छेउछेउ दगुर्न थाल्यो। बग्दैबग्दै गएर त्यो प्राणी आखिर खोलाको एकछेउ पाखातिर निस्किन सफल भयो।
पाखामा निस्केपछि तिनले आफ्नो ज्यान झड्कार्यो। जगुमान बत्ती बाल्दै त्यसको नजिक पुग्यो। त्यो अरु केही नभएर कुकुर नै थियो। पुच्छर हल्लाउँदै उसको नजिक आएर कुइँकुइँ गर्न थाल्यो। जगुमान अचम्ममा पर्यो। उसलाई दया लाग्यो। हातले त्यसको ज्यानमा सुमसुमायो। एकछिन सुमसुमाएपछि ज्यानको पानी तर्किदै झर्यो। थोरै टाङ्ग्रिए झैँ भयो।
जगुमानले त्यसलाई छोडेर पाइला अगाडि बढाउन थाल्यो। अपरिचित त्यो कुकुर उसको पछिपछि लाग्यो। त्यत्तिबेलासम्म आङमा बोकेको छोरो रूँदा रूँदा भोकले प्याक भएर शान्तले निदाइसकेको थियो। त्यो कुकुरले गर्दा जगुमानले खोलामा हाम फाल्नै बिर्सियो। एकछिन खोलाको तिरमा उभिरह्यो।
निर्दोष छोरालाई अकालमा मार्न मन लागेन। निर्दयी योजना उल्टाएर घरतिर फर्क्यो। घरबाट निस्किदा दुई भएर गएका थिए। फर्किदा तीन भएर फर्किए।
त्यसपछि जगुमानले जति दु:ख परे पनि हरेस नखाने र दुखदयी जिन्दगी संगै संघर्ष गर्ने प्रतिज्ञा गरे। धेरै पीडा सहे। धेरै दु:खहरू पचाए। जवानी मै पत्नी गुमाएको थियो। छोराको भविष्य सोंचेर सौतेनी आमा ल्याउन मनले मानेन। मुटुको टुक्रा जस्तो छोराले टुहुरोले झैँ दु:ख पाएको हेर्न नसक्ने भएर उर्वरशील जवानीलाई सम्हालेर राखे।
बाआमालाई सन्तानको माया अथाह हुँदो रहेछ। छोरालाई एक्लै भुइँमा रोइरहेको देख्न नसकेर बोटमा घाँस काट्न चढ्दा समेत बोकेर चढ्थे। बच्चालाई हुर्काउनु सामान्य कुरो होइन भन्नेमा भुक्तभोगी बने। बा र छोरालाई बचाउने त्यो कुकुर अति बफादारी थियो। पाँच वर्षसम्म उनीहरुसंगै बस्यो।
विधुरसँगै घुम्थ्यो, खेल्थ्यो, खान्थे र रमाउथे। एकदिन त्यो पनि घरबाट गायब भयो। कहाँ गयो, फर्केर कहिल्यै आएन। धेरै खोजीनीति गर्यो पत्ता लागेन। मर्न हिडेका बा र छोरालाई बचाउने त्यो कुकुर उनीहरूको जिन्दगीको एक महत्वपुर्ण हिस्सा थियो। परिवारको सदस्य जस्तै। छोरालाई दु:ख गरेर हुर्काए। पढाए पनि। छोराले गाउँ कै स्कुलमा पढाउने जागिर पाएको थियो।
विधुरको विवाहमा सबैजना खुसी थिए। उनीहरूको वैवाहिक सम्बन्धमा आफन्त र गाउँलेहरू समेत खुसी थिए। बा खुसी नहुने कुरै भएन। जगुमानले आफ्नै मनलाई प्रश्न गर्यो, 'यो खुसीयालीमा मेरी उजेली र हराएको कुकुरलाई संगै देख्न पाएको भए अझ कति खुसी हुन्थ्यो होला?'
यस्तै सोच्दै गर्दा छिमेकीको घरमा भाले बासेको आवाज आयो, कुखुरी काँ...!