उपत्यका बन्दको घोषणा भएको बिहान ५ बजेतिर पश्चिमबाट आएको रात्रि बस कलंकीमा रोकिन्छ। खलासी जोडले कराउँछ, 'काठमाडौं आइपुग्यौं, कलंकीमा झर्नेहरु छिटो झर्नुहोस् बसपार्क पुग्न हतार भयो।'
केही यात्रुहरु सहित वृद्ध महिला पनि झरिन्। यताउता हेर्दै विद्यार्थी जस्तो युवालाई सोधिन्, 'कुलेश्वर कता पर्छ बाब'?'
युवाले 'आमा म कीर्तिपुर जाने हो, हजुर मसँगै हिडनुस्। आज उपत्यका बन्द छ। गाडी पाईदैन, म त्यतै हुँदै जान्छु।'
'भाउजू, यो गाउँमा बसेर केही होला जस्तो छैन, हामी परिवारै चितवन झर्ने निधो गर्यौं। तपाईलाई पनि सँगै लाने निधो गरियो, पाखाबारी र खेत किन्ने मान्छे पनि पाइएको छ, मूल्य पनि ठिकै दिएको छ।'
सीताको आँखामा जमनाभरिको याद सपनाको तन्द्रा बनेर आयो। ससुरा बा उनको आँगनमा बासँग छोरा थोप्ला प्रसादको लागि हात माग्दै थिए, ' मेरो बाहुनी केही गर्न नसक्ने भएर रोगी भएकी छिन्, घरधन्दा खेतिपाती बस्तुभाउ लथालिंग भएको छ। एउटा बुहारी भित्र्याउन पाए हुन्थ्यो भनेर हजुरको जेठी छोरी थोप्लेको लागि माग्न आएको, मन्जुरी भए म धन्य हुने थिएँ।'
सीता पनि सोह्र वर्ष नाघिसकेको थिइन्। स्कुल टाढैबाट मात्रै देखेको थिइन्। थोप्ला प्रसाद चौध वर्ष पूरा भएको थियो, घरबाट डेढ घण्टा टाढाको स्कुलमा कक्षा आठमा पढ्दै थियो। दुवैको विवाह भयो। जन्ती बाख्रे भोज सीताको बाले कोदोबारीमा खुवाएका थिए।
उनको विवाह भएको सालमै सासु आमा परलोक भइन्। जमनाभरिको बोझ उनको थाप्लोमा परेको ठानिन्। देवर पनि सानै थिए। उनी स्पात जस्तो मझबुत भएर घर धान्न थालिन्। थोप्ला प्रसादले एसएलसी पास गर्यो। पोखरामा क्याम्पस पढाउन पर्ने भयो।
ससुरा बा नपढाउने कुरा गर्दै थिए। सीता आफूले पढ्न नजाने पनि पढे लेखेको जान्ने बुझ्ने श्रीमान् बनाउने धोको पालेकी थिइन्। त्यसैले दुःखजेलो गरेर थोप्ला प्रसादलाई खर्च पठाउँछु भनेर ससुरा बालाई राजी गराएकी थिइन्। खसीबाख्रा र गाईभैँसीको संख्या बढाएर दोब्बर सेवा गर्न थालेकी थिइन्। थोप्ला प्रसाद पोखराको क्याम्पस पढन थाल्यो।
सदा जस्तो समय हुरुरु आएर खरुरु कहिले गयो पत्तै भएन। थोप्ला प्रसादलाई सहर बसाइले परिवर्तन गराउँदै गयो। आफ्नो उमेरकाहरुका विवाह भएका करिब करिब कसैको थिएन। त्यसैले आफू विवाहित भएको कुरा कसैलाई भन्दा पनि भनेन।
विस्तार थोप्ला प्रसादले घरबाट खर्च माग्न छोडिसकेको थियो। कतै जागिर खाएको उनले सुनेकी थिइन्। आशाको किरण परिवारमा छाएको थियो।
एकदिन अदालतबाट अंश मुद्दाको पत्र ससुरा बाको हातमा कसैले ल्याएर दिदैं सहीछाप गराएर गयो। ससुरा बाले आफ्नो भाग राखेर थोप्ला प्रसाद र देवरलाई अंश छुट्याइ दिए। थोप्ला प्रसादले आफ्नो भाग सीतालाई व्यवस्था मिलाएर लिन आउछु भनेर बेचेर गयो। ससुरा बा र देवरसँग आफै किन्ने पैसा थिएन।
समयको पदचाल नसुनिने भएकाले एक दुई हुँदै वर्षहरु घर्किदै गयो। ससुरा बा त्यसै गलेर जति सकिन्छ त्यति औषधिमुलो गर्दा तङ्ग्रन नसकेर संसार छोडनु भयो। अब देवर आफ्नो परिवार सहित भाउजूलाई सँगै लिएर चितवन बसाइ सर्ने कुरा गर्दै थिए।
आमैले युवालाई भनिन् ' कीर्तिपुरमा के गर्नुहुन्छ?'
'पढ्दैछु।'
'गाउँघरलाई माया नमार्नु।'
'म पढाइ सकेर गाउँमा विद्यालय खोल्ने योजना बनाउँदै छु।'
बल्खु आइपुगेपछि आमैलाई युवाले सोधे, 'कुलेश्वर कस्कोमा जानुहुन्छ?'
आमैले जवाफ दिन्छिन, 'थोप्ला प्रसादकोमा, चिन्नुहुन्छ?'
युवाले 'चिनजान छ, विशिष्ट श्रेणी हुँदै अवकास हुनु भएको छ। घरमा नै हजुरलाई पुर्याइ दिन्छु' भनेर कुलेश्वर तिर लाग्यो।
युवाले एउटा घरको घण्टी बजायो। भित्रबाट महिलाको कर्कश आवाज आयो, 'को आयो? हेर्नुस् त्!'
पाको पुरुषले ढोका खोल्यो। सीतालाई देखेर निधारमा चिटचिट पसिना निकालेर मूर्तिवत भयो।