हेर्दा हेर्दै
क्षण भरमै ढल्पी जाने
मेरै गालामा टिल्पिलाएका
कोमल पानीका थोपा जस्तो
क्षणभंगुर जीवनको
एक निरीह बिम्ब हुँ म।
जति सुन्दर र कोमल छ
मेरो सुवासित बाह्य रूप
त्यति नै कुरुप र कठोर छ
म भित्र अलिखित जीवन भोगाइको
आदिम दु:खको पहाड।
अजिंगरले आहारा निले जस्तो
सिनित्त निलेर
घामको प्रचण्ड अग्निज्वाला
बालुवाले झैं
शोषेर भारी अम्ल वर्षा
सहेर कैयौं पटक
क्रूर हुरीका निर्मम लात र मुक्काहरु
निस्सासिएर
भिषण हिमपातको घेराबन्दीमा बेला बेला
जोगाएको यो सौन्दर्य
जब भइदिन्छ
आफ्नै अस्तित्व विघटनको
अकाट्य कारण
तब मलाई
आफ्नै सौन्दर्य प्रति अफसोस् लाग्छ
सुन्दर भनिने यो जीवनप्रति क्रोध जाग्छ।
चटक्क चुँडेर
मेरो यो फक्रदो जीवन
तिम्रो भगवान
अर्थात् निर्जीव ढुंगालाई पुज्ने
ए, रूढिग्रस्त भक्तजनहरू
पटक्क भाच्दा मेरो घाँटी
काप्छन् कि काप्दैनन् तिम्रा बलिश्ठ हातहरु?
प्रेमको नाममा
लुटेर मेरो परिपुष्ट यौवन
आफ्नी प्रेमिकाका अन्जुली भर्न लालयित
ए निर्दयी प्रेमीहरु
जबरजस्त छुट्याउँदा मलाई हाँगाबाट
पश्चातापको रातो लज्जा
सल्बलाउँछ कि सल्बलाउदैन तिम्रा अनुहारमा?
प्यास मेट्न कै लागि मात्र
मलाई देखावटी प्रेमको अंगालोले बेर्ने
ए अवसरवादी टुरिस्ट भँवरा
रसकै लागि मात्र
मलाई घन्टौँ चुमीरहँदा
के नाप्न सक्यौँ तिमीले
मेरो प्रेमको गहिराई?
लुछुप्पै भिजेको यो तिम्रो अनुहार
मेरो रगतले हो या ग्लानिको उष्ण पसिनाले?
मेरो सुन्दरताको बखान लेखेर
कहिल्यै नथाक्ने
ए भावुक रोमान्टिक कविहरु
किन जाग्दैन तिमीहरुको संवेदना?
देख्दा मैले भोगिरहेको युगौँदेखिको कहर
कस्ले बाँध्छ कालो पट्टी तिम्रा चेतनामा
नदेख्न म माथिको असह्य ज्यादति
नलेख्न म माथिको क्रूर बर्बरता।