ओहो! हामी नक्साले मात्र देश रहेछौं
जीवन्ततामा न हामी देश हुन सकेनौं
न कहिल्यै देश हुने भयौं
हामी खेल मैदान भयौं
खेलाडीहरू पालै पालो खेल्छन्
रमिता हेर्छौं
हामी रमिते हौं
खेल अर्कैले खेल्छ
जितमा खुसी हुन्छौं
हारमा दुःखी हुन्छौं।
मैदानमा ठूला खेलाडीहरू दौडिन्छन्
घाँस किचिन्छ
मैदान हिलो बन्छ
दंग पर्छौं
घाँस किचिँदा हामीलाई दुख्दैन
दुःख्ने आखिर मैदानलाई न हो
मैदानमा बनेको हिलो
एकअर्कालाई झ्याप्छौं
हिलो छ्यापेकोमा गर्व गर्छौं
हामीलाई हिले मैदान मनपर्छ।
हामी प्रयोगशाला हौं
जहाँ द्वन्द्व र अस्थिरताको परीक्षण हुन्छ
द्वन्द्व व्यवस्थापनका खोपहरू आविष्कार हुन्छन्
ती नयाँ खोपसँगै बनेका
समानता र मुक्तिका
नयाँ तन्त्र र वादका गीतहरू
सारङ्गी रेट्दै
रिमोटबाट चलेका हामी
गाउँछौ र मारुनी नाच्छौं।
मासु त ठूलो भो
फालिएका हड्डीमा
हामी लुछाचुँडी गर्छौं
बेला न कुबेला भुक्छौं
आफ्नाले आफ्नैलाई टोक्छौं
मौका पायो कि ठोक्छौं
मान्छे हौं कि भुस्याहा कुकुर
घरीघरी द्विविधा हुनेगर्छ
अर्का गुटलाई दोष थोपर्दै
आफ्ना सरदारका पछि लाग्छौं।
कहिल्यै घाम नउदाउने अध्यारो सुरुङमा
निसास्सिएको जीवन जिउने हामीले
केवल अन्धकार मात्र देख्यौं
उज्यालो कस्तो होला!
कल्पना गर्नै सक्दैनौं
तर पनि उज्यालो घामको
मृगतृष्णामा छटपटिरहन्छौं।
घाम उदाएको
खुल्ला आकाश कस्तो हुन्छ
विपनामा कहिल्यै नदेख्ने हामी
सपनामा घाम देख्न खोज्छौं
नउदाउँने नअस्ताउँने घाम झैं
न हामी कहिल्यै उदायौं
न कहिल्यै अस्तायौं
केवल अमुक वाद र तन्त्रको
जाली खेलमा अल्झँदै
घरी खेल मैदान बन्छौं
घरी प्रयोगशाला बन्छौं।
राजेन्द्र कार्कीका लेख-रचना पढ्न यहाँ क्लिक गर्नुहोस्