दृश्य १
समय- बाक्लो हुस्सु ओढेको एक बिहान
स्थान- राजधानीको कुनै क्याम्पस बाहिरको एक चिया अड्डा
[बिजय चिया अड्डाभित्रको सबैभन्दा कुनाको टेबल ओगटेर बसेको छ। ऊ चियाको गिलासमा चिसोले ठिहिर्याएको हात तताउने कोसिस गर्दैछ। बेलाबेलामा बाहिर पनि हेर्दछ।
बिजय क्याम्पसको विद्यार्थी संगठनको सदस्य हो। ऊ करिब ६ वर्षदेखि यही क्याम्पसमा छ। राजनीतिशास्त्रमा बल्लतल्ल बिए पास भएपछि (इंग्लिस ब्याक लागेर) उसले एमएमा पुनः भर्ना त गर्यो। तर विश्वविद्यालयले सेमेस्टर सिस्टममा जाने निर्णय गरेपछि अनिवार्य रुपमा कक्षामा उपस्थित हुनै पर्ने, प्रस्तुतीकरण तयार गर्नुपर्ने लगायतका 'झन्झट' आइलागेको छ।
आज पनि ऊ कक्षामा गएन। उसलाई कक्षाभित्र त्यसै उकुसमुकुस भएर आउँछ। कक्षा सुरु भएको ४ महिना बितिसकेपछि ऊ त्यस्तै १० दिन मात्र कक्षामा गएको छ। यत्तिकैमा पुस्कर र कृष्णको प्रवेश हुन्छ।]
पुष्कर- (हात मिलाउँदै) के छ? क्लास त गएको होइन नि।
बिजय- अहँ, के जानू बेकार।
कृष्ण- हिजो जस्तो भएपनि आज त आएको भए हुन्थ्यो नि। सेमेस्टर सिस्टम हो। पछि 'एटेन्डेन्स'ले समस्या होला नि फेरि।
बिजय- के आउनु नि। पेपर बनाको हुनु परेन। हिजो नबनाको भनेर क्लासमै रैला गर्यो सालेले। त्यो पनि स्वेताकै अगाडि। इम्प्रेसन नै बिगारी दियो नि तोरीले।
कृष्ण- अनि पेपर बनाए भैगयो त।
बिजय- कहाँबाट बनाउनु मैले? पहिला कसैले नगरेको विषय छ मेरो। त्यो पनि साइटेसन रे, फुटनोट रे के के हो के के।
कृष्ण- कमिलालाई मुतको पहिरो। जाबो २५०० शब्दको पेपर बनाउन नि यत्रो महाभारत।
बिजय- चुप लाग मुला। तेरो पो त्यही पढ्ने मात्र काम छ त। (गर्वसाथ) हामी तँ जस्तो पढन्दास होइनौँ क्यार। हाम्रो अरु पनि काम छ। हिजो म रत्न दाइसँग संगठनको जिल्ला उपाध्यक्षलाई भेट्न गएको थिएँ। रक्षामन्त्रीको आफ्नै भानिज हुन् ती। माथिसम्म लिंक छ बुढाको।
पुष्कर- (चुरोट सल्काउँदै) त्यो च्यान्टे मास्टरले त हाम्रोमा नि लास्टै ल्याङ्ग गरिसक्यो। पेपर बुझाउने मिति नै तोकेछ। भोलि कि पर्सीसम्म कहिले हो। मैले टाइम थप्नुपर्यो सर भनेको त गर्ने भए समयमा गर्नुस्, मैले तपाईहरुलाई निकै छुट दिइसकेँ, अब नि बुझाउनु भएन भने आन्तरिक मूल्यांकन बापतको नम्बर माया मार्नुस् भनेर पो थर्कायो यार।
(नेपथ्यमा) कसले थर्कायो फेरि केटाहरुलाई? (रत्न दाइको प्रवेश। सबैजनाले हात मिलाउँछन्। रत्नदाइले ब्लाक टि र दुइटा चुरोट मगाउँछन्।)
बिजय- एउटा छ नि भर्खर नाम निकालेर आएको, के रे नाम? सन्जीव गौतम। मलाई स्वेताकै अगाडि थर्काएर बाहिर निकाल्दियो भन्या। हान्दिउँ जस्तो रिस उठ्या थियो।
पुष्कर- भर्खर भर्खर आएको भएर बढी चुरीफुरी गर्दो रहेछ। नयाँ जोगीले बढी खरानी घस्छ भन्या यही हो।
बिजय- कुन पार्टीको रहेछ रत्न दाइ त्यो? हाम्रो बिरोधी त होला नि पक्कै पनि।
रत्न- खोइ, फ्रान्सबाट मास्टर्स गरेको रे। नेपाल फर्केको नि धेरै भएको रैनछ। नाम निकालेर आएको मान्छे कुन पार्टी कुन।
बिजय- जुन पार्टीको भए पनि यसको औषधिमुलो गर्नु पर्यो रत्न दाइ। नत्र टिक्न नदिने भयो यसले।
पुष्कर- क्याम्पस चिफसँग कुरा मिलाए हुन्छ होला। प्रशासनले आन्तरिक नम्बर मिलाएर पठाइदे त भैहाल्यो नि।
रत्न दाइ- (केही सोचेको भावमा) क्याम्पस चिफले त के मान्ला र! अघिल्लो चोटि ज्ञापनपत्र बुझाएदेखि नै 'फायर' भएको छ हामीसँग। बरु सहायक क्याम्पस चिफसँग कुरा मिल्ला। बुढा हाम्रै मान्छे पनि हुन्। परीक्षा शाखा पनि उनैले हेर्छन् अचेल। टेन्डरको कमिसन काण्डमा हामीले नै बचाएका हौँ क्यार, नत्र फसिसक्या थिए। म कुरा गर्छु आज।
बिजय- हुन्छ दाइ। जसरी भएपनि त्यो च्यान्टे मास्टरको चुरिफुरी बन्द हुनुपर्यो।
रत्न- निक्लिउँ न त अब। तल्लो सेमेस्टरका केटाहरुको ब्रेक हुने बेला भयो क्यार। आफ्नो ग्राउन्ड प्रिजेन्स त कायम राख्नु पर्यो नि। (केही सोचेजस्तो गर्दै) अँ साँच्ची, नोटहरु तयार गर्दै गर है केटा हो। फ्री नोट डिस्ट्रीब्युसन गर्नुपर्छ। इमेज राम्रो हुन्छ।
कृष्ण- (मनमनै) जो आफैँ वर्षे नि फेल हुन्छ, उसैले के पो नोट बाँढ्ने होला!
रत्न- (पसलेसँग) दाइ हाम्रो कति भयो? लेखिदिनु है खातामा।
(उत्तरको प्रतिक्षा नगरी रत्न दाइ अघि लाग्छन्। सबैजना निस्किन्छन्)
दृश्य २
स्थान- सहायक क्याम्पस चिफको कोठा
[बिजय र रत्न दाइ सहायक क्याम्पस चिफको कोठाभित्रको कुर्सीमा बसेका छन्। यत्तिकैमा सहायक क्याम्पस चिफको प्रवेश हुन्छ।]
स. क्याम्पस चिफ- ओहो रत्नजी। आज कति काम आउनु भयो त फेरि?
रत्न- सरसँग एउटा सानो निवेदन गर्न आएका हौँ। समस्या आएपछि सरकहाँ नआए कहाँ जानू हामी।
स. क्याम्पस चिफ- हुन्छ, भन्नुस् न।
रत्न- भर्खरै नाम निकालेर आउनु भएका सञ्जीव गौतम सरले कक्षामा हाम्रो साथीहरुलाई अलि कडा व्यवहार गर्नु हुँदो रहेछ। फ्रान्समा पढेर आउनु भएको हो क्यार उहाँले। अब भन्नुस् न, हाम्रो क्याम्पसको कक्षाकोठाभित्र युरोपेली सिस्टम लागु गरेर कहीँ हुन्छ?
पढाइ यहाँको हावापानी माटो सुहाउँदो त हुनुपर्यो नि। सांगठनिक जिम्मेवारीले र अन्य व्यस्तताले गर्दा हाम्रा साथीहरुलाई नियमित कक्षामा हाजिर हुन, पेपर बुझाउन सम्भव हुँदैन। त्यसो गर्ने बानी पनि त छैन। विद्यार्थीको यो बाध्यता त शिक्षकले बुझेर केही लचकता अपनाइदिनु पर्यो नि। विद्यार्थीले शिक्षकलाई बुझ्ने हो, शिक्षकले विद्यार्थीलाई बुझ्ने हो। यसो नगरे त कसरी अघि बढ्न सकिएला र।
स. क्याम्पस चिफ- सञ्जीव सर मान्छे नै अलि जरा हट्के टाइपको हुनुहुन्छ। उहाँ नेपाली समाज सुधारको पहिलो मेरुदण्ड नै शैक्षिक गुणस्तरको वृद्धि हो भन्ने विचार राख्ने मान्छे हो। विद्यार्थी संगठनको औचित्यमै प्रश्न उठाएर उहाँले अघिल्लो साता लेख्नु भएको लेख कति धेरै चर्चित भएको थियो। पढ्नु भयो त्यो लेख?
रत्न- लेख जाबो त पछि पढौँला नि सर। अहिले यहाँले हाम्रा संगठनका यी भाइहरुमाथि नरम व्यवहार गरिदिनु हुन र मूल्यांकनमा लचकता अपनाइदिनु हुनको लागि सञ्जीव सरलाई आग्रह गरीदिनु पर्यो।
बिजय- हजुरलाई पर्दा हामीले पटक-पटक सहयोग गर्दै आएकै हौँ। अहिले हाम्रो लागि सरले यति कष्ट उठाइदिनु पर्यो।
स. क्याम्पस चिफ- हेर्नुस्, सहयोग नगर्ने कुरा होइन। खासमा सञ्जीव सर मान्छे नै अलिक कोल्टे खालको हुनुहुन्छ। करारमा नियुक्त व्यक्ति भएको भए त हामीले दवाव दिन मिल्थ्यो तर उहाँ लेक्चररमा एक नम्बरमा नाम निकालेर आउनु भएको छ।
यस्तोमा न मैले उहाँलाई माथिबाट दवाव दिन मिल्छ, न मैले भनेर उहाँ डराउनु नै हुन्छ। यस्तोमा रत्न जीले नै एकपटक उहाँसँगै कुरा गर्नु भए बरु ठिक होला। बाँकी त रत्न जीलाई मैले सहयोग नगर्ने कुरा नै छैन। (मुसुक्क हाँस्दै) हामी एउटै छातामुनिका मान्छे।
रत्न- (बिजय बाहिर जाने इशारा गर्दै) (बिजय बाहिर निस्किन्छन्।) …अनि सर, त्यो टेन्डरको लफडा त अब सकियो नि। त्यसको पनि हिसाबकिताब गर्न पाए हुन्थ्यो।
स. क्याम्पस चिफ- ती अर्का संगठनकाहरुले अझै अलिअलि हल्ला गर्दैछन्। दुई चार दिनमा त्यो हल्ला साम्य होला। अनि म तपाईलाई फोन गर्छु। तपाईलाई पहिलाको सहमती अनुरुप नै आउँछ। त्यसमा चिन्ता लिनु पर्दैन।
रत्न- हवस् त सर, अहिले म निस्किन्छु। नमस्ते।
(रत्न निस्किन्छ। बिजय पछिपछि लाग्छ।)
दृश्य ३
स्थान- क्याम्पस नजिकैको कफी शप
[रत्नले सञ्जीव सरलाई नजिकैको क्याफेमा भेटघाटको निम्ति बोलाएका छन्। सञ्जीव सरले डबल एस्प्रेसो अर्डर गरेका छन् भने रत्नले क्यापुचिनो मगाएका छन्। सामान्य परिचय र भलाकुसारीपछि कफी आइपुग्छ। यसपछि दुवैले पुनः कुराकानीलाई निरन्तरता दिन थाल्छन्।]
रत्न: अनि सरले त विद्यार्थी संगठनकै औचित्यमाथि प्रश्न पो उठाउनु भएको रहेछ त। मैले अघिल्लो साता प्रकाशित तपाईको लेख पढेको थिएँ (ढाँटेर)।
सञ्जीव: (कफीको चुस्की लिँदै) हेर्नुस् रत्न जी, तपाई पनि यो क्याम्पसको सबैभन्दा ठूलो विद्यार्थी संगठनको अध्यक्ष हुनुहुन्छ। मैले पछिल्लो एक दशकदेखि नै नेपालका विद्यार्थी संगठनको गतिबिधिहरुलाई नजिकैबाट नियाल्दै आइरहेको छु। फ्रान्समा पढ्ने क्रममा त्यहाँको विद्यार्थी संगठनको विषयमा पनि बुझेको छु।
अहिले नेपालको विद्यार्थी संगठनमा न त बलियो सैद्धान्तिक आधार छ, न कुनै सुधारका कार्यक्रम नै। यो त केवल एउटा अराजक व्यक्तिहरुको झुन्ड मात्र जस्तो देखिएको छ जो आन्दोलनको नाममा रेलिङ भाँच्छ, टेबुल तोड्छ, आफ्नै क्यामपसमा आगजनी गर्छ, शिक्षकलाई कुट्छ।
विद्यार्थीका माग र आवश्यकताको संवोधन त परको कुरा, उनीहरुलाई राजनीति प्रति वितृष्णा जगाउने काम मात्र अहिले भइरहेको छ। विद्यार्थी संगठन पनि केही पार्टीनिकट व्यक्तिहरुको (जो सम्भवत विद्यार्थी पनि होइनन्) रोटी सेकाउने र स्वार्थपूर्ति गर्ने साधनको रुपमा मात्र छ अहिले। यस्तो संगठनको के औचित्य?
रत्न- तर सर नेपालका ठूलाठूला राजनीतिक तथा सामाजिक रुपान्तरणका घटनाहरुमा त विद्यार्थी संगठनको अहम् भूमिका छ नि। हामीले यस्तो गर्विलो इतिहासलाई कसरी नकार्न मिल्छ?
सञ्जीव- इतिहासलाई म किन नकार्थेँ र रत्न जी! मैले त केवल अहिलेको तीतो वास्तविकता मात्र सतहमा ल्याएको हुँ। हेर्नुस्, म एकदमै स्पष्टवक्ता व्यक्ति हुँ। नाङ्गो चिजलाई नाङ्गो भन्न मलाई रतिभर मात्र पनि संकोच छैन।
म झुटको खोल ओढाएर वास्तविकतालाई नकार्न अनि केवल खोक्रो आत्मरतिमा मुग्ध हुन कदापि सक्दिनँ। तीतो सत्यलाई पहिले स्वीकार्न सक्नुपर्छ, अनि मात्र बदल्न सकिन्छ।
रत्न- (केही अकमकाउँदै) तर केही अराजक गतिबिधि भए भन्दैमा विद्यार्थी संगठन नै चाहिदैन भन्नु ठिक होइन। कुनै हाँगामा ऐजेरु पलायो भन्दैमा रुखको फेद नै ढाल्नु कहाँको बुद्धिमानी हो? तपाईको कुरा मेरो ठूलो असहमती छ।
सञ्जीव- सत्य शाश्वत हुँदैन, सापेक्ष हुन्छ। तपाईलाई मेरा कुरा चित्त नबुझ्न सक्छन्। सबैलाई सबैका कुरा चित्त बुझे त संसार किन यस्तो विविध हुन्थ्यो र। (कफीको अर्को चुस्की लिँदै) मैले अघि पनि भनेँ, विद्यार्थी संगठनको सैद्धान्तिक र वैचारिक घरातल नै खोक्रो छ।
सिद्धान्त संगठनको प्राण हो। तसर्थ, प्राणरुपी सैद्धान्तिक आधार नै नरहेपछि यिनीहरु प्राणविहीन भएर मरिसकेका छन्। अब यी विद्यार्थी संगठनका लासहरुलाई नजलाएर महादेवले सतीदेवीको मुर्दा बोकेर मर्त्यलोकमा भौतारिए झैँ भौतारिनुको के अर्थ? कि त मुर्दामा प्राण भर्नुपर्यो, हैन भने लगेर जलाउनु पर्यो। लासलाई बेवारिसे राखेर केवल दुर्गन्ध फैलिने न हो।
रत्न- यो त उग्रवादी विचार भएन र?
सञ्जीव- (रत्नलाई बीचैमा रोक्दै) मैले विद्यार्थी संगठनहरु पढाइको गुणस्तर अभिवृद्धि गर्ने विषयमा कहिल्यै बोलेको देखेको छैन। गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको माग गर्दै कहिल्यै आवाज उठाएको थाहा छैन। न त क्याम्पसमा अपांगमैत्री संरचना बनाउन दवाव दिएको भन्ने नै कतै सुनेको छु।
आगामी समयलाई सम्बोधन गर्न सक्ने पाठ्यक्रम परिवर्तन र शैक्षिक कार्यक्रमको माग गर्दै आन्दोलन कुनै संगठनले पनि गर्दैन। लाग्छ, यस्ता अत्यावश्यक शैक्षिक सुधारसँग यिनीहरुको गोरु बोचेको पनि साइनो छैन। तर अन्तर्राष्ट्रिय बजारको भाउ अनुरुप तेलको मूल्य २ रुपैयाँ मात्र बढोस् त, टायर बाल्दै आयल निगम घेर्न यिनीहरु नै पुग्छन्। यिनीहरु त मलाई नेपालका विद्यार्थी संगठन नभएर 'नेपाल बिगार्ने संगठन' जस्ता लाग्छन्।
(केहीबेर मौनता छाउछ। लामो श्वास लिएर सञ्जीव सरले पुन: सुरु गर्छन्।)
हेर्नुस् रत्न जी, अहिले विद्यार्थी संगठनलाई पुनर्जीवन दिने हो भने जगैदेखि युगसापेक्ष रुपमा यसको परिभाषा, उदेश्य, औचित्य, संरचना, सिद्धान्त कार्यक्रम लगायतका विषयमा परिवर्तन हुनु जरुरी छ। यसलेले देशव्यापी रुपमा बृहत बहसको माग गर्दछ जसको सम्भावना मैले निकट भविष्यमा देखेको छैन। यथास्थिति कै संरचनामा विद्यार्थी संगठन राख्नुभन्दा यिनीहरुलाई खारेज गर्नु नै उपयुक्त हुन्छ। म यो विचारमा दृढ छु।
रत्न- हाम्रो उदेश्य पनि विद्यार्थी आन्दोलनको सुधार र सुदृढीकरण नै हो। यसैको लागि मैले पनि आफ्नो जिन्दगीको १३ वर्ष यसै क्याम्पस र संगठनको लागि खर्चेको छु। खैर छोडौँ यो कुरा, बरु सरसँग एउटा कुरा राख्नुपर्ने पो थियो।
सञ्जीव - हुन्छ, राख्नुस् न।
रत्न- सरको क्लासमा हाम्रो संगठनका केही भाइहरु पनि छन्। संगठनको काम तथा व्यस्तताको कारणले गर्दा उनीहरुलाई नियमित क्लास आउन र पढाइका अन्य आवश्यकताहरु पूरा गर्न पनि गाह्रो भइरहेको छ। तिनीहरुलाई सरले हेरिदिनु पर्ने भयो। जतिसुकै सिद्धान्तका कुरा गरे पनि तपाई र हामी मिलेर जानुको विकल्प छैन। यो लामो यात्रामा जति सुमधुर सम्बन्ध भयो, त्यति नै दुवैलाई फाइदा।
सञ्जीव- ए त्यो कुरा। उनीहरुले त आन्तरिक मूल्यांकन बापतको पेपर पनि बुझाएका छैनन्। मैले अन्तिम मिति तोकेको छु। उनीहरुलाई छिटो पेपर तयार गर्न भनिदिनु होला। व्यस्त नै भएको भए त एक/दुई दिन ढिला भए पनि म कन्सिडर गरुँला नि बरु।
रत्न- (नम्र भावमा) हैन, सरले अलि कुरै बुझ्नु भएन। टपिक पनि कठिन भएकाले अहिले उनीहरुलाई पेपर बनाउन अलि गाह्रो हुने देखियो। आन्तरिक मूल्यांकन बापतको नम्बर सबै हजुरै हातमा हुन्छ क्यार। त्यसैले सरलाई त्यति गर्न अप्ठ्यारो नहोला।
सञ्जीव- हेर्नुस्, आन्तरिक मूल्यांकनको लागि पेपर अनिवार्य हो। पेपर नआएसम्म म यो विषयमा केही पनि गर्न सक्दिनँ। पेपर नबुझाइकनै आन्तरिक मूल्यांकन वापतको नम्बर दिनु सहयोग होइन, गद्दारी हो। एउटा युवाको भविष्यमाथि, देशमाथि अनि आफू र आफ्ना विचारहरुमाथिको गद्दारी।
रत्न- हैन सर, तपाईले राजनीति गर्नेको बाध्यता त बुझिदिनुपर्यो नि…
सञ्जीव- (रत्नलाई बीचमै रोक्दै चर्को स्वरमा) कस्तो बाध्यता? कि तपाईको संगठनको आचारसंहितामा राजनीति गर्नेले अरु जेसुकै गरेपनि पढ्न हुँदै हुँदैन भनेर लेखिएको छ हँ? अर्को कुरा यस्तो प्रस्ताव लिएर आउन संगठनको अध्यक्षको हैसियतले तपाईलाई रतिभर शोभा दिँदैन है रत्न जी।
रत्न- (रिसाउँदै) म पनि विगत १३ वर्षदेखि यसै क्याम्पसमा छु। यो क्याम्पस कसरी चल्छ, को-को विद्यार्थी कसरी पास हुन्छन्, मलाई राम्रोसँग थाहा छ। यस्ता विषयहरुलाई कुन नीतिबाट सल्टाउनु पर्छ, त्यो पनि हामीले जानेका छौँ। हामीलाई असहयोग गर्दै जाँदा निकट भविष्यमा केही संकट आइलागेमा त्यसको जिम्मेवारी पनि तपाईकै हुन्छ, हाम्रो होइन।
सञ्जीव- तपाईलाई मन लागेको गर्न तपाई स्वतन्त्र हुनुहुन्छ। आफ्नो इच्छाअनुसार चल्न म पनि स्वतन्त्र छु। आगामी दिन र काम कारबाहीको शुभकामना। अहिलेलाई म छुट्छु। सी यु अराउन्ड।
[सञ्जीव सर कफीको बिल तिरेर क्याफेबाट फटाफट निस्किन्छन्। रत्न उनलाई हेरिरहन्छन्।]
दृश्य ४
स्थान- क्याम्पस
समय- बिहान १० बजे
[सञ्जीव सर मोटरसाइकलबाट झरेर हाजिरी गर्न क्याम्पस चिफको अफिसतर्फ लम्कम्छन्। क्याम्पस चिफको अफिसबाहिर विद्यार्थीको एउटा ठूलो भीड देखिन्छ। नजिकै पुग्दा थाहा हुन्छ, बाहिर ढोकामै ठूलो भोटेताल्चा लागेको छ। तालाबन्दी पो भएको रहेछ। क्याम्पस आएका विद्यार्थीहरु तालाबन्दीपछि विद्यार्थी संगठले टाँसेको विज्ञप्ति पढ्दै रहेछन्।
विद्यार्थी- नमस्ते सर [अचानक दुई जना विद्यार्थीको आवाजले उनी झस्किन्छन्]
सञ्जीव- कसले गरेको, केको तालाबन्दी रहेछ? थाहा पायौ?
विद्यार्थी- आन्तरिक मूल्यांकनको विषयको माग रे। विद्यार्थीलाई अघिल्लो पटक क्याम्पससँग भएको सहमतिको कार्यान्वयन लगायत अरु कुरा पनि छन् रे। माग सम्बोधन नहोउन्जेल पठनपाठन ठप्प रे।
सञ्जीव- ए, ल है धन्यवाद।
(नजिकैको विज्ञप्तिमा सञ्जीव सरको झट्ट आँखा जान्छ। लेखिएको छ- '…गौरवशाली इतिहास बोकेको यस संगठनले आफ्नो स्थापनाकालदेखि नै विद्यार्थीको पठनपाठन र शैक्षिक सुधारको पक्षमा अनवरत रुपमा आवाज उठाउँदै आएको कुरा सर्वविदितै छ…।'
पहिलो वाक्य पढेपछि सञ्जीव सरको अनुहाबाट हलुका मुस्कान चुहिन्छ। उनी थप नपढी, मुस्कुराउँदै मोटरसाइकलतर्फ लम्किन्छन्।)
[नोटः यस नाटकका सम्पूर्ण पात्र, कथा र स्थानहरु लेखकको कल्पनाका उपज हुन्। कसैको जिन्दगीसँग मेल खान गएमा विशुद्ध संयोग मात्र हुनेछ।]