हिजो साँझ अफिसबाट फर्कदै थिएँ। एउटा अपरिचित मोबाइल नम्बरबाट म्यासेज आयो। खोलेर हेरेँ। लेखिएको थियो, 'मेरो मुटुमा रहेको दाग रूपी तिम्रो छायालाई मुटुको टुक्रासँगै दुई वर्ष अघि फाले पनि फेरि पलाउँदै आएको छ। यो दाग अझै पनि कति समयसम्म पलाइ रहन दिउँ। तिमी नै भन अब यो दाग सदाका लागि हटाउन म मुटु विशेषज्ञकहाँ जाउँ कि मनोचिकित्सककहाँ?' उही एसपी।
यो पढेपछि विगत दुई वर्ष अघिको कलेज जीवनको घटना मानसपटलमा नाच्न थाल्यो।
उच्च शिक्षाका लागि पोखरा लाग्दै गर्दा मनभरि उत्साह र मस्तिष्कभरि योजना थियो। पश्चिम क्षेत्रकै ठूलो क्याम्पस! बिहानैदेखि साँझसम्मका कक्षा चल्ने भएकोले छुट्टै चहलपहल थियो। गाउँको साधारण विद्यालयमा पढेको मलाई त्यो वातावरण अत्यन्तै नौलो लाग्नु स्वभाविक थियो।
एकतर्फ सबैतिर चहल पहल देखेर रमाइलो लागेको थियो भने अर्का तर्फ त्यो भिडमा आफू लक्ष्य विहीन पो भइने हो कि? मनमा आशा र निराशा दुवैले मनलाई हल्लाएको थियो तर मनलाई कमजोर बनाउनु हुँदैन भन्ने आत्मबल पलायो।
विभिन्न व्यक्तिहरूको साथ र संगतले व्यक्तिको जीवनको मार्ग पहिचान गर्छ भनेर बाबुराम सरले भनेको कुरा मनमा गडिरहेको थियो। यही कुरालाई लिएर मैले ब्याचलर लेभलमा क्षमतावान र मेहनती विद्यार्थीहरूको खोजी गर्ने निधो गरेँ।
जुनसुकै संकाय भए पनि त्यस्ता साथी बनाउनु मेरा लागि अवसर ठानेँ। कुन विद्यार्थी पढाइमा कति क्षमतावान छ? कस्को प्रतिभा कस्तो छ भन्ने चिन्नै एक एक वर्ष लाग्दो रहेछ। मैले पहिलो वर्षको परीक्षाको नतिजालाई आधार बनाएर साथी बनाउने निधो गरेँ। यस विषयमा निलिमा भट्टलेलाई खुब साथ दिइन्।
निलिमा अङ्ग्रेजी सङकायकी विद्यार्थी थिइन्। उनी साह्रै चतुर र पढाइमा उत्तिकै जेहन्दार पनि थिइन्। कलेज चलेको पहिलो हप्तामा नै उनले मसँग मामाको साइनो जोडेकी थिइन्। मेरो गाउँ उनका मामाहरू सहर झर्नु अघिको गाउँ अर्थात् मावली गाउँ।
उनी चिनेका हुन् या नचिनेका, जोसुकैसँग पनि नाता लगाइ हाल्थिन्। उनी केटीहरूभन्दा केटाहरूसँग बढी नजिकिन्थिन्। यस विषयमा उनले भन्थिन् 'मामा, यी अधिकांश केटाहरू केटी भनेसी जे त्याग गर्न पनि तयार हुन्छन् तर तिनीहरूलाई सही फोन दिने र कोठा देखाउने काम कुनै हालतमा पनि गर्नु हुन्न। नत्र हैरानै पार्छन्।
जहाँ भेट्यो त्यही चिनजान गर्यो अनि त्यहीँ चिनजान अन्त्य गर्नुपर्छ। मैले कलेजको क्यानटिनमा सधैँ खाजा खान्छु तर याद गर्नु भाछ, अझसम्म एक सुको पैसा तिरेकी छैन। मोबाइलमा आफै पैसा हालेर रिचार्ज पनि गर्न परेको छैन।'
उनी अगाडि थप्थिन 'कतिपय अवस्थामा मिठो बोलीले गाँठ झार्न पनि काम गर्छ नि मामा, मोराहरूको अगाडि एकछिन हेलो-हाइ गर्दैमा यति फाइदा हुन्छ भने किन पछि हट्ने त!' उनका कुरा सुनेर खुब हाँसो हास्थेँ। उनी पढाइमा पनि उत्तिकै तेज थिइन्। उनको यो खुबी मलाई बडो अजीव लाग्थ्यो।
पहिलो वर्षको रिजल्ट पनि आयो। केही साथीहरू पनि चिनिँदै गए। पढाइमा जेहन्दार विद्यार्थीहरूलाई साथी बनाउने मेरो इच्छालाई निलिमाले पनि सहयोग गरिन्। उनीले नै कतिपय साथीहरूसँग सम्बन्ध स्थापित गराइन्।
उनी ठठ्ठा गर्दै भन्ने गर्थिन्, 'केटाभन्दा केटीको संगत गर्नुस् मामा, फाइदा हुन्छ नि।'
तिम्ले लिए जस्तो फाइदा लिन सकिन्न केटीहरूबाट' मैले भन्थेँ।
'केटीहरूबाट केटा मानिसले लिने फाइदा मैले बताउन पर्छ त, मर्द भएर पनि लजाउने मामा जी' उनको व्यंग्यात्मक जवाफ हुन्थ्यो।
केटीहरूसँग बोल्न लजाउने बानी मेरो सानैदेखिकै थियो। तर त्यो उमेरमा केटीहरूप्रतिको मेरो आशक्ति नभएको भने होइन। कलेजमा मैले मित्रताको आश गरेका विद्यार्थीहरूको स्वभाव र चाहनाले पनि उनीहरू मेरो मित्र हुन्छन् या हुँदैनन् भन्ने कुराको निधो हुन्थ्यो।
कलेजमा म र निलिमा लगायत अरु केही साथीहरू बीचको सम्बन्ध नजिक र त्यतिकै सहज भएपनि भावात्मक र आत्मीय थिएन। उनीहरू बीच सतही सम्बन्ध थियो।
निलिमाकै संकायमा अध्ययन गर्न विद्यार्थी थिइ सिर्जना सापकोटा। प्रथम वर्षको नजितामा संकाय नै प्रथम भएकी सिर्जनाको स्वभाव र पढाइबाट म अत्यन्तै प्रभावित थिएँ। उसको व्यक्तित्व लोभलाग्दो थियो।
मैले ऊसँग प्रत्यक्ष सम्बन्ध राख्ने सामार्थ्य नगरे पनि पढाइमा एउटा आइडल मानेको थिएँ। हाँसी मजाक रूपमा लिने हुनाले मैले निलिमालाई सिर्जनासँगको केही कुराको सङ्केत गरिनँ। शारीरिक रूपमा त्यति सुन्दर नभए पनि उसमा स्त्री सुलभ गुण थियो।
कालो वर्ण, पातली र मझौला कदकी ऊ अरूसँग अनावश्यक र त्यति बोल्दिन थिइ। कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा उसको वस्तुगत र तार्किक प्रस्तुतिले मलाई अत्यन्तै प्रभावित तुल्याएको थियो। उसलाई कलेजको चौर, क्यान्टिन पछ्याउथेँ। ऊसँग म नजिकिने अनेकौ बहना खोज्थेँ तर सम्भव भएको थिएन। फेसबुक र म्यासेन्जर मार्फत उसँग सम्बन्ध बढाउने प्रयास गरेँ। फेसबुकमा उसको तस्बिर पहिल्याइ रिक्वेस्ट पठाएँ।
सिर्जनाप्रति मेरो त्यति लगाव भइकन पनि हाम्रो आपसमा बोलचान हुन सकेको थिएन। यद्यपि उसको व्यक्तित्वप्रति मेरो लगाव हृदयको कुन कुनाबाट उम्रेको थियो त्यो आफैलाई पत्तो थिएन। कुनै फूल प्रकृतिमा यस्ता हुँदा रहेछन्, त्यस्ता फूलको स्पर्श र सुगन्धको अनुभूति लिन भौतिक सामिप्यमा नै हुनपर्छ भन्ने हुँदो रहेनछ।
अर्कातिर यस्ता फूलको अनुभूतिले नै असीम उर्जा दिँदा रहेछन्। त्यही फूल थिइ सिर्जना। साँच्चै भनौँ भने ऊ मेरो आन्तरिक उर्जाकी सिर्जना थिइ। दोस्रो वर्षमा कलेजमा विद्यार्थी संगठनले आयोजना गरेको उपत्यकाव्यापी अन्तरकलेज वक्तृत्व प्रतियोगितामा मेरो सहभागिता र दोस्रो स्थानको सफलता उसकै प्रभावले प्राप्त गरेको थिएँ।
अन्तिम वर्षको परीक्षा पनि सकिएको थियो। फेसबुकमा मैले उसलाई पछ्याइरहेको थिएँ। उसले फेसबुकमा अंग्रेजी भाषामा बडो गहकिला स्टाटस लेख्ने गर्थी। अङ्ग्रेजी भाषामा कमजोर म उसका कतिपय स्टाटस गगुल ट्रान्सलेट र डिक्स्नेरीमार्फत अर्थाएर पढ्थेँ।
ऊसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुराकानी गर्ने अवसरको खोजीमा थिएँ। एकदिन दह्रो मुटु बनाएर म्यासेज गरेँ। 'हेलो सिर्जना, हाउ आर यु?'
उसले 'फाइन बट हु आर यु? आइ डन्ट नो' भन्ने जवाफ फर्काइ।
'बट इफ यु डन्ट नो मि, ह्वाइ यु एसेप्ट माइ फ्रेन्ड रिक्वेस्ट्?'
उसले नचिनिकन कसैको पनि फेसबुकमा साथी नबनाउने तर संयोगले मेरो रिक्वेस्ट एसेप्ट भएको कुरा लेखेकी थिइ। त्यो दिन मैले बडो शिष्ट र सालिन भएर भएर आफ्नो परिचय दिएको थिएँ।
कलेजमा उसले पनि मलाई विभिन्न कार्यक्रममा ख्याल गरेको कुरा बताइ। लामो समयको प्रतिक्षापछिको त्यो दिन मेरो मन साह्रै हलुका भएको महसुस गरेको थिएँ। त्यस दिनपछि हाम्रो नियमितजसो सालीन संवाद हुन्थ्यो।
जसरी म उसको व्यक्तित्वबाट प्रभावित थिएँ, त्यसैगरी मैलै पनि उसलाई प्रभावित तुत्याउने उपायमा थिएँ। मैले फेसबुकमार्फत विश्व प्रशिद्ध विचारक तथा दार्शनिकका विचार तथा भनाइलाई तोडमोड गर्दै आफ्नै जस्तो बनाएर पोस्ट गर्थेँ।
यस्ता स्टाटसहरू कहिले आफै र कहिले शिवको सहयोगमा अङ्ग्रेजीमा पनि ट्रान्सलेट गरेर पोस्ट गर्थेँ। यी सबै पोस्ट उसका लागि थिए। हाम्रो पूर्वनियोजित योजना अनुरूप वैशाख एक गते सेती नदी किनारको ढुङ्गेसाघुँको मेलामा हाम्रो पहिलो र प्रत्यक्ष भेट भएको थियो।
भेटपछि हाम्रो कुराकानी सहज हुँदै गयो। जति दिन बित्दै गए ऊ उति खुल्दै गएकी थिइ। कहिले हाँसो ठट्टा त कहिले व्यवहारिक कुराकानी हुन्थ्यो। हाम्रो परिवारिक आर्थिक हैसियत मिल्थ्यो। गाउँको संघर्षशील परिवारमा हुर्केकीले होली उसको आँट र साहस कुनै योद्धाको भन्दा कम थिएन।
स्नातक तहको अध्ययन पूरा गरेर ऊ पोखराको एक प्रतिष्ठित निजी विद्यालयमा पठाउन थालेकी थिइ। त्यो उमेरमा पनि हामीहरू बीच व्यवहारिक जीवनका कयौँ पक्षमा हामी खुलेर कुरा गर्थ्यौं। कहिले काहीँ म निराश हुँदा जिन्दगीको आँट र साहसले ढाडस दिन्थी।
उसले संघर्षको पाठ सिकाउँथी। स्नातक तहको पढाइ सकेपछि म गाउँ फर्कने योजना उसलाई सुनाउँदा उसले भनेकी थिइ, 'सहर बजार भनेको अवसरको खानी हो। कुनै पनि हालतमा सहर छोड्नु हुँदैन। यही संघर्ष गरेर अवसर बनाउनु पर्छ।'
ऊ मेरा लागि एक परिपक्क जिम्मेवार अभिभावक जस्ती थिइ। कयौँ पटक मेरो आर्थिक समस्यालाई पनि समाधान गर्न सहयोग गरेकी थिइ। एक पटकको प्रसंगमा उसले मेरो इमान्दारिता र व्यवहारिकताले पनि आफू नजिकिएको खुलासा गरेकी थिइ।
बाइसौँ वसन्ती उमेरका हामी बीच प्रेम र रोमान्सका कुरा खासै हुँदैनथ्यो। कहिलेकाहीँ जिस्किएर यस विषयमा मैले मन चोर्न खोज्दा ऊ विषयान्तर गर्थी। 'बढी भावनामा बग्नु हुन्न वास्तविक जीवनमा बाँच्न सिक्नुपर्छ। प्रेमलाई भावनाले भन्दा व्यवहारले निर्धारण गर्छ र यसका लागि व्यहारिक बन्न सिक। भावनाको प्रेम जता पनि बग्न सक्छ तर व्यवहारले प्रेमलाई बाँध्न सक्छ।' उसका यस्ता कुराले म नाजवाफ हुन्थेँ।
साँझ परेपछि कहिल्यै फोन नगर्ने सिर्जनाको लगातार तीन पटक मिसकल आएको रहेछ। मोबाइल हेरेँ एउटा लामो म्यासेज पनि पठाएकी रहिछ। खोलेर हेरेँ।
दुई वर्ष अघि आएको विवाहको प्रस्तावलाई आफूले स्नातक तह पूरा नभएसम्म घरमा रोक्न आग्रह गरेको र अहिले सोही प्रस्ताव फेरि आएको तर त्यस प्रस्तावक प्रति पटक्कै इच्छा नभएको हुँदा त्यसको विकल्पमा मलाई उभिएर तत्काल निर्णय लिन आग्रह गरेर लेखेकी रहिछ।
म निशब्द भएँ। बाहिर बरन्डातिर निस्केँ। सायद त्यो दिन तृतीया तिथिको जून हुनुपर्छ, पल्लो डाँडामाथि अस्ताउनै आँटेको थियो। केहीबेरमा हेर्दा हेदै अस्तायो पनि। अन्धकार गाढा हुँदै गयो।
सधैँ अरुलाई जिन्दगीको ढाडस दिने र आँट भर्ने ऊ आज मबाट ढाडस र आँटको अपेक्षा गरेकी थिइ। यदि उसको भित्री इच्छा थियो र त्यो प्रस्ताव स्वीकार गरेकै हो भने किन तीन वर्षको अन्तरालमा यो विषय एक शब्द पनि किन उक्काइन? कयौँ पटक प्रेम र विवाहको प्रसंगमा आफूलाई किन नजोडी विषयान्तर गरेकी?
उसँगका भेटपछि मैले कहिलेकाहीँ यो विषयमा मनभित्र योजना नबनाएको पनि होइन तर कुनै पनि कुरामो चाहना पछि बाध्यता पनि हुन्छ नै। मलाई तुरुन्त प्रतिक्रिया दिने आँट नै आएन।
रातभरको विचारपछि उसको निर्णयलाई मेरो पनि निर्णय बनाएर भोलिपल्ट सबेरै फोन सम्पर्कको प्रयास गरेँ, उसको मोबाइल सम्पर्क हुन सकेन। दिनभर फोन र म्यासेन्जरबाट सम्पर्कको प्रयास गरिरहेँ। तर कुनै प्रतिक्रिया आएन।
हप्तौँपछि पनि उसको फोन, म्यासेन्जर फेसबुक उसकातर्फबाट बल्क भएको थाहा पाएँ। अहो जिन्दगी! जिन्दगीभरको निर्णय केही क्षणमा नै टुंग्याउन पर्ने।