जुलाई महिनाको अन्तिम साता। एक साँझ समुन्द्र किनारमा घुम्न निस्किएँ। समुन्द्रमा सहरको छाया प्रष्टै देखियो। म पानीमुनिको दृश्यमा हराउँदै गएँ।
‘ब्रो त नेपाली जस्तो लाग्नुहुन्छ नि?’ कसैको आवाजले झस्किएँ। यो मानवता नभएको सहरमाको होला मलाई बोलाउने? पछाडि फर्केर हेरेँ, एउटा युवकले मलाई नियाली रहेको रहेछ।
खैरो लामो कपाल। झट्ट हेर्दा गहुँका बोटजस्ता देखिन्थे। झुस्स पालेको दारी। शीतलहरले कठ्याङ्ग्रिएको जस्तो अनुहार। नफक्रिएको सयपत्री फूलजस्तो ओठ। हल्का हाँसेजस्तो अभिनय गर्यो।
‘ब्रोको घर कता नि?’ उसलै सोध्यो।
‘गुल्मी, मजुवा’ मैले भनेँ।
उसले आफ्नो परिचय दियो। पहाड घर पाल्पा रहेछ। कोरियाको राजधानी सउलदेखि टाढाको अर्को प्रख्यात सहर बुसानमा बस्दो रहेछ। उसले आफ्नो डिटेल किन दियो, त्यो उसैको मनले जानोस्।
विदेशमा नेपाली भेट्ने बित्तिकै आफ्नो देश र माटोको कुरा हुन्छ। सभ्यता र संस्कारको कुरा हुन्छ। उसले देशको वर्तमान अवस्थाको चिन्ता। कोरियाको मेसिन जस्तो दैनिकी। समुन्द्र किनारका अर्धनग्न जोडी। नेपाली समाजको पछिल्लो चिन्तन। प्रेम र विवाहप्रतिको आम मान्छेको दृष्टिकोणको व्याख्या गर्न भ्यायो।
एक अर्धनग्न जोडीले अंगालोमा मारेर फोटो खिचाए। त्यतिबेला मैले आफू नारायणीको किनारमा प्रेमिकासँग बसेको सम्झना गरेँ। ऊ बोल्दै थियो, म कल्पनामा हराउँदै थिएँ। उसले प्रश्न सोधेरै हैरान बनाउँदै गयो। मलाई दिक्क लागिसकेको थियो। फेरि सोचेँ, यो मान्छेलाई सुनिदिने मान्छेको ठूलो अभाव रहेछ।
उसले बोलिरह्यो। मैले सुनिरहेँ।
घडीमा साँझको ६ बजे ५८ मिनेट बितिसकेको थियो। मैले कोठा फर्कने हतारो देखाएँ।
उसले मलाई कफीको अफर गर्यो। नाइँ भन्न सकिनँ।
कोरियामा नेपाली रेष्टुरेन्ट टन्नै छन्। हामी एउटा नेपाली रेष्टुरेन्टमा पुगेर अडियौँ। नेपाली खानाका परिकारको गन्ध नाकमा आएर ठोकियो। उसले सँगै खाना खान प्रस्ताव राख्यो। मैले कफी खाएपछि मात्रै सोच्न सकिने कुरा गरेँ।
हामी कोरियन कफी सपको बाहिरतिर बस्यौँ। कारण उसलाई चुरोटको लत रहेछ।
अर्को टेबुलमा एकजोडी कोरियन थिए। आफ्नै दुनियाँमा मस्त व्यस्त। चुरोटको सर्को तान्दै एक नजर लगायो। पुलुक्क उसको अनुहारमा हेरेँ, अघि देखिएको अर्धचन्द्रमा बादलभित्र हराइसकेछ।
उसका आँखा टल्पलाएका थिए। हाँस्ने असफल प्रयास गर्यो, तर सकेन।
फेरि चुरोटको सर्को तान्यो। नमिठो गन्ध मेरो नाकमा आएर ठोक्कियो। उसको हालत देखेर म अवाक् भएँ। पल्लो टेबुलका कोरियन जोडी एकअर्काको अंगालोमा खितखिताए। उसका आँखाबाट तप्प आँसु खस्यो।
मैले उसको हात समाएँ। ऊ मेरो अंगालोमा बाँधियो। उसका आँखाबाट झरेका ताता आँसु मेरो छातीभरि छरिए।
उसको हालत देखेर मन अमिलो भयो। नमज्जासँग टुटेँ। यो पराया भूमि। पैसाले आफन्त किनबेच हुने बजार। उसको आँसु र हृदयको मूल्य कसले बुझिदेला? कसले सुनिदेला खै? उसको दुःखको भाषा?
ऊ मेरो काँधमा शिर राखेर हिक्कहिक्क गरिरह्यो। उसका आँखाबाट बगेका आँसुले मेरो टिसर्ट चिसो बनायो।
मैले उसको आँसु पुछिदिएँ। नेपाली समाजले भन्छ छोरा मान्छे रुनु हुँदैन। के छोराहरूको मन र दुख्ने हृदय हुँदैन र?
उसलाई निकै बेर रुन दिएँ। टेबुलमा दुई कप अमेरिकानो कफी आइपुग्यो। कफी पिउँदै मैले उसलाई दुखको कथा सुनाउन आग्रह गरेँ।
अँध्यारो मुस्कुराउँदै यसरी आफ्नो कहानी सुरु गर्यो,
डिसेम्बर महिनाको अन्तिम साता कोरियामा बेस्सरी हिउँ पर्यो। हिउँका चिसा छर्राहरू मुटुभित्र आएर ठोकिन्थेँ। कहिलेकाही यहाँको तापक्रम माइनस २४ डिग्रीसम्म पुग्थ्यो। हातगोडा जमेको आइस जस्तै हुन्थे।
कहिलेकाहीँ बाथरुम र किचनका धाराहरू दूधपोखरीमा पानी जमेजस्तै जमिदिन्थो। कोरियन चाउचाउ मात्रै खाएर निदाउनु पर्थ्यो। नेपालबाट ठूलो सपना बोकेर आएको थिएँ। काम गर्नु बाहेक अर्को कुनै विकल्पै थिएन। यहाँका मालिकहरूले हामीले रोबर्ट सम्झन्थे। मानौँ, हाम्रो मुटु छैन। चेतना छैन। हैसियत छैन। हामीसँगै कुनै सम्भावना पनि छैन।
एक मनले भन्थ्यो, यो पासपोर्ट च्यातिदिएर आफ्नै देश फर्की। अर्को मनले भन्थ्यो, पहिला धनी बन अनि दार्शनिक।
दिनभरि रोबर्ट बनेर म साँझमा कोठा फर्कन्थेँ। फेसबुकमा ग्रीन सिग्नल देखाउने बित्तिकै साथीहरूको मेसेजको ओइरो लाग्थ्यो। सामान्य कुराकानीपछि सबैले आफ्नो-आफ्नो सामानको लिस्ट तयार गर्थे। मोबाइल, ल्यापटप, क्यामेरा उनीहरू यसरी माग्थे कि म हावामा पैसा टिपिरहेछु अथवा मेरो ठुलै हिराको खानीको छ।
जब जब अरूले सामानको लिस्ट तयार गरेर फोन गर्थे, मलाई आमाको खुब याद आउथ्यो। फोन गर्ने बित्तिकै मेरो हालखबर र खाना खायौ कि भोकै छौ भनेर सोध्ने संसारमा उहाँ बाहेक अरू थिएन। उहाँको तातो अंगालोमा हराउन चाहान्थेँ। कोरियाको चिसो र आमाको तातो अंगालोको निकै अन्तर त्यसैबेला महशुस गरेँ।
कहिलेकाहीँ लाग्थ्यो, मेरो मन र आँखाको भाषा बुझिदिने मान्छे होस्। बेलुका कोठा फर्कदा उसको अनुहार हेरेपछि मेरा पीडा निका हुन्। आर्थिक हैसियत र महंगो बजारको दुनियाँमा मैले दुखको साथी कहाँ भेट्नु?
एकदिन आमाको असाध्यै याद आयो। घरपरिवारको सम्झनाले मनको बाफ घाँटीसम्म आएर अड्कियो। फेसबुकमा एउटा स्टाटस पोष्ट गरेँ, ‘मानवता नभएको कोरिया, भावना नभएको उसको मन अनि थाकेको मेरो मुटु।’
इनबक्समा मेसेजको ओइरो लाग्यो। आफन्तहरूले सानत्वनाको व्यापार सुरु गरे। म केही समय फेसबुकमा हराइरहेँ। सामाजिक संजालमा गरेको बिरोध देख्दा दिक्क लाग्यो। सत्ता र शक्ति परिवर्तन भइरहे। तर देश र जनताको जीवनशैली कहिल्यै पनि परिवर्तन हुन सकेन। युवाले प्रवासमा पसिना बगाइरहे। देशमा भ्रष्टचारको खोलो बगिरह्यो।
एकैछिनमा नयाँ फ्रेन्ड रिक्वेस्ट आयो। जानेको अनुहार थिएन। उसको प्रोफाइल चेक गरेँ। नाम सौरभी रहेछ। फोटोमा ऊ निकै खुलेकी थिइ। गहुँ गोरी। ठूलो निधार। लामो सिल्की कपाल। गुराँस जस्ता ओठ। उसले फोटोको क्याप्सन लेखेकी थिइ। ‘यो निधारमा भाग्य, होइन इतिहास लेखिएको छ।’ मैले केही नसोची रिक्वेस्ट एसेप्ट गरिदिएँ।
निकैबेर उसको प्रोफाइलमा हराइरहेँ कुहिरोको काग जसरी। निकै मिठा र दार्शनिक कुरा लेखिएका थिए। कतैकतै गजल र मुक्तकको हरफ पनि पढ्न पाइन्थ्यो।
साथी बनेको केही दिनमा सामान्य कुराकानी हुन थाल्यो। हाम्रो निजी बहसमा नेपालको तत्कालीन समयको अवस्था। देशको राजनीतिक अस्थिरता लगायत समाजमा बढ्दै गएको विकृति, विसंगतिको कुरा हुन्थे। त्यसमा हामी आफ्ना व्यक्तिगत दृष्टिकोण राख्थ्यौँ।
विस्तारै थाहा भयो, ऊ गजल कविता पनि लेख्दी रहिछे। बेलामा बेलामा स्टाटस पनि लेख्थी। ऊ उसको लेखनमा प्रभावित हुँदै गएँ। उसको स्टाटसमा कमेन्ट गरिरहन्थेँ। ऊ पनि मेरा पोष्टमा कमेन्ट गरिरहन्थी।
उसले एक साँझ च्याटगफमा आफ्नो व्यक्तिगत कुरा सुनाइ। बालकुमारी कलेजमा बिएड फस्ट इयरमा पढ्दी रहिछे। दिउसो प्राइभेट अफिसमा जागिर पनि गर्दी रहिछे।
त्यसपछिका दिनहरूमा हाम्रो च्याट गफको सिलसिला बढ्दै गयो। दिनभरि कामको थकान हुन्थ्यो। तर बेलुका उसँग बोलेपछि मैले सबै दुख बिर्सन्थेँ। कहिले बोल्दा बोल्दै मध्यरात बित्थ्यो। कहिले फोन नकाटी निदाउँथेँ।
कहिले कपमा चिया सेलाएको पत्तो पाउँदिनथेँ। कहिलेकाहीँ घरमा आमासँग बोल्न बिर्सन्थेँ। कहिले काम गर्दागर्दै टोलाउँथे। मेरो दैनिकीमा नै ठूलो परिवर्तन आयो।
कतिबेला काम सकेर उसँग बोल्नु जस्तो लागिरहन्थ्यो। त्यो आदत थियो कि प्रेम मैले जानिनँ। त्यो बेलासम्म हामी कलबाट भिडिओ कलमा पुगिसकेका थियौँ। म सधैँ उसको सम्झनामा डुबिरहन्थेँ। यो मेसिन जस्तो जिन्दगी, ऊ फूलजस्ती मान्छे। कसरी मिलाउनु दुवैको संयोजन यस्तै कुरा सोचिरहन्थेँ।
लगभग चार पाँच महिना बोलेपछि हामी प्रेममा परिसकेछौँ। प्रस्ताव दुवैले गर्नु परेन। एकअर्कामा समर्पित भइसकेछौँ।
त्यसपछि मेरो हिउँ परेको जीवनमा झलमल्ल घाम लागे। म घामको न्यानोमा हराउँदै गएँ। म कोरियाको निर्दयी सहरमा छु। मेरो हैसियत एउटा रोबर्टको जति मात्रै हो भन्ने मैले कहिल्यै पनि महशुस गरिनँ।
काममा रहँदा पनि लुकीलुकीलाई मेसेज गरिरहन्थेँ। उसँग नबोलेको पल मलाई जिउँदो छु जस्तो लाग्दैनथ्यो। ऊ सँगको सम्बन्धमा रहँदा मलाई सकेण्डको पनि ठूलो महत्व थियो।
शरीर जति टाढा भएपनि मन सबैभन्दा नजिक हुँदो रहेछ। मनको माया आत्मीय हुँदो रहेछ। भिडिओमा बोल्दा बोल्दै उसको नजिक छु जस्तो लाग्थ्यो।
समय आफ्नै रप्तारमा डौडियो। मैले उसँगको साथ र भविष्यको कल्पना गर्न थालिसकेको थिएँ। ऊ भविष्यको मिठामिठा सपना देखाउँथी। सुहागरातदेखि बुढेसकालसम्मका। छोराछोरीदेखिको नाम देखि पढाइसम्मका।
मैले कहिल्यै पनि सोचिनँ, ऊ नेपालमा छ। भर्खर बिएड पढ्दै छ। राम्री छ। उसलाई मन पराउने मजस्तै धेरै होलान्। उसका लागि म एउटा अप्सन मात्रै हुन सक्छु भनेर। मेरो लागि ऊ सबैभन्दा पहिलो प्राथमिकता थिइ। ऊ बाहेक कुनै अप्सन थिएन। ऊ बिना म रित्तो र एक्लो हुन्थेँ। म भगवानसँग सधैँ हाम्रो मिलनको कामना गरीरहन्थेँ।
मैले कोरियाको माइनस २४ डिग्री चिसोबीचबाट उसलाई मेसेज पठाउँथे। ऊ किबोर्टडमा औँला चलाउँथी। उसको औँलाभन्दा पहिला मेरा मन चल्थे। कहिलेकाहीँ भिडिओ कल गर्दागर्दै यो मोबाइल नै फुटाएर उसको अंगालोमा गएर बाँधिन मन लाग्थ्यो। म उसको मुस्कानमा आफैँलाई भुलिदिन्थेँ।
ऊ मलाई आफूभन्दा पनि प्यारो लाग्न थालेकी थिइ। प्रायजसो हिउँ परेको बेलामा हिउँमा उसको नाम लेखेर फोटो खिचेर पठाइदिन्थेँ। ऊ दंग पर्थी। म आफैँभित्र मुस्कुराउँथेँ।
कहिलेकाहीँ समुन्द्रको बालुवामाथि उसको नाम लेख्थेँ। तर एकैछिनमा पानीको छालले नाम मेटाइदिन्थ्यो। त्यतिबेला मेरो छातीको देब्रे पाटो नमज्जासँग टुट्थ्यो।
मैले उसँग धेरै मिठा कल्पना र सपना देखेको थिएँ। ऊ मलिन अनुहार लगाएर कहिले आउनुहुन्छ भनेर सोधिरहन्थी। म छिटै आउँछु भन्थेँ। तर आउने कुनै टुङ्गो थिएन। उसको मन राख्नका लागि भएपनि छातीमाथि ढुङ्गा राखेर उसलाई सानत्वना दिन्थेँ। फोन राखेपछि बेस्सरी रुन मन लाग्थ्यो। उसकै समीप पुग्न मन लाग्थ्यो।
हाम्रो प्रेमको स्तर निकै माथि भएको महशुस गर्थेँ। भावनात्मक रूपमा उमसँग धेरै माथि थिइ।
मैले उसको शरीर छोएको थिइनँ, मन छोएको थिएँ। मनको छुवाइ शरीरको भन्दा निकै माथि हुने रहेछ।
विश्वासको हामी त्यो उच्चतम बिन्दुमा हामी पुगिसकेका थियौँ। भावनात्मक रूपमा न ऊ कुमारी रही न म कुमार रहेँ।
म यता साहुसँग बिदा मिलाउँदै थिएँ। जुन महिनामा नेपाल गएर विवाह गर्ने योजना बनाएका थियौँ। घरिघरि लाग्थ्यो, बिहेपछिको उसँगको साथ कस्तो होला? उसले मलाई गरेको पहिलो सम्बोधन कस्तो होला? बेहुलीको भेषमा ऊ कस्ती देखिएली? एकान्तमा यस्तै सोचेर हराइरहन्थेँ? एयरपोर्टमा पहिलो पटक मलाई देख्दा उसको अनुहारको रङ कस्तो होला? ऊ बुहारी भएर मेरो घरमा भित्रिएको दिन मेरो खुसीको उचाइ कहाँ पुग्ला?
ऊ जहाँ जाँदा पनि मलाई मेसेज गरेर मात्रै जान्थी। तर एकदिन अचानक ऊ हराइ। फेसबुकमा ग्रीन सिंग्नल नदेखाएको ५ घण्टा बितिसकेको थियो। फोन गरेँ। मोबाइल पनि अफ रहेछ।
उसलाई केही भयो कि अथवा बिरामी परि, म चिन्तामा फसेँ। दुई दिनसम्म ऊ हराइ। मैले खोज्ने प्रयास गरिरहेँ। तेस्रो दिन ऊ अनलाइन आइ। तर उसको बोली र व्यवहार पहिलाको भन्दा निकै परिवर्तन थियो।
मैले धेरै सोध्ने कोसिस गरेँ। उसले बताउन चाहिनँ। ऊ बोल्दाबोल्दै अफलाइन भइ, मैले रातभरि उसको प्रतिक्षा गरिरहेँ। त्यसपछिका दिनहरूमा पनि उसको व्यवहार त्यस्तै रह्यो। मेरो मन अत्याधिक दुख्थ्यो। छट्पटीमा रात बित्थे।
आँसुले तकिया भिजिरहे। दिनभरि उसको याद आइरहन्थ्यो। विगतका उसँगका रमाइला कुरा सम्झिरहन्थेँ। बेलाबेलामा उसको मेसेज आउँछ कि भनेर मोबाइल हेरिरहन्थेँ। तर प्रतिक्षा बेकार बनिरहेँ।
ऊ बिनाको एक सेकेण्ड पनि मलाई एक घन्टा जस्तो लाग्न थाल्यो। चार पाँच दिनसम्म मलाई उसको कल मेसेज केही आएन। मैले मेसेज गर्दा पनि सिन गरेर छोडिदिइ। मलाई लाग्यो ऊ ठुलै समस्यामा होली, मलाई बताउन नसकेको पो हो कि! पछि कल गर्छे होला। छैटौँ दिन उसले मेसेज गरी। म खुसीले फुरुङ्ग भएँ। बग्दै गरेका आँसु टक्क रोकिए।
एकैछिन मेसेज गरेर ऊ अफलाइन भइ। रातभरि म उसको सम्झनामा रोइरहेँ। सातौँ दिन फेरि उसैले भिडिओ कल गरी। घरमा पाहुना आउनु भएको छ भनेर एकैछिनमा अफ लाइन भइ।
त्यसपछिका केही दिन ऊमसँग बोलिनँ। मलाई भने उसको यादले सताइरह्यो। उसकै प्यास लागिरह्यो। म हरेक रात उसको मेसेजको प्रतिक्षामा हुन्थेँ। आँसुले पूरै सिरान भिज्दा पनि पत्तो पाउँदिनथेँ। मेरो आफ्नो भन्नु कोही थिएन।
म उसमा नै पूर्ण रूपमा समर्पित भइसकेको थिएँ। थाहा छैन ऊ कसरी परिवर्तन भइ। केही दिनपछि उसले एक्कासी मेसेज गरेर भनी, 'म तिमीसँग यसरी सधैँभरि बोलिरहँन सक्दिनँ। तिम्रै समय अनुकूलमा मात्र अनलाइन आउनुपर्ने जरुरी छैन।'
म अवाक् भएँ। उसले एक्कासी अधिकारदेखि स्वतन्त्रतासम्मको कुरा कसरी गरी? रोबर्ट जस्तो जिन्दगीबाट थारै मान्छे बन्न खोज्दा कसरी गुम्यो उसको स्वतन्त्रता? के यो प्रेम नै थियो त?
म उसको व्यक्तित्व र उसलाई यति आदर गर्थेँ कि कहिल्यै पनि तपाईभन्दा तलको सम्बोधन गर्न मेरो मनले मानेन। हरेक पलमा म उसको समयको इज्जत गर्थेँ कि उसलाई नसोधी कहिल्यै फोनसम्म गरिनँ। सायद त्यसैको प्रमाण हुनुपर्छ हाम्रो सम्बन्ध परिवारदेखि आर्थिक, व्यवाहारिकसम्म जोडिसकेको थियो।
मैले घरमा फोन गर्न पनि छोडिसेको थिएँ। आमासँग बोल्न खोज्थेँ तर साहस जुटाउन सक्दिनथेँ। कारण आमासँग बोल्ने बित्तिकै गला अवरुद्ध हुन्थ्यो।
प्रायः बिदाको समय समुन्द्रको किनारमा बिताउन थालेँ। मेरो सम्बन्ध पनि समुन्द्र किनारको बालुवा जस्तै भयो। हिउँका ढिक्का जस्तै एकैछिनमा बिलाइ गयो।
उसले मलाई वास्ता नगरे पनि उसका प्रोफाइल हेरेर मन बुझाउँथे। तर एकदिन उसले मलाई एनफ्रेन्ड गरिछे। म फेरि एक पटक विक्षिप्त भएँ। आमाले कुटेको बच्चा आमाकै काखमा रोएजस्तो, मलाई पनि उसँगै रुन मन लाग्यो।
अनफ्रेन्ड नै भएपनि मेसेज गरेर एक पटक कल गर्न आग्रह गरेँ।
ऊ अनलाइनै रैछे, तुरुन्तै कल गरी। मैले हेल्लो पनि भन्न सकिनँ। घुक्कघुक्क मात्रै गरिरहेँ। यस पटक मेरो आँसुले उसलाई रोकेन। समय छैन भन्ने जवाफ दिएर फोन काटिदिइ। ऊ यतिधेरै निष्ठुरी बनिसकिछ, मानौँ हामी बीचमा कुनै सम्बन्ध थिएन।
भावनात्मक प्रेम भन्नु केही होइन। के प्रेम हुनलाई शरीरसँग खेल्नै पर्ने हो र? उसले मेरो भावनामाथि किन खेली? उसलाई मेरो मुस्कानसँग के दुस्मनी थियो? थाहा छैन उसले कुन संसार जिती, कुन प्रेम जिती मेरो मनलाई प्रयोगशाला बनाएर?
टेबुलमा रहेको कफी सेलाइसकेछ। सायद कफीभन्दा बढी मेरो मन सेलाएको थियो। उसले अर्को चुरोट सल्कायो। म उसको कहानी सुनेर अवाक् भएँ। आफ्नै मनसँग कुरा गरेँ, वर्तमान पुस्ताको प्रेममा आर्दश प्रेमको कुनै महत्व नभएको हो त?
प्रेम भनेको एक अर्काप्रतिको आदर, सम्मान, विश्वास र भावनाको कदर हैन र? किन मान्छेहरू शरीरसँगको प्रेमलाई मरिहत्ते गर्छन्?