कमरेड!
पर क्षितिजमा
कालो बादल मडारिदा
मेरा आमाका आँखाबाट
डर अनि पीडाका
आँसु बर्सिन्छन्
लाग्छ अनिष्ट हुँदैछ
लाग्छ कोही मेरो देशलाई
छियाछिया पार्दैछ।
हिजो
तिमीले झुपडीमा बाडेका
मिठा बाचा अनि सपनाहरू
कुर्सीसँगै सत्ताको लालचमा
बिलिन भएर गए
त्यसैले
आज बुद्ध बेहाल भएको छ
अवचेत भएको छ
अनि आहात भएको छ
जसरी मेरी आमा
तिम्रा आश्वासनको पर्खाइमा
आजित, मर्माहत अनि शून्य भएकी छिन् ।
कमरेड!
अचेल मेरा सपनामा पनि
एक हुल कात्रो ओढेका मानिस आउछन्
अनि तर्साउछन् मलाई
डुबाउन खोज्छन्
म भेट्दिनँ माझी
भेट्दिनँ डुङ्गा
जसरी डुब्दैछ मेरो देश
कालो बादल भित्र
त्यसरी नै म पनि
डुब्दैछु राप्तिको भेलमा।
रक्तक्रान्तिबाट
सर्वहारा वर्गको
शासन आउछ भन्ने तिमी
आफ्नो धरातल बिर्सिदै
आलिसान दरबार बनायौ
तर हामीलाई
हातमुख जोर्न गाह्रो छ
छिमेकीले गिद्धे नजर लगाउँछ
दाजुभाइले नै अस्तित्व लुट्छन्
सिटामोल नपाएर सास्ती छ
तिमीले त हामी यहाँ छौँ भनेर
सुकिलो अनुहार देखायौ
देखायौ टलक्क टल्किने जुत्ता
तर
तिमीले जहाँ छोडेका थियौ
कमरेड! हामी त्यही छौँ।