कविता
ए मेरो प्रिय साथी,
त्यहाँ जानु हुँदैन तिमी
तिमी हामी जस्ता
भुइँमान्छेहरुलाई
पटक्कै सुहाउँदैन त्यहाँ।
तिम्रा नंग्राहरु खिएका छन्
पैतालाहरु पट्पटी फुटेका छन्
हत्केलामा कांटी ठोकिएका छन्
र,
पाखुरीहरु सिक्रीले बाँधिएका छन्
त्यती मात्र कहाँ हो र साथी?
तिम्रो शरीरमा पसिनाको गन्ध आउँछ
तिम्रो निधारमा माटोको टीका छ
तिम्रो अनुहारमा अतीतको
प्रतिबिम्ब झल्किन्छ,
वर्तमानमा आशाको त्यान्द्रो देखिन्छ
अनि,
तिम्रो अनुहारमै
देशले आफ्नो भविष्य देखिरहेछ।
मेरो साथी!
झट्ट हेर्दा
अनुहार मिल्न सक्छ
सुरुमा 'आफ्नै' लाग्नेछन् उनीहरु
तिमीलाई
त्यो घर-आँगन
तिमी बाल्यकालमा खेलेर हुर्केको
घर-आँगन जस्तै लाग्नेछ
तर,
तिमी अहिले बुझ्दैनौ साथी
त्यो त-
महल हो, झुपडी हैन
महलमा बस्ने
तिम्रो अझै हैसियत बनेको छैन
त्यो कम्पाउन्ड हो, आँगन हैन
तिमीले त्यहाँ टेकेमा
मैलिन्छ, दाग लाग्छ,
अनि गन्हाउँछ उनीहरुलाई
त्यसैले,
बिन्ती छ साथी!
नजाऊ त्यहाँ
तिमी हामीलाई यही झुपडी सुहाउँछ
यही झुपडीबाट आउने
पसिना नै सुगन्धित लाग्छ।
प्रिय साथी!
सुरुमा,
तिमीलाई तितो लाग्छ
मेरा यी वचनहरु
उनीहरुसँगै जोड्नेछौ मुहार तिम्रो
उनीहरुले लगाएको मुखुन्डो
तिमीले पत्तै पाउने छैनौ
आफू जस्तै देख्नेछौ सबैलाई
पछि ज्ञात हुनेछ साथी-
तिमी पाइला सार्न सक्नेछैनौ
हात चलाउन सक्नेछैनौ
तिम्रो आवाज रोकिनेछ
तिमी एक्लो एक्लो
बिल्कुल एक्लो हुनेछौ त्यहाँ।
मेरो साथी,
अहिले तिमीलाई
घृणा लाग्ने यो झुपडी
प्यारो लाग्नेछ त्यतिबेला
अहिले तिमी हिँडेको बाटोमा
अलि परपट्टि
काँडेतार लगाइएका छन्
पुगिनेछैन गन्तव्यमा
अनि,
फर्कनु पर्नेछ फेरि
यही बाटोमै
त्यतिबेला तिमी
एक्लो यात्री हुनेछौ
त्यसैले साथी,
म फेरि भन्छु:
त्यो तिम्रो बाटो हैन
त्यो मेरो बाटो हैन
आऊ सँगै हिडौं
मेरो साथी,
बिन्ती छ मेरो
त्यहाँ नजाऊ तिमी
आऊ सँगै हिडौं।