मेरो देश आज पीडामा परेको छ
दल अनि गुटको एकआपसी घृणामा परेको छ।
कहिले नाकाबन्दी श्रृजित अभावको मारमा परेको छ
त कहिले छिमेकीको कुदाइ र गुडाइको भार सहन गर्नु परेको छ
अनि दैवी प्रकोप र महामारीको चपेटाले कक्रिएको छ
मेरो देश आज पीडामा परेको छ
यहाँ,
कोही जीवनका मार्मिक पीडाको भारी बोकि
गन्तव्यहीन यात्रामा हिड्नु परेको छ
मर्नु न बाच्नुको दोसाँधमा जीवनका भयंकर सपना देख्दै
पराइ भूमिमा भासिनु परेको छ
रोग र भोकको अन्तहीन छ्टपटाहटले मुर्छित हुनुपरेको छ
पसिनाको मूल्यको भिख माग्दै सडकमा लम्पसार पर्नु परेको छ
लुटिएका अस्मिताहरु अन्याय र अपमानको विष
घुटुक्क पार्दै जिउनु परेको छ।
विडम्बना,
कोही भने अर्थहीन कुरुप नाटक मन्चन गरेको छ
जहाँ न सिद्धान्त न विचार न त पार्टी कै अस्तित्व बचेको छ
आखिर पालैपालो कारबाही र वाहवाहको अन्तहीन श्रिंखला चलेको छ
शक्ति र सम्पत्तिमा दाइँ लाउन चाकडी र षडयन्त्र गरेको छ
आश्वासनको भेल झुटको खेती बनेर बहेली खेलेको छ।
फकाउने झुक्याउने अनि जालझेलको खेल सधैँ चलेको छ।
राजनीतिको विकृत खेलले देश चिरा चिरामा परेको छ
मेरो देश आज पीडामा परेको छ
छिमेकी राष्ट्रहरु विश्व शक्तिमा दर्ज हुँदै गरेको बेला
सिटामल र जीवनजलका लागि विदेशी सामु लम्पसार पर्नु परेको छ
उद्योग धन्दा छिन्नभिन्न पार्टी उद्योगले व्यापार विस्तार गरेको छ
लोकतन्त्रको दुहाइ दिदै महल अनि गाडी पटकपटक फेरेको छ
भ्रष्टचार त पहिचान भो कुरा भने विकास र समृद्धिको गरेको छ
उन्नतिका सपना थिए तर देश झन्-झन् तल झरेको छ
मेरो देश आज पीडामा परेको छ
दल अनि गुटको आपसी घृणामा परेको छ
राम्राभन्दा हाम्राको कृडामा परेको छ।