कविता
मैले पढेका किताबहरुमा
सफेद अनि कञ्चन
स्वरूपमा मात्र पढेको थिएँ उसलाई
आमा भन्थिन् यस्तै थिए रे सहिदका सपना
यस्तै रंगका सपना सुनाउथिन् उनी मलाई।
अत: मैले देखेका सपनाहरुमा उसलाई
यही स्वभावमा मात्र चित्रित गरेको थिएँ
र बाल्यकालदेखि उसलाई
त्यही आकृतिमा खोजीरहेको थिएँ
आजसम्म त्यस्तै आदतमा खोजिरहेको छु।
जस्तो,
फूलको बोटमा
फूल जरा जस्तो रंग लिएर फुल्दैन
स्वतन्त्र रुपले
आफ्नै रंगमा फुल्छ फूल
जराले कुनै हस्तक्षेप गर्दैन।
अरु जुनसुकै रुखमा
पात काण्ड जस्तो खैरो भएर फैलिदैन
स्वच्छन्द रुपले
हरियो रंगमा सप्रिन्छ पात
काण्डले कुनै दखल दिदैन।
तर
यी मान्यताभन्दा ऊ अलग भयो
यी सब सिद्धान्तभन्दा ऊ पृथक भयो
ऊ रंगहरुमा मिसिएर रंग बिगार्न सक्छ
सबै अंग प्रत्यांगमा पसेर नियन्त्रण गर्न सक्छ।
फोहोर बनेर पानीमा मिसिन्छ
पानी बनेर दूधमा मिसिन्छ
महंगी बनेर सिटामोलमा मिसिन्छ
बेलाबेला कैंची बनेर बिजुलीका तारहरु काट्छ
गरिबी बनेर घरहरुमा पस्छ
हड्ताल बनेर विद्यालयहरुमा पस्छ
अनि पुजारी बनेर मन्दिरहरुमा पस्छ।
आमा! मैले तिमीसँग मिथ्या सिकें त आमा?
गुरु! मेरो सिकाइमा त्रुटी भो र गुरु?
ऊ यसरी कसरी रंग बदलिरहन सक्छ?
ऊ यसरी कसरी ढंग बदलिरहन सक्छ?
ऊ त छेपारो जस्तो पो भयो आमा!
ऊ त भाइरस जस्तो पो भयो गुरु!
लाग्छ कोरोना उसैको सन्तान हो
उसैको एउटा अदृश स्वरूप हो।