रेगिस्तानको बीचमा पानीको मुहान खोजी हिड्दैछु आजभोलि। संविधान र कानुनका खाका पल्टाउदैछु, न्यायका निम्ति।
मेरो अल्पायुको मायालाई लत्याएर जानेलाई के-कस्तो कारबाही हुन्छ, सोधखोज गर्दैछु। सबुत प्रमाणको मिसिल बनाइ पेश गर्ने हो त मायाको मामिला हेर्ने हरेक दफा र न्यायलय मेरो पक्षमा हुने थिएँ। तर विवश र हृदयविदारक, मायाको उपचार मुटुको शल्यक्रिया गर्ने चिकित्सकले पनि पत्ता लाउन सकेनन्।
संसार मायाको अभाव र उत्पातले बिगार्दछ। मायाको अभावले तालिवान जन्मन्छन् र उत्पातले भगवान जन्मन्छन्। गतिशील यो मिथ्या संसारमा स्थिर निर्जीव मात्र छन्। सजीव गतिशील र अस्थिर छन्। माया स्थिर छ तर माया गर्नेहरु स्थिर छैनन्।
विचार र विवेकको विलासीता प्राप्त गर्न कठिन भैरहेको यो समयमा, वस्तुकरणले सहज बनाइदिदा, विश्व हरेकलाई वस्तुको मोल गर्ने गर्छ। विवेकले हुने समस्याको हल अल्कोहलले गर्न खोज्छ यो संसार। बाहिरी वस्तुले आफूलाई पूर्ण पारिसक्दा पनि यो विश्व इतिहासकै विक्षिप्त र असन्तुष्ट समयमा बाचिरहेको छ।
सम्बन्धको व्यापार गरी स्वार्थ फलाएर सन्तुष्टिको नाफा गर्न माहिर छ यो संसार। मलजल नगरी समय नआइ खेतीको फल आजको भोलि चाहन्छ यो संसार। औँलो दिदा डुँडुलो निल्न पछि पर्दैन। स्वार्थका लागि सम्बन्ध बन्द गर्न पछि पर्दैन यो संसार।
ओसिएका 'करम'का हाँगा बाल्दै गर्दा आफ्नो 'करम' कै एउटा कित्ता काँट भैसकेको रैछ। मेरो मायाको जिउनी 'जस'लाई सम्झेँ, उसैले 'जस' नदिइ जिउनु न मर्नु बनाएर खाडल खनेर गइ। मेरो मायाको घरको 'रानी' ऊ नै थिइ र त्यो घर उसैलाई पास गरिसकेको थिएँ, अन्त्यमा त्यसैले पासो लगाएर ख'रानी' बनाएर गइ।
मेरो गगनचुम्बी मायाका चु'चुरो'मा बसेर यी कैँयन वर्ष मेरो जिन्दगीको 'चुरो' लाई खाग बनाएर गइ। उसका सहजतामा नायक बन्नुदेखि, अभावमा आवश्यकता बनेर आफ्ना बाध्यता र विवशतालाई वैतर्नी तारेको छु।
सत्य तितो नै हुने रैछ। मेरो माया सत्य थियो। नभए संसार देख्ने आँखाले हजारौँ स्त्री मध्ये, चाहेको भए मायालाई आँगनको बिस्कुनमा तिनलाई सुकाउन सक्थेँ। तर मानिस भएर जन्म लिएपछि धर्म र नैतिकतासँगै विवेकले त्यसो गर्न दिएन। मैदान बनाएर त खेल खेलिन्छ तर उसले माया गरिछ। कसैको जीवनसँग खेल्न सक्ने उसको सामर्थ्यको बेहद समर्थक भए आज म।
यी सात वर्ष म एउटै कुरामा भुलिरहेँ। उसले खेल खेलिरहँदा माया नै भनिरहेँ। घुर्की लाउदा भेष सम्झिरहेँ। नजिकिदा प्रेम ठानिरहेँ। सात वर्ष मेरो सेरोफेरो रहेर अन्त्यमा जग्गेको अग्नि अघि कोही अरुसँग सात फेरो लगाएर बिदा भइ।
सम्बन्ध मानिसको विवेकको उत्कृष्ट नतिजा हो। मनसुन होइन सम्बन्ध, अनुकूलतामा भेलसरि प्रकट भइदिने र हिउँदमा बालुवा भएर थेग्रिनु पर्ने। पानी हो सम्बन्ध, नभइ नहुने हर मौसम। जीवन हो सम्बन्ध र अनुशासनको कठघरा हो।
सम्झन्छु, यदि भेट नै नभइदिएको भए कति जाति हुने थियो। यी पीडालाई निम्तो दिएर पाहुना बनाइराख्नु पर्ने त थिएन। अनि मेरो खकारदेखि अन्धकार पन्छाउने मान्छे कसरी यति सहजै परिवर्तन हुन गयो? जीवनका सुनौलो समय जसले मलाई सुम्पियो, आज कसरी ऊ नौलो व्यक्तिलाई आफू सुम्पिन पुगि? मेरा प्रत्येक कण र कोषिका केलाई कसरी जान सकि ऊ?
हुलाकी राजमार्गदेखि रुप्सेसम्म साक्छि भएका निर्जीव स्थलहरुले कोही अरु बेहुला उसको बन्दैछ भन्ने पत्तो पाउदा हुन् त पक्कै स्तब्ध हुनेछन्। सिन्डिकेटका गाडी चडेर उसको पर्खाइमा हिडेका पैतालाले उसले सम्बन्धलाई 'ताला' लगाइ भन्ने महशुस गर्दा हुन् त पक्कै हिड्न मान्ने छैनन्।
प्रितिभोज वनभोजमै टुङ्गियौँ। मङ्गलसुत्रसम्म पुग्नमा सुत्रै गलत हुन गयो। सिन्दुर पनि दूर नै रह्यो।
सर्वसम्मत भएको म, उनीबाटै अन्तरघात भयो र अन्तत बागी उमेद्वारले सधैँका लागि जितेर लग्यो। कमि कमजोर त मैमा पनि थिए तर त्यसैलाई कम गर्न हामी जोर लाग्नुपर्ने थियो।
घरपरिवार र साथिभाइ रमिते बन्न पुगे। आमाले बु'हारी' ठानिसकेकी ऊ अन्त्यमा मलाई जिन्दगीबाटै हारिदिपठाइ।
आजकल मलिनताले घेरिरहेझैँ लाग्छ। उमेरसँगै व्यवहारले ठाउँ लिदैछ तर आँट हिम्मत छैन। मोबाइलदेखि टाढा बस्न खोज्छु तर सक्दिनँ। उसकै नामको स्क्रिनलकदेखि वाल सजिएको छ। कैयौँपटक हटाइसके तर फेरि उसैलाई हेरिरहन मन लाग्छ। मेसेजको लर्को इनबक्समा उसैको छ। फेसबुकदेखि इन्स्टा उसकै नामका पासवर्डले चल्छन्। तर यति थाहा भयो, पासवर्ड एकअर्काको कारोबार गर्दैमा विश्वास पास हुने रैनछ।
मायाको प्रतिउत्तरमा याद भागमा पर्यो तर ऊ भाग्यमा पर्न सकिन। बोलचाल नभएपनि लुकिछिपी हेर्न गर्थेँ उसको प्रोफाइल। जति रिस आवेग उठेपनि, बिर्सन खोज्छु भनेपनि आत्माले शरीर छाड्न सक्दो रैनछ। उसले दिएका कपडा त नलाउन पनि सकूँला तर याद कहा लगेर सेलाउँ। प्रत्येक दिन उत्सव बनाइदिनेले यो सब कसरी गर्न आट गरी, म पत्याउनै सकिरहेको छैन!
जोसँग नबोली बिना खानाको गाँस नखानेले आज बेखबर बनि कुन शक्तिले हुन सकिरहेकी छे, अचम्म लाग्छ। अरु त अरु, कसरी जीवनभर अँगाल्न कोही अरुलाई सक्छु भनेर स्वीकार्न सकी?
केही दिन अघि उसको विवाहको कुरा साथी मार्फत थाह पाएँ। सुन्न सकेँ तर सम्हालिन सकिनँ। सम्झेँ, कुन नामले बोलाउदी हो उसलाई? सायद मलाई बोलाउने नामले। मेहेन्दी मेरो बाहेक अरुको नामको लाउन सक्लि होलि र?
मसँग मन साटेर कोही अरुसँग ओछ्यान साट्न सक्लि र? तर सात वर्षको माया दाउमा लगाउनेले पक्कै सक्लि यी सबै निभाउन। तर अरुलाई ढाटेपनि उसैलाई कसरी ढाट्न सक्छे होला र! सात फेरा घुम्दै गर्दा हामीले छिचोलेका समय र दूरीलाई पक्कै सम्झि होलि। चाँदनी दोधारादेखि रारा पक्कै सम्झि होलि।
हामीले घुमेका हाटबजार सम्झि होलि। मङ्गलसुत्र पहिरिदै गर्दा मैले दिएको मेरो नामको लकेट के गरी होलि! गोडा धुधै गर्दा मेरा सम्झानालाई स्मृतिमा गएर पक्कै धोइ होलि। बिदाइमा मेरै सम्झनामा पक्कै भक्कानिइ होला। उदास र उदेक बनेर कसैको संसारमा बाँकी जीवन यात्राका लागि निस्कदै गर्दा पक्कै डराइ होलि।
उ बेला मेरो उपस्थिति उसको आँट बन्थ्यो, अब के ऊ अरु कोहीको उपस्थितिमा रामाउन सक्लि त! काठको मुडोजस्तै शरीर सुम्पिएर कोही अरुसँग क्रिडामा रमाउन सक्लि त! प्रणय दिवसमा मेरो शिवाय कोही अरुलाई माया गर्ने प्रण गर्लि त।
जे-जस्तै भए पनि सदाका लागि बिलाएर गइ। ती समय इतिहास बनेर गए, भविष्य बन्न सकेनन्। हासो आँसुमा परिणत भयो। जिन्दगीको यात्रामा अविस्मरणीय पल दिएर जादै गर्दा के पाइयो भन्ने कुराको लेखाजोखा, उसले मलाई खर्चेका समय र मैले उसलाई खर्चेका समयले भवितव्यमा तय पक्कै गर्लान्।
लाग्छ, उसको मायाको ओरिजिनल कपि म नै हुँ। बाँकी जो जति उसका जीवनमा आउछन्, ती सबै सेकेन्ड प्रिन्ट हुनेछन्। एउटा लामो यात्रामा निस्किएका हामीबीच बाटादेखि आ-आफ्नै गन्तव्य तय गर्दै छौँ अबबाट। दुखद् छ जीवन। उसको सुखी जीवनको कामना गर्न चाहन्छु र भन्न चाहन्छु:
तिमी उसैको बन्नु
चिन्ता नलिनु
हाम्रा कुराहरु सबै निजी राख्नेछु
तिमी उसैसँग खुसी हुनु।