सहरको एक कोठाभित्र बसेर गाउँलाई नियाल्दा गाउँमा व्यतित मनोरम र हृदयहारी स्मृतिचित्रले वर्तमानलाई त्यतापट्टि डोहोर्याइ रहन्छन् जहाँ मिनेट मात्र होइन, घण्टौँसम्म कुनै मन त्यतैपट्टि रमाइरहन सक्छ।
त्यो पुरानो तर आलो स्मृतिमा हराएर तन्द्रारुपी यात्रामा झैँ जोडजोडले पैताला चाल्दै हर महत्वपूर्ण पयरको अनुभूति भइरहन्छ। साँच्चै भन्ने हो भने गाउँका यादहरु दसी वा वास्तविक याद हुन् जुन जीवनभर रातको बत्ती बनेर सुनसानमा आइरहन मन पराउँछन्।
किनकि, त्यहाँ प्राकृत प्रकृयामै घटित कार्य हुन्छ। ती स्मरणबाटिकामा एउटा तस्बिर खिचिक्क भइरहँदा, त्यसको वरपर, दायाँबायाँ राता, हरिया, पहेँला, नीला आदि पोतिएका अनगिन्ती सरस रंगहरुबाट मानिस उम्कन सक्दैन। ऊ त्यतै बगिरहन्छ। बगिरहन्छ। त्यस्तै भएको छ प्रेमविनोदको आजको रात पनि।
उसले यतिखेर राजधानीको एक कोठाबाट घरलाई सम्झिरहेछ। उसको घर मध्यनेपाल, चितवन। उसले हजुरआमा र आमाबुबासँग त भर्खरै कुराकानी गरेर सकेको छ तरपनि उसलाई घरका सदस्यबाट छिनछिनमा टाढा भएको अनुभूति भइरहेको छ।
उसलाई घरको अर्को सन्तानसमन झैँ रहेको प्राणीले अतिव सताइहेको छ। एक सदस्यरुपि प्राणीको चित्र, उसको आवाज, उसको मूक चेहरा, सम्पूर्णरुपमा उसको दुई दशकको यात्रा एक साक्षीको रुपमा ताजा स्मरण बनेर दगुरेर आइरहेछ। एक प्राणी जो उसको बाल्यकालको साथी बनेको थियो, जोसँग उसले बढो उमंगसँग दुई दशक बिताएको थियो।
आखिर मानिस दुई दशक बिताएको प्रणीबाट भौतिक रुपमा टाढा भएपनि मनमस्तिष्कदेखि कसरी अल्पिन सक्ला र? ऊ बोल्न सक्दैन्थ्यो तर बुझ्न सक्थ्यो। पढ्न सक्दैन्थ्यो तर बुद्धिविवेकले काम गर्थ्यो। उसले ढाट्न, छल्न, ठग्न जान्नु त परको कुरा। ऊ निकै इमान्दार थियो। के यी यावत कुराहरु कुनै जनावरबाट सम्भव होलान् र?
प्रेमविनोदले त्यस प्रणीलाई सुरुआतमा ‘काले’ को संज्ञा दिएको थियो। काले उसका लागि यति मायावी थियो कि बरु घरका अरु सदस्यलाई ऊ बिर्सन सक्थ्यो तर उसलाई होइन। जब ऊ आठ वर्षको हुँदो हो, उसले त्यस कालेलाई विद्यालबाट फर्किदा एउटा गुरुङको घरबाट ल्याएको थियो।
उसका साथीहरुले पनि एक-एक वटा काखीमा च्यापेर बढो मुस्किलसँग आफ्नो घरघरमा ल्याइपुर्याएका थिए तर भोलिपल्टै तिनीहरुले त्यस कुकुरको छाउरीलाई त्यहीँ गुरुङको घरमा पुर्याइदिएका थिए, आमाबुबाको ठाडो आदेशमा।
यतातिर प्रेमविनोदको घरमा भने उसले निकै संघर्ष गर्नुपर्यो। तत्क्षण प्रेमविनोदको 'बा’ बाट त्यसलाई घरमा ल्याउन र पाल्न इन्कार गरियो। ‘अति तुच्छ प्राणी, ती माथि छाउरी’ भन्दै भोलि नै जहाँबाट ल्याएको त्यहीँ पुर्याइदिने भन्दै त्यो साँझ तमासा भयो।
तर प्रेमविनोदको एकोहोरो बालसुलभ ढिपीअगाडि कसैको केही पनि चलेन। ऊ डाको छाडेर रोयो। अतः त्यो कालेले त्यस घरमा हुर्कने सौभाग्य प्राप्त गर्यो। यस्तो सौभाग्य जुनसुकै कुकुरका दुधे छाउरीहरुले गाउँघरमा अझैसम्म पनि पाउँदैनन्।
उनीहरुको अल्पायुगमै हत्या हुनेदेखि लिएर मायाविहीन भएर कुनै सडकको किनारमा धिपधिप बत्ती झैँ आफ्नो प्राण त्याग्नु पर्ने हुन्छ वा अन्जानमा द्रुत सवारी साधनको धक्कामा एकैचोटि पेलिएर इहलिला समाप्त पार्नुपर्ने हुन्छ। यदि त्यसो भएन भने गल्लीको जिन्दगी त छँदै छ, जो चरम भोकमारी र हेयताबाट गुज्रिदिन्छ।
उसले दिन प्रतिदिन त्यो अल्पस रातो र पूर्ण बेसारे रंगको छाउरीलाई खेलाई रह्यो, सुम्सुम्याइ रह्यो। त्यसलाई कसैले कतै लग्ने हो कि वा हराउने पो हो कि भन्ने भयले सुरुताका उसलाई विद्यालय नजाउँजस्तो पनि भयो।
त्यो कलिलो उमेरमा प्रेमविनोदको सम्पूर्ण माया त्यो कुकुरको छाउरी उपर यसरी पोखियो कि एक सखार हुँदै बादलविहीन आकाशबाट घामको कलिलो प्रकाश जसरी मध्यान्हसम्म बढोत्तरित भएर जान्छ। उसले कालेलाई आफ्नो भागको खाना अरुको आँखा छलेर दिन्थ्यो।
घरमा रहँदा त्यसबाट टाढा जाँदैनथ्यो। काले पनि ऊ जहाँ जान्थ्यो, लड्दै र घिस्रिदै त्यहीँ पुग्थ्यो। काले प्रेमविनोदको मुखमा हेरिरहन्थ्यो। ऊ पनि कालेको छेउमा बसेर विद्यालयको गृहकार्य सक्थ्यो। सिसाकलम उसको मस्तकमा राखेर कालेलाई जिस्क्याइ रहन्थ्यो।
गर्न हुने नहुने सबै कुरा प्रेमविनोदले कालेलाई गर्थ्यो। काले घ्यार्र-घुर्र गर्दै रिसाउँथ्यो। यद्दपि काले धर्ती थियो। कहिलेकाहीँ मात्र जोडले चिच्याउँथ्यो, प्रेमविनोदले उसलाई औधि रिस उठाएको बेला। यसरी प्रेमविनोदको खेल्ने साथी भनौँ या सहयात्री, हप्तादिन नबित्दै त्यो काले भइसकेको थियो।
यसबाट न प्रेमविनोदलाई टाढिन सहज थियो, न त त्यो दुधे कुकुरको छाउरी कालेलाई नै। अर्कोतिर, घरमा छाउरी हुर्किदै गएको देखेर प्रेमविनोदका बा झिँझिँरहेका थिए। अरु सदस्यहरुलाई त्यो प्राणीप्रति दयाको भाव थियो किनकि त्यो अबोध थियो। विशेषतः हजुरआमा र आमालाई उसको त्यो उपरको प्रेम देखेर बीचमा कुनै धाजा हाल्न मन पटक्कै थिएन।
यद्यपि अन्तरहृदयभित्र हजुरआमा पनि चाहन्थिन् कि नातिले खेलाएको प्राणी छाउरीभन्दा छाउरो होस्। यदि छाउरी बढे पहिले पहिले पहाडमा जस्तै असरल्ल कुकुरका सन्तान हुर्किन्छन् र सबैलाई पाल्न सकिदैन।
त्यसकारण, उनीहरुले कलिलो उमेरमै जिन्दगीभर आमाबाट छुट्नुपर्छ। यदि बाँचे भने त ठिक छ, तर मरे भने घरका मानिसलाई पाप लाग्ला। हजुरआमा नातिलाई जतिखेरै जिस्काउँदै सोध्थिन्, ‘ए नाति, तँलाई यो कुकुरको छाउरीको बढी माया लाग्छ कि मेरो?’
तर ऊ सिधै प्रतिकृया दिनुको सट्टा दगुरेर कालेसामु पुग्थ्यो र घुतुमुन्ने छाउरीलाई दुई हातले छातीमा बोक्थ्यो। नातिको प्राणीप्रतिको अतिव प्रेम देखेर उनले आफ्ना पतिलाई भन्दै थिइन्, 'छाड्दिनुस्, अब यहीँ हुर्कियोस्। साह्रै रहर गर्यो नातिले।' तर बा फन्किने गर्थे।
विक्रमाब्ध २०५५ साल, माघको दोस्रो हप्ता। उनका बाले मध्यान्ह हजुरआमाको अव्यक्त चाहनालाई सम्बोधन गर्दै त्यस छाउरीलाई अन्त उतै पुर्याइ एक भकुल्ले डाँगो वा छाउरो ल्याए र यथास्थानमा राखिदिए। सायद यो चलाखी गर्न उनकी हजुरआमाले पो बाटो देखाइन् कि!
त्यो छाउरो दुरुस्तै रंगको थियो र निकै सुडौल र मोटो। सम्पूर्ण रुपमा मातृवात्सल्य पुगेर खेलाइ खेलाइरहूँ जस्तो तर त्यो दिनैभर कराइरह्यो- क्वाई क्वाई गर्दै। यसकारण उनकी हजुरआमाको हृदय चसक्क भएर आयो। आफ्नो आमासँग उसले तीन हप्ता मात्र बिताउन पाएको थियो।
छाउराछाउरीका लागि २१ दिन पनि निकै मान्नु पर्दछ। कहाँ सबै कुकुरका छोराहरुले तीन हप्ता जन्म दिने आमासँग बिताउन पाउँछन् र! कसैले न कसैले उनीहरुलाई आमाबाट छुटाएर लगिहाल्छन् घरको पहरेदार बनाउन।
त्यो साँझ जब प्रेमविनोद स्कुलबाट घर आइपुग्यो र हतारिदै काले भन्दै काले समीप गयो। अचानक त्यसको रुपरंग र जीउको ढाँचा देखेर केही असजिलो भयो तर जब उसले त्यसलाई छोयो, ऊ निकै सजिलो र सञ्च मानेर भुइँमा पल्टियो र आवाज निकाल्न छाड्यो।
यदि त्यस छाउरोले उसको स्पर्श पाउँदा तर्सिने वा डराउने गरेको हुन्थ्यो त कालेभित्र शंकाका बिजहरु एकपछि अर्को उम्रन्थे होला। फलस्वरुप, ऊ आमा वा हजुरआमासामु पुगेर अनेक पृच्छाहरु गर्थ्यो होला। तर त्यो त भएन त्यहाँ। सहजतामाथि झन् सहजता थपियो छाउरोको जिउडाल र रुपरंगले।
भोलिपल्ट एकजना आगन्तुक आएर प्रेमविनोदको कुकुरप्रतिको अगाध माया र साथीत्व देखेर एक नाम राखिदिए, ‘अबदेखि यसलाई काले नभन्नू, पप्पी भन्नू पप्पी।’
प्रेमविनोदलाई त्यो नाम सुरुमा त मन पनि परेन। निकै अप्ठ्यारो लागेथ्यो तर घरका सबैले पप्पी भनेर बोलाउन थालेपछि उसलाई पनि बानी परेछ। अतः उसले काले नभनेर पप्पी भन्न थाल्यो। दिनप्रतिदिन पप्पीले सबैबाट माया पायो र मायामा हुर्कदै र बढ्दै गयो।
घरका सम्पूर्ण सदस्यबाट, छरछिमेकबाट र आगन्तुकबाट एक सदस्यको रूपमा ऊ स्थापित भयो। पप्पी ठूलो हुँदै गयो। उसले भुक्ने आवाज महिनैपिच्छे फरक र शक्तिशाली सुनिन थाल्यो। भोजनको समयमा भान्साकोठाको तोरणद्वारमा बसेर कुर्थ्यो र सबैबाट भातको डल्लो पाउँथ्यो। प्रेमविनोदले दूधभात दिन्थ्यो। उसले खान बस्दै गर्दा पप्पीका लागि भनेर खाना छुट्याउँथ्यो।
उसको त्यसो गर्ने आदत नै बनेको थियो। परिवारले उसलाई सम्झाउने गर्थे, ‘अन्तिममा दिउँला पप्पुलाई, त्यो दिएको चैँ खा न।’ तर अहँ, उसले पप्पीलाई आफ्नो गाँस नै काटेर दिन्थ्यो। निकै आतुर पप्पीले व्यग्रताका साथ आँखा नझिम्काइ निर्मिमेश खाना कुर्थ्यो।
गाउँमा प्रेमविनोद जहाँ जान्थ्यो, पप्पी पछि पछि लाग्थ्यो। कहिलेकाहीँ त प्रेमविनोदलाई डर लाग्थ्यो। डर यो मानेमा कि यदि पप्पी तल्ला वा माथ्ला गाउँ गयो भने अरुले टोक्लान् र मार्लान्। यही कारणले पनि टाढा जानुपर्दा ऊ लुकेर जाने गर्थ्यो तर पप्पीले देखिहाल्थ्यो र पछ्याउथ्यो।
फलस्वरुप, ऊ फर्केर आउनुपर्थ्यो। धेरै चोटि यस्तै भएको थियो। ऊ स्कुल जाँदा पप्पीलाई पातलो साङ्लोमा बाधेँर जाने गर्थ्यो। ऊ झोला बोकेर फर्केर हेर्दै हेर्दै जान्थ्यो। पप्पी निकै जोड गर्थ्यो साङ्लोबाट फुत्किनलाई। साङ्लो चुडाऊला झैँ गर्थ्यो।
पछि विद्यालयबाट आउँदा उसलाई लिन भनेर हो या आइपुग्ने बेला भयो भनेर हो, पप्पी आफैमाथि माथिसम्म पुगेर कुर्थ्यो। अनि जब उसलाई देख्थ्यो, हुत्तिएर उसको सामु पुगी पुच्छर हल्लाउथ्यो र यता र उता, वरिपरि घुम्थ्यो। यो कार्य ज्यादै आश्चर्यजनक र चाख लाग्दो देखिन्थ्यो।
उसको सामु हुँदा पप्पीले बाँकी सबै अपरिचितलाई भुक्थ्यो। अन्य कुकुरहरु आए भने त यति तेजले भुक्थ्यो कि उसलाई नभुक भन्नुपर्थ्यो वा प्रेमविनोदले खेदाउन बाध्य हुनुपर्थ्यो। द्रुत गतिका मोटरबाइकलाई भुक्दै परसम्म पछ्याउँथ्यो। सायद पप्पी चाहन्थ्यो, ‘बाइकवालाले मेरो पनि ख्याल गरिदिउन् र आस्ते आस्ते अगाडि बढून्।’
पप्पी जतिखेरै तदारुक अवस्थामा रहन्थ्यो। ऊ आफ्नो जिउडालमा एक पनि मख्खिलाई बस्न दिदैनथ्यो। यसरी पप्पी जति दिन बित्दै गयो त्यति नै आकर्षक हुँदै र बन्दै गयो। एक समय यस्तो आयो कि उसको ढसरा वा बाक्लो ज्यान बढ्दो उमेर र चढ्दो जवानीको बीचमा परेर च्यापियो।
फलस्वरुप, केही महिना ज्यान लिन सकेन। घरमा अन्य चौँपाय भएकाले पनि उसले प्रशस्त खान त पाउँदैनथ्यो। तर दिएको खाना ऊ यसरी खान्थ्यो कि उसले एक सितो पनि बाँकी राख्दैन्थ्यो। ऊ छरछिमेकमा बिहान-साँझको खाना खाने बखत टुप्लुक्क पुग्थ्यो तर रातमा आफ्नै घर आउँथ्यो।
ऊ राति सुनसानमा जोडजोडले भुक्थ्यो जब गाउँका अरु कुकुरहरु भुकेको सुन्थ्यो। ऊ अनौँठा मानिसहरु उपर झम्टिन्थ्यो तर टोक्दैन्थ्यो। वरपर घुमेर भुक्दै झम्टिन्थ्यो। यस्तो अवस्थामा जब प्रेमविनोदले ‘नभुक-नभुक’ भन्थ्यो अनि चुपचाप लाग्थ्यो र लुसुक्क पर्थ्यो।
ऊ कहिल्यै पनि भान्सा कोठा भित्र पसेन। एकदिन प्रेमविनोदले आफू भित्र बसेर भान्सा कोठामा बोलायो तर उसले आफ्नो रेखा कहिल्यै पनि पार गरेन। बरु पुच्छर हल्लाइरह्यो। प्रेमविनोदले उसलाई घर घुम्न पनि सिकाएको थियो।
उसले आफ्नो हातको चोरी औँलोलाई गोलाकार रुपमा घुमाइदियो भने पप्पी फूर्तिका साथ एक फन्को घर घुमेर टुप्लुक्क आउँथ्यो। उसले आफ्ना अगाडिका खुट्टा माग्यो भने सरलक्क हातमा राखिदिन्थ्यो। नबस्न आग्रह गर्यो भने ऊ जुरुक्क उठेर पर जान्थ्यो।
यस्ता असाधारण बानीहरु उसका थिए जुन आगन्तुकलाई दंगदास बनाउने। उसको अर्को फरक आदत थियो। धेरैजसो कुकुरहरुसँग बिरालाको सम्बन्ध राम्रो हुँदैन तर ऊ पछिल्लो समय बिरालोसँग खेल्थ्यो। प्रेमविनोदको घरमा एक सेती बिरालो थियो जोसँग प्रेमविनोदको निकटता हुन पाएन।
आज विक्रमाब्ध २०७५ साल, प्रेमविनोदले पप्पीका यस्तै यस्तै कुराहरु सम्झिरहेको छ। उसले स्नातक तहमा सफलता पाएर थप अध्यायनका लागि राजधानी आएको दुई वर्ष भएको छ।
२०५५ सालको पप्पी आज बीस वर्षको भएको छ। पोहोर साल ढेड वर्षमा घरमा पुग्दा पप्पीले एकैचोटि चिनेर पुच्छर हल्लाएको थियो। त्यो बखत प्रेमविनोदलाई कतिखेर घर पुगेर पप्पीको मुख हेरुँ भएको थियो।
ऊ बुढो भएको रहेछ। ज्यानबाट रौँहरु पातलिएका थिए। बीच बीचमा अंगुर आकारका काला दागहरु देखिन्थे। रोगीझैँ हिँडाइ पनि निकै सुस्त सुस्त। त्यो रौनक र सान उसमा थिएन जस्तो त्यो बेला थियो। उसको गति देखेर प्रेमविनोदको मन भक्कानिएर आएथ्यो र उसले टुसुक्क बसेर पप्पीको मस्तकमा हातले थप्थपाएको थियो।
यसो गर्दा पप्पीका आँखा घरी प्रेमविनोद उपर, त घरि अन्त कतै घुमिरहे। हेर्दा हेर्दै उसले पप्पीका आँखाहरु रसाएको देख्यो। पप्पी जुरुक्क उठेर पुच्छर हल्लाउदै फुत्त उठेर अन्त हिँड्यो। प्रेमविनोदले उसलाई पछ्याइरह्यो तर पप्पी नजिक आउन मन गरेन। टाढा टाढा गयो।
आखिर पप्पी किन प्रेमविनोदबाट यसरी टाढा भाग्यो?
प्रेमविनोदले उसलाई दूध र भात दिन भनेर भरे साझँसम्म पर्खिरह्यो तर आएन। उसको खाना खाने थालीमा राखेर निराश मुद्रामा सुतेथ्यो। भोलिपल्ट बिहान त्यो खाना थिएन। सायद उसले राति खायो। तर उसले कसरी खायो? कसलाई सम्झेर खायो? कसले राखिदिएको भनेर खायो?
यहीँ बखत प्रेमविनोदको फोनको घण्टी बज्यो। उसले उठायो। घरबाट उसले नयाँ समाचार पायो। आउँदो बुधबार उनीहरुको परिवार गाउँबाट सहर बसाइ सर्ने भए रे। उनीहरुको यो अपर्झटको निर्णय थियो। हुन त पहाडबाट मधेस, दुर्गम मधेसबाट सुगम मधेस वा सहरी इलाकातिर बसाइ सर्नेहरुको क्रम चलिरहेछ।
उनीहरुको परिवार पनि चलेको चलनअनुसार अगाडि बढ्ने भए। तर, जब प्रेमविनोदले यो खबर पायो, ऊ गलेर खत्रक्क भयो। सुकेर खण्डहरसरह भयो। उसको बातन बन्द भयो।
उसको पप्पीको गत हाल सम्झेर छट्पटाउन थाल्यो। एकैचोटि उसभित्र वेदनाको पहाड चुलिएर आयो। उसले घुटुक्क पानी पियो र फेरि यथास्थानमा आएर पल्टियो। उसलाई आफू जन्मथलो छोडेर जाँदै छु भन्ने विछोडको चिन्ताभन्दा पप्पीको जीर्ण हाल, उसको दृघकालीन परिवारविहीन अवस्था, र गाउँमा अरु सबैबाट हेपिदाको क्षण सम्झन थाल्यो।
उसलाई यो आश्चर्य लाग्न थाल्यो कि ‘आखिर पप्पी किन मदेखि टाढियो? मलाई चिने पनि किन उसले त्यो बखत मेरो नजिक नजिक आएर परिचित भइ बसेन? ऊ किन रिसायो? अबउपरान्त पप्पीसँग मेरो भेट होला र?’
यस्तै कुराहरुको चाङमा परेर उसले मध्यरातमा एक सपना देख्यो जहाँ उसको परिवार पप्पीलाई छोडेर बसाइ सरेर हिँड्ने क्रममा थिए।
आकाश बादलले ढाकेको छ। कत्ला कत्ला बादलले निलो र सेतो नभमा छिद्र छिद्र पारेको बिहान छ। घाम उदाउने समय भएपनि धर्तीउपर मधुरो प्रकाश फिजिएको छ। घरको हालत चौपट छ। घामको झुल्कोसँगै सामाग्रीहरु असरल्ल आँगनमा निकालिएका छन्।
चार पाँच जना कामदारहरु खटिएका छन्, कोठाचोठाबाट खाट, टेबुल, कुर्सी, दराज, तखता, बाकस आदि झार्न भनेर। गाउँका केहीँ मानिसहरु दुखेसो पोखिरहछन् जोशी परिवारमाथि। जोशी दम्पती यता र उता अल्झिरहेछन् सामाग्रीको तलासमा।
उनीहरु केही गर्न खोजिरहेका देखिन्छन् तर अहिलेसम्म महत्पूर्ण केही गरेका भने छैनन्। सट्टामा बहुद आत्तिएका देखिन्छन्। सबैजना आउँदै भनिरहेछन्, ‘सहर पुगर हाम्लाई बिर्सिनु होला नि काका काकी? प्रमविनोदको मुख नै हेर्न नपाइ जाने भयो? प्रेमविनोद आएको छ र?’
यतापट्टि पर एकान्तमा एक वृक्षमुन्तिर पप्पी बसेको छ। पप्पीले सोचिरहेछ, ‘आज के भइरहेछ मेरो घरमा?’ ऊ भुक्न सक्दैन अहिले। उसलाई हिजोदेखि झन् गाह्रो अवस्था आइरहेछ। घरमा प्रशस्ती खान पाएको छैन। छरछिमेकमा जाऊँ भने पनि सबैका घरमा ऊजस्तै बसेका छन्।
उसलाई माया गरेर खाना दिने मान्छे एक जनाले संसार छाडेर गइसकेका छन्। अनि बढी माया गर्ने मान्छे ऊबाट टाढा। यतिखेर उसको शरीरमा झिँगा, किर्नाहरुले राज गरेका छन्। आफ्नो बलबुतोले भ्याएसम्म आफ्ना अगाडिका दाँतले जिउलाई बंगाएर किटीकिटी टोकिरहेछ तिनीहरुलाई।
ऊ घरि उठेर आफू बस्ने ठाउँमा पुग्छ। घरी बाटोपारी पुग्छ। घरी जोशी दम्पतीको छेवैमा पुग्छ। तर कसैबाट पनि नजर नलाइदा पुनः फर्केर आफ्नै स्थानमा आइपुग्छ। यतिकैमा एउटा मालबहाक ट्रक आउँछ र सामानहरु त्यहाँ अपलोड गरिन्छन्।
पप्पी जुरुक्क उठेर भुक्न थाल्छ। बुढो भइसकेको कुकुरले त्यसरी भुकेको देखेर जोशी परिवार पनि दंग पर्छन्। दामोदर जोशी भन्छन्, ‘यसले यसरी भुक्न सक्छ भन्ने मैले सोच्या थिइनँ बा !’ जोशीनी मनमनै भन्छिन्, ‘विचरा के सोच्दो हो यसले आज, जान्छ भने त लग्नु पर्ला यसलाई गाडीमा हालेर।’
त्यसपछि उनी उसको नजिक पुगेर भन्छिन्, ‘नभुक नभुक पप्पी।’ त्यसपछि मात्र ऊ चुपचाप हुन्छ। उनको बोली सुनेपछि ऊ अलि चनाखो पनि हुन्छ। उठेर यता र उता गर्दै सर-सामानको रेखदेख गर्छ। उमेरले ऊभन्दा तलका कुकुरलाई नजिक पर्न दिदैँन।
गाउँका अन्य जवान कुकुरहरु बढिसकेका हुन्छन्। तिनीहरुसँग घार्र-घुर्र गर्दै आफ्नो घरमा शक्ति जमाउँन खोज्छ। ती कुकुरहरु पनि टाढा टाढा जान्छन्।
यसरी दुई गाडी मालबहाक ट्रक अब जाने तर्खरमा हुन्छ। छरछिमेकीहरुले बढो दु:ख पोख्छन्। महिलावर्गहरु वियोगको क्षणमा झैँ रती बोल्न सक्दैनन्। पुरुषहरु भन्छन्, ‘गाउँ नबिर्सिनू, आउँदै गर्नू।’
जोशीनी एक आँखर पनि बोल्न नसकेर गाडीभित्र पसेर सारीको सप्कोले आँसु पुछ्न थाल्छिन्। पप्पी गाडी अगाडि पर बाटोमा एक्कासी आउँछ। आफ्ना मालिक मालिक्नी गाडीभित्र चढेँको हेर्छ। ऊ एकोहोरो हेर्दैन। घरिघरि पल्याक पिलिक्क हेर्छ र फेरि भुक्न थाल्छ।
उसलाई माया गर्ने जोशीनीलाई सायद ऊ हेर्न खोजिरहेछ। गाडी अब स्टार्ट हुन्छ र विस्तारै विस्तारै अगाडि बढ्छ। जोशी दम्पतीको आँखाभरि आँसु आउँछ।
त्यहाँबाट गाडी विस्तारै अगाडी बढ्छ। बाटो किनारमा गएर गाडीलाई बाटो छाड्छ। उनीहरु हिँडेपछि पप्पी मरेसमानको मुद्रमा सुस्तरी फर्केर उहीँ वृक्षको मुन्तिर बस्न पुग्छ। भरे साँझमा युवा कुकुरको हुल आएर उसलाई झम्टिन्छन् र टोक्छन्। सकेजति त उसले प्रतिकार गर्छ तर नसकेपछि ज्यान नै छाड्छ।
यतिकैमा प्रेमविनोद सपनाबाट झसंग हुन्छ। घडीले बिहान पाँच बजेको संकेत दिन्छ। त्यसपछि ऊ कलेज जाने तर्खर गर्छ।