आमाको अगाडि कमल लुरुक्क परेर बसेको थियो। अरूबेला आउनासाथ 'आमा खाने कुरा के छ?' भनेर कराउने र भान्सामा आफै गएर फ्रिज खोलेर भएभरका खानेकुरा खोतल्ने कमलले आज फ्रिज त के, कोठा भित्रै पनि प्रवेश पाएको थिएन।
अनि अरु बेला मेरो छोरो, मायाको डोरो, भन्ने आमा आज राता-राता आँखा पारेर उसलाई खाँउला झैँ गरी हातमा बेल्ना बोकेर हेर्दै थिइन्। कारण थियो, कमलको हातमा रहेको क्रिकेटको ब्याटको दुई टुक्रा।
'मैले हैन के आमा, त्यै पाण्डेले हो!' कमल आफ्नो बचाउ गर्न खोज्दै थियो।
'ए, पाण्डेले तेरो ब्याट भाँचिदेको?' आमाले ‘साँच्चै भन्, नत्र मरिस्’ वाला स्वर निकालेर सोधिन्।
'है... मै... न... हो,' कमल मसिनो स्वरले नसुनिने गरी बोल्न थाल्यो।
'बेस्कन बोल भन्या,' भन्दै आमाले कमललाई बेल्नाले एकलट ठटाइ हालिन्।
'ऐया!' भनेर कमल उफ्रियो।
'छिटो भन् भन्या! कसले भाच्यो तेरो ब्याट? मैले फोनमा सब सुनिसकेँ, अब साँच्चै-साँच्चै भनिस् भने बाँचिस् नत्र तलाई मैले आज जानेकी छु!'
आमाले यति भनेपछि मिठो मुस्कानको साथ घटेका घटनाक्रममा हल्का ट्विस्ट दिएर कुरा मिलाम्ला भन्ने कमलको सोच सोचमै सीमित रह्यो। अब त नभनी सुखै छैन भाइ भन्ने बुझेरै कमलले बिबिसी कमल सेवा सुरु गर्यो।
'मैले भाँचेको,' उसले मसिनो स्वरमा आफ्नो गल्ती स्वीकार्यो।
'तलाई यही ब्याट किन्न भनेर अस्ति ३०० देको हैन? किनेको दुई दिनमै किन भाँचिस्?' आमाले सोधिन्।
साँच्चै भन्ने हो भने, आमालाई रिसभन्दा पनि उत्सुकता धेरै थियो। अपार्टमेन्टमा खेल्ने ठाँउ नभएर चिन्तित भएकी उनलाई, बल्ल बल्ल नजिकै सानो पार्क बनिदिँदा निकै हर्ष भएको थियो।
उनलाई अब भने छोरा कमल अलिकति भएपनि खेल्छ, साथी भाइहरूसित घुलमिल गर्छ, र चौबिसै घण्टाको यो पब्जीको पागलपनबाट उम्किन्छ भन्ने लागेको थियो। त्यही भएरै पनि छोराका सबै साथीहरूले मिलेर क्रिकेट ब्याट किन्ने भन्दा उनले सहजै ३०० रुपैयाँ छोरालाई दिएकी थिइन्।
'अनि मलाई ब्याटिङ नै गर्न दिएनन् त! त्यही भएर लु जा त भनेर भाँचिदिएँ,' कमलले यसरी व्याख्या गर्यो कि मानौँ न्युटनले कुनै प्राकृतिक सिद्धान्तको व्याख्या गरिरहेका हुन्: स्याउ तल खस्यो, त्यै भएर गुरूत्वाकर्षण!
'कसरी तलाई ब्याटिङ गर्न दिएनन्?' आमाले आँखा खुम्च्याउँदै भनिन्, 'अघि म तरकारी किन्न निस्किँदा त मैदानमा तैं थिस् त। तेरो पाण्डे पनि थियो त तँ सँगै। दुवैजना सँगै ब्याटिङ गर्दै थियौ त।'
कमल हाँस्यो, 'छ्या आमा, तपाईं पनि। दुईजना एकैचोटि कसरी ब्याटिङ गर्छन् भन्या? पाण्डेलाई त रनर पो राखेको त। मैले सटका सट हान्ने अनि ऊ कुद्ने।'
'लौ!' आमा आत्तिइन, 'के भो तलाई फेरि? खुट्टामा चोट लाग्यो र? आफै नकुदी किन पाण्डेलाई कुदाएको?'
'छ्या हौ,' कमलले भन्यो, 'मलाई केही भएको छैन के। पाण्डेले पनि २०० हाल्या थियो नि त ब्याटलाई, त्यही भएर मेरो पनि ब्याट हो, म सुरूमा ब्याटिङ गर्छु भनेर दिक्दार लगायो। अब तपाईं नै भन्नुस् त आमा, मैले ३०० हाल्या, त्यसले २००, त्यसको पहिले पालो हुन्छ कि मेरो?' कमलले चित्त नबुझेको कुरा पोख्यो।
'अब जे होस्, मरिहत्ते नै गर्यो तेसले पनि,' कमलले कुरा सुनाउँदै गयो, 'अनि लु त आइज, दुई जानासँगै पिचमा उत्रिने, सुरुको दुई ओभर म ब्याटिङ गर्छु त रनर बस्, पछि म रनर बस्छु त ब्याटिङ गर भनेर फकाइ-फुल्याइ कुरा मिलाएको नि।'
आमालाई अझै चित्त बुझेको थिएन, 'अनि ब्याट चै कसरी भाँच्चियो भन्या?'
'पख्नुस् न म भन्दै छु। बरू आमा, भोक लाग्यो के। हल्का केही खाँदै कुरा गर्दा हुँदैन?' कमलले मायालु पारामा सोध्यो।
मातृस्नेहले लिप्त भएकी आमाले यति सुनेपछि कमललाई बेल्नाले मर्ने गरी अर्को सट दिईन्, 'अझ बढ्ता हुन्छस्? नभनुन्जेल त तँलाई म पानी पनि दिन्न। खुरुक्क भन् किन ब्याट भाँचिस्!'
अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन, तर चक्लाको पीडा कमलको नितम्बलाई भलिभाँती थाहा भइसकेको थियो।
'ऐया! किन हिर्काको भन्या! भन्दै त छु नि,' कमलले पिछाडि तिर मुसार्दै वृत्तान्त अगाडि बढायो, 'काँ थिएँ म? अँ, पाण्डे र म दुवैजना सँगै ब्याटिङ भनेर उत्रिम। त्यसपछि एक ओभर त यस्सो ब्याट घुमाउँदै गयो हेर्नुस्। नयाँ ब्याट पर्यो। के हो, कसो हो, अलि-अलि सिक्दै ओभर बितेको पत्तै भएन।'
'अनि?' आमाले सोधिन्।
'अनि केही न केही नि। पाण्डे मोरोले किचकिच गरेर रामराम। यता किन हानिस्, यो बल किन छाडिस्, त्यो बल किन यसरी खेलिस् भनेर हैरान नै पार्यो। मेरो ब्याटिङको बेला त चुप लागेर मलाई खेल्न दिनु नि हैन आमा?'
आमाले केही बोलिनन्। बरू आँखाले छिटो भन् भनेर इशारा गर्न थालिन्।
'अनि दोस्रो ओभर चल्दै थियो, पाण्डेको लहलहैमा मेरै टिमका केटाहरू पनि मलाई गाली पो गर्न थाले! चोर फटाहरू! उनीहरू त नि आमा पहिले पनि खेलिसकेकाहरू हुन् के। पहिले पहिले कता-कता गएर खेलेर सबै जानिसकेका। खुब मेरो पालोमा किन बोल्नु पर्यो!'
'ए… अनि के भो?' आमाले सोधिन्।
'अनि त मलाई रिस उठ्दै थियो हेर्नुस्, मैले पनि कसैको कुरा नसुनी आनन्दले आफ्नो स्टाइलमा खेलीरहेँ। जता मन लाग्छ त्यतै सट हानेँ, जति बेला मन लाग्छ फ्रन्ट फुट, जति बेला मन लाग्छ ब्याक फुट। अरूको बाल!'
'त्यस्तो भनेर हुन्छ? टिममा मिलिजुली खेल्नु पर्दैन?' आमाले हपारिन्।
'काँ हुन्छ त्यस्तो? मेरो धेरै पैसा छ, त्यह्यी भएर मेरो धेरै ब्याट हो! मैले पैसा नदेको भए ब्याट नै आउँदैनथ्यो। अनि बल्ल-बल्ल त ब्याटिङ पाएको छ, याँ आफूले, अलिकति आनन्दले खेल्न पाउँनु परेन भन्या? मैले पनि त्यै भएर केटाहरूलाई साफ झपारिदिए, तिमीहरू बढ्ता ल्याङ्ग-ल्याङ्ग नगर, नत्र ब्याट-स्याट लिएर घर चलदिन्छु भनेर भनेपछि सबैजना एकछिन् मत्थर भए' कमलले मख्ख पर्दै सुनायो।
'अझ हाँस्छस्' आमाले बेल्नास्त्रले तेस्रो प्रहार गरिन्। कमललाई दुख्यो त बेग्लै कुरा, तर बेल्नाको मारले पिठोको पुक्क-पुक्क परेको डल्लो, चेप्टो रोटी बनेझैँ आफ्ना पुक्क-पुक्क परेका पुट्ठाहरू पनि सपक्कै पर्ने हुन् कि भनेर डर बढी लाग्यो।
'छिटो भन् के भयो,' आमा गढ्गढाइन्।
कमलले घटनाक्रम सुनाउँदै गयो, 'अनि के हुनु नि? एक-दुई वटा बल अलिक गाह्रो किसिमको आइदियो अनि त्यही भएर थोरै डिफेन्ड गर्नुपर्यो,' कमलले टक्क राहुल ड्राभिडको पोज दिँदै भन्यो, 'यतिमै फेरि सबैको रोइलो सुरु भइहाल्यो।
यस्तो महत्वपूर्ण बल किन छोड्या, यो किन नगर्या, त्यो किन नगर्या। तेस्रो ओभर पनि नपुग्दै मलाई छोड् कि छोड् भनेर खेल्नै नदिने भए सबैजाना मिलेर।'
'अनि सुरुमै तैले पाण्डेलाई दुई ओभर पछि दिन्छु भन्या हैन? किन नदेको त? बोलेको कुरा पुर्याउनु पर्दैन?' आमाले सोधिन्।
'हैन, सुरु-सुरुमा त दिन्छु नै भन्या थिए के आमा, तर ब्याटिङ त जति गर्यो त्यति रमाइलो पो हुने रहेछ भन्या!'
'तेरिमा डाँका,' आमाले गाली गरिन्, 'तलाई मात्रै रमाइलो हुनुपर्ने? विचरा अरूले खेल्नै नपाउनु?'
कमल यतिबेला थोरै गम्भीर भएर भन्न थाल्यो, 'आमा तपाईं बुझ्नु हुँदैन क्या। क्रिकेट भनेको कुनै एकजनाले खेल्ने खेल होइन।'
टिभीमा आउने अङ्ग्रेजी क्रिकेट विशेषज्ञहरूको भाकाको नक्कल गर्दै कमलले हल्का अङ्ग्रेजी निकालिहाल्यो, 'इट इज अ टिम गेम। बुझ्नु भयो? क्रिकेटमा कुनै एउटा मान्छेले खेल्नु नखेल्नुभन्दा पनि टिमको स्कोर राम्रो हुनु महत्वपूर्ण हो।
'हेर्नुस् आमा, जसरी इन्डियालाई अष्ट्रेलियाले ३६ मै लोप्पा ख्वाइदियो नि, मैले अरूलाई ब्याटिङ देको भए हाम्रो टिमको त्यस्तै हविगत् हुन्थ्यो। मैले बाहेक अरू पाउदुरेहरूलाई केही आए पो? अझ पाण्डेलाई त ब्याट समात्नै पनि आउँछ आउँदैन। त्यो त पहिले कता एकचोटि डक-आउट भइसकेको अरे, बुझ्नु भयो? त्यै भएर मेरो त विकल्पै कोही भएन अनि मैले अरु कसैलाई ब्याटिङ नै दिन सकिनँ।'
यति सुनेर आमा ट्वाँ परिन्। यो उमेरमा यो विधि कुरा काँबाट सिक्यो यसले!
'अनि?' उनले पनि रुचि राख्दै सोधिन्।
'अनि रन बनेन भनेर कराउँछन् फेरि चोरहरू! सुरु-सुरुको ओभरमा १-२ रन मात्रै बन्यो त के भयो भन्या? त्यो त मेरो अझै हात नबसिसकेर मात्रै त हो! हात बसिसकेपछि त मैले जति चौका-छक्का कसले हान्न सक्छ? अब केटाहरूले यही कुरा बुझे पो!'
आमा कमलको कुरा सुनेर अवाक् झैँ भइसकेकी थिइन्। उनले केही नबोलेपछि कमलले आफैं कुरा भन्दै गयो।
'जे होस्, किचकिचका किचकिच गरेर केटाहरूले मलाई हैरान् पारे। त्यसमाथि पनि दुई तीन जनाले त मिलेर मेरो ब्याट नै खोस्ने कुरा पो गर्न थाले भन्या!' कमलले रिसाएर भन्यो।
'अनि?' आमाले सोधिन्।
'त्यसपछि मेरो पालो, मैले ब्याट लिएँ अनि बेस्कन घुमाएँ, अनि त्यसपछि ‘जय माँ दुर्गे!’ भनेर भुइँमा मर्नेगरी बजारेँ। अनि दुर्गा माताको शक्तिले यी' कमलले हातमा भएको ब्याटको टुक्राहरू देखाउँदै भन्यो, 'न रह्यो ब्याट, न बन्छ सेन्चुरी। अब खेल्छन् होला नि खुब क्रिकेट।' रिसले मुर्मुरिँदै कमलले कुरा टुंग्यायो।
'उफ!' आमाले हैरान् भएर भनिन्, 'तलाईं त तह लाउनै पर्ने भएको रहेछ। खुरुक्क हात-खुट्टा धोएर भित्र जा। आज तेरो बालाई आउन दे, त्यसपछि थाहा पाँउछस् तैँले।'
पछिको न्युक्लियर बमको कसलाई टेन्सन, कमसेकम अहिलेको ग्रिनेडबाट त बचियो भन्ने सोचेर कमल हतार-हतार कोठा भित्र पस्यो।
पछि रातपरेपछि कमलका बा पनि अफिसबाट घर फर्किएर आए अनि लुगा-सुगा फुकालेर नेपाल टेलिभिजन खोलेर सोफामा लम्पसार परेर हेर्न थाले।
आमाले त्यही मौका पारेर खुसुक्क गएर कुरा लगाइहालिन्, 'सुन्नु भयो कमलका बा? आज तपाईको छोरोले साथीहरूसित झगडा गरेर आएछ। हुँदा हुँदा त अस्तिको त्यो ब्याट थियो नि' उनले कुरा भन्न नपाउँदै बाले बीचमै रोकिहाले।
'समाचार सुन्न देउ न कान्छी। आज देशको राजनैतिक माहौल निकै रोचक भएको छ क्या। केटाकेटीको झगडा बरू पछि सुन्दै गरौँला।'