मिन पचासको एक मध्यरातमा पिपले छाया अध्यारो छाम्दै बढीरहेको छ ऊ। डल्लुको गल्लीभित्र छिर्ने कुइनेटोमा मोडिदै गर्दा नराम्ररी हिलोमा फस्यो। सम्हाल्यो आफूलाई।
'हैन यो उराठलाग्दो खडेरीमा फेरि पानी कहाँबाट आयो!' ऊ भुत्भुतायो। चार पाइला अगाडि बढाएको के थियो, उस्को नाकले चाल पाइहाल्यो, ढल फुटेको नालामा जाक्किएको रहेछ।
'जात्तेरीमा! खानेपानी छैन अब यो जिउ कहाँबाट पखाल्ने!' ऊ पिरोलियो।
भुस्याहा कुकुरहरु एक तमासले भुकिरहेका छन्। कोही कोही त उस्लाई झम्टिहाल्छन्। ऊ टक्क रोकिन्छ, एक सर्को गाली फलाक्छ अनि अगाडि बढ्दछ। बानी परिसकेको छ उस्लाई। यी उसैलाई भुकेर टोक्न झम्टिने कुकुरहरु देख्दा पनि उदेक लाग्छ उस्लाई।
उस्को मालिक्नीको कुकुर सम्झिन्छ, मालिक्नीसँगै कार चढेर हिड्छ। जब उनी उत्रिन्छिन्, उन्कै छातीमा चुल्बुल चुल्बुल गर्दै मडारिन्छ। ऊ तनक्क छाती तन्काएर सलाम ठोक्छ, उनी कुत्ताको कानमै फुस्फुसाउछिन् 'हाइ भन दाइलाई...'
'जिन्दगी!'
ऊ हल्का निहुरिदै छिर्यो। छिडीँको कोठाबाट उज्यालो आइरहेको छ। 'ओहो! बत्ती ननिभाइ भुस भैछ स्यानेकी आमा।'
ढोकैमा पुगेपछि थाहा पायो, कोठाभित्रबाट गुन गुन आवाज आइरहेको छ। 'फेरि को आएछ!' उस्को मन चिसो भयो।
हम्मेसी कोठामा छिरिहाल्न सकेन ऊ। एकछिन कान थाप्यो, ओहो! सम्धि आका रछन्। उस्ले हल्का ढोका खोल्यो, अभिवादन साट्यो। स्याने भुइँ ओछ्यानमा भुस भैसकेको छ।
बुढीमाउले प्याच्च बोलिफालिन्, 'के ठिंङी रा’छौ र बुढा त्यो संघारमा, भित्र पस।'
'हैन, किन फुन न दि होस् र सम्धि आम्दा, सिखारको जुगाड गर्दाहुम् क्यारे। खै पानी ल्या,' उस्ले पनि भनी टोपल्यो।
बुढीमाउले लख काटिहालिन्, आज पनि यी बुढाले नरगमा खुट्टा गाडेछन्। आँखा हेरेर फिट्टिक्कै हिंड्ने हैन। बुढीमाउ खुट्टामा पानी हाल्दा हाल्दै बोलिन्' केको फुन नगर्दा हुम् र, फुनाँ सुक्को रैनच।'
'भट्मास र गुन्द्रुक सम्धिले नै ल्या’रचन। उनैको मात्र के पकाम्नी भनेर मारी बिहान उब्रेकोको पिडालुमा मिसेर गर्जो टारिसकी तिम्री बुढीले, सुर्ता नगर' स्यानेकी आमा फुस्फुसाउछिन्।
सखारै सम्धिले झोलितुम्बा कसे। 'हैन सम्धि, तपैले के गर्न ला! भन्सा त अरेरै जानुपर्च' उस्ले मुख खोल्यो।
सम्धिले केहीबेर गमेर मुख खोले, 'हुन्च नि त सम्धि, तातो भात टिपेर जान्चु, जाडो पनि बेसेरी रछ।'
उस्ले बटुवा झिक्यो, घिरौलाका जाली जस्ता भ’का छन् उस्का बटुवा। स्यानेकी आमाले उस्लाई पुलक्क हेरिन्। उस्का बटुवा सातामा एकपल्ट अवश्य परख गर्थिन् उनी। एक दुई ठुटा चुरोट र घडीछाप सुर्ती बाहेक केही फेला पार्थिनन्।
उस्ले एउटा ठुटो सम्धि तिर बढायो र एउटा आफ्नो ओँठ्मा च्याप्यो अनि त्यही घडीछाप झिक्यो र जतन साथ राखेको एउटा गैंडा निकाल्यो र धुँवा पुत्ताउदै कोठाबाट बाहिरियो। स्यानेकी आमा हेरेको हेरै भइन्।
उस्का पाइताला गह्रुंगा भएका छन् आज। ऊ मनमनै गम खान्छ, अरुका सम्धि म यहाँ छु, म ह्वा छु, यता छु, उता छु, यसो अर्चु, उसो अर्चु भनेर छात्ती पिटी पिटी चौबाटो ढुकी रा’छन् रे। आफ्ना सम्धि भने यस्तो खडेरी लागेर 'खरच न पठल त म भक मरल' भनेर भन्ने अवस्था आउन ला बेलामा चुपैचाप टुपुलुक्क आइपुगेछन्।
ठिकै छ, छोरीकै नियास्रो मेटियो। अब एक छाक उम्काम्न पाए बुढा चलिहाल्छन्। मन मगन ऊ कतिखेर मासु पसल पुगिसकेछ। उस्ले गैंडा साहु तिर तेर्सायो। साहुले पहिलेकै पारामा भन्यो, दाइलाई सिर पाउ त होला नि हैन! हैन हैन साहुजि, आज डेरामा पाहुना पनि आ’ का छन्, दुई चार फिर्का मासु पनि मिलाएर दिनुस्।
स्याने मुसुमुसु हाँस्दै पकवान हेर्दै छ। उस्लाई आज भोक बेसेरी जागेको छ। सिरपाउ टकाटुकुको बास्नाले कोठा मग्मग गम्किरहेको छ।
'ल अब भन्सा अरम' स्यानेकी आमाले कोकोकोलाको बोत्तलमा भरेको पानी टकारिन्। दुवै सम्धि र स्याने भुइमा पलेटी कसेर मज्जाले हसुरे। घरि घरि ऊ स्यानेकी आमालाई हेर्थ्यो। आमाको अनुहार पनि धपक्कै बलेको देखिन्थ्यो।
सम्धि ठुटो चुरोट च्यापेर निस्किन लागे, उस्ले हात जोड्यो। 'ल सम्धि ज्यु, राम्रो स जानुहोला, यसपाला राम्रोसँग पाहुना मान्न पाइएन 'केरा नपाकेको बेला पर्यो।'
सम्धिले जाँदा जाँदै भने 'केही छैन हजुर, उता पनि उस्तै हो। खडेरी परेर केरा गबाउनै पाइएन, रमिता छ गाउँमा' सम्धि हात जोरेर बिदा भए।
सम्धि जानासाथ स्यानेकी आमाले उस्लाई झम्टी हालिन्। 'हैन, सम्धि जस्तो मान्छेलाई कुखुराका खुट्टा, टाउको खुवाएर के ठालु पल्टेर पार्सी कुरा गर्या हौ र!'
'केही हैन, तँ बुझ्दिनस् त्यस्ता कुरा र नबुझेकै राम्रो' उस्ले कुराको बिट मार्न खोज्यो। तर उनी जंगिन् 'भन्नै पर्च, पोहर त तिमीहरु रौसिले मातेर आका थियौ मुन्छे नचिन्ने भएर, भन आज लास्टाँ के कुरा भा हो?' स्यानेकी आमा झन्नै चिच्याइन्।
'ल सुन मन्दबुद्धी' ऊ फलाक्न थाल्यो 'मैले केरा पाक्दा सम्धि आएनन्, सम्धि आउँदा केरा पाकेनन् भन्न खोजेको सम्धिले बुझेर बीचैमा आफ्नो गुनासो सुनाए 'केरा गबाउन नपाएको' भनेर। त्यो भनेको मैले तलब आ’छैन, खर्च चलाउन गाह्रो छ भनेको।
सम्धिका कुरा चाइने पानी नपरेर खेतीपाती पनि भएन, गाउँमा भोकमरी जस्तै लागेको छ भनेको हो क्या लाटी!' स्यानेकी आमा साँच्चै लाटी भएर ट्वाँ परिन्, ऊ पनि डिउटी बजाउन हिड्यो।
मालिक्नी पप्पी बोकेर हुइकिहालिन्। धनीहरुको कुरै बेग्लै, मालिकलाई देश विदेश घुम्दै फुर्सद छैन। मालिक्नी कुत्ता च्याप्यो कता हो कता, पारा सबैको उस्तै हो। सोच्दा सोच्दै ऊ स्यानेकी आमाले भनेको पोहर त तिमीरु रौसिले मातेर... मा पुगेर अल्झ्यो।
हुन पनि पोहर त कम्ति रमाइलो भा’ थेन। सम्धि आएको मौका थियो, अहिले जस्तो माहामारीले रंग रसको व्यापार चौपट भएको अवस्था थिएन। दोहोरीको ढोकामा खुट्टा बजार्दा तलब र टिप्सले केरा राम्रै पाक्या’ थियो। त्यही रौनकमा एक साँझ त्यही दोहोरीमा रमझम गरायो सम्धिलाई।
सम्धि खुट्टा बटारी बटारी हौसिदै नाचे। सम्धिको नाच, फेरि फेरि लोकभाका, लचक लचक कम्मर मर्काउदै ठुम्का मार्दी नर्तकी, त्यो खानगी ओहो कम्ति रमाएनन् उनी। त्यो महोलमा मध्य रात्रिले घुम्टो नओढुन्जेल नाची रहे सम्धि। ऊ झुम्म परेर सम्धिलाई पर्खी रह्यो।
अन्तिममा निस्किए सम्धिहरु, उस्को आफ्नै जोडा छ डिउटीमा। पालेले ढ्याक्क बुट बजारेर सलाम फर्मायो। आज ऊ रमाइलो मुडमा थियो। रुपयाँ पचास टिप्स दियो, जोडाको हात अझै निधार मै थियो, सम्धिले पनि खल्तिमा हात हाले, पाँच सौको पत्ता हात लागेछ, त्यही दिए।
जोडाले नोट गोजामा भित्र्यायो मुसुक्क हाँस्यो र फेरि सलाम फर्मायो। यसपल्ट एक सौ र चानचुन दाम निस्क्यो। सम्धिले जोडाको हातमा थमाएर रन्छ्याङ मन्छ्याङ गर्दै दुवै लागे कोठातिर।
सम्धि लस्याङ पस्याङ गरिरहेका छन्, उस्ले भेउ पाइहाल्यो सम्धिको खल्ति जोडाको सलामले टाट पल्टाइदिएको छ। उस्ले सम्धिको गोजामा एउटा हात्ती हालिदियो, पर्दैन पर्दैन भनेर सम्धि लोकाचार निभाइरहेका थिए। सम्धिलाई देखुन्जेल उस्का आँखाले पछ्याइ रह्यो अनि ऊ पनि हिजोका कुराहरु मनमा खेलाउदै अगाडि बढ्यो।
जोडासँग डिउटी बुझ्यो अनि एकसरो छेडो हान्न भ्यायो। 'के हो जोडा, नयाँ मुन्छे देखेसी त खल्ती खलासै पारिन्छ हैन?'
जोडाले त्यो वाण फर्कायो, 'यो सुत्र तपाईंले नै सिका हो क्यारे! तपाईं नै भन्नुहुन्च नि सधैं दोहरी धाउने बाह्रमासेहरुले हामीलाई गन्दैनन्। जति बुट बजारे नि औकात हेर्चन्। त्यही दस बीस थमाउचन्, अझ कहिले त हाम्रै पैसाले चुरोट खैनी मगाउछन्। आफू ठुटो तानेर चुल्ठे मुन्द्रेलाई खिल्ली खुवाउनु पर्च।
कहिले पनि दोहरी नटेकेका एकपल्ट जाम न त कस्तो हुँदो रच भनेर आउनेलाई हो जर्नेली सलाम हान्ने। सलाम गरेसी एकपल्ट झस्किन्छन्, पल्याक पुलुक वरिपरी हेर्चन् र आफैलाई गरेको मेसो पाएसी देखासिखीमा टिप्स, खल्ती खलास हा हा हा...' जोडा एकबाजी धक फुकाएर हाँस्यो।
किन किन आज उस्लाई जोडाको हाँसो नमिठो लाग्यो। उस्को चित्तले भन्यो, बुटी ट्वाट पार्ने काम राम्रो रैनच।
'दाइ दाइ...' उस्ले पुलुक्क हेर्यो, मालिक्नी खडा छिन्। ओहो! गाडी बाहिरै राखेर आइचन्।
'मलाई थाहा थियो तपाईं गार्डेन तिरै हुनुहुन्छ भनेर' उनैले भनिन्। ऊ पनि नुनको सोझो फूलका बुट्टाहरु सुम्सुम्याए झैं गर्न थाल्यो। 'पप्पी दाइलाई बाई गर' भन्दै उनी घर भित्र छिरिन्।
हुन त उस्लाई कुत्ता भनेसी फिटिक्कै मन पर्दैन। उसैगरी ठन्डी रातमा ऊ कोठा तिर फर्किदै छ। मालिक्नीको छाउरोलाई देख्दा भने उस्लाई साँच्ची नै कुकुर हुन पाए झैं लागेर आउँछ। नभन्दै ऊ कुकुर हुन्छ।
आहा! ऊ मालिक्नीको काखमा राइँ दाइँ गरेर बसेको छ। अलिकति भोक लाग्यो कि कुइंकी दिन्छ। हतार हतार मालिक्नी दूध-बिस्कुट हाजिर गर्छिन्, अर्कोपल्ट मासु, आहा! अर्कोपल्ट 'पेडिग्री'।
मालिक्नी उस्लाई स्याम्पु दली दली नुहाइ रहेकी छिन्। उस्लाई कता कता काउकुती लागेर आउँछ। कहिले कसो दुई/चार पाइला हिंड्न परे फेरि ऊ कुइँ कुइँ गर्छ। मालिक्नी तुरिन्तै उस्लाई छातीमा टसाउछिन्। ऊ पुलकित हुन्छ, उनी उस्लाई सुम्सुम्याउ छिन्।
ऊ झन् लाडे पल्टिन्छ, आफ्नो लामो जिब्रोले मालिक्नीको घाँटी चाट्न भ्याइदिन्छ। उनी अझै नट्टी नट्टी भन्दै उसैलाई थप्थपाइ रहेकी छिन्। ऊ अझै के गरौँ, कसो गरौँ हुन्छ।
उस्को खुट्टा नराम्ररी फसेको छ। वरिपरी भुस्याहा कुकुरहरु उसैलाई भुकिरहेका छन्। हत्तेरी! यो पापी मनमा के-के जाति कुराहरु खेले, आज फेरि नालीमा नराम्ररी जाक्किएछु त्यस्का बाजे!
ऊ फसेको खुट्टा फुत्काएर खन्च्याङ खन्च्याङ गर्दै कोठामा पुग्छ। स्यानेकी आमा दैलो उघार्ना साथ नाक थुन्दै हकार्छिन, हत्तेरी! आज पनि नर्कमा जाक्कियौ हैन!