कविता
सहिदगेट किन मौन छ अचेल?
किन परेवा पनि टाढिएका छन् उसँग?
म, गाउँबाट
सहरको समाचार लिन आएको
र
सहर जस्तै रंगीचंगी बोकेर
स्थापित गर्नु छ गाउँमा।
द्वन्दकालमा
पूरा सपना भन्न नपाउदै
`बा´ सहिद भए
मलाई हृदयमा उनको सपना संगालेर
फर्किनु छ गाउँ।
भन, के बोकेर जाउँ?
तिम्रो अघि सहिदगेट त
अर्थहीन र महत्त्वहीन छ।
कमसेकम,
उसको त सम्मान गर
जसको रगत टेकेर
तिमी शासक भएका छौ।
किन धमिलो देखिन्छन्
स्वयम्भुका आँखा?
बुढानिलकण्ठ किन कण्ठ हराएजस्तै छ?
मलाई सब कुरा जान्नु छ
र फर्किनु छ आमा कहाँ
भन,
किन माइतीघर धर्ना र
जुलुसका लागि विनियोजन गरेजस्तो छ?
उदाहरणीय भनाउदाहरु
जिब्रोमा नौनी लाएर हिड्छन्
इमान र राष्ट्रप्रेम बेच्दै डलरसँग।
सरकारका उच्च पदस्तहरु
निर्णायक भूमिकामा बस्नेहरू
किन भ्रमको खिचडी बाडिरहेछन्?
बच्चामा बिहेको खेल खेलेजस्तो
र कानुनलाई सुत्ने बिछ्याउना जस्तो
आफू अनुकूल सारिरहेछन्?
भन महोदय,
के खबर लिएर जाउँ?
यहाँ,
दृश्य र दृष्टि फरक छ।
पशुपति उस्तै छैन आभाषमा
मातातीर्थ तीर्थालुहीन छ
र किन
शान्तिबाटिका शान्ति बिहीन छ?
केहीगरी,
बाटोमा बुद्ध भेटिएछन् भने
के भनूँला मैले उनलाई?
किन चुप छौ?
भन, मेरा प्रश्नले
किन तिम्रा अँखा रसाए?
किन हराएजस्तै लाग्छ काठमाडौँको सेप
र लाग्छ रोइरहे जस्तो?
मलाई त यहाँको खुसी बोकेर जानू छ।
समय फेरिए पनि, सत्यता फेरिदैन
र फेरिदैन देशभक्ति
तिमी भन्छौ
सुसमाचार र शुभ लिएर फर्किनु गाउँ।
महोदय,
तिमी बेचियौ भन्दैमा
म पनि बेचिनु पर्छ र?
मेरो इमान,
तिम्रो सोचभन्दा धेरै माथि छ।
मलाई माफ गर महोदय
तिम्रो शासन र दलीय विभाजन
मेरो गाउँमा नपुगोस्
फेरि पनि,
आमाको आँखा रसाउनु छैन
म सहर नभेटाएर फर्किदैछु।
मलाई सहरजस्तो बनाउनु छैन
प्यारो गाउँ
गाउँलाई गाउँ जस्तै
अझ सुन्दर बनाउनु छ।
आखिर,
समय आएपछि
हर मान्छे फर्किन्छ
आफ्नै गाउँ।