अनायासै झस्किन पुग्छिन्!
जीवनका तीन दशक पार गरिसकेछु। फर्केर हेर्दा निकै रमाइला अनि उराठ लाग्दो उकाली ओराली पार गर्दै यहाँसम्मको दिनहरुमा आइपुगी सकेछु।
सुनिता झस्किदै जुरुक्क बसेको चियरबाट उठ्न पुग्छिन्। अर्को कुनातिर गइ फेरि एकोहोरिन थाल्छिन् र विगतका दिनहरु सम्झन थाल्छिन्।
विगतका दिनहरुमा एउटा उमंग र उत्साहले भरिएकी उनी। कसैको साथ बिना पनि केही गर्न सक्छु भन्ने अठोट थियो मनमा। दुनियाँसँग एक्लै लड्न र केही गरेर देखाउँछु भन्ने पूर्ण विश्वास थियो उनमा। आफू त उत्साहित थिइन् नै, अरुलाई साहस र हौसला दिइ आफूसँगै उठाउन सक्ने हिम्मत थियो।
साथीहरु भन्थे 'तिमी कति उत्साहित र अरुलाई साथ दिने मान्छे। तिमीमा यति धेरै साहस कताबाट आउँछ?' उनी परिवारकी पनि सहासी छोरी। घरमा पिता र दाजुभाइको साहाराबिना नै हुर्केकी।
उनकी आमाले सायद त्यही भएर यति धेरै हिम्मत अनि जीवनमा आफैले कसैको आश नगरी बलियो भइ अघि बड्नु पर्छ, बरु तिमी अरुको साहारा बन्नु पर्छ भनी हिम्मत दिने गर्थिन्। त्यसैले त हो, त्यति धेरै उर्जा थियो।
कसैसँग नडराउने, ठिक कुराको लागि सबैको अगाडि पनि उभिन तयार, साथीभाइको अगाडि अलि चन्चल र सबैको अनुहारमा खुसी निम्त्याउने मान्छे। उनको उपस्थितिको अभावमा साथीहरु निराश हुन्थे। कतै केही परिहाले उनलाई नै गुहार्थे।
यही जोश र जाँगरले होला मिडिया क्षेत्रमा एकताका विस्तारै चम्कन पनि थालिसकेकी थिइन्। सबैको वाहवाहीमा प्रशंसा बटुल्दै अझै अब्बल र सिर्जनात्मक हुने होड्बाजिमा हिड्दै थिइन्।
तर अचानक उनको जीवनले कोल्टे फेर्यो। विवाह गर्नु पर्ने अनि घरजम सुरु गर्नु पर्ने जीवनको नियतिले उनलाई अल्मल्यायो। उनले सम्पूर्ण कार्यहरु चटक्कै छोड्नु पर्ने र परिवारका कर्तब्य निभाउनुपर्ने बाध्यताका साथ त्यसैमा अल्झिनु पर्ने भयो।
हुन त त्यसैको बीचमा पनि उनी आफ्नो कामलाई निरतन्ता दिन सक्थिन् तर उनलाई सम्झाउने र साथ दिने कोही भएनन्। एउटी छोरी मान्छेको जीवन विवाह अघि र विवाह पश्चात एउटै नहुँदो रहेछ।
यस विषयमा उनी आफै पनि दोषी भएको भान गर्छिन्। किनकी उनले पनि आफू उठ्ने कोशिशसम्म पनि गरिनन्।
पुरुषहरु विवाहपछि आफ्ना साथीभाइ आफन्तसँग घुलमिल हुन सक्छन्। तर महिला भने आफ्ना घरजम गर्नमै व्यस्त हुने रहेछन्। विवाहपछि पनि आफ्ना साथिभाइ आफन्तसँग चाहेर पनि भेट्ने र घुलमिल हुने चाहानालाई मनमै मार्नुपर्ने रहेछ।
यस्तै यस्तै सोच्दै थिइन्। यसो भन्दैमा पुरूषहरुको उपहास गर्न खोजेकी होइन न त कुनै प्रतिस्पर्धा। व्यक्तिगत अनुभव पोखाउन खोजेकी मात्र हुन् उनले।
जस्तोसुकै पढेलेखेको शिक्षित परिवार भएपनि अझै यस्तो मानसिकता विद्यमान नै छ हाम्रो नेपाली समाजमा भने पुराना विचारधाराले ओतप्रोत भएका विकट ठाउँहरुमा कस्तो होला त महिलाको अवस्था? उनी विचार गर्न पुग्छिन्।
विवाह अघि जतिसुकै शिक्षा हासिल गरे पनि विवाह पश्चात श्रीमान् र परिवारको सहायता र हौसला बिना महिला अगाडि बढ्न सक्दिनन् रहिछिन्। (केवल घर गृहिणी भएर बस्न बाध्य हुनुपर्ने रहेछ)।
अब उनी आफू पनि उठ्ने र अन्यलाई पनि उत्साह दिने अठोटका साथ अघि बढ्ने हौसला राख्छिन्। यदि हौसला, साथ अनि प्रोत्साहन छैन भने मलजल नभएको बिरुवा जस्तो हुने रहेछ महिलाको जीवन। बाच्न त बाँचेको तर ओइलाएको, कुनै उत्साह र उमंग रहित जीवन जस्तो। एउटा जिउँदो लास, केवल जीवनको अन्तिम घडिको पर्खाइमा बाँचिरहेको मात्र हो कि जस्तो।
केही गर्छु भन्दा भन्दा भन्दै पनि विद्यमान आकाशमा विलयमान अगन्य तारा जस्तो। आजको छोरी, भोलिको बुहारी अनि आगामी दिनहरुमा बन्न पुग्ने एउटा सासूले सही ठाउँमा सही प्रकारले साथ र प्रोत्साहन पाए मात्र पनि ऊ एउटी असल नाता निभाउन सक्षम महिला बन्न पुग्छिन्।
हैन भने जबसम्म छोरी-बुहारीले परिवारमा साथ पाउदिनन्, भविष्यमा हामीले त साथ पाएनौँ, यिनलाई हामीले किन साथ दिने त? भन्ने द्वेषको भावना सिर्जना भइ उनी कठोर सासू बन्न सक्ने सम्भावना धेरै देखिन्छ।
अनि त्यसमाथि पनि श्रीमानको साथ नपाउँदा पुरुषहरु प्रतिको आदरणीय भाव पनि खोसिन पुग्दछ परिवारमा। त्यसैले छोरी, श्रीमती अनि बुहारीलाई अगाडि बढ्ने मौका दिउँ।