कविता
आमा, आजसम्म नआएको
लोकसेवाको मेरिट लिस्टमा नाम न हो
सरुवा, अपजस र अवगाल
सबै मेरै नाउमा मात्रै आएकै छ आमा।
आजसम्म हुन नसकेको त्यही हाकिम न हो।
हाकिमकै नामबाट कारबाही र
सरुवा भएको पत्र मैले नै पाएकै छु।
यही देश हो, आमा
समावेशीका कमजोरहरु झ्यालबाट छिर्न पाउने
दुनियाँका सबै कुरा जान्दा पनि
म चाहिँ मूलढोका मै रोकिए आमा।
रातारात अरुको नाम कसरी निस्कन्छ आमा!
जसको फर्म भर्ने बेलासम्म कुनै तयारी हुँदैन
खान मन छैन भन्दा पनि अरु विकल्प छैन आमा
विकल्प विहीन अवस्थाले विक्षिप्त बनाएको छ आमा।
जसले फाइल उठाउन लगायो उसैले बदनाम गरायो
म चाहिँ दोषी अनि निर्णय गर्ने ऊ चाहिँ नामी भयो
अरुको हित गर्ने समय रैनछ आमा, रहेनछ
यहाँ कोही आफ्नो रैनछ आमा, कोही पनि रैनछ।
फ्रन्ट लाइनमा काम गर्ने तल्लो लेभललाई कारबाही हुन्छ
अरुको भाग खोसेर कुम्ल्याउनेलाई सम्मान हुन्छ।
आमा,
नोकर हुँ राष्ट्रको, सरकारी सिन्दुर छ सिरमा
चौलानी रहेछ सरकारी जागिर,
नशा नशामा याद मात्रै छ,
चामल रुपी सरकारी सेवाको।
बत्तीको पुतली भयो सरकारी जागिर
जानि जानि ठोक्किनै पर्यो
धेरै आउछन् खुसीले खान्छन्
जीवन नसकी पछुताएर सकिन्छ।
म बाउले पैसा दिन छाडेपछि
सरकारी जागिर खान आएको
सरकार, तिमी भन्दौ
निवेदन दस्तुर तिर्नुपर्छ फर्म भरेको
हाकिक साप!
म भोको पेट लिएर सेवा गर्न आएको छु
म मेरो पेटको पहिला सेवा गरुँ कि देशको!
छोराले जागिर पाएको कुरा आमालाई सुनाइदिए हुन्छ
तर बिन्ती, जागिरले छोरा खाएको कुरा नसुनाइदिनु होला।
मलाइ माफ गरिदिनोस् आमा
मैले सरकारसँगै तिम्रो सेवा गर्न सकिनँ
यो सरकारी सेवा गर्ने छोरा हो आमा
मैले पेटको लागि सेवा गरेको हुँ न कि जनताको।