बाटो झैँ ठेगान नबोकी
मलाई पुग्नुछ आफ्नै हृदयको देश
त्यहाँ बसाउन मन छ
मै मात्र छिर्न मिल्ने गौथलीकै जस्तो गुँड
कसैले उखेल्न नमिल्ने
उमार्न मन छ सपनाका अनेक प्वाँख
अनि, स्वतन्त्र हुन
उड्नुछ कपासजस्तै निस्फिक्री डुलिरहने 'त्यो बादल'
अवश्य एकदिन
म त्यो देश पक्कै हुनेछु
जुन देश सीमा नभएपछिको हुनेछ
म त्यो नागरिक हुनेछु
जुन नागरिक नागरिकता नभएपछिको हुनेछ
जरूर म त्यो मान्छे हुनेछु
जुन मान्छे अहमको 'म' हटेपछिको हुनेछ
मैले उत्पीडनको वेदना त
वर्षौदेखि सुनाउँदै आएकै हुँ
सरकार! अझैपनि म अँचेट्न चाहान्छु
मेरा पैतलाले वर्षौदेखि नापेका
मेरै पूर्खाले खोस्रेका भूगोल
म सुघ्न चाहान्छु
आँगनमै फक्रिएर झरेका बालापनका बास्ना
म संगाल्न चाहान्छु
बाजेले छाडेर गएका माटोका कथा
तर, अफसोच्!
म बाँचिरहेको छु भन्ने बिर्सेपछिका दिन
बुख्याँचा बनेको हुँ यो देशको
अचेल, मलाई देखेर बेलाबखत
खै! किन तर्सिन्छ शासक?
झस्किन्छ मेरै आँगनबाट दगुरिरहने सरकार
किनकी, ऊसलाई थाहा छ
मेरा हातगोडा चलमलाएकै दिन
गह्रागह्रा झुलेकै हो फसलका दाना
पटाङ्गिएका बाँझा खेतबारीमा
मिसिएकै हो पसिनाको गन्ध
नपत्याए, सुँघ्नुस् त
कसरी मगमगाएको छ
पर्फ्युम झैँ यो देशको माटो।