उनै राष्ट्रनिर्माता राखेर अगाडि
जब सुरु भयो एउटा विशेष अन्तर्वार्ता
तब पत्रकारले सोधे-
तपाईं आफ्ना जनतालाई के भन्नुहुन्छ?
फेरेर एकमुठी श्वास
चिरेर अवाञ्छित सन्नाटा,
जब निस्कियो एउटा मधुर बोली,
टक्क अडिएर सुन्न थाले बतासहरुले पनि।
विश्राम पाए खाँदै गरेका गाँसहरुले पनि।
रोपेर एकताको बीउ,
जोडेर टुक्रिएका भविष्यहरु
अनि उमारेर एकथान आशाहरु
मैले यसको जग बसाएको हुँ।
सुदूरको कुनामा पनि
न्यायको न्यानो पुग्ने गरी
छिमेकी षड्यन्त्रको बाछिटाले नरुझाउने गरी
ठड्याएको हुँ पर्खाल।
अनि एकताको भावनाले ओतेर,
दुष्ट हुरीले नउडाउने गरी
सद्भावको डोरी नचुडाउने गरी
बनाएको हुँ छानो।
उनेर छरिएका फूलहरु- एउटै डोरीमा,
सजाएर रङ्गिचङ्गी रङहरु- एउटै थालीमा,
अनि जोडेर मेची र महाकाली एउटै भावनाले
मैले सजाएको हुँ मेरो देश।
आजपनि यहाँ
तराईपट्टिको खाँबो हल्लाउन खोज्दा
पहाडपट्टिको दलिन अड्याउन आउँछ।
पूर्वतिरको फूलको थुङ्गो टिप्न खोज्दा
पश्चिमतिरका कोपिलाहरु बचाउमा उत्रन्छन्।
अनि हिमाली गजुरमा कसैले हात लम्कायो भने
तराईका फाँटहरु आगो ओकल्छन्।
त्यसैले त मेरो देश
सुन्दर फूलबारी बनेर फुलिरहेको छ।
यताकता सुनिन्छन्,
गद्दारहरुका कहानीहरु।
देशद्रोहीहरुका कहालीलाग्दा योजनाहरु,
अनि आफ्नै आमाको भागबन्डाका सर्तहरु।
तर सबैलाई चेतना होस्-
यो देश कसैको खल्तीको तमसुक होइन।
यो साना दुःखले आर्ज्याको मुलुक होइन।