आमा
जसै म तिम्रो अनुहारमा
हाँसो छर्ने सपना देख्छु
यी व्यस्त सडकहरु
छातिका खाल्डा देखाउँदै गिज्याउन थाल्छन्
भोक छड्किरहेका भाँडाहरु बेस्कन उपहास गरिरहन्छन्।
पेटले भोजन मागेको बेला
हामी हतारिँदै आशाका थालहरु बोकेर
उहीँ पुरानो सडक पेटीमा उभिएका हुन्छौँ
अफशोस !
यो सडकमा क्रन्दनका साइरन बजाउँछन् गाडिहरु
उता चिसो भूईँमा उपचारको भिख माग्दै लम्पसारिएका छन् मान्छेहरु ।
ठिक यहीँ बेला
अविश्वासका लहरहरु प्रदर्शित गराउँदै
सरकार थोत्रिएका तुइनबाट विकासका खबर पठाउँछ
भत्काउँदै छ जनतासँग चुलिएका विशाल पहाडहरु
अग्ला सिँहदरबारका खोपीभित्र
सुरक्षित बाँचेका बेशरम मठाधिशहरु
अनिश्चित बसिरहेछन्
पत्थर टुक्रिएको पुरानो मूर्ति जस्तै बनेर
लाग्छ फर्किनै पर्दैन
अभावको धुकधुकी बाँच्ने यी गाउँ र बस्तीहरुमा ।
त्यसैले आमा
अब यस्तो आशीर्वाद देऊ
भूगोलभरि समुन्नतिका परियोजनाहरु
हाम्रै पाखुरीले सम्पन्न हुन सकून्
झूठका लाठी टेकेर
घर घरमा सपना बाँड्न आउनेहरुले
माटाको टीका लगाएर
तिम्रा ओठमा समृद्धिको लाली पोत्न सकून्।