ए बुढीमाऊ तिमी कस्ति भयौ होला ? पहिलाजस्तै फुरुंग फुरुंग उमेरमा त हामी नि हिरुनी थेम भन्दै मुसुक्क हाँस्दै त्यो सेतो सारी बेरेर, काले ढडुवा आफू के के न राम्रो छु भन्छ भन्दै जिस्काउने, खालकी त्यस्तै छौ कि कस्ति भयौ हौली ?
बरण्डाबाट बुढीमाऊ सुनन, सुन, तिम्रो अगाडिपट्टि खसेको दाँत देखाउँदै हाँस्देऊ न म तिम्रो हिरुनी आउने फोटो खिच्छु नि भन्दै जिस्काउँदा, मोरा बुढी भकी आमालाई जिस्काउछस् भन्दै मलाई फतफताउँदै नानाथरि भनेका ती पुराना दिनहरू सम्झिँदै आज पनि, म हाँस्दा हाँस्दै भक्कानो छोडेर रुने गरेको छु।
सानैमा बाको स्वर्गबास भएपछि, मेरो साहारा तिमी अनि तिम्रो साहारा मै त थिएँ नि।
आमा भन्दा नि मेरो लागि त साथी जस्ती थियौ, ४५ वर्षको उमेरमा नि चाउरी परेका गाला र खसेका दाँतका खाली ठाउँहरू हेर्दा लाग्थ्यो मेरै लागि पसिना काढ्दा काढ्दै, त तिमीले न वयस्क जिउन पायौ, न रमाउन पायौ नि, यस्ता कुरा दिमागमा घुम्दा त झन् तिम्रो माया बेस्सरी लाग्थ्यो।
आज ती कुराहरूले यसरी आँसु आउँछन् आँखाबाट कि न म आफूलाई थाम्न सक्छु न आफैंलाई सम्झाउन सक्छु। आमै सुनन, म तिम्रो हरेक आँसुको दोषी हुँ, आखिर तिम्रो एक्लो सन्तान हुँ, जति नै पाप गरे पनि मलाई माफ गरिदेउली नि है ?
मैले तिम्रा विश्वासमा मारेका हरेक लात्तीहरूले, प्रेममा उठाएका ती हरेक सवालहरूले, मैले दिएका ती कठोर वचनहरूले मलाई आज भित्रभित्रै पोलिरहेको छ आमा।
मैले तिम्रो काख, तिम्रो स्नेह नबुझेर श्रीमतीका बकम्फुसे दुई चार कुराका पछि लागेर तिमीलाई गाउँको झुपडीमा एक्लै बेसाहारा बनाई, श्रीमतीका हात समाई, रमाइ रमाइ सहर पसेको त्यो दिन मेरो आँखामै घुमिरहन्छ।
सोच्छु तिमी बा बित्दा नि त्यति रोइनौ होला जति मैले छोड्दा रोयौ।
यो जन्म मृत्यु त भगवानको लेखा हो, भन्दै मलाई दिनदिनै सम्झाउने तिमी छोरोले लत्याएर छोड्नु त छोरोको रहर थियो नि भन्दै सम्झिँदै आफैं कुडिँदै अँध्यारो खोज्दै सारीले आँसु पुछ्दै आफैंलाई सम्झाउँदै बुझाउँदै दिन कटाउने गर्यौ होला नि।
कति रोयो होला है तिम्रो मन एउटो छोरो, त्यो पनि आफूलाई छोडेर जाँदाको पीडा।
यही कुरा सम्झिन्छु, झस्किन्छु अनि एक्कासि भक्कानिन्छु आमा। तिमी बुढी, अनि सधैं कि रोगी, मैले उमेर र रोगको पनि ख्याल नगरेको सम्झिँदा आफैंदेखि धिक्कार लाग्छ।
कतै तिमीलाई सम्झिनलाई निकै नै ढिलो भयो कि आमा, यो पत्र लेख्नलाई समय लगाएकी आमा, यही कुराले झन् एकोहोरो अत्याइरहेको छ मलाई।
याद आउँछ ती दिन, म तिमीसँगै हुँदा त कति रात मेरो साथ खोज्दै मध्यरातमा चिच्याउने तिमी, मेरो आवाजमात्र सुनेनी निदाउने गथ्र्यौ, मेरा एक वचनमा तिमी आफ्ना आशा देख्छु भनेर दिनदिनै सम्झाउने मलाई, मैले तिमीलाई नै बिर्सन सक्ने, म कति निर्दयी?
मैले छोडेर यता आएपछि अचेत भएर कति बोलायौ होला, छोरो छोरो भन्दै, आधा रातमा मेरै नाम लिएर चिचाउथ्यौ होला, हरेक दिन गाउँलेसँग रुदै गुनासो गर्दै मलाई सम्झिन्थेऊ होला तर म आँखा, कान, मन सब बन्द गरेर एकोहोरो घोडाको लगाम जसरी उसको चालसँगै यसरी डोहोरिँदै गए गए, तर कहाँ गए पत्तै पाइनँ आमा।
सुनन आमा तिमीलाई छोडेदेखि, हो आमा, तिमीलाई छोडेकै दिनदेखि, आज यत्तिका वर्ष भए कहिल्यै खुसी हुनै सकिनँ आमा।
त्यो घर छोड्दा कसेर समाएका हातहरू कता छुटे छुटे आमा, आज समाउने हात, बस्ने छत, खाने गाँस केही पनि छैन। त्यही झुपडीको यादले निक्कै पिरोलिरहन्छ तर फर्केर आउने हिम्मत नै जुटाउन सकेको छैन।
म कति नालायक, म कति अबुझ, म कति अनविज्ञ भइदिए त्यतिबेला, थुक्क, थुक्क भन्छु यो मेरो सोचलाई। हिनताबोध भइरहेको छ आफैंसँग, आफ्ना निर्णयहरू सम्झेर।
जुन आमाले मलाई नौ महिना कोखमा राखेर जन्माइन्, मेरा बाबाले अकालमै उनलाई छोडेपछि, एक्लै मेरा लागि ऋण, भार, दु:ख, पीरसँग एकोहोरो लडिरहेर, मलाई पढाउन, लेखाउन र आफ्नै खुट्टामा उभिन सक्ने बनाइदिइन्, फ्याट्ट तिम्रो इच्छा के हो पनि नसोधी, आफूलाई मन परेकी केटी दुलही बनाएर भित्राउँदा पनि चुपचाप मेरो खुसीको लागि आफ्नो खुसीहरू नहेरी सब सहिदिएकी मेरी आमा, मैले तिम्रो त्यस्तो निश्चल प्रेममा, मेरी श्रीमतीले दुई चार कुरा आरोप लाइदिँदा, उसैलाइ दुई झापड हान्न नसकेर, म उसैका कुराका पछि लागेर तिमीलाई गलत्याउने कतिसम्म नालायक रहेछु आमा आफैं देखेर घिन लाग्न थालेको छ।
यो पश्चतापको आगोले निकै पोल्दो रहेछ कुन दिन खरानी हुने हो आफैंलाई थाहा छैन। आमा यो पत्र पढेर तिम्रा आँखाबाट मेरो लागि जति आँसु आउने छन् नि ती आँसुले मलाई पोल्ने छन् आमा, छोरोको लागि भएनि आँसु थामेरै पढिदेऊ है केही दिन अगाडि, मैले तिमीलाई छोडेजस्तै श्रीमतीले मलाई छोडेर गइन् आमा।
मैले छुट्नुपर्दाका तिम्रा पीडा सम्झिएँ र आफैंलाई कोस्दै बसें।
कति गलत कदममा त तिमीले पिटेर, कराएर मलाई सही बाटो देखाउथ्यौ नि त्यतिबेला त खै के भयो, तिम्रो शब्दका भारी महत्त्वलाई थोरै समय नदिनाले होला म आज यो हालतमा आइपुगें।
म प्रेममा यति पागल भएको रहेछु नि आमा सम्पत्तिको नाममा लाएको एक सरो लुगाबाहेक सब तिम्री बुहारीलाइ सुम्पिएको रहेछु। उनले सब लिएर कहाँ गइन् मेरो सम्पर्क मै नआएको ४ हप्ता नाघिसक्यो।
म पागल जसरी भौतारिँदै कहाँ कहाँ पुगिन र आमा, उसलाई कतै भेट्न सकिनँ, रहरले गएकाहरूलाई भेट्न निकै गाह्रो हुँदो रहेछ, तिमीलाई म देख्न गाह्रो भएको जस्तै, मलाई ऊ भेट्न गाह्रो भयो आमा।
साझ दिन झलझल्ती तिम्रा एकै वचन याद आउँछन् आमा, बाबू सुखमा जे सुकै होस्, दु:खमा मलाई सम्झिनु है त्यही भएर कपी कलम मागेर एक पत्र तिम्रो लागि लेख्ने आँट जुटाएको छु आमा।
आज महिना दिन पुग्यो आमा, यो सहरको सुनसान गल्लीमा कुकुरका भुकेका आवाजहरूका साहारामा निदाउने गरेको छु।
तिमीले काखमा लिँदै, टाउको ठुङ्ग मार्दै निन्द्रा बोलाइदिएको याद आउँछ तर खोजेर कहाँ पाइन्छ र आफूले खोजेजस्तै समय अनि माया, तिमीले बुढेसकालमा मलाई नपाए झैं, मैले आज तिमीलाई पाउन सकिनँ।
मध्यरातमा, आमा आमा गर्दै झस्किन्छु, छेउमा आफूजस्तै लाचार दुई चार वटा सास मात्र बाँकी रहेका लासहरू देख्छु अनि झन निदाउनै सक्दिनँ र एकोहोरो गल्ली अनि सडकहरूका छेउ कुना हेर्दै टोलाइरहन्छु।
बा आमाको मन छोरा छोरी माथि, छोराछोरीको मन ढुंगामुडामाथि भन्थे, साँच्चै हो जस्तै लाग्यो, त्यतिबेला मैले तिमीलाई एक वचन आमा गए है पनि नभनी रात्री बसमै सहर छिरेका ती पुराना दिनहरू सम्झिँदा साँच्चै म सांसारिक मोहकै पछि लागेर, आफ्नो धरातल बिर्सिएको रहेछु।
तर खै के गर्न सकिन्छ र आमा, जानाजान रोजेका बाटाहरूमा ब्वासा कै बिगबिगी भए पनि जुध्नै पर्दोरहेछ र लड्नै पर्दोरहेछ, जसरी हिजो उमेरमा मेरा लागि दोस्रो विवाहभन्दा विधवा नै हुनलाई तिमी राजी भएजस्तै म राजी हुनु पर्यो। यो गल्ती जस्तो ठूलो गल्ती सायद कुनै छोरोले गर्ने हिम्मत नै राख्दैन होला आमा। कस्तो छोरो जन्माएकी रहिछौ।
सधैं भाग्यमानी छु मेरो छोरो असल छ भन्ने तिमी अभागी रहिछौ नि आमा, मेरै कारणले तिम्रा बुढेसकाल, लौरीका र यादका साहारामा गुज्रिरहेका छन्।
सधैं गाउँलेसँग ठूला स्वरमा मेरो छोरो नै मेरो खुसी अनि मेरो सुख हो भन्दै, आफैं गदगद हुँदै मेरा प्रशंसा गर्दै नथाक्ने तिम्रा विश्वासमा कति धक्का लगाएको छु भन्नी आफैंलाई भान भाको छ।
अहिले मेरै नजिकको बाटो हुँदै एक बुढी केस फुलेकी आमा लौरी टेक्दै हिँडेको देख्दा यो १० वर्षमा तिमी नि यस्तै भयौ कि भन्दै तिम्रा अनुहार सम्झिन खोज्छु तर कता कता धमिलो देख्छु, धेरै कोशिस गर्छु। तिम्रो चित्र कोर्नलाई तर खै म आफैं भर पाउदिनँ अनि झन् अत्तालिन्छु।
गएको राति सपनामा आकाश आफैंमाथि खसेको देखें, मेरा सपनाहरू कहिल्यै फरक जाँदैनन् भन्नी तिमीलाई अनि मलाई मेरो बा बितेका दिनदेखि था नै थियो नि आमा, त्यसैले आज यो पत्र लेख्न ढिलो गरे कि भन्नी सोचले आफैंलाई खाइसकेको छ।
एकपटक तिम्रो काखमा निदाउन मन छ, तिम्लाई नजिकबाट एक टक धित नमरिन्जेल हेरेर बसिरहन मन छ, तिम्रा हातको एक गाँस भात खान मन छ आमा अनि त्यसपछि मलाई सारा जीवन भोकै बस्न किन नपरोस् मन्जुर हुने थियो आमा।
म तिमीलाई देख्नै नपाएर आत्तिएको छु, आइज छोरोमात्र भनेर एक सन्देश छिमेकी अंकल रामे दाइको छोरोलाई नै भनेर भए पनि यही ठेगानामा पठाइदेऊ न आमा।
म दिन रात केही नहेरी आउने थिएँ, म तिमी बसेको गाउँभन्दा निकै टाढा छु, यो पत्र पढेर मलाई फेरि पठाउँदाका दिनसम्म यही गल्लीमा रात गुजार्ने छु, ठेगाना यही गल्ली हो मेरो, आमा हुलाकमा यही पठाएको छु। त्यसैले यही ठाउँमा पर्खन्छु, ढिला नगरिदेऊ है आमा।
म निकै तिम्रो काख नपाएर आत्तिएको छु। मलाई तिमी भए पुग्छ, बस तिमी जसरी पनि मेरो छेउ मै हुन पर्यो, नत्र म धेरै दिन नबाँचुला आमा, यदि तिमीलाई अब पनि भेट्न पाइनँ भने।
बस माफ गरिदिए मात्र भनिदेऊ पुग्छ।