ओछ्यानमै थिएँ, शनिबार उसै पनि मस्तीको बार! सिरानीनिर चार्जमा घुसाइएको मोबाइल तानेर घडी हेरें, बिहानको पाँच बजिसकेछ।
एकपटक मोबाइलकको स्क्रिन अन गरेपछि फेसबुकमा नडुल्दासम्म आँखा प्यासी भैरहन्छ। फेसबुक हेर्दै थिएँ, सबभन्दा माथि एउटा स्टाटस थियो निरमाया शर्माको, ‘ट्रम्पले निम्ता दिएछन, अमेरिका उड्नु पर्ने भो।’
हावा कुरा गर्न सिपालु निरमायाको स्टाटसको अर्थ बुझ्न कमेन्टहरू पढ्न थालें।
करिब दुई सय कमेन्ट थिए, लाइकभन्दा धेरै कमेन्ट।
सामान्यतया फेसबुकका सामग्रीमा कमेन्टभन्दा धेरै लाइक नै हुन्छन् तर निरमायाको त्यो पोष्टमा कमेन्ट धेरै थिए। छक्क परें।
‘लौ बधाई छ।’ सबैले गरेजस्तै सामान्य कमेन्ट मैले पनि गर्दिएँ।
निरमायालाई डिभी परेछ। उसको स्टाटसको अर्थ यही थियो। त्यसैले पनि कमेन्टमा बधाईका ओइरो थिए।
बर्सेनि हजारौंलाई डिभी पर्छ होला, मैले चिनेकै मान्छेहरू पनि बर्सेनि दर्जनौ उड्छ्न अमेरिकातिर। त्यो पनि डिभीमार्फत्। यो पटकको भाग्यमानीमध्यकी थिइन् निरमाया।
सत्र वर्षको उमेरदेखि मैले पनि डिभी भर्ने गरेको छु। तर के पर्थ्यो, अमेरिका जाने लाइनमा हाजिर लगाएको मात्र हो। पास कहिल्यै भइएन।
अहिलेसम्म चियापत्तिमा दुई रुप्पे परेको रेकर्ड छ। मुना चियाको बट्टा खोलेर हेर्दा नयाँ दुईको नोट! म खुसीले फुरुङ्गै भएको थिएँ।
सायद अब डिभी पर्दा पनि त्यति धेरै खुसी मिल्दैन होला!
त्यो भन्दा बाँकी चिठ्ठा परेको याद छैन। आफैंसँग बसेर चाउचाउ खाने साथीहरूले भटाभट पैसा जितिरहँदा मैले खाने चाउचाउमा सधैं लेखेको हुन्थ्यो ‘ट्राई अगेन, थ्याङ्क्यू!’
त्यै थ्याङ्क्यूको रिप्लाईमा वेलकम नभनेर होला, आजसम्म चिठ्ठा परेको छैन। निरमायालाई जस्तै डिभी पर्ने त मीठा सपनामात्र भए।
चार्जमै छाडेको मोबाइलमा ट्वाङ घण्टी बज्यो तानेर हेरें, उनै डिभीवाली निरमायाको रैछ। छोटो मीठो, हाई मात्र।
त्यो स्टाटस लेखेपछि उनी फेसबुकमा सेलिब्रेटीजस्तै भएकी थिइन्। अरूबेला खासै म्यासेन्जरमा गफिन मन नगर्ने म एक्कासि उनीप्रति आकर्षित भएँ।
उनले हाई मात्र लेखे पनि मैले अलि लामै लेखे ‘हेल्लो ! लौ बधाई छ है, अमेरिका पुगेर नभुल्नू।’
उनले हाँसेको इमो पठाइन्। तुरुन्तै फेरि अर्को म्यासेज पनि आयो, ‘तिम्ले डिभी भरेका थिएनौ?’
मैले झूट बोल्दिएँ,‘नाई! मलाई इन्ट्रेष्ट छैन।’
मुटु कटक्क भयो, बर्सेनि डिभी भर्दा जम्मा भएका फोटाले दराजको एउटा खोपो भरिएको छ। तर सान झार्दै भन्दिएँ,‘इन्ट्रेष्ट छैन!’
‘लौ ! किन नि ? सपनाको देश जाने इन्ट्रेष्ट नभाको पहिलो व्यक्ति रैछौ तिमी,’ उनले व्यङ्ग्यात्मक म्यासेज तेर्साइदिइन्।
रहरलाई मनभित्रै लुकाएर लेखें, ‘घुम्न जाने हो, कमाउन होइन।’
उनले पत्याइनन् क्यारे, मात्र हाँसेको इमो पठाइन् अनि म्यासेज बन्द भयो।
आफूलाई डिभी नपर्नुको पीडा एकातिर थियो भने धनी बन्ने सपना अर्कोतिर। निरमायाको जस्तै भाग्य आफ्नो नहुनुको पीडा मनभित्रै दबाएर बिस्तराबाट उठें।
यो निरमायालाई डिभी परेको दिनको कथा थियो।
***
केही सातापछि निरमाया मःम पसलमा भेटिइन्। मैले भेटेरै बधाई दिने मौका पाएँ। उनी फिक्का हाँसिन्, हाँसोमा कुनै रौनकता थिएन। मःमको खाली प्लेट अलिपर सार्दै उनले भनिन्,‘तिमीसँग केही सल्लाह गर्नु थियो।’
म सँगैको टेबुलमा बस्दै भनें, ‘यतै भन्छ्यौ कि कतै एकान्तमा जाने ?’
उनले सहमतिको टाउको हल्लाउँदै भनिन्,‘यतै !’
‘के सल्लाह हो ? भन न !’, मैले बोतलको पानी पिउँदै भनें।
‘मसँग कोर्ट म्यारिज गरेर अमेरिका जान्छौ ?’, उनले नलजाई प्रस्ताव राखिन्।
म ट्वाँ परें।
छक्क पर्दै सोधें, ‘मजाक गर्दै छ्यौ ?’
उनले अनुहार अलि मलिन बनाउँदै भनिन्,‘मजाक होइन, इन्ट्रेष्टड छौ र पैसा खर्च गर्न सक्छौ भने म तिम्लाई अमेरिका लान सक्छु।’
वर्षौको रहर पूरा हुने गन्तव्य त देखिँदै थियो तर खर्चको कुरा आइदियो। ढिला नगरी सोधें,‘कति लाग्ला ?’
‘उता पुगेर कार्ड बनेपछि डिभोर्स दिन्छु, त्यतिन्जेलसम्म तिम्ले पचास लाख दिनुपर्छ र जाने खर्च सबै तिम्रो।’
उनले सजिलै हिसाब बताइन्। मानौं उनी घरको भैंसी बेच्दैछिन्।
म छांगाबाट खसेजस्तै भएँ। पचास लाखमा कति वटा शून्य हुन्छसम्म मलाई थाहा छैन। बाजेको सम्पत्तिबाट बाको भागमा आएको जम्मै जाएजेथा बेच्दा पनि पचास लाख पुग्दैन अनि कहाँबाट गर्नु कोर्ट म्यारिज, कसरी पुग्नु सपनाको देश।
म अलिक पन्छिने विचार गरें, मोलतोल गर्नु थिएन। किनभने पाच लाख भने पनि दुई दिन सोच्ने समय माग्थे होला। यहाँ त पचासको कुरा छ।
म चुप भएको देखेर निरमायाले फेरि भन्न थालिन्,‘पैसा दिने त थुप्रै छन्, तर इज्जतसँग जोडिएको कुरा भएको हुँदा तिम्लाई अफर गरेकी। घर सल्लाह गर न ल।’
यति भनेर उनी उठिन्, मैले आधा बोतल पानी फेरि घुट्काएर उठें।
आफैंलाई डिभी नपरी अमेरिका पुग्ने सपना कहिले देखेको थिएन। केही बेरअघि उनले अफर गर्दा केही आशा पलाएको थियो तर त्यो आशा दस मिनेट पनि टिकेन।
यो कोर्ट म्यारिज गरेर अमेरिका पुग्ने सपना देखेको मेरो आफ्नै कथा थियो।
***
त्यसपछि...
निरमायाका दिनहुँ म्यासेज आउथे। मैले व्यस्तता देखाउथें। अनि अमेरिकाप्रति ‘नो इन्ट्रेष्टको कथा सुनाउँथें। उनले अन्तिम पटक म्यासेज लेख्दै भनिन्,‘तिम्ले इन्ट्रेष्ट देखाएनौ, मैले अर्कोलाई अफर दिएको छु है।’
मैले बुझिहालें, ‘अर्कै ‘मुर्गा’ फेला पर्यो।’
***
करिब एक महिनापछि...
उस्तैगरी फेसबुकमा निरमायाको बिहेको फोटो पोष्टियो। म अचम्म परें। बिस्तराबाटै हेरेको फोटोलाई उठेर आँखा मिचेर पनि हेरें।
निरमायाको नक्कली पति मेरो अति मिलनसार साथी थियो। ऊ मुखले मात्र होइन, मनले पनि अमेरिकालाई घृणा गर्दथ्यो। अचम्मित हुँदै निरमायाका पतिलाई म्यासेन्जरमा कल गरें।
‘हेल्लो ! के छ यार ?’ उसले खुसी हुँदै फोन उठायो।
‘थुइक्क ! एकपटक सम्झेनस् है ?’, मैले ऊप्रति रिस देखाएँ।
उसले माफी माग्दै भन्यो, ‘त्यस्तै भयो यार दाइ, अमेरिकाको अफर आएपछि कसरी नाई भन्नू! घरमा बुढीलाई फकाउनै एक हप्ता लाग्यो। त्यसपछि पैसाको जोहो गर्न उस्तै गाह्रो थियो, बुझेकै छौ त यार दाइ।’
स्वाभिमान र राष्ट्रप्रेमबारे अनेक फलाक्ने प्यारो साथी सुवास शर्मा निरमायाको नक्कली लोग्ने बनेको थियो। बरु एकछाक खान्छु तर आफ्नो मातृभूमि छाड्दैन भन्दै परदेशमा बस्नेहरूलाई गाउँ फर्क भन्ने सुवास शर्मा अरू कसैसँग लगनगाँठो कसेर अमेरिका उडदै थियो।
म फेरि पनि छक्क परें।
उसले मलाई सम्झाउँदै थियो, मैले उसलाई बीचमै रोकेर भनें, ‘फ्री मै ट्रम्पले बोलाए पनि जादिनँ भन्थिस् त ?’
उसले भन्यो, ‘आदर्श छाट्नु र जीवन जिउनु अलग अलग पाटो हुन् दाइ, आदर्शले पेट भरिँदैन।’
उसले सुनाउँदै गयो,‘यहाँ बसेर देश धनी बनाउने खोक्रा राष्ट्रवादी नारा लगाउनु भन्दा पहिला आफू धनी बन्ने सपना देख्न थालेको छु दाइ। जय स्वाभिमानको नारा लगाएर कति हल्लिनु , बोलवाला पैसामै बिकेका छन्।’
‘अनि पैसा कति दिने भैस अमेरिका पुर्याएको ?’ मैले जान्न चाहें।
‘जम्मा जम्मी पचास लाख निरमायाका बालाई दिने कुरा भएको छ, बाँकी जाने खर्च मेरै हो। तर पनि पैसाको कुरा छाड न यार, अमेरिका पुग्नु नै ठूलो कुरा हो बे!’ उसले गर्वका साथ फूर्ति लगायो।
‘अनि स्वाभिमान र राष्ट्रियताका कुरा ?’, मैले उसलाई छड्के हानें!
‘भाँडमे जाय, अपना भला तो सबका भला।’, ऊ जंगियो।
मैले फेरि पनि बधाई दिँदै फोन राखें।
सुवास शर्माले लाखौ खर्चेर भए पनि अमेरिकाको सपना देख्छ भन्ने कुरा मैले कल्पनासम्म गरेको थिइनँ। ऊ उग्र-राष्ट्रवादी थियो। उसका हरेक फेसबुक स्टाटसहरू देशप्रेमले भरिएका हुन्थे तर अन्ततः ऊ पनि उड्ने नै भयो।
हरेक वर्ष डिभीको लाइन लागेर अमेरिकाको सपना देखियो। धनी बन्ने सपना साकार गर्न अमेरिकाको सपना देख्न थालेको वर्षौ भयो। तर पैसाले सजिलै किन्न सकिने त्यो अमेरिकाको सपना गरिब भएकै कारण तुहियो।
मुखले ‘विदेश कमाउन होइन, रमाउन जाने हो’ भनेता पनि आँखाभरि अमेरिकाका सपना थिए मेरा। ती पूरा हुने छैनन्।
तर बाध्यतामा परदेश छिरेकाहरूलाई स्वाभिमानको कसम खुवाउँदै गाउँ फर्काउने अभियानमा लागेको सुवास केही दिनभित्रैमा आफैं अमेरिका उड्यो अनि फेसबुकमा लाइभ हाल्दै भन्छ ‘सोचेझै जिन्दगी रै’नछ !’