'नारायण हरि हरि!'
'पण्डित बा, ल यता बस्नुस्।'
अलि अलि बुझिने खालको गाइँगुइँ आवाज विवेकको कोठासम्म आइपुग्यो।
'हैन पण्डित बा एकाबिहानै किन हाम्रो घरमा आछन्?' मनमा उठेको जिज्ञासालाई वास्तै नगरी विवेक सिरकभित्रै डल्लो परिरह्यो। एकछिन पछि उठ्यो। नित्य कर्म सकाएर क्याम्पसका लागि निस्क्यो।
'बाबु ह्याँ आइज त,' मूल ढोका पार गर्नै लागेको थियो, त्यही बेलामा आमाले पुकारेपछि विवेक अलि झस्कियो।
'हजुर किन हो र?'
'यहाँ आइज न यहाँ। ल यो फोटो हेर त। यो केटी कस्तो लाग्छ तलाईं?'
'ह्या हेर्दिनँ फोटोसोटो। तपाईंलाई कति चोटि भनेँ मैले, हजुरले हेरे हुन्छ मैले पर्दैन भनेर।'
'ऊसँग जिन्दगी कटाउने त तैंले होला नि!'
'तपाईंहरूको अरू काम धन्दा छैन है। खाली बिहे बिहे...। एउटा म्यारिज ब्युरो खोलेर बस्नुस्।'
विवेक झर्किँदै त्यहाँबाट हिँड्यो।
उमेरले पैंतिस कटिसकेको बुढ्यौलीको उत्तरार्द्ध प्रवेश गर्ने तरखरमा रहेको छोरोले बुहारी ल्याउने सूर नगर्दा जो कोही बाउआमाको मनमा चिसो पस्नु स्वाभाविकै थियो। उसका आमाबुवा चिन्तित थिए किनकी उनीहरूकै ढिलो बिहे भयो। आफ्नै उमेर समूहका साथीका छोराछोरीले एसएलसी दिइसक्दा मात्रै विवेक जन्मिएको थियो। उसका ती साथीहरू फूर्ति लाउँथे, 'तिमीहरूले गल्ती गर्यौ। ढिलो बिहे गरेर हेर त, अब मैले पाँच-छ वर्षमा त छोराछोरीको कमाइ खान पाउँछु।'
उनीहरू छोरालाई पनि यस्तै नपरोस् भनेर बारम्बार विवेकलाई सम्झाउँथे। त्यसमाथि पनि बुढाबुढीलाई नातिनातिना खेलाउने रहर। तर विवेकले यसमा कुनै रूचि देखाएन।
'बाबु बिहे गर्ने सुरसारै गर्दैनस्, किन हो? कि अन्तै लभसप गर्याछस्?' हजुरआमा कामेको स्वरमा भन्थिन्।
विवेक सुनेको नसुन्यै गर्थ्यो।। उसकी बहिनी कुनै केटी साथीसँग फोनमा बोलेको थाहा पाई कि दाजुलाई जिस्काउँथी, 'भाउजूसँग आफू मात्रै लुकीछिपी बोल्ने, हामीलाई यसो हाइ हेल्लो गराउनुपर्दैन?'
घरका मान्छेको यो किचकिचले ऊ आजित भइसकेको थियो।
...
सन्ध्या विवेककी बाल्यकालदेखिकी साथी। भाँडाकुटी खेल्दादेखि उनीहरु ख्याल–ख्यालको बिहे गर्थे। बेहुला बेहुली बन्थे। त्यो बालसुलभ प्रेम हुर्किँदै गयो बढ्दै गयो। केही समयको अन्तरालपछि उनीहरूको पढाइ, करिअर र महत्वाकांक्षाले दुई किनारा बनाइदियो। विवेक बिहेअघि सुकिलो भविष्यको सपना देख्थ्यो त सन्ध्या बिहेपछि।
सन्ध्याको पारिवारिक अवस्था निकै नाजुक थियो। बुवाआमाले दुःखजिलो गरेरै १२ कक्षासम्म पढाएका थिए। आमा भन्थिन्, 'हेर् नानी यहाँभन्दा माथि पढाउने हाम्रो हैसियत छैन। तलाईं अब एउटा धनी कुलघरानको केटो खोजेर दिन पाए उसैले पढाउँथ्यो कि?'
सुरूमा आमाले यस्तो भनेको सुन्दा सन्ध्यालाई ननिको लागेको थियो। मलाई अर्घेलो ठानेर यिनीहरूले अहिल्यै धपाउन खोजे भन्ठानी उसले। पढाइ सकाएर बिहे गर्ने उसको सपना बीचमै तुहिने भएपछि दुई-तीन छाक त उसले खानै छोडी। पछि सोच्दै जाँदा उसलाई आमाको कुरा ठीकै पनि लाग्न थाल्यो।
अधिकृतसँग बिहे भएकामा सन्ध्या निकै खुसी थिई। सरकारी जागिरे बन्ने सपना पूरा हुन्छ कि जस्तो लाग्यो उसलाई। तर उसले सोचे विपरीत भइदियो। घर परिवारको गलत मान्यताको शिकार हुनुपर्यो ऊ।
'हाम्रो कुलघरानमै बुहारीले जागिर खाने चलन छैन,' सासू कड्किन थालिन्। अब ऊ चुल्हो चौकामै सीमित हुनुपर्ने भयो। अधिकृत बुढा उप–सचिवको तयारीमै व्यस्त। बुढीको कुरा सुन्ने फुर्सदै थिएन। सन्ध्यालाई अब विस्तारै विवेकको यादले सताउन थाल्यो।
उता विवेक जागिर नखाइ बिहे गर्दिनँ भनी अड्डी कसेर बसिरहेको थियो। सरकारी जागिर उसको सपना थियो। निरन्तर असफलतासँग पैठजोरी खेलिरह्यो। उसले हार मानेन। कहिल्यै थाकेन। जब उमेरको हदले नेटो काट्यो, खाली हात आयोगको तयारीलाई बिट मार्नुपर्यो। त्यतिबेला भने अहिलेसम्मको भएभरको थकाइको बोझ उसको टाउकोमा थुप्रिएजस्तो महसुस भयो उसलाई।
अब भने विवेकलाई बिहे गर्न मन लाग्यो। बिहेका लागि विवेक सहमत भएसँगै घरमा खुसियाली छायो। पण्डित बा घर आए। पण्डित बाको साथमा थियो विवेकलाई देखाउँदा देखाउँदा थुप्रिएका केटीका फोटाको एल्बम। विवेकले एल्बममा भएका फोटा एक–एक गरेर हेर्न थाल्यो।
पण्डित बासँग कुण्डली बुझेर विवेकले प्रत्येक फोटा हेर्न थाल्यो। आफूलाई मनपरेअनुसार एक-दुई गर्दै क्रमांक गर्न थाल्यो। उसले अग्रपंक्तिमा राखेका सबैको बिहे भइसकेको थियो।
'तपाईंलाई गाह्रो भएजस्तो छ विवेक बाबु? खै मै हेरिदिन्छु,' पण्डित बाले उसको हातबाट एल्बम थुतेर पल्टाउन थाले।
'यो केटी अहिले अधिकृतमा लिखितमा नाम निकालेकी हो। इन्टरभ्यू हुन बाँकी छ। अठ्ठाइस गुण उत्रेको छ। सब कुरो मिल्छ। कि यिनैलाई आँटौ विवेक बाबु?'
यो फोटोदाई विवेकले अन्तिम नम्बर दिएको, अब ऊ सोच्न बाध्य भयो।
'वर्षौंसम्म मेरो अधिकृत बन्ने सपनामा आगो लाग्यो। खरानी भयो। जे पर्छ पर्छ, अब त्यो खरानीमा एउटा सपना रोपौं क्यार !' एकछिन सोचेपछि उसले हुन्छ भनिदियो।
बिहे पनि भयो।
अन्तर्वार्तापछि योग्यताक्रम अनुसार उसकी श्रीमतीको विकट गाउँमा पोस्टिङ भयो। विवेकले आफ्नै व्यवसाय सुरू गर्यो। बिदा पर्दा फाट्टफुट्ट भेटघाट भए पनि दुई वर्ष जति उनीहरू छुट्टिएरै बसे। परिवारमा नयाँ सदस्यको आगमन भयो। जागिरसँगै छोरो। अब दुवैलाई सम्हाल्ने कसरी? विवेककी श्रीमतीले उसलाई साथै हिँड्न आग्रह गरी। विवेकले आफ्नो व्यवसाय छाडेर नजाने अडान लियो। श्रीमतीको काममा समर्थन गर्न ऊ चुक्यो। अनि सम्बन्धमा विस्तारै चिसो पस्न थाल्यो।
...
विवेक र सन्ध्या दुवै परिवारमा खुसी हुन सकेका थिएनन्। उनीहरू सानैदेखिका साथी भएकाले एकअर्कालाई राम्रोसँग बुझेका भए पनि सपनाको उडानमा एकरूपता नभएकाले अलग भएका थिए। जागिरमा मात्रै भविष्य देखेका उनीहरूले पारिवारिक पाटोलाई अँध्यारोतिर धकेलिरहे।
उनीहरूलाई एकअर्काको अभाव खड्किन थाल्यो। उनीहरू एकअर्कालाई भेट्न चाहन्थे। खुलेर कुरा गर्न थाहन्थे। दुवै जना घर गृहस्थीको जञ्जीरमा फसिसकेकाले पहिलेजस्तो सहज पक्कै पनि थिएन। भेट हुने माध्यम नहुँदा उनीहरू धेरै समयसम्म तड्पिएर बस्नुपर्यो।
धेरै समयपछि विवेक र सन्ध्याको भेट भयो। दुवैले अतीतलाई सम्झेर आँसु साटासाट गरे। एकअर्कालाई अपनाउन नसकेकोमा दुखी भए। तर अब ढिलो भइसकेको थियो...