टाइसुटमा सजिएको आकर्षक अल्छी म
बिहान
ओछ्यानमा चियाको कप ल्याएर स्वागत गर्नु पर्ने
बेलुका
हुस्किको गिलासले नुहाउनु पर्ने
दिउँसो अफिसमा
कालो चिया, सेतो चिया, विभिन्न स्वादको कफी टक्र्याउनु पर्ने
त्यतिमात्र कहाँ हो र मेरो व्यक्तित्व?
यत्रतत्र कोठामा सामान र लुगा लथालिङ्ग राक्नु पर्ने
भन्साकोठामा फोहोरको दुर्गन्ध फैलाउनै पर्ने
मोजा धुनलाई बिदा कुर्नु पर्ने
नुहाउनलाई पञ्च स्नान काफी हुने
तर
छर्नलाई महँगो अत्तर खरिद गर्नै पर्ने
जुता
सु साइनरले भए नि टल्काएर लगाउनु पर्ने
कपडा ड्राइक्लिनर्समा पुर्याउनु पर्ने
कोठादेखि गेटसम्म हेर्ने हो भने
कवाडी संकलन गर्ने ठाउँ हो कि भनी
मान्छे नै झुक्किएला जस्तो हुने
अर्कालाई आफ्नो काम आफै गर्नु पर्छ भनेर प्रवचन दिने
तर आफू सिन्को नभाच्ने
म विशुद्ध अल्छी
धन्न दात, मुख, हात, गोडा, चाहिँ सुनपानी झैँ गरेर नि धोएको छु
भोको पेट पटक्कै बस्न नरुचाउने
कहिले भट्टीमा गएर नि पेट भर्नै पर्ने
कहिले पाँचतारे होटलमा डिनर गर्नु पर्ने
कति सौखिन छ मेरो अल्छीपन
धन्न अल्छीपना नाप्ने यन्त्र बनेको रहेनछ अहिलेसम्म?
नत्र म विश्वको नम्बर वानमा पर्थेँ
सबैले चिन्ने गरी
ऊ विश्वको अल्छी।