अरूलाई दबाएर, हप्काएर, थर्काएर
पाइलामुनि राख्न सपना देख्ने
'एउटा नव सामन्त'
आज पनि उही पुरानै ढर्रामा
परिवार, शिक्षा संस्कारबाट
जसरी निर्देशित भयो
उमेरले पाँच दशक पार गर्दा पनि उसमा
ती सामन्ती व्यवहार घटेनन्
पदले जतिमाथि पुगे पनि
व्यवहार, आचरणले कहिल्यै
सामाजिक हुन सकेन ऊ
आफूलाई बह्मा विष्णु सम्झने
उसले आफ्नो उचाइ कहिल्यै हेरेन
आफूले टेकेको धरातललाई
कहिल्यै पढेन, कहिल्यै बुझेन
अरूले लगाइदिएको भर्याङ
चढेर माथि पुगेको उसले
आफ्नालाई दास देख्न थाल्यो
आफूलाई मालिक देख्दै
रूखो बोली, हाँसो र व्यवहारले
अरूलाई दबाउनु उसको बहादुरी बन्यो
तर यो तिम्रा बाबुबाजेको शताब्दी होइन
यहाँ कस्ता कस्ता सामन्त ढलेको,
माटामा मिलेको इतिहास छ
ती इतिहास पढ र हेर।