हो, जीवनमा पहिलोपल्ट उसले कसैलाई भेट्नको लागि अनुरोध गरी। एक पटक, दुई पटक होइन, पटक-पटकको बिन्तीबिसाउपछि ऊ भेट्नको लागि तयार भयो।
यसअघि आकांक्षालाई भेट्नको लागि अरु मरिहत्ते गर्थे, जति आज ऊ सुभानलाई भेट्नको लागि गर्दैछे। अलिकति खिस्रिक्क हुँदै मात्र दुई घण्टाको समयको लागि आभारी भइ तर किन उसले उत्तर भेटिसकेकी छैने।
सुभान भन्छ, 'मैले तिमीमा मेरो बहिनीको आकृति देख्छु, तिमी मेरो बहिनी बाहेक अरु हुन सक्दिनौ।'
आकांक्षालाई यो दाजुबहिनीको सम्बन्ध स्वीकार्य छँदै छैन। ऊ साथी बनाउन चाहान्छे सुभानलाई, खासमा त्योभन्दा नि माथि।
जीवनमा भेटेका धेरै केटा उसको सुन्दरताको चर्चा र व्याख्या गर्थे र दूरी घटाउने कोशिश गर्थे तर सुभानले यसो पटक्कै गरेन। ऊ न अग्लो छ न ह्यान्समको मापनमा पर्छ तर आकांक्षालाई भने मजैले आकर्षित गर्यो। के ऊ उसैले गरेको बेवास्ता र प्रशंसाबिनाको संवादले त तानिएकी हैन!
थाहा छैन उसलाई र केही बोल्न पनि सक्दिन। मात्र टोलाइरहन्छे।
उसको मनोभावना बुझेजस्तो गरेर सुभान आफै बोल्न थाल्छ 'हेर, कोहीसँग आश्रित हुनु राम्रो होइन। तिमी आफ्नो खुसीको जिम्मा अरूलाई नदेऊ। आफैले आफूलाई पढ, बुझ। अरूलाई चिन्ने कोशिश गर्नु व्यर्थ हो। शारीरिक, मानसिक मनोवैज्ञानिक, सामाजिक आवश्यकताहरु समयअनुरूप स्वाभाविक हुन्। यसलाई नियन्त्रण गर्ने प्रयास नगर बरु यसबाट सचेत हुन खोज।'
आकांक्षालाई ऊ बोलिरहोस्, म सुनिरहूँ जस्तो लागिरहेको थियो। विस्तारै ऊ किन मन पर्योको कारण पाउदै थिइ। दिमागले कुरामा सतप्रतिशत ध्यान दिइरहेको थियो भने मन रोइरहेको थियो। कयौँको प्रस्ताव अस्वीकृत गरेकी आकांक्षा, नजानिँदो किसिमले सुभानले पनि त्यही क्रम दोहोराएको थियो।
केहीबेर मौनता छाउछ, दुवैजना केही केही सोचिरहेछन् तर बोल्दैनन्।
सुभान फेरि सुरु गर्छ, 'तिमी आफूमा परिवर्तन चाहान्छौ भने पहिले आनिबानी परिवर्तन अनिवार्य छ। स-साना कुराको निरन्तर अभ्यासपछि मात्रै तिमी सपनाको नजिक पुग्न सक्छौ, समयलाई चिन, अगाडि बढ।'
सुभानले किन यसरी सम्झाइरहेछ, सुभानको भाव पढ्नको लागि ऊतिर फर्किन्छे। एकोहोरो हेर्न सक्दिने तर घरिघरि हेर्दा आँखानै हेर्छे। सुभानको आँखा निकै निश्चल, सपनामय थियो र यताकता माया पनि देखेजस्तो लाग्यो।
आकांक्षालाई लाग्छ, मप्रति यतिविधि माया भएर पनि किन उसलाई बहिनी सम्बोधन प्रिय लाग्यो? मेरो र उसको आँखाको भाव त फरक देख्दिनँ त। आखिर शब्दले मात्रै के फरक पर्छ र! आकांक्षा सोच्छे, जीवनमा कोही मान्छे उसलाई यसरी मन परेको छ कि ऊ दंग छे, एकोहोरो या दोहोरो उसलाई फरक परेकै छैन।
केहीबेरपछि सुभान बसेको ठाउँबाट सरासर उठ्छ र भन्छ- 'मैले तिमीलाई दिएको समय सकियो।'
आकांक्षालाई चाह त उसको नजिकै गएर शिर उसको छातीमा राख्ने थियो तर ऊ उठिसकेको थियो र समयअवधि सकिएको जानकारी गराउदै थियो। जाँदाजाँदै दुई घण्टाको बसाइमा दुई कुरा भन्छ-
'१. तिमी मेरो बहिनी जस्तै हौ।
२. अब हाम्रो भेट एक वर्षपछि मात्रै हुनेछ।'
यति भनेर ऊ सरासर आफ्नो बाटो लाग्यो। आकांक्षा मनमनै आफैलाई घृणा गर्दै थिइ। लौन, कस्तो मान्छेलाई प्रेम गर्न पुगेछु!