एकजना वकिल आए मद्दत गर्न भनेर, दूतावासबाट सहयोग भएर आएका रे। उनको नाम बर्ट। रमेश रहेछ नेपाली नाम। वकिल कम र असल मान्छे ज्यादा लाग्थे जुन भन्ने हो भने वकिली पेशालाई त्यति सुहाउदैन।
माफ गर्नुस्, वकिल वा वकिल हुन आकांक्षा राख्नेहरु। अब जसले मलाई फाँसीको तख्तामा पुर्यायो, त्यो पेशालाई कसरी राम्रो भनूँ?
पहिलो प्रश्न नै तिमी के काम गर्छौ भनेर सोधे। भन्नै पर्यो। आफ्नो वकिललाई र डाक्टरलाई भएको कुरा नभन्नेहरु धेरै टिक्दैनन् भन्ने उखानै छ।
मेरो काम जानेपछि ती वकिल एक किसिमले एम्युज्ड नै भए। केसको विषयमा भन्दा बढी त मेरै रोमान्स तिर उनको बढी ध्यान। म भन्थेँ 'काम हो, कहाँको रोमान्स।'
एकपल्ट उनले भने ‘भाइ, मस्ती गर्ने नै काम भएपछि के चाहियो? खाली यो केस जितेर तिमी बाच्नु पर्छ, फेरि मस्ती जारी रहनेछ' लोभ्याउन खोजे तर उनको माग मैले पूरा गर्न नसक्ने खालको भयो। अन्तिम बेलासम्म मलाई कस्तो सरी महशुस भैरहेथ्यो उनलाई मैले मद्दत गर्न नसकेकोमा।
अदालतको बहस जस्तो समयको बर्बादी कहीँ भएन। अब मलाई यी कानुनी लफडाको ज्ञान छैन। भनिहालेँ मैले, एकपल्ट त सरकारी वकिलको उक्साहटमा के के भन्दिएँ, त्यो कुराले गर्दा उता जेलमा समेत धुलाइ भोगेँ।
म को हुँ भन्ने थाहा पाएपछि जोसुकै मान्छे किन नहोस्, वस्फारित नेत्रले मलाई हेर्थे। मलाई थाहा छ तिनीहरुको मनमा के विकार उत्पन्न हुन्थ्यो।
एकपल्ट त एउटा गार्डले बिनाकारण निहुँ खोज्न थाल्यो। ‘साला, मलाई त मेरो छोराको अनुहार किन यही काफिरको जस्तो लाग्छ?’
मैले उसलाई मत्थर पार्न भने ‘संसारमा अनुहार ठ्याक्कै मिल्ने पाँच जना हुन्छन् रे। अरु चार जना होलान् बाहिर।'
‘हो, तर बालीमा बस्ने तैं एकजना हो' अनि उता लगेर चार घुस्सा लगाइहाल्यो।
जेलरको खराब खातामा त म छँदै थिएँ। मेरा वकिलले कडै शब्दमा यो यातनाको विरोध गरेपछि भने मलाई उस्तो गाह्रो भएन।
ती वकिल बर्ट एकदिन एक्कासी हताश हुँदै आए र भन्न थाले, ‘तिमीले अब अलिबाई जुटाउनु पर्छ। नत्र तिमी गयौ। पक्कै पनि तिमी त्यो रात कुनै केटीसँग थियौ होला। त्यो केटीलाई बोलाएर साक्षी जुटाएपछि तिमी बाइज्जत बरी।'
मैले सोचेँ कि उनी सपना देख्दैछन्। ठाडै अस्वीकार गरेँ। अब यो कुन गल्लीको यौनकर्मी ठुलै हिरो हुन खोज्दै छ नभन्नु होला। गल्ती हुनेछ। अरुको म जिम्मा लिन सक्दिनँ तर मेरो येस्लाई ओमेर्टा नै मान्नुस्। मलाई प्रष्टै थाहा थियो कि त्यो रात म लिसासँगै त थिएँ। तर मैले सायद कोही थिएन पनि भन्दिएँ।
यो जेलबाट छुटेर फेरि आफ्नै जिन्दगी बिताउने रहर नभएर वा जिन्दगीदेखि वाक्क लागेर मैले लत्तो छोडेको थिइनँ। हो, मेरा आफन्तहरु कोही थिएनन्। नेपालीहरुसँग नभेटेको जुगौं भैसकेको थियो। तर यही किसिमको एकाकीपन मिठो थियो।
तर मसँग एक रात भए पनि प्रेम गरेकी कसैको म दुनियाँको अगाडि पर्दाफास गर्ने वाला थिइनँ। ओके, यसको अर्थ बुझ्छौ भनेर वकिलले बार बार तर्साए। बुझ्नु के छ, फाँसीको फन्दा गलामा हाल्ने, एकछिन छटपट गर्ने बस।
म जाँदा धुन्धान रोइ पिटाइ गर्ने कोही नभएर यस्तो गरेको हो कि भन्ने पनि नठान्नुस्। एक छे रुजाली जो त्यसै पनि दिन दिनै रुन्छे। अब्दुल पनि धेरै नै निराश हुनेछ। अनि मलाई लाग्छ यी वकिल पनि मदेखि निकै भावुक हुन थालेका छन्।
प्रेमको दुहाइ दिने तपाईंहरुलाई एउटै प्रेमी वा प्रेमिकाको आँसु काफी हुन्छ नि हैन? कुनै गलत निर्णय लिनको लागि। ओके, मलाई भिन्दै ठान्नुस्- यो संसार सबै कोकोहोलो गर्ने भए पनि म यो निर्णय फेर्दैन थिएँ।
एकदिन ती वकिल मलाई नसोधिकनै मेरो कामको ठाउँ पुगेर आएछन्। मैले यो कुराको भनक पहिले नै नपाएको भए अब्दुललाई फस्ल्यांग फुस्लुंग पारेर उनले ती मेरी ग्राहकको नाम ठेगाना लिन्थेँ होला। त्यति सजिलो त छैन त्यो थाहा पाउन, तैपनि। अब्दुललाई बाचा गराएथेँ।
वकिल फर्के रित्तो हात तर रुजालीको ब्रम्हास्त्र प्रयोग गरे। झन्डै झन्डै मेरो ओमेर्टा डगमगाएन। विचरी रुजाली। प्रणय प्रेम थिएन, कम्तीमा मेरो साइडबाट। दाजुबैनीको प्रेम पनि हैन। दुख पाएकी हो उसले एकदमै।
मैले गर्न सकेँ भने उसलाई केही गरिदिन्छु भन्ने त थियो मनमा। तर ऊ त्यो आशाले रोएकी हैन। लाटो छैन म, थाहा छ उसले त्यस्तो प्रेम खोज्थी जुन मसँग छँदै थिएन। अब नभएको कुरा म कसैलाई कसरी दिऊँ? प्रेम त हैन तर ऊ रुँदा मलाई पनि रुन आउँथ्यो। तर म दिलको त्यति बलियो पनि थिइनँ कि उसको वा अरुको सामु रोइदिउँ।
मलाई माफ गर्नु पर्ने उसैले हो। त्यसै पनि एक्ली उसलाई अब झन् के हुने होला? यो सोच्न थालें भने मेरो इथिकल कन्फ्लिक्ट विष्फोट हुने तहमा पुग्छ। त्यसैले मैले आफ्नो कर्तव्यमै फोकस गरेँ।
उसलाई छोडेर म जान नहुने हो। जान्न पनि थिएँ, यदी मेरो वशमा हुन्थ्यो भने। अब भन्नु होला कि मेरो वकिलले एउटा मौका त दिएकै हुन्, किन लिएनौ? रुजाली कसरी बाँच्छे त अब? माफ गर्नु होला, मैले उसको बाँच्ने वा नबाँच्ने जिम्मा लिन सकिनँ।
यसैमा त मैले माफ माग्नु परेको हो। त्यो तपाईंको निराकार निर्विकल्प अनादी सर्वव्यापी भगवान छन् भने कृपया गुहारी दिनु होला। मलाई कुनै आपत्ती छैन। मलाई त्यो पल्लो गाउँको धार्मिक गुरु जो मलाई मार्ने प्रयास गर्न उसको गुण्डाहरु लगाएको थियो, को हुनुमा त त्यति आपत्ति छैन भने रुजालीलाई मद्दत पुर्याउने भगवान हुनुमा के नै आपत्ती हुन सक्छ?
गुहार्नुस् यार। छन् भने हेर्लान् पनि। रुजालीले कुनै त्यस्तो पाप गरेकी छैनन् जस्तो लाग्छ। मैले बरु कति के गरेमा आफ्नै बारे पक्का छैन। वेश्या हुनु पाप हो भने त ऊ सिधैँ नर्कमा जान्छे। नत्र हजुरहरु गरुड पूराणमा भने जस्तो तातो तेलमा पाक्दै गर्दा ऊ अल्लाहसँग इश्क लडाइ रहेकी हुन्छे।
त्यसले यो धर्तीमा एउटा कमिलालाई पनि हानी पुर्याएकी छैन। हो, ऊ रोएरै अरुलाई हैरान बनाउथी। अब त्यो पाप हो भने ऊ फेरि सिधैँ नर्कमा।
त्यो दिन पनि मलाई के के भनेर अड्काउदै थिइ तर सामीले मलाई तानेर भित्र लगिहाली। यस्सो फर्केर हेरेँ- महानुभावहरु, फर्केर हेर्ने काम आफ्नो हितमा कहिल्यै हुँदैन। ऊ मलाई हेर्दै थिइ पोल्ने गरी। कुनै आशा थिएन, आँखा सुन्दर थिए तर त्यसमा लगाव थिएन।
म भित्र पुगुन्जेल ती पोल्ने नजरले पछ्याइरहे। अनि त्यो मेरो लागि उसको अन्तिम दृश्य पनि हो। मालिस गर्ने कोठामा केही क्षण बिताएर लिसा र म अर्को बिल्डिङमा गयौं र त्यतैबाट लिसा गैसकेपछि म आफ्नो बाटो लागें। रुजालीलाई फेरि भेट्ने वा हेर्ने समेत मौका मिलेन।
त्यसरी छोडेर आएको हुँ रुजालीलाई। अब तपाईंहरुले अनुकूल ठान्नु हुन्छ भने उसलाई मद्दत गर्नुस् जो मैले सकिनँ।
वकिल बर्टले त्यसपछि मलाई परिवार बसाउने आदि हाँस्यास्पद आशाहरु देखाए। उनले झन्डै जबरजस्ती नै गरे त्यो रात, म के गरिरहेको थिएँ भनेर। मैले पनि सायद म एक्लै थिएँ होला भन्दिएँ। अनि उनले आफ्नो खल्तीबाट वालेट झिकेर उनका जोइ पोइ बसेको तस्बिर देखाए जसले मेरो दिमागमा तातो झीरले रोपेको जस्तो असर गर्यो।
मैले सोचेँ कि संसारको यो सबभन्दा खेदजनक आकस्मिकता हुन पर्छ। सुन्दरी लिसा र उनको सँगै बसेको तस्बिर देखाएर उनले भने कि 'बच्यौ भने यस्तै परिवार बसाउन सक्छौ।'
म अचानक चुप भएँ र सायद उनले अर्कै अर्थ लगाए होलान्। जस्तैः मैले आफ्नो निर्णय फेर्दै छु। तर म सोच्दै थिएँ कि अब यिनले अरु बढी तिकडम गर्न थाले भने उनलाई मेरो वकिलबाट हटाइदिनु पर्ला।
तपाईंहरु बुझ्नुस् कि बर्ट मलाई एकदमै मन पर्ने व्यक्ति हुन् तर परिस्थितिले गर्दा उनी मेरो वकिल भैरहनु मेरा लागि अनुकूल रहेन। तर त्यसपछि उनले खासै अरु हर्कत गरेनन र मलाई त्यस्तो गर्नु पर्ने भएन।
लिसाले उनलाई रब भन्दिरहिछन्, अफकोर्स अरुले बर्ट भने पनि।
मुद्दा फैसला हुने दिन मलाई पनि एक किसिमको डर लागेको थियो। मेरो पक्ष्यमा फैसला आउने चान्स शून्य बराबर थियो - बर्टले भने जस्तो। अदालतले त्सय दिन धेरै समय पनि लिएन। सजाय मृत्युदण्ड- गोली खाएर वा फाँसी लगाएर त्यो मैले छान्न पाउने।
मैले एक्कासी मेरा वकिललाई हेरेँ, तिनी हताश भएर मै तिर हेर्दै रहेछन्। कुरा सिद्धिगो। अब नआउनु भन्दिएँ किनकि तिनी मलाई भाइ जस्तो लगाव राख्न थालिसकेका थिए। अब काल कुरेर बस्ने मित्रकोमा किन आइराख्नु पर्यो?
सजाय सुनेपछि डरसर हराएर गयो। तर भौतिक रुपमा भने अरु कष्ट थपियो। काल कोठरीमा मलाई लगियो र फाँसी नभएसम्म त्यही थुनामा बसिने भयो। यहींँ बसेर म यो सारा कथा लेख्दै छु।
अब तपाईं यो कथा पढ्दै हुनुहुन्छ भने मेरा ती वकिललाई महात्मा जस्तै महान् ठान्नुस्। तपाईंले एकपल्ट त सोच्नु भो होला कि आफ्नो ग्राहकको गोप्यताको लागि ज्यान दिनेले फेरि यो कुरा दुनियाँलाई किन भन्दै छ? महाशय/महाशया, मैले के गरेँ भने एउटा चिठी लिसाको नाममा लेखेँ, र यो कथाको पानाहरु बर्टको लागि छोडेर गएँ।
मलाई थाहा छैन बर्ट र लिसा आउछन् या आउंँदैनन्। दुइटै स्थितिमा उनीहरु महान् हुन्। अब तपाईं समेत यो पढ्दै हुनुहुन्छ भने बुझ्नुस कि उनीहरु आएर यो बुझी लिएका हुन् अनि यस्लाई प्रकाशित समेत गरे। सायद नाम परिवर्तन गरेर। नाममा के छ र, उनी लिसा नभएर ललिता हुन सक्छिन् वा बर्टलाई ज्याक भने पनि के फरक हुन्छ र?
जे होस्, अब काल कोठरीमा मृत्युदण्ड पर्खने जस्तो बोरिङ अनुभव अर्को नहोला। न कोही भेट्ने मान्छे न कुनै फरक दिनचर्या। जेलका कर्मचारीहरुसँग समेत त्यति भेट हुँदैन थियो। त्यस्तै एकदिन म मनहुस भएर कटाइरहेको बेला त्यो जेलर आयो- खन्द्रंग गरेर ढोका खोलेर। मलाई लाग्यो यो फेरि निहुँ खोज्न आएको छ। हात चिलायो होला। तर ऊ अगाडि आयो र ठिंग उभिएर मलाई हेरिरह्यो।
‘जेलर साहेब' मैले शान्तसँग भनेँ। धेरै दिनदेखि मान्छेको गन्ध पनि राम्ररी नपाएको मलाई, यो जेलर रामधुलाई गर्नै आएको भए पनि रमाइलै लाग्यो।
‘के सुन्दै छु?’ ऊ सोध्छ।
‘के सुन्नु भयो?’ मैले पनि आश्चर्यका साथ सोधेँ।
‘तिमी किन तिम्रो अलिबाई ल्याउदैनौ?’ ऊ भन्छ।
हे भगवान! फेरि उही लफडा। यो ठाउँमा यही खराबी छ कि थाहा नपाउनु पर्नेहरुले पनि थाहा पाउछन्। मैले केही भनिनँ। अब यो बिन्दुमा यो व्यक्तिलाई कसरी बुझाउँ।
‘सम्भव छैन' मैले छोटो जवाफ दिएँ।
जेलर साहेब एकछिन घोरिए अनि भने ‘माफ गरिदेऊ मलाई, त्यो दिन तिमीलाई कुटेँ मैले। त्यसै पनि गर्न नहुने काम हो।’
‘ठिक छ हजुर, माफ गरिदिएँ।'
अनि ऊ त्यस्तै बेगले ढोका खन्द्रंग गर्दै बाहिर गयो। प्रत्एक दिन जसो ऊ एकछिनको लागि आउँथ्यो। छोटो गफ गर्थ्यो। त्यो दिनचर्या मलाई निकै मजेदार हुन लाग्यो।
तर एउटा अर्को दिन नितान्त नयाँ व्यक्ति आए। मलाई एक किसिमको सन्सनाहट नै भयो, अगाडि मेरो मुद्दा हेरिरहेका एउटा न्यायाधीस खडा थिए। के हुँदैछ?
‘रुबन’ ती नरम स्वरले बोल्ने न्यायाधीश भन्न थाले, ‘अदालतमा तिम्रो यो पहिलो पल्ट पक्कै होइन।’
‘ओह,’ मैले भनेँ, ‘सायद’
‘अनिसाले तिमीलाई सोधेकी छन्’ तिनले भने।
‘के?’ म झसंऊ भएँ ‘तपाईं?’
‘मेरो छोरी हो। उही नै हो हाम्रो एक मात्र सन्तान।'
न्यायाधीश ले रुमाल झिके र तालुको पसिना पुछ्न लागे।
यो कुरा करिब पाँच वर्ष अघि को हो, म करिब करिब नयाँ नै थिएँ यो पेशामा। अब्दुलको मसाज खाना पनि यहाँ थिएन। बालीको सबभन्दा उत्तर तर्फको भागमा थियो। डेरा थियो कामको नजिकै। बिहानै एकदिन एकजना अधवैँशे भलाद्मी मेरो डेरामा आए। त्यतिको महँगो लुगा लगाउने कोही पनि त्यसअघि त्यो गल्लीमा देखेको थिइनँ।
‘अनिसाको वकिल हुँ’ तिनले भने।
अनिसा एउटी केटी- रेबेल टाइप कि। अब्दुलले प्रायः त्यहाँको लोकल ग्राहकहरु नलिनु भनेर चेतावनी गर्थ्यो। अफकोर्श, कम्प्लिकेसन हुन सक्छ। तर अनिसा उसको अर्को विदेशी साथीको पछि लागेर आएकी थिइ। लिसा जस्तै। यस्तै चार पाँच पल्ट मसँग समय बिताएकी होली। धेरै भएथ्यो उ नआएको।
‘के भयो उसलाई?’ मैले सोधें।
‘लागू पदार्थ बेचेको आरोप छ' वकिलले भने।
म झसंग भएँ। इन्डोनेसियामा लागू पदार्थ बेचेको सजाय सिधैँ मृत्युदण्ड।
‘नो’ म झन्डै चिच्याएँ ‘त्यस्तो जस्तो लाग्दैन थियो।’
अनिसा सुखमै हुर्केकी, अलि पुल्पुल्लिएर पालिएकी जस्ती थिइ। रात कटाएपछि टिप् राम्रै दिन्थी। उल्ले यस्तो ड्रगको काम गर्छे जस्तो साँचै लागेन।
‘माफियाहरुले फसाएका छन् अनिसालाई' वकिलले भन्यो।
अब उसकै वकिल हो, भन्ने नै भयो उसलाई बचाउन। तर ड्रग माफियासँगको फन्दा त्यसै पनि डरलाग्दो हुन्छ।
‘हे भगवान!' मैले भनेँ, ‘अब के गर्न सकिन्छ?’
‘अनिसा भन्छिन त्यो रात उनी तिमीसँग थिइन् रे' वकिलले भन्यो र मुन्टो अर्कै तिर घुमायो। सायद धार्मिक हुँदो हो अलिअलि। त्यो कुरो भन्न पनि उल्लाई गाह्रो भैरहेथ्यो।
‘क्रिसमसको अघिल्लो रात।'
कुरा मैले बुझिहालेँ। मैले अब अदालत गएर साक्षी बसिदिनु पर्यो, अलिबाईको लागि।
क्रिसमसको अघिल्लो त्यो रात पनि अविस्मरणीय थियो त्यसैले मलाई घटना सम्झन कुनै गाह्रो भएन। मलाई लाग्छ अनिसाले आफैले अलिकति ड्रग प्रयोग गरेरै आएको हुनुपर्छ। निकै वाइल्ड भएकी थिइ।
मलाई कसैले प्रेम गर्छु भन्यो भने म त्यस्लाई त्यसै पनि वाइल्ड मान्छु। अब तपाईं आफै भन्नुस्, एउटा गए गुज्रेको तरुण जसको न कुनै बलियो शैक्षिक योग्यता छ न समाजले पचाउने खालको पेशा छ, म हेर्दा पनि त्यति ह्याण्डसम छैन। कुरा अलि टेढिएको गर्छु।
प्रेम गरिन योग्य म संसारको अन्तिम व्यक्ति हुँला। खैर तपाईंको छोटो क्षणलाई मिठो बनाउने एउटा योग्यता त छ तर त्यो प्रेम हैन भनेर कोकोहोलो गर्ने सारा कवि, दार्शनिक, धार्मिक गुरु, सामाजिक अभियन्ता, कलाकार यावतको भनाइ नसुनेर मलाई प्रेम गर्छु भन्नुहुन्छ भने तपाईं रेबेल मात्रै हैन, अलि असन्तुलित हुनुहुन्छ कि जस्तो लाग्छ।
अनिसाले अचानक गहिरो चुम्बन गरी जुन प्रायः हाम्रो केसमा पेशागत खतरा मानिन्छ। चुम्बन बिना नै यो प्रेम निपट्याउनु पर्ने हुन्छ। ‘तिमीलाई प्रेम गर्छु।' यो कुरो म पहिलो पल्ट सुन्दै त थिइनँ। आनदतिरेकमा प्रायः सबैजना नन्सेन्स बोल्छन्। सत्य भए पनि अनावश्यक सत्य बोल्छन्। अब लिसाले पनि मलाई रब भन्दी।
यो वाक्य कतिखेर भनियो, त्यो महत्वपूर्ण हो। मलाई झस्का किन लाग्यो भने अनिसा सुरुमै त्यसो भन्न थाली। अनि विभिन्न हर्कत गर्न थाली जुन यो प्रेममा अनावश्यक थियो। लुगा मिलाइदिने, कपाल कोरिदिने, टाउको मिचिदिने।
‘के भा छ तिमीलाई?’ मैले सोधेँ।
‘प्रेम’ जवाफ दिइ जो मैले पहिले नै अनुमान गरिसकेको थिएँ।
‘कोसँग?’ मैले सोधेँ।
इमान्दारीपूर्वक नै सोधेको हुँ किनभने मलाई उनीहरुको प्रेमी मानेर रात रंगीन गर्न आउने घटना सामान्य नै थियो।
‘आज म को बन्नु पर्ने हो?’
‘मसाज कोठीको रुबन जोशी। चिनेको छौ?’ अनिसाले भनी र लामो सास फेर्न थाली। शिट! अब्दुलले त भन्थ्यो कि लोकल केटीहरुसँग टाढा रहनु।
‘चिन्दिनँ,' मैले चिसो हुँदै भनेँ, ‘हरामी हुनुपर्छ।'
‘हो, हरामी छ। त्यसैले मन पर्छ।'
अनि रसाएका आँखा पुछ्दै मलाई तान्न थाली।
थाहा छैन, त्यो उसको क्षणिक आवेग हो कि वा अन्त धोका खाएर घाउ निको पार्न यसो भनेकी हो कि। मलाई भने यो असमन्जस्य क्षण रात भएर लम्बिने भयो भन्ने डर लाग्यो।
‘गर्न सक्ने जति माया म गरुला, है?’ मैले भनेँ।
‘गर्न हुने जति' मैले उसलाई जुन उद्देश्यले मलाई बूकिङ गरेकी हो, त्यो तर्फ लैजान खोजें।
‘नाइँ आज त्यो नगर्ने' अनिसाले उसको लुगा खोल्न मानिन। हाम्रो पेशामा अर्को एउटा नियम छ- यदि ग्राहकले स्पष्ट रुपमा आग्रह गरेकी छैन भने अगाडि नबढ्नु, भावभंगीले जेसुकै गरिरहेको भए पनि। यो एउटा आफ्नो लागि कानुनी रुपले प्रतिरक्षात्मक कुरा हो।
‘जो मर्जी' मैले भनेँ।
अब उसले पैसा तिरेर किनेको समय हो, त्यसै बिताइदिउँ भन्छे भने पनि ठिकै छ।
तर त्यसै बितेन। रातभर ऊ प्रेम जताइरही र म इन्कारीरहें। म कुनै ठूलो मान्छे पल्टेर त्यसो गरेको हैन। म त केवल व्यवहारीक सत्यको पक्ष लिइरहेको थिएँ।
बिहानले हाम्रो रणभूमि प्रष्ट देखायो। हाम्रो लुगा हाम्रै शरीरमा थियो तर आवेग नांगो थियो। उसको आँखाको डिल सुन्निएर ओठ जस्तो भएको थियो। साला कोठीको लठैतसँग पनि प्रेममा भासिनु पर्ने यो अनिसालाई के भएछ भनेर माया पनि लाग्यो।
उठेर ऊ आफ्नो लुगा मिलाइ, अलिअलि मेकअप गरी। तर आँसुले घरि घरि त्यो बिगार्थ्यो।
घरि घरि मलाई हेर्थी तर म अपराधीले जस्तो अन्तै तिर हेर्थें। तपाईंहरु मलाई निष्ठुरी नभन्नु होला। म निष्ठुरी छैन। मलाई अरुले प्रेम गर्छु भन्यो भने एकदम बेचैनी भएर आउँछ।
मेरो पेशाले अनि भित्री आवाजले नै मलाई त्यो प्रेमको समानुपातिक उत्तर दिन दिँदैन। बस आउनुस्, एक रातलाई मलाई जे बनाउनु छ बनाउनुस्, पैसा तिर्नुस् जानुस्। म उप्रान्त तपाईंकै हुन्छु, त्यो हदसम्म।
तपाईं उसको पक्षमा भावुक हुनु भयो होला। मेरो पनि गुनासो कम छैन। यो रात त सिधा सपाट सजिलो हुनु पर्ने हो, खरिद मूल्य अनुसार। जिन्दगीभरिकै सबभन्दा कठोर लडाइ लड्न परेको रातको मूल्य कति हुन्छ?
बिहान त उसले केही बोल्न पनि सकिन। स्वर पनि सुक्यो होला, रातभर जो सवाल जवाफ गरिरहेथिइ। मैले जाने बेला हल्का अंकमाल गर्न खोजेँ तर उसले मेरो हात कसेर समाती अनि पन्छ्याइदिइ। ब्याग बोकेर ऊ संघारमा अडिइ र फेरि फर्केर हेरी।
जनाव, फर्केर हेर्ने काम कसैको हितमा हुँदैन भनेर मैले भनिसकेँ नि।
अब उसको त्यो अनुहार मेरो मानसपटलमा नमेटिने खत भएर बस्ने भयो। संघारमा उभिएको थिइ, ढोका उघारेर एउटा खुट्टा बाहिर भैसकेको थियो। सजल नेत्रले मलाई घोप्ने गरी हेर्दै थिइ। अपराध नगरेर पनि मैले यो सजाय भोग्ने नै भएँ। अन्तिमपल्ट लगाएको गाजलको रंग लिएर आँसुको थोपा गालामा आयो र झन्डै मैले मेरो भीष्म प्रतिज्ञा तोडिनँ।
भ्रममा नपर्नुस महासय, मैले उनको प्रेम स्वीकारेको भए पनि उनको जीवनमा कुनै खुसी आउने थिएन। मान्छेहरु यौन तृष्णालाई काबुमा राख्नु, यो क्षणिक आवेग हो भन्छन्, म प्रेम त्यस्तो हो भन्छु। अनिसा पनि केही दिनमा सामान्य स्थितिमा आइहाल्छे भन्नेमा शंका थिएन।
अब मैले उसको प्रेम स्वीकार गरूँ, म जस्तोसँग फसेपछि उसको के भविष्य हुन्छ? मैले प्रेम स्वीकार गर्नु भनेको उसको जिन्दगी बर्बाद गर्नु हो। अब सँच्चा प्रेम कस्तो हुनु पर्छ तपाईं आफै भन्नुस्।
‘सोच अझै। माया गर्छौ भने मेरो घरमा क्रिसमसको खाना खान आऊ। म तिम्रो बाटो हेरिरहन्छु' उसले उसको ठेगाना भएको कार्ड टेबलमा राखिदिइ र विस्तारै ढोका लगाएर गइ। क्रिस्चियन रहिछ, त्यो पनि बल्ल थाहा पाएँ।
म गइनँ। एकैपल्ट उसलाई मैले अदालतमा हत्कडीमा देखेँ।
अब्दुलले मलाई साक्षी बस्नु अघि सोच एकपल्ट भनेको थियो। माफियाको केस हो, तिमीलाई खतरा हुन सक्छ भनेको थियो। तर त्यो खतराले मलाई रोक्ने वाला थिएन। अब्दुल पनि दिलको खराब छैन।
‘तिमी जाऊ, नडराइ जाऊ। मेरा पनि छन् दुई/चार जना बलिया बांगाहरु। तर होस गर है' भन्यो उसले।
मलाई लागेथ्यो एकपल्ट अदालत गएर 'हो, म र उसँगै थियौँ' भन्देपछि कुरो मिलिहाल्यो। तर ती वकिलहरु कति हरामी र दुर्दान्त हुन्छन् भन्ने मैले त्यो दिन बुझें। लिसालाई अदालतमा ल्याउनबाट रोक्न मैले जुन निर्णय लिनु पर्यो, त्यसमा अनिसाको कथाको ठूलो हात छ।
साक्षीको कठघरामा उभिएपछि सरकारी वकिलले जुन प्रश्न सोध्न थाले, मेरो दिमाग तातेर आयो। किन यो मान्छे टेढो मेढो प्रश्न मात्रै सोद्छ?
अनिसालाई हत्कडीमा देख्नसाथ मेरो होस आधा गुम भैसकेको थियो। उसको त्यो ढोकाको संघारको दृश्य अझै पनि ताजै थियो, केही महिनाअघिको त कुरा थियो।
ऊ दुब्लाएकी थिइ। मलाई देख्नासाथ झसंग भएर कामेको जस्तै गरी।
वकिलले जान्न चाह्यो कि मैले कसरी कतिपल्ट कुन कुन पोजिसनमा उसँग यौन संसर्ग गरेँ। अनि उसले कति पैसा तिरेर मलाई बुक गरेकी थिइ अनि महिनामा कतिपल्ट आउँछे आदि इत्यादि।
‘जनाब,’ मैले भने,’ त्यो रात उनी मसँग भएको म प्रमाण दिन्छु। अब हामीले के गर्यौ, कसो गर्यौ, यो अदालतलाई किन चाहियो? ओके, हामीले बाइबल वा कुरान पढ्यौँ वा स्पाइडर म्यानको सिनेमा हेर्यौं।'
‘यो साक्षीलाई पैसा तिरेर किनिएको हुन सक्छ' वकिल डुक्र्यो।
‘सोधेको प्रश्नको जवाफ देऊ' न्यायाधीशले पनि भने।
हार खाएर मैले उसको प्रश्नको जवाफ दिन थालें। ऊ अश्लील र असभ्य किसिमले प्रश्न गर्थ्यो र म सम्भव भएसम्म सभ्य भाषामा उत्तर फर्काउन्थे।
अन्त्यमा मैले पनि चाल पाएँ कि उसका तर्कहरु फितलो हुँदैछन्।
मलाई जरुरी भए फेरि अदालत बोलाउने भनाइ राख्दै न्यायाधीशले मलाई जान दिए।
जानु अघि अनिसालाई हेर्न मन लाग्यो। अझ अलिकति कुरा गर्न पनि मन लाग्यो। के मैले उसको प्रेम स्वीकारेको भए यो नौबत आउन्दैन थसयो त? यतिखेर उसलाई कति ढाडस र मद्दत चाहिरहेको हुँदो हो। ऊ राम्रै घराना कि थिइ तर यो अवस्थामा जो पनि निरीह हुन्छ। अफकोर्स, मलाई उसँग बोल्न दिइएन।
यसपाली म फर्केर नहेरीकनै आफ्नो बाटो लागें। वकिलको प्रश्न सम्झेर रिस र ग्लानीले पिल्सिरहेको थिएँ। त्यत्रो भीडको अगाडि यस्तो इज्जतको पर्दाफास गर्न जरूरी थिएन।
केही हप्तापछि थाहा पाएँ कि मेरो मद्दतले काम गरेछ। ऊ जेल मुक्त भैछ। खाली मलाई ऊ फेरि आउछे भन्ने डर थियो र आशा पनि। कुनै यौन चाहनाले हैन, खाली एकपल्ट बोल्न। तर ऊ आइन र ठिक भयो।
यस बीचमा मैले साक्षी गवाही बसेकोमा रुष्ट भएका माफियाहरुले मौका छोपेर मलाई सांघातिक आक्रमण पनि गरे तर मर्नु त जल्लादकै हातबाट लेखेको रहेछ, (लेखेको कुरामा म विश्वास गरुला त?) अब्दुलले बचायो।
एक्कासी त्यो दिन उसको बाउ अगाडि देख्दा विस्मृत भएँ।
‘अनिसा मेरो अर्कै सम्बन्धबाट जन्मेकी छोरी हो। तर अहिले ऊ परिवारसँग नजिक छे' तिनले भने।
‘मेरी श्रीमतीबाट सन्तान हुन सकेन।'
‘ओह' मैले भनेँ। के भन्ने हो र यस्तोमा!
‘अनिसालाई आराम छ?’
‘तिमीले उसको प्रस्ताव मानेको भए मैले हुँदैन भन्दैन थिएँ। जे होस्, तिमीलाई धेरै धन्यवाद छ। साहस गरेर साक्षी बसिदियौ, उ जोगिइ।
'हेर न्यायाधीसकै परिवारलाई पनि यस्तो हुन्छ। तिमीलाई ती माफियाहरुले मार्न खोजेको पनि थाहा पाएँ। मान्छे बहादुर हौ तिमी। मैले तिनीहरुलाई ठिक लगाइसकें। तर म सुन्दै छु तिमी अलिबाई दिन इन्कार गर्यौ रे। म तिमीलाई फाँसीको सजाय पाएको हेर्न सक्दिनँ यो जान्दा जान्दै कि तिमी निर्दोष छौ।'
‘सरी हजूर' यति मात्र भनेँ।
‘अनिसा अमेरिकामा छे, उसको श्रीमानसँग। उसको कुरा सुन्छौ भने म उसलाई बोलाउछु यहाँ' अब यी पनि मेरो वकिल जस्तै बटारिन थाले।
यति खतरा म मोलूँला! ‘पर्दैन हजुर, अनिसाले गर्न सक्ने पनि केही छैन यहाँ।'
‘त्यो अलिबाई दिन सक्ने महिलालाई कन्भिन्स गर्न सक्छे।'
‘त्यो इष्यु हैन हजुर। यो मेरो सिद्धान्तको कुरा हो। जसरी तपाईं सत्य जान्दा जान्दै पनि कानुन अनुसारको फैसला गर्न बाध्य हुनुहुन्छ, त्यसैगरी म पनि आफ्नो प्रतिज्ञा राख्न बाध्य छु।'
न्यायाधीस भएकोले धेरै भन्नै परेन। कुरा बुझे। लामो सास फेरेर उनी निस्किए। उनी निस्कनु अघि मैले यति भनिहालें कि कृपया अनिसालाई यो कुरा को खबरै नगर्नु। उसले जतिखेर थाहा पाउँछे, त्यतिखेरै त्योसँग डिल गर्छे। त्यसै पनि वर्षौं बितिसक्यो त्यो रात सिद्धिएको सायद उसले सबै कुरा भुली पनि सकिहोली। किन घाउ कोट्ट्याइरहनु?
तुरुन्तै जेलर आयो र के भयो भन्न थाल्यो। ऊ आज रोष प्रकट गर्दै थियो, मानौँ मैले नै आफैलाई जानी जानी मराउन लगाउदै छु।
अरुको कुरै छोडुूँ, सरकारी वकिलको टिमको एकजना वकिल पनि अलिबाई ल्याए केस फेरि रिभ्यु गर्न सकिन्छ भन्न आएपछि भने मैले अर्कै कदम चाल्नु पर्यो। यही दरमा संसारमा असल मान्छेको संख्या बढ्ने हो भने अलिक दिनमा संसार छोडेर जान कुनै प्रोत्साहन नै हुँदैन हा हा हा...
उता अब्दुल लगायत मेरो वकिल अनि मेरै केस हेर्ने न्यायाधीश समेत धुँवाधार लागेका होलान् साक्षी खोजेर उनलाई यहाँ आउन बाध्य पार्न। बर्टले यो कुरा थाहा पाएपछि के गर्दो हो! उसको मनोविज्ञान मैले बुझे अनुसार लिसालाई उसले नै कर गर्नेछ, भलै त्यसपछि उनीहरुको सम्बन्ध के हुनेछ? लिसाको ऊमाथिको लगावले सायद सम्बन्ध टुट्न भने नदेला।
सुटुक्क मैले मेरो मृत्युदण्डको मिति अगाडि सार्न माग गरेँ जुन भाग्यवश स्वीकृत भयो। यसो गर्नुमा मेरो व्यक्तिगत स्वार्थ छ। कसको हुँदैन? मैले त्यो मृत्युदण्डको लागि एक महिनाभन्दा बढी कुरें भने यहाँ त त्यो गोलमाल हिन्दी सिनेमाको अन्तिम दृश्यमा जस्तो सबै पात्र यहाँ भेला हुनेछन् र हुने नहुने परिस्थिति तिर समय मोडिन सक्छ। म त्यो खतरा मोल्न चाहन्न।
यही क्रममा जल्लादले घाँटीको नाप लिएर गयो।
तपाईंहरु भन्नुहोला यो खुस्केको हुनु पर्छ। फाँसीको दिन नजिकिदै आउँदा पनि डर नलाग्ने? डर नलागेको होइन हजुर, यसको उपाय मात्रै नभएको हो। अब उपाय नभएको कुरामा भने म आफ्नो समय बर्बाद गर्दिनँ।
इण्डोनेसियामा मृत्युदण्ड दिने अघिल्लो दिन कुनै औपचारिक अन्तिम खाना दिने चलन छैन। कसैले सोधेको भए एउटा थियो, मैले धेरै नै मिस गरिरहेको खाना। त्यो अघिल्लो दिनको साँझ भने मलाई अलि गाह्रै भयो। अँध्यारो कालकोठरी, थोरै उज्यालो भनेको केही यादहरु।
मलाई प्रेम गर्न खोज्नेहरुको धुमिल सम्झनाहरु। अब्दुलको, वकिल बर्टको। अनि लिसाको। मिनेट मिनेट गरी, अझ सेकेण्ड सेकेण्ड गरी घिस्रिरहेको थियो समय। अनि रुजालीको सधै रोएको जस्तो देखिने चेहरा अनि अनिसाको लत्पतिएको गाँजलले भरिएको पोक्चा गाला। कुनै आनन्दातिरेकको क्षण हैन, तैपनि कस्तो कस्तो मधुरो प्रकाश वाला सम्झना।
थाहा छैन ती सम्झनाहरुले नै पो मलाई फाँसीको तख्तासम्म हिडेर जाने बल दिन्छन् कि। पहिले मलाई लाग्थ्यो कि कसरी मान्छेहरु हिड्ने जाँगर जुटाउछन्, त्यो प्लाफर्मसम्म? हो, त्यही जाँगर जुटाउन भरमग्दुर गर्दै छु। मलाई भोलि यहाँका गार्डले घिसारेर लगे भनेको सुनाउनु छैन रुजाली, लिसा, बर्ट वा ती न्यायाधीशलाई।
एक प्लेट बेबेक बेटुटुले राम्रै जादु गर्थ्यो कि? तर यो साँझको जेलको हेर्दै वाक्क लाग्ने खाना घचेडेर गार्ड गयो। अब खाने हो कि नखाने हो। तुरुन्तै ढोका घन्द्रंग गरेर उघ्रियो र जेलर साब हातमा ठुलै किस्ती बोकेर अगाडि उभिए। ओह्, मलाई याद गरेछन् अन्तिम खानाको लागि!
‘म पनि सँगै खाने हो' उनले भने।
म विस्मृत नजरले उनलाई हेर्न थालेँ। सायद यो पनि कुनै षड्यन्त्र होला। अन्तिम घण्टासम्म पनि प्रयास हुन सक्छ यो साक्षी ल्याउने मुद्दा उल्टाउने। यो प्रयासलाई म नराम्रो मान्दिनँ। दोषीहरु त मर्नु हुँदैन भन्ने मान्छे हो म। निर्दोषहरुको त कुरै भएन। तर कुन मूल्यमा तपाईं बाच्न चाहनु हुन्छ, कुरा त्यति हो।
‘लामो समयपछि कोही सँगै बसेर खान पाएँ, धन्यवाद' मैले भनेँ।
‘तलबको राम्रै अंश हालेर ल्याएको छु रुबन, हामीले सिध्याउनु पर्छ' जेलर साबले ढकन उघारे।
‘ओह’ मेरो मुखबाट फुस्कियो। खुस्बुदार बेबेक बेटुटुले भरिएको प्लेट, साथमा पुलाउ र दाल।
‘नियमले मिल्ने भए ह्विस्की ल्याइदिन्थेँ, तिमी काफिरलाई' जेलर हाँस्न खोज्यो तर फेल खायो।
तर म राम्रै ठहाका लगाउन सकें। राम्रै अभिनय गर्छु। एकपल्ट फिल्ममा खेल्न समेत अफर आएको थियो। तर त्यस्तै खालको फिल्ममा हा हा हा...
चाटचुट पारेर खाइयो त्यो खाना। अहिलेसम्मकै मिठो खाना। अनि कुरा गरियो मानौँ भोलि हामी सिनेमा हेर्न जाने हो, फाँसीको फन्दामा हैन।
ती जेलरसँग माग्नु छ मैले माफी। उनले पनि बुझ्न सकेनन् म किन साक्षी लिइ रहेको छैन। उनको लागि म सधैँ एक पहेली भएर रहने भएँ।
‘भोलि बिहान म आफै लिन आउँछु' उनले भने।
तपाईंहरुलाई लाग्ला कि प्यारो मान्छेसँगै भयो भने संसार छोड्न गाह्रो हुन्छ। हुँदैन। लेखेर राख्नुस्।
अन्तिमपल्ट त्यो ढोका घन्द्रंग गरेर खुल्यो।
जेलर आए तर ड्रेसमा हैन, कोट पाइन्ट पहेलो टाइ। साला एकदमै हेन्डसम रेछ यो त।
अँध्यारो काल कोठरीमा पनि कालो चस्मा चढाएर।
‘तिमीलाई अरु गाह्रो पार्न चाहन्न तर न्यायाधीस साहेबले यो चिठी दिनु भएको छ।'
'पढूँ कि नपढूँ, भन्नुस्।'
पढेँ। मैले सोचेको कुरा हत्तपत्त गलत हुँदैन। अनिसाको हस्तलिखित पत्र थियो त्यो। के हुन सक्छ र प्रेमको लफडा बाहेक। ड्रामा हो यो, भन्नु होला। त्यही दिनको बिहान यस्तो पत्र आउने। जिन्दगी नै ड्रामा हो भन्नेको मेजोरिटी छ यहाँ।
‘त्यसपछि पनि मैले सधैँ तिमीलाई प्रेम गरिरहें। अनि अब सधैँ गर्छु पनि।' त्यति मात्रै थियो। अब यो मलाई मेरो निर्णय उल्टाउन भनेको हो कि वा साँचै हो कि! जेलरलाई देखाएँ। उसले चस्मा उचालेर चस्मा पुछ्ने बहानामा आँखा पुछ्यो।
‘म जिम गर्छु आधा घण्टा भए पनि' त्यति नै समय थियो हामीसँग।
‘बौलायौ?’ उसले सोध्यो।
‘खै? तर तिम्रो जेलमा बस्दा बस्दा कोलेस्ट्रोल हाइ भने भएको छ होला' मैले भनेँ र म हाँस्न लागें।
जति गर्दा पनि जेलर हाँसेन। काल कोठरीमा जिमको सामान राख्दैनन्। कुनै त्यस्तो सामान जसले आत्महत्या गर्न सकिन्छ जस्तै इन्जार भएको सुरुवाल, धारिलो वा चुच्चो कुनै पनि बस्तु।
बुझ्नुस् कि सजायको रुपमा राज्यले नै मार्नु पर्छ, त्यसै मरेर गएर पुग्दैन। सयपल्ट जति पुसअप गरेँ। पसिना आयो। जेलर एक टक हेरिरहेथे।
‘जेलर साब, तपाईंले बुझ्नु हुनेछ' मैले भनें। टाउको हल्लाए।
अरु दुई जना प्रवेश गरे। समय आयो।
माफ गर्नु होला। कथा लामो भए पनि सकिए जस्तो लाग्दैन। तर मेरो हात पछाडि फर्काएर बानेपछि त म लेख्न सक्दिनँ। त्यसैले म अब तपाईंहरुसँग समेत माफी माग्न चाहन्छु। सन्तुष्ट नभए पनि कुरा बुझ्नु नै हुनेछ।
लिसालाई मैले अघिनै पत्र लेखेर छोडेको छु।
रुजालीलाई कुनै पत्र वा तर्कले बुझाउन सकिदैन। पहिला उसको पेशा थियो सेक्स वर्कर, अब उसको पेशा नै रुने हो। अब कति रुन्छे उसकै अधिकार।
अनिसालाई म फेरि पत्र लेखेर वा समाचार पठाएर नौटंकी गर्न चाहन्न। उसले बुझ्छे। उसको लत्पतिएको गाजल छ सँगै लिएर जानलाई।
यो कथाको पानाहरु पट्याएर जेलर साबलाई दिनु अघि एउटा अर्को माफी माग्नु पर्नेछ जुन म तपाईंहरुलाई भन्दिनँ।
ईश्वर रहेछन् भने खुदा हाफिज।
यो पनिः
ऊ, रुबन
म, रुबन