जन्मँदा लक्ष्मीको भयो आगमन
भनी मनाउँछन् खुसीयाली
रजस्वला नहुन्जेल गर्छन् पूजा
ढोगी खुट्टा देवीको स्वरूप मानी
तर,
जब सुरु हुन्छ रजस्वला
प्रकृतिको नियमानुसार
अनि सुरु हुन्छ छोरीमाथि
भेदभाव र केरकार
कठै! छोरी तिम्रो भाग्य
छाउपडी निर्मुल अभियान
भनी गर्छन् नाराबाजी
अनि सक्छन् डलर दूर्गममा
तर सबैलाई के थाहा
छाउपडीको संज्ञा नदिए पनि
छोरीहरू छन् पीडित
सहरको हरेक घर-घरमा
कठै! छोरी तिम्रो भाग्य
यति मात्र कहाँ हो र!
छन् धेरै पीडा उनको
थिइन् जो देवी, लक्ष्मी घरको
किशोरावस्थामा नपुग्दै
हुन्छिन् अर्काको नासो
कठै! छोरी तिम्रो भाग्य
आफ्नो जन्मघर हुँदैन तिम्रो कहिले
मान्नुपर्छ पराई घरलाई आफ्नो तिमीले
बिहान उठ, घरधन्दा गर
रिझाऊ परिवार बनाइ परिकार
तर पनि सक्दैनौं तिमीले
खुसी तुल्याउन घरपरिवार
कठै! छोरी तिम्रो भाग्य
प्रताडित हुन्छौं तिमी
सधैं दाइजोको निहुँमा
तर पनि नखोली मुख
बस्छौ परिवारको इज्जतको नाउँमा
छोरा पाइन भनी सधैं
लगाइ दोष अपहेलना गर्छन्
बच्चा जन्माउने मेशिन सम्झी
छोरा पाउन दबाब दिन्छन्
कठै! छोरी तिम्रो भाग्य
भन्दा भन्दै घरपरिवार
गए तिम्रा दिन
अन्ततः
बाँच्दा बाँच्दै अरूका निम्ति
सकिए तिम्रा दिन
सकिए तिम्रा दिन
कठै! छोरी तिम्रो भाग्य!