हामी जहिल्यै लड्ने
कसका लागि लड्ने
किन लड्ने
कोसँग लड्ने
कहिल्यै थाहा नपाउने।
भोको नाङ्गो केही नभन्ने
लड्नमै गौरव मान्ने
अर्काकै लागि लड्ने
प्रयोजनमा लड्ने
आफ्नालाई सिद्ध्याउने
उठ्नै नसक्ने
खाली लड्न सक्ने
बरु लडेरै मर्ने
कहिल्यै नचेत्ने।
खाली बहादुरीका साथ
लड्छौँ र लड्दिरहन्छौँ
कहिले पहाडमा लड्छौँ
कहिले तराईमा लड्छौँ
घर जंगल केही भन्दैनौँ
गाउँ सहर गल्ली कही छाड्दैनौँ
सडक र पार्क खाली राख्दैनौँ
अड्डा अदालत केही बाँकी राख्दैनौँ
जताततै खाली लडी रहन्छौँ।
केवल लड्न सिक्यौँ
उठ्न कहिल्यै सिकेनौँ
न उठ्न सिकाए
सदा सदा लड्न सिकाए
लड नेपाली लड
कति सक्छौ लड।