'दशा नै लागेर यो देशमा
जन्म लिन पुगेछु
लाउन त परै जाओस्
लाग्छ खान नै नपाई त्यसै मर्नेछु।'
भनि गर्जदैँ हिँड्यो त्यो मुसलधारे पानीमा
केवल एक अस्कोटको भरमा,
हरि गन्धर्व
उसको दैनिकी सुरु हुन्छ
यस्तै खटपटमा कराउँदै निस्कन्छ
जहानसगँ झगडा गरी
झरी सँगै बर्सन्छ
सारंगी हातमा लिइ
घरघर चाहर्छ
सारंगीको मिठो धुनमा
दुख भुलाउने प्रयास गर्दछ
चार सन्तान, एक जहान साथै ती बुढी आमा
घरमा पाल्नको लागि
हिँड्छ एक्लै, हातमा सानो झोला र सँगै
त्यो काठको सारंगी
किन किन उसलाई आजभोलि सारंगीले पनि साथ छोडेजस्तो लाग्छ
रेट्दारेट्दै आफ्नै घाँटी पनि रेटूँ जस्तो भाव मनमा जाग्छ
किराले खाएको सारंगी
बाघले खाएको कपटी मन
छ त केवल खरले छाएको सानो त्यो घर
बिहान खायो बेलुकी के खानी?
कस्तो रहेछ हरिको जिन्दगानी
बित्छ दिन प्रायः गाना गाउँदै
र, ठूलाबडा भनाउँदालाई सरापी
यस्तै छ दुखले भरिएको उसको यो कर्म
भित्रभित्रै रोएपनि बाहिर हाँस्छ हरि गन्धर्व।