पिरका भारी बोकेर गाउँ
पस्दैन सहर साट्न खुसी
हो, अचेल
गाउँ आकाश र जमिन नभेटिने क्षितिज जस्तो
साँघुरो खोँचबाट हरदम चिहाइरहने मधुरो घाम जस्तो
एक अनिश्चित भूमरीमा फनफनिदै
खै! कसको आशमा बाँचिरहेको छ?
यता, एक गाउँले भने
गाउँ बिर्सेपछि
किसान कम र मान्छे बढी बनेको छ
हर कोहीलाई थाहा छ
अब, ऊ कहिल्यै किसान बनेर बाँच्ने छैन
ऊ व्यापारी बन्नेछ
र, बेच्नेछ- स्वयं बाँचेको समय
अस्पतालको शैय्यामा पुगेको दिन मात्र
उसले थाहा पाउनेछ- आफ्नै मृत्युको आयू
ऊ दलाल बन्नेछ
र, बेच्नेछ- बचपन हुर्केको आँगन
नेता पक्कै बन्नेछ
र, बेच्नेछ- पैतलाले हरबखत छोइरहने माटो
कुनाकन्दरा
हिमाल, पहाड र तराई
हरदिन गुञ्जिरहने अस्वीकार आवाजको दस्तावेज
दबाउन दस्तखत गर्नेछ- ऊ
थाहै नपाइ ऊ
वर्ग संघर्षको कुरा गर्नेछ
चर्काचर्का जातभातको नारा कोर्नेछ
लेख्नेछ- चित्कारको वेदना अक्षरमा
खकार्नेछ- भेदभावको गुत्थो
थुक्नेछ- ऊ बाहेक सबै भुस्याहा हुन् भन्दै..
ङ्यारङुर पार्नेछ-
तल तल निकै तल सस्तोमा बाँचेका
आफ्नै दौतरीको पसिना-रगत तौलदै
ढाकछोप पो गर्नेछ
बनेको इज्जतको धरहराको आफ्नै लोकाचार
अनि, चिथोर्न खोज्नेछ- हातले नभ्याउने पीठ पछाडीको ढाँड
गाउँ बिर्सेकै दिन
ऊ किसान कम, मान्छे बढी बन्नेछ
कसले भन्यो- हँ!
पिरका भारी बोकेर गाउँ
पस्दैन सहर साट्न खुसी।