लस्करै लागेर विमानस्थलमा झरिरहेका
राता सेता काठे बाकसहरु
त्यसभित्र थुनिएका सपनाका चंगुल
अनि कहिले न उठ्नेगरी निदाएको
एउटा चिर-परिचित मुहार,
केहिले पनि पोल्दैन है तिमीहरुलाई
सत्ता र शक्तिको मोह बाहेक?
आर्यघाटको चिताको धुँवासँगै
उडिरहेको त्यो टुहुराको भविष्य
आमाको कर्कश रोदन
बुवाको आँखाबाट निशब्द झारिरहेका
अविरल आँसुका धारा
अनि श्रीमतीको उजाडिएको श्रृंगार
केहिले पनि ऐठन हुन्न है तिमीहरुलाई
आफ्नो स्वार्थ पूर्ति बाहेक?
लामा लामा घोषणा पत्रमा
अनेकन तानाबाना बुन्दै
आफ्नो भोटको भकारी भर्नेहरु,
तिमीहरुको नजरले देख्दैन
दिनहुँ सपनाको भारि बोकेर
खाडी उडेका ती अनुहार
तिम्रो मस्तिष्कले सोच्दैन
ती पनि हाम्रै आफ्ना हुन् भन्ने
तिम्रो कानले सुन्दैन
तिनका आफन्तको कारुणिक चित्कार
तिमीहरुका लागि केवल एउटा
रेमिट्यान्सको श्रोत घट्यो
या केवल एउटा भोट घट्यो
तर ,
आमाको कोख रित्तियो जो कहिले भरिन्न
बुवाको आँसुको मूल फुट्यो जो कहिले सुक्दैन
लालाबालाको आस्थाको धरोहर ढल्यो
जो कहिले खडा हुन्न अनि
श्रीमतीको सर्वस्व सकियो जसको कुनै भरपाइ नै हुन्न
तिमीहरु संवेदनविहीन छौ
चेतनाहीन छौ
नैतिकता रहित छौ
अनि अति व्यस्त छौ
नांगिएका एकअर्कालाई अझै नंग्याउन
लाज पचेका स्तरहीन
सत्ताका हे ठेकेदारहरु हो
जाओ तिनै श्रमजीवीहरुको चिता नजिक
खोसेर ल्याओ त्यो बाकस र कात्रो समेत
बेच त्यसलाई बजारमा अनि आफ्नो लागि
एक चिम्टी लज्जा र थोरै नैतिकता खरिद गर।