खै यहाँ के छ, के छ?
यो सहर आज अलि शून्य छ।
शून्यभन्दा पनि शान्त छ।
हिजोसम्म मत्तिएको यो सहर,
आज अलि आत्तिएको।
अन्त के हुन्छ थाहा छैन,
यहाँबाट भाग्न हत्तारिएको
अलि दिनलाई पुग्ने खान त छ,
तर लुछातानी भोकले बटारिएको।
सुतेको यो शान्त सहर
त्यही पनि आत्मा गलेको।
रातभरि पानी पर्छ,
पानीमा रुझ्दै निथ्रुक्क भिजेर पनि बलेको।
आत्मा न हो,
कहिले गल्छ, कहिले उड्छ
यो सहरको आत्मा,
खै कसको हातमा
न तिमी मेरो,
न म कसैको,
यो खाली सहर, खै को-कसको साथमा!
तर कसरी यहाँ
डराउने म अनि डराएको यो सहर?
त्यागीदिने म अनि आफैँ हराएको मेरो रहर?
यहाँबाट भाग्ने म अनि कसरी रित्तिएको यो सहर?
सिद्ध्याउने म अनि कसरी सिद्धिएको यो सहर?
कसरी यहाँ,
आत्तिएको म अनि आत्तिने यो सहर?
मात्तिएको म अनि मात्तिने यो सहर?
यो सहर, मबिना पनि सहर नै थियो
म गए पनि सहर नै रहनेछ
यहाँ आत्तिएको म, मात्तिएको म,
हत्तारिएको म, बटारिएको म।
सायद, म नै मेरा मरेका रहर,
सायद म नै यो बिरामी सहर,
तिमी नै म अनि म नै यो शान्त, शून्य सहर
सायद, अहिले मैले यो सहर बचाउनु
मेरा रहर बचाउनु हो,
मैले मलाई बचाउनु हो,
तिमीलाई बचाउनु हो
अनि
मेरा सबै गल्ति सच्याउनु हो।