कविता
झोल्लिएनन् त्यसै, चाउरिएर ती गालाहरू,
जिन्दगीका भोगाइ र सिकाइ भारी भएथे,
भासिएनन् सायद त्यसै ती आँखाहरू,
तलाउ मार्दा मार्दै थकित भएथे,
भेटेनौ कतै सुकुन्,
सायद, धर्ती नै बोझ लाग्यो तिमीलाई,
थकान बिसाउने, चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलपत्रै छोडी गयौ,
मेरी आमा,
मात्र सम्झनामा आज वर्षौं गएछ !
धेरै धेरै सपनाहरू देख्न खोजेथ्यौ,
सायद निदाउनै दिएनन् कि ती सपनाहरूले,
कोपिलाभित्रको त्यो तिम्रो भागको खुसी,
पनि, फुलेको हेर्न नपाउँदै
कसैको प्यारो थियौ सायद,
रोकिएन निष्ठुरी दैव पनि,
थकान बिसाउने, चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलपत्रै छोडी गयौ,
मेरी आमा,
मात्र सम्झनामा आज वर्षौं गएछ !
मेरो भोक टार्न अभावलाई कतै व्रतको नाम दिई, छाक टारेथ्यौ कि,
मेरा रहरसँगै इच्छा र आकांक्षालाई मारेथ्यौ कि,
सुसुले धोतीका मुजा भिजिदिँदा,कतै सरम्लाई,
मुजा बनाई छोपेथ्यौ कि,
सायद थिएन धर्तीमै पवित्र त्यो ठाउँ,
थकान बिसाउने चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलपत्रै छोडी गयौ,
मेरी आमा,
मात्र सम्झनामा आज वर्षौं गएछ !
सुखको मुहान, ल्याएथ्यौ कि चोरी सागरबाट,
शितलताको छहारी, खोसी ल्याएथ्यौ कि आकाशको गहिराइबाट,
प्रत्येक बिहानी जस्तै, लुुकाइ राख्थ्यौ अल्छी र उदासी,
सायद बन्द भए ती सबै मुहानहरू,
थकान बिसाउने चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलपत्रै छोडी गयौ,
मेरी आमा,
मात्र सम्झनामा आज वर्षौं गएछ !
कुन उपमा दिएर नापूँ तिम्रो विशालतालाई,
के संज्ञा दिएर सम्हालूँ तिम्रो त्याग र समर्पणलाई,
कहाँ खोजूँ तिमीलाई पाउँदिनँ अब यस जुनीमा,
न्यास्रोले न्यानो अंगालोमा बेरिन मन लागेको छ,
लेखूँ के तिम्रो कहानीलाई,
धर्ती आकाश गुन्जिने गरी, ‘आमा’ भनेर बोलाउन मन लागेको छ,
बोल्दिनौ सायद, मूर्ति झैं छौ मन्दिरमा,
थकान बिसाउने चौतारी नभेट्दै,
बोझबाट मुक्त महशुस गर्न नपाउँदै,
भोगाइहरू अलपत्रै छोडी गयौ,
मेरी आमा,
मात्र सम्झनामा आज वर्षौं गएछ !