म त नेताजी के भन्छु भने नि, अब रणनीति फेर्दि'म। बुझ्नु भो, एकातिर यो गुट र फुट अर्कोतिर नि नेताजी, मैले चैनी आज घोत्लेर कम्निस्-ट'को झन्डा हेरें। हेरेको त पहिले नै हो के र। तर आज ख्याल गरें, कुरो चैनी के भने नि नेता जी, अब हामी कम्निस-ट-कम्निस्-ट फेरि मिलौं।
अबको पालि चैनी के गरौं भन्दा यसो गरौं।
एउटा बोलपत्र आह्वान गरौं- जो जो कामरेडको एकपटक देशको प्रधानमन्त्री भएर मर्ने ठूलो सपना छ, हाम्रो पार्टीमा क्रियाशील सदस्यको लागि आवेदन पत्र बुझाउनु होला- भनेर।
अब नेता जीले सोध्नु होला किन यसो गर्ने भनेर।
किनभने नि नेता जी, यो १- २ पटक अथवा ४-५ पटक 'पर्दान-मन्त्री' खाइसकेकाले बुझेनन् के कुरो। था' छ त हजुरलाई। बरू यो कम्निस्-ट गणमा एक-दुइटा सुकिसकेका ठूटा रूख तानेर बाँकी हरिया रूखलाई 'चैनी' सुकाउन सकियो भने त नि नेता जी, तपाईं हाम्रो राजनेता।
अनि छ नि नेता जी, हामी चैनी छोड्दिम' सूर्यलाई। हँसिया हथौडाले हाम्रो मर्म बुझ्दैन के नेताजी। मौसुफले कस्तो नबुझिबक्सेको। हाम्रो चुनाव चिन्ह चैनी 'पर्दान-मन्त्रीको कुर्सी' राखौं अनि झन्डा चैनी यसो गरौं रातो पृष्ठभूमिमा सेता अक्षरमा 'अध्यक्ष' लेखौं।
मौसुफले बुझिबक्सियो? यसो गर्दा हाम्रो झन्डा र चुनाव चिन्हले पार्टीको अजेण्डा खुलस्त पारिदिन्छ। पार्टीमा फुट र गुट त हुँदै हुँदैन नि नेता जी यति भएसी'।
बरू के चै' गर्न पर्ला भने नि नेता जी, जसले पहिला आवेदन दिन्छ ते'स्लाई 'पर्दान-मन्त्री'को वरियतामा शीर्ष स्थान। हुन्न नेता जी?
जाबो हँसियो-हथौडोमा उनीहरू नै झुन्डून्। अब हजुर नै सोच्नुस् न, हामी हैसे' बोकेर हथौडाले ढुङ्गो फोर्न पर्ने मान्छे हौं ? मिल्ने भा' त नेता जी म हाम्रो पार्टीको झण्डामा चैनी बालुवाटारको नक्सा हालम' भन्थें कि तर अहिले त 'पर्दान-मन्त्रीको कुर्सी'ले बहुत अर्थ दिन्च'।
भनेसी' हामीले पहिला सुकेका रूख, झरेका पात, निभ्नै लागेका तारा, खुकुलो भएका मुठ्ठी, इत्यादी इत्यादी बटुल्न पर्नी रच'। सुकेका र सुक्नै लागेका रूखलाई राको लगाइदेसी' एक चरणको काम खलास्।
अब नेता जी, हजुरले एउटा दिव्य-उपदेश दिनु भएको छ नि, मलाई याद छ। आगो बलेसी आगो ताप्दा त आफलाई न्यानो हुन्छ नै। ठिक छ ? तर धुँवा जति सबै पल्लो घरतिर हम्किदिन सकियो अनि उनीहरूलाई पिरो भएर रुनै पर्ने अवस्था सिर्जना गर्न सकियो भने त हेर्नु त कति फस्-ट कलास हुने।
बाटुल-बाटल गरेसी नयाँ आवेदकलाई सजिलो हुन्छ के नेता जी।
पहिलेदेखि नै दाउ खोजेर बसेका तर दाउ नपारेका पनि यतै लाइनमा आ'को देख्दा नयाँलाई पनि साँच्चै यतै लागेसी दाउ हात पर्छ कि जस्तो लाग्छ। होइन त? नेता जी, अस्ति मेरिज खेल्दा ठाउँ फेरेसी दाउ पर्या हैन? नभुल्नु न।
अब आयो पार्टीको नाम राख्ने कुरो।
नेता जीले फेरि नाम त पहिले नै राख्न पर्नि हैन भन्नु होला। हैन नि नेता जी, हामी एकदम फरक किसिमले अगाडि बढ्न पर्छ।
कानुन मान्ने, नीति निर्माण गर्ने, विधानमा टेकेर निर्णय लिने काम गर्दा पार्टीमा फुट गुट सब आउँछ। हेर्नुस् त। भ'को त्यही हैन ? त्यै' भर चुपचाप नेता जी। चुपचाप मान्छे बटुल्ने। हात्ती, घोडा र मन्त्रीले उनीहरूलाई छेकटो हान्ने। अनि सकियो खेल।
यसो गरौं। बुझ्नु भो ? अब हामी पार्टीको नाम 'अध्यक्ष र पर्दान-मन्त्री क्रान्तिकारी पार्टी' राखौं।
'क्रान्तिकारी' जोडेसी' कम्निस्-ट। जो पार्टी प्रवेश गर्छ, कि पर्दान-मन्त्री कि अध्यक्ष ग्यारेन्टी। पार्टी सोलो-गन चैनी यसो राखौं।
पख्नुस् है, अलि हँसिलो सोलो-गन सोच्छु। अब हजुरले भनिसक्नु भा'छ नि त हामी मान्छे हँसाउँछौ भनेर।
अँ। ल नेता जी, हाम्रो सोलो-गन- 'जे गर्छ पदले गर्छ, कुर्सीको लोभमा जो पनि पर्छ।'
क्या गजबको सोलो-गन। न ढाँट न छल। जे हो त्यही हो।
बुझ्नु भो' नेता जी? अब हामी जे भन्छौ, त्यही गर्छौं।
अब नेता जी फेरि सोध्नु होला क्रियाशील सबैलाई कसरी पद दिन सकिन्छ भनेर ! सकिन्छ नि नेता जी। हत्तेरी! यसो भन्नु पर्छ हेर्नुस्, यदि पद प्राप्ति नभई मृत्यु भएमा उहाँहरूको वरियता शीर्ष स्थानमा पुग्नासाथ उत्तराधिकारीलाई उहाँकै पदमा बहाली गरिनेछ।
बुझ्नु भयो? बुझ्नु भएन भने म बुझाउँछु, जस्तो कि नेता जी हाम्रो क्रियाशील सदस्य, नेता जी पाँचौं वरियतामा रहँदै यदि मृत्यु भएमा … माफ पाऊँ नेता जी। हजुर त अमर होइसिन्छ। रिसानी माफ होस्।
म आफ्नै मृत्युको परिकल्पना गरेर उदाहरण दिन्छु। म पाँचौं वरियतामा रहँदै मेरो मृत्यु भएमा नि नेता जी, जब मेरो वरियता प्रथममा पुग्थ्यो, मानौं मेरो मृत्युको १० वर्षपछि पुग्यो भने त्यतिबेला मैले पाउन पर्ने कुर्सी मेरो छोरोले पाउने व्यवस्था गरिदिम'। हुन्न ?
आफू कुर्दाकुर्दै मरेनी सन्तानको भाग्य बलियो बनाउन नेपाली जनता जे पनि गर्न सक्छन्, नेता जी पनि नबुझे जस्तो गर्नुहुन्छ भन्या।
ए ! त्यसो हुन्न नेता जी। मेरो छोरोले कुर्सी छोड्न नमान्ला, संसद भंग गरेर के के कू कू गर्ला भनेर नेता जी डराउनु भएको ? हुन्न नेता जी हुन्न। म मरे पनि त्यो कुराको पनि म ग्यारेन्टी लिन्छु। नेता जी पनि। हाम्रा सन्तान यत्तिको चनाखो काँ हुनु ? आम्मै!
पार्टीलाई कसरी फाइदा हुन्छ भन्नु भा'को? पार्टीको फाइदा भन्ने कुरा नि नेता जी दोस्रो कुरा हो।
पहिला नेता जीलाई फाइदा कसरी भन्ने कुरा हो। अब हेर्नुस्, सिधा छ कुरो। नेता जीलाई पद चाहिँदा मलाई यो पद देऊ भनेर माग्ने कसले ? नेता जी स्वयमले। अब सबैले पद पाउने निश्चित भएसी' त पद सबैलाई चाहिन्छ।
पँधेरोमा पानी थाप्न लाइन लागेकाहरू अनि के गर्छन् था' छ नि नेता जी? पानी ठूलो आएर फट्टा-फट सबको गाग्रो भरिए के चाहियो ? लाइन लागेकैले त मूल नथुन्ला। आफू अगाडिकोले गाग्रो भरेर जति छिटो निस्किन्छ त्यति छिटो आफ्नो पालो आउँछ।
मतलब, नेताजीले सुरूमा 'पर्दान-मन्त्री' माग्ने। क्रियाशीललाई वरियताको पाठ सिकाएर लाइनमा राखेर माग्ने। नेता जीले जति छिटो पाउनु भो' त्यति छिटो अरूले पाए। अनि आउँदैनन् क्रियाशीलहरू नेता जीसँग पद माग्न साथ साथै। एक्लै पर्नु भो' त ? बुझ्नु भो?
नेता जी मैले राजनीति बुझे अनुसार त हामीले यस्तो गरियो भने त 'पर्दान-मन्त्री' को धारा आउने पँधेरोको मूल कसैले रोक्दैनन्। बरू मूलमा गएर मुतिदिन्छन्। धारा ठूलो आवस् अनि गाग्री छिटो भरियोस् भनेर।
हाहा! नेता जी ढुक्क हुनुस्, हजुरको गाग्रीमा मुतको एक छिटो पर्दैन। हामी छौन्जेली केही नाप्दैनन्। अरूको पालोमा जे नापे नि नापुन्। उनीहरूकै टेप उनीहरूकै नाप्नु पर्ने चिज, हैन?
कुर्लान त भन्नु भा'को? नेता जी पनि। हामी राजनीति गर्नेले देशको हितमा नीति बनाउने नै हैन नि।
हामी त राज गर्ने नीति बनाउन सिपालु हुनुपर्छ। बुझ्नु भो, नकुर्दैमा के लछारिन्छ? वाणिज्य बैंकमा खाता छैन हजुरको? एउटा भाइको थियो। हाम्रै क्रियाशील। बहुत अकलवाला। वाणिज्य बैंकमा पैसो निकाल्न गका' रे। चार तले कार्यालयको छिडीसम्मै लाइन। अनि जुक्ति लाएछन्। लाइनमा भएको एक जनालाई रित्तो झोला दिएर 'मेरो पालो तपाईं पछि आउँछ, यो झोलालाई मै सम्झेर लाइनमा राख्दिनु है। अनि मलाई तपाईंको नम्बर दिनुहोला' भनि अर्को बैंकमा गएर नयाँ खाता खोली-वरी वाणिज्य पुग्दा ठ्याक्कै उनको पालो आएछ। कस्तो आनन्द हेर्नु त। झोला बोक्दिने भाइलाई एक पोको बिस्कुट नि दिए अरे!
पालो आउनेको आउँछ न आउनेलाई हामी विदेश जान प्रोत्सान गरौं न। एकातिर क्रियाशीलका क्रियाशील। अर्कातिर रेमिट्यान्स। हो-हल्ला नि कम।
युवा नभए'सी बजेट नि झ्वाम। धेरै नै अकलवाला रहेछन् भने तिनलाई राजदूत त नदिकन हुन्न। अलि धेरै नै अकलवाला रै'छन् भने चैनी केही काण्ड… नेता जी पनि।
पार्टीले अयोग्य तथा इमान्दार ठानेका मान्छेलाई हामी 'झोला रुग्ने भाइ'को पदमा बहाली गरिदिम्ला। इमान्दारले पनि खान पायो। हेर्नुस् त चौतर्फी फाइदा।
अनि को हुने बेरोजगार। हामी यस्तो नीति बनाउँदै छौं कि नेता जी, सबभन्दा इमान्दारले पनि यो नीति लागू भएपछि जागिर पाउँछ। अहिले त हेर्नुस्, यस्ताको मुखमा माड लाग्या छैन।
अरू केही छ नेता जी ?
ए ! पर्दान-मन्त्री पड्का'को कतिमा छोड्ने भन्नु भ'को? हैन-हैन नेताजी। हजुर पनि। राजनीति कसको ? हाम्रो। राज कसको ? हाम्रो। नीति कसको ? हाम्रै। हामी हुन्जेल अरू किन नेताजी? अरूको पालो आउने हामी नभए'सी! नेता जी अब यो वाक्यमा चैनी हजुर हुनुहुन्छ है।
'म (यानिकी हजुर) म मरेसीमात्र अरूको पालो सुरू हुनेछ। अरूको पालो आएसी वरियतामा शीर्ष रहेका एक जना छ महिनासम्म देशको पर्दान-मन्त्री हुनेछन्। वरियतामा दोस्रो रहेका अध्यक्ष हुनेछन्।'
बुझ्नु भो नेता जी ? हजुर बाचुन्जेल पर्दान-मन्त्री ढुक्क। बाँकीको के हुन्छ देखाजाएगा?
दुई चोटि हिन्दी शब्द प्रयोग गर्यो भन्नु भा'को ? मोदी जी सँग गुफ्तगु गर्दा गर्दै हेर्नुन…।
ठिक लाग्यो हैन त नेता जी अबको हाम्रो रणनीति ? त्यसो भए अब भोलिदेखि नै एउटा अभियान सुरू गरौं, 'समृद्धिका लागि एक घर, एक पर्दान-मन्त्री'।
अरू जो सुकै देशको पर्दान-मन्त्री भएनी हाम्रो लागि केही गरेनन् भन्नेले यति भएसी आफू नै पर्दान-मन्त्री भएसी आफ्नो लागि त गर्लान्। दुई जना जनता एक वर्षमा पर्दान-मन्त्री भए भने एट लिस्ट दुई परिवार एक वर्षमा समृद्ध भयो नि नेता जी। तीन करोड समृद्ध हुन जाबो डेढ करोड वर्ष न हो। हुँदै नहुनु भन्दा डेढ करोड वर्ष नै सही।
हेर्नुस् नेता जी, युग परिवर्तन हुने नै यसरी हो। हजुरले युग परिवर्तन गर्न सक्नु हुन्छ। अनि राजनेता बन्न सक्नु हुन्छ। वाह ! वाह !
तर पहिला यो परिवर्तन तपाईं हाम्रो परिवारबाट सुरू गर्न पर्छ नेता जी। हजुरको पहिला। वरियतामा को दोस्रो भन्ने हजुरलाई थाहा छँदैछ। ठुटो रूख र जलिसकेका तारामा इन्धन भरियो भने नेता जी… चिठ्ठा पर्छ हजुरलाई।
कति ढाँट्नु नेता जी। कति ? अब भयो। हामीले ढाँटेको जनताले त बुझे नि नबुझे पनि फरक त परेन नेता जी। तर पनि अब त ढाँट्न नि बोरिङ लागिस'को।
खेललाई अलि रमाइलो बनाउन पर्यो के अब। झूट बोल्नु भनेको त नि नेता जी, खानेकुरामा विष हालेर मुसा मार्नु जत्तिकै रछ। जति दिन विष हालेर खानेकुरा राखे पनि खाकै छ। मरेकै छ। आज म:ममा विष हालेर झूट, भोलि गोलभेंडामा विष हालेर झूट, पर्सि चामलमा विष हालेर झूट। हेर्नुस् , अब लास नै ठेगान लगाउन गारो भो। त्यही भएर जे हो त्यही भनम्। २० % लाई चित्त नबुझे के भो त नेता जी ? हामीलाई हेर्नुस् बहुत सजिलो छ। उखुको पैसा नपाउने किसानको दु:ख कसको ? उखु किसानको। मकै रोप्ने किसान उखु रोप्ने किसानको दु:खमा बोले र? बहुत सजिलो छ हेर्नुस् हाम्लाई। अब हेर्नुस् हामी २ दिन आन्दोलन घोषणा गर्छौं, कहाँ कहाँ देखिका मान्छे झिकाउन सक्छौं हामी। समस्याको राजनीतिकरण नभएसम्म त नेता जी समस्या समस्या नै हैन! त्यसैले नेता जी अब झूटो बोलेर ठग्ने नगरौं। भनेर नै ठगौं। आफू मात्र नठगौं। ठग्न पनि दिनु पर्छ हेर्नुस् अब। नत्र कसरी समृद्ध हुन्छौं हामी ? विरोधीलाई 'माइनोरिटी' मानेर अघि बढ्दा ठिक्क हुन्छ हेर्नुस्।
अब सरकारी कार्यालय हुने भ्रष्टाचार हुन दिनुपर्छ। अपराधको सबुत मेटाइदिनेलाई पूजा गर्नुपर्छ। बलात्कारीलाई किन सजाय दिने नेता जी ? छोरी पाउनेले किन सोचेन छोरीको बलात्कार हुन सक्छ भनेर?
नन्द प्रसाद अधिकारीको लास कुहिए के भो त नेता जी ? हामी मर्दा जनसागर आइहाल्छ मलामी। त्यही भएर हेर्नुस् अब झूट हैन। अब भनेरै खुलेआम।
नेता जी कुरा 'किल्यर' छ नि ? अब हाम्रो समृद्ध नेपालको अभियानमा कायापलट हुनेछ।
प्रत्येक घरमा एक पर्दान-मन्त्री, एक अध्यक्ष एक भ्रष्टाचारी, एक बलात्कारी, एक चोर, एक गुण्डा, एक हत्यारा, आदि आदि। अनि भएन समृद्ध नेपाल।
कसरी भयो? ह्या! नेता जी पनि। नेता जी को घरमा छैन एक पर्दान-मन्त्री, एक अध्यक्ष, एक भ्रष्टाचारी, एक बलात्कारी, एक चोर, एक गुण्डा, एक हत्यारा, आदि आदि ? छ नि हैन? अरे नेता जी मसँग के को डर। म त हजुरको शुभ-चिन्तक। फेरि हजुर यता उनीहरूको कालो कर्तुत बकिरहँदा उताबाट पनि जमेर दोहोरी आइरहेको छ। नेता जी पनि।