फागुन महिनाको उराठिलो दिन सुरु हुँदै थियो, वरपरको वातावरण अलिक सुक्खा र तुवाँलोले छोप्न थालिसकेको थियो। रुखका पातहरु झर्न थालेका थिए, हिउँदे बाली थन्क्याएर रित्तिएका खेतबारीहरु नाङ्गा देखिन्थे।
माथितिरको जंगलमा एकोहोरो न्याउली कुर्लेर वातावरणलाई झनै उराठ बनाउँदै थियो। भानु माथि थुम्कोबाट आफ्नो घर नियाल्दै झरिरहेको थियो। आज उसको मन भर्खरै प्राप्त झरेर सिख्रै भएको सालघारी जस्तै उजाड लाग्दै थियो।
मन ढक्क फुल्दै थियो कि आज बिहानको महाभारत बेलुका फेरि दोहोरिने हो कि ऊ माइत पुगिसकी भनेर। उसकी श्रीमती रुपा, नाम जस्तै रुप पनि राम्री छे तर घमण्ड पनि उत्तिकै थियो उसमा।
बेलाबेला लोग्नेलाई घुर्क्याउँदै 'फलानो लाहुरे, फलानो जमिन्दारको एक्लो छोरो माग्न आएको थियो, कुन दशा लागेर यिनलाई मन पराउन पुगेंछु' भन्थी। लोग्ने प्रायः चुपचाप लाग्थ्यो, अति नै भय़ो भने मात्रै जवाफ फर्काउँथ्यो र भन्थ्यो 'अझै पनि के बिग्रेको छ र, कुन मन परेको छ त्यसैसँग जान मन भए जाऊ मैले रोकेको छु र?'
यतिकैमा फेरि सुरु हुन्थ्यो ती लोग्ने-श्रीमतीको झगडा। तर आज बिहानको झगडाको विषय भने त्यो थिएन। मागी विवाह भएपनि एकअर्कोलाई निकै मन पराएर दश महिनाअघि उनीहरुको सामाजिक परम्परा अनुसार बिहे भएको थियो।
दुवैको घर खानदानमा खासै फरक थिएन। फरक यति थियो कि रुपा भानुको तुलनामा निकै राम्री थिइ र जस्तो भन्यो उस्तै केटो पाउथी। तर भानुसँग केहीबेर कुराकानी गरेकै भरमा उसको सोझो र इमान्दारीपनको छनक पाएकी उसले उसलाई नै बरमाला पहिर्याउने निर्णय गरेकी थिई।
यी लोग्ने-श्रीमतीको घर भनेपनि गोठ भनेपनि पुरानो पुर्ख्यौली घरदेखि केही पर ओत मात्रै लाग्ने एउटा खरको चुहिने छानो भएको गोठ थियो। बाँसको भित्तोमा माटोले छोपेर टालटुल पारेर त्यो गोठलाई एकापट्टि सुत्ने कोठा र अर्कोपट्टि भान्सा कोठा बनाएका थिए।
त्यही गोठ नै उनीहरुको महल थियो। ती दुई जोइपोइ मिल्दा निकै चाटाचाट गर्ने र नमिल्दा तीन/चार दिनसम्म पनि एक अर्कोसँग बोल्दैनथे। दुवैमा पहिले उसले बोलाओस् अनि मात्रै बोल्छु भन्ने घमण्ड थियो। लोग्नेले कहिल्यै श्रीमती फकाउन जानेन, खाली श्रीमतीले नै फकाउन पर्थ्यो।
श्रीमती झनक्क रिसाइहाल्थी र बोली पनि हाल्थी तर श्रीमान् त्यस्तो थिएन। बिल्कुल फरक थियो। ऊ झटपट रिसाउँदैनथ्यो, रिसाएपछि झट्टै उसको रिस मर्दैनथ्यो। हार खाएर केही दिनपछि रुपाले नै फकाउँदै बोलाउँथी।
तर तिनीहरु दुईबीच एउटा कुरा अचम्म लाग्दो थियो कि उनीहरु रिसाएको र बोलचाल बन्द भएको वरपर कसैलाई थाहा हुन्नथ्यो। घरको कुरा अरुलाई सुनाउँदैनथे र अरुका अगाडि उनीहरु सामान्य देखिन्थे।
जति रिसाएर एकअर्कोसँग नबोले पनि उनीहरुको दिनचर्या उसैगरी चल्थ्यो। कुनै काम रोकिन्नथ्यो। एउटै भाँडोको भात खान्थे र एउटै खाटमा सुत्थे। सँगै घाँस दाउरा र मेलापात गर्थे।
ती दुईको त्यो जोडी देखेर जोरीपारि इर्ष्या गर्थे अनि उदाहरणको रुपमा यिनै जोडीलाई देखाउंदै 'फलानोको जोडी पो जोडी, परेवाको जोडी जस्तो' भन्थे। हुन पनि उनीहरु जता गएपनि एकछिन छुटिदैनथे, दिउँसो भानु आठ घण्टा ज्यामी काममा जाँदा बाहेक त्यो जोडी जहिलेपनि सँगै हुन्थ्यो।
ससुराली गएपनि छिमेकीलाई एकदिनको लागि बस्तुभाउ हेर्न लगाएर जान्थे र भोलिपल्टै सँगै फर्कन्थे। यस्तो मिलेको उदाहरणीय जोडीमा आज अचानक ग्रहण लागेको छ।
आज बिहान खाना खानु अघिसम्म पनि यिनीहरु सामान्य नै थिए तर पनि भानुलाई कता-कता मनमा आज आफ्नी श्रीमती रुपा सधैँ झैं खुलेर नबोलेको हो कि जस्तो नलागेको पनि हैन, तर उसले सोध्ने चेस्टा गरेन, सामान्य रुपमा लियो।
जब काममा जानु अगाडि करिब पौने नौ बजे तिर खाना खान बसेको थियो अनि उसलाई महशुस भयो कि आज रुपा सधैँ झैं मुस्कुराएकि छैन। चुपचाप खाना पस्किरहेकी छ, नबोली नबोली।
रुपा सधैँ लोग्नेलाई खाना पस्केर दिन्छे र लोग्नेलाई खाना पुर्याएपछि आफूलाई पनि पस्केर खान बस्छे। तर आज त आफ्नो थालमा खाना नपस्की चुपचाप टोलाइरहेकी श्रीमतीलाई देखेर भानु अचम्म पर्छ र खाँदा खाँदैको गाँस रोकेर सोध्छ- 'किन आज तिमी आफूलाई खाना नपस्केको?'
रुपाले ठसक्क पर्दै अलिक झर्केजस्तो गरेर 'आज सन्चो छैन, हिजो बेलुका खाना नखाई सुतेकोले होला पेट दुखिरहेको छ, चक्कर पनि लागेको छ' भनेर जवाफ फ़र्काउछे।
'किन त हिजो खाना नखाई सुतेको?' भनेर सोध्छ।
एकैचोटी ज्वालामुखी फुटे जस्तै रुपा आक्रोशित हुँदै 'ए, आफू बिहेमा गएको लोग्ने भनाउँदो रातभरि दुनियाँभरका छडुलीहरुसँग रल्लिएर आधा रात उतै बिताएर घर आउने। उतै बसेको भए हुन्थ्यो नि, किन आउनु श्रीमती भन्दै? आएर पनि श्रीमतीले खाना खाइ कि खाइन सोध्नु छैन। उता फर्केर सुत्ने, म भने कतिबेला लोग्ने आउलान र सँगै खाना खाउँला भनेर पर्खेर बसेको त कुनै अतोपत्तो छैन बिहेमा गएको मान्छेको।
अनि खाना थन्क्याएर त्यत्तिकै सुतेको। यस्तो लोग्ने बेहोर्नु परेको मलाई, झन् सोझो भनेर कस्ता कस्ता माग्न आउँदा पनि नमानेर बिहे गरेँ तर आज बल्ल थाहा पाएँ कस्ता सँग बिहे गरेंछु' भनेर भन्दै निकै फत्फताउन थाली।
बल्ल पो उसले थाहा पायो कि रुपा आज बिहानैदेखि किन नखुलेकी भनेर। ऊ पनि के कम थियो र, श्रीमतीलाई फकाउनुको साटो उल्टै गाली गर्दै 'ए खाना खाँदा हो त किचकिच गर्ने? अरु समय थिएन र खाना खाएको बेलामा किचकिच गर्नु पर्ने? खाना खाँदा त कैदीले पनि सुख पाउँछ, हाम्रो भने खाना खाने बेलामा श्रीमतीको रडाको। यस्ता आइमाईले रिसाई रिसाई खाना दिएको पनि के खानूँ' भन्दै खाना जोरसँग श्रीमती तर्फ हुत्त्याएर पानीको अम्खोरा लिएर चुठ्न बाहिर निस्कन्छ।
रुपा पनि रिसले आगो हुँदै धमाधम भित्रबाट खाना सहितका भाँडाहरु, थाल कचौरा बाहिर आँगनमा फाल्दै 'यस्तासँग लोग्ने भनेर बस्दिनँ, आजै माइत जान्छु। कुन छडुलीलाई ल्याउन मन छ र मलाई हेला गरेको, त्यसैलाई ल्याएर बसे हुन्छ, मलाई श्रीमती भनेर खोज्नु पर्दैन। म मरे पनि मर्छु जे गरेनी गर्छु' भन्दै उफ्रन थालि।
आँगनभरि भात-तरकारी सहितको कसौंडी, कराई र थाल कचौराले छरपस्ट भयो। भानु पनि के कम थियो र, 'जहाँ जाने हो जा, म पनि कसैको घुर्कीले डराउने वाला छैन। यस्ता श्रीमती हुनुभन्दा बरु एक्लै बस्छु, जे मन लागेको गर' भन्दै आँगन छेउको धारो तर्फ लाग्छ।
रुपा त्यो आँगनमा छरिएको भाँडा कुँडा नउठाई सुत्ने कोठामा पसेर रुन थाल्छे। भानु पनि केहीबेर बाहिर त्यत्तिकै के गर्ने भन्ने असमञ्जसमा परेर टोलाउँछ र काममा जाने बेला भएकोले भित्र श्रीमती पसेकै कोठामा कपडा फेर्नको लागि पस्छ।
तर यसपाली दुवै फेरि झगडा गर्दैनन्। रुपा मसिनो स्वरमा म अब बस्दिनँ आदि के के भन्दै थिई। उसले जवाफ फर्काउदैन, फटाफट अर्को कपडा र गोल्डस्टार जुत्ता लगाएर बाहिरिन्छ।
पल्लो गाउँमा झोलुङ्गे पूल बनाउने ठाउँमा मजदुरीको काम गर्छ उसले। त्यतैतर्फ पाइला चाल्न के लागेको थियो, झल्याँस्स एउटा कुरा सम्झन्छ कि करिब पन्ध्र दिन पहिले उसकी श्रीमतीले महिनावारी रोकिएको र वाकवाकी लाग्ने चक्कर लाग्ने र खान खान मन नलाग्ने कुरा गरेकी थिइ।
दुवै जना घरमा नयाँ पाहुना आउने कुराले निकै खुसी भएका थिए। विभिन्न सपना बुनेका थिए। छोरो या छोरी जे जन्मेपनि राम्रोसँग जन्मोस्, त्यही नै खुसीको कुरा हो भन्दै हर्षित भएका थिए।
आजको भाँडभैलो र उसको माइत जाने घुर्कीले भानुलाई अलिक अप्ठ्यारो पक्कै पार्यो तर फकाएर माफी माग्ने या श्रीमतीलाई माइत जानबाट रोक्ने कसरी भन्ने उपाय खोज्न थाल्यो। सिधैँ श्रीमतीलाई केही भन्ने मनस्थितिमा पनि थिएन ऊ।
यतिकैमा उसले श्रीमतीलाई फकाएर रोक्ने सबैभन्दा विश्वासिलो मान्छे आफ्नी आमालाई सम्झ्यो र आमा बस्ने घर तर्फ लाग्यो। आमालाई धारोमा भाँडा धुँदै गरेको देख्यो। अरु केही उपाय नलागेपछि जसरी पनि रुपालाई माइत जनाबाट रोक्नुपर्छ भन्ने मनसायले आमालाई बोलाउँदै धारोमा पुग्छ।
आमैले हात धुँदै 'के भयो भानु, तेरो काममा जाने बेला भएन र यता आउँदै छस् त' भनिन्। उसले झगडा को कारण पूरै त बताएन तर आफूहरुको निकै झगडा परेको र रुपा यो घरमा बस्दिनँ, माइत जान्छु भनेर घुर्की देखाएकी कुरा गर्यो।
आमैले 'ए तैंले खान नखाई काममा जान लागेको रैछस्, यही खाएर जा' भनेर खाना खान आग्रह गरिन् तर उसले अलिअलि आधासरो खाएकोले खासै भोको नभाको कुरा गर्यो। जसरी पनि रूपालाई माइत जान नदिनुस्, फकाई फुलाई जसरी हुन्छ रोक्नु पर्यो भन्दै आमासँग बिन्ति बिसाउँछ।
आमैले पनि 'तिमीहरु त कहिल्यै झगडा गर्थेनौ, आज के भयो? जम्मा दुइजना लोग्ने श्रीमती मात्रै छौ घरमा। त्यैपनि यस्तो झगडा गरेका, कि तैंले केही नराम्रो भनिस्, कि निस्केर जा मेरो घरमा नबस भनिस् कि, कतै पिटिस् कि रूपालाई' भनेर खोजीनिती गर्छिन्।
तर उसले त्यस्तो भनेको त केही हैन तर आजको झगडा ठूलै भएको हो र जसरी पनि उसलाई माइत जानबाट रोक्नु भनेर फेरि अनुरोध गर्छ। आमैले 'ए त्यो त दुई जिउकी पनि छे क्यारे, अस्ति परसर्ने महिना घर्किसक्यो' भन्छिन्।
उसले सही थाप्दै 'त्यसैले त आमा यस्तो बेलामा जति घुर्की देखाएपनि घर छोडेर जानबाट रोक्नु पर्छ। मलाई रिस उठेपछि फकाउन आउँदैन, हजुरले जसरी पनि रोकिदिनु पर्यो' भन्छ।
'ल ल मानी भने म फकाउँछु क्यारे, अब अड्डी नै कसेर हिंडी भने मेरो पनि के लाग्छ र!'
'हेर्नुस्, यतिन्जेल त जे भएपनि हाम्रो झगडा हामि तीन जनाभन्दा अरु कसैलाई थाहा छैन। ऊ माइत गइ भने त यहाँ टोल छिमेकमा समेत हल्ला चल्छ नै उता उसका माइती र आफन्त तिर पनि पूरै नराम्रो हुन्छ। त्यसैले यसपाली उसलाई रोक्न सकियो भने पछि अरु कुरा विस्तारै मिलाउँला' भनेर ऊ भारि मन लिएर काम तर्फ लागेको थियो।
आज पुल निर्माणमा काम गर्ने ज्यामी साथीहरुसँग ऊ सधैँ झैं खुलेर र हाँसेर बोलेन। हिजोको अनिदो र त्यति सन्चो पनि नभएको बहाना बनायो तर उसको मनमा दिनभरि भुइँचालो गइरहेको थियो कि श्रीमतीले आमाले भनेको मानेर बसी कि जिद्धि गरेर हिंडी भन्ने कुराले।
आजको काममा पनि सधैँ झैं जाँगर चलेको होइन, उसलाई केवल कतिखेर बेलुकीको छ बज्ला भन्ने कुराले मात्रै उसको दिमागमा घन्टी हानिरहेको थियो। केही बाटो आफ्ना केही साथीहरुसँगै हिंडेपछि छुट्टिएर ऊ एक्लै त्यो थुम्कोबाट लुरु लुरु तल तिर झर्दै थियो।
जति जति घर नजिक आयो, उति उति उसको मुटुको चाल जोर जोरसँग बढ्दै थियो। यस्तो लाग्थ्यो कि आज आकाशमा निकै बादल गड्याङगुडुङ गर्दै मेघ गर्जन गर्दै छ, अब केही बेरमा असिना पानी दर्कने वाला छ।
यतिकैमा ऊ घरको तगारोमा आइपुग्छ। नभन्दै घरको दुइटै ढोका खुल्लै देखेर उसकी श्रीमती घरै रहिछ भन्ने अनुमान लगाउँछ र एक किसिमको खुसी र आनन्दको अनुभूति लिन्छ।
उसकी श्रीमती उता भान्सा कोठामा केही गर्दै रहिछ। भाँडाकुँडा बजेको सुन्छ र एकचोटि भगवानलाई सम्झंदै 'धन्य भगवान! मेरो पुकारा सुनिदियौ' भन्छ। उसको मनमा श्रीमती प्रति पनि माया लागेर आउँछ।
कपडा फेरिसकर चुपचाप भान्सा कोठामा पस्छ। श्रीमतीले खाजा बनाउंदै रहिछ, लोग्ने भित्र पसेको चाल पाएर छड्के पारामा 'खुब श्रीमतीलाई जतासुकै जा भन्नेले किन आमालाई फ़काउन लगाको नि?
श्रीमती नभई नहुनेले आफै फकाउन सकिन्न र? श्रीमती बिना एकछिन बस्न नसक्नेले अझै घुर्की देखाएर जहाँ गए नि जा रे, म गएको भए के के हुन्थ्यो थाहा छ?' भन्दै आफूले जितेको जस्तो फूर्ति लगाउँछे।
'तिमि आफै घमण्डी भएर त हो नि, एकदिन बिहेमा जाँदैमा पहाड नै खसेको थिएन, अर्की श्रीमती लिएर आएको थिइनँ। मेरो गल्ती यति थियो कि राति आएर तिमीले खाना खायौ कि खाइनौ भनेर सोधिनँ, तिमि निदाएजस्तो लाग्यो अनि नब्युझाइकन उता फर्केर सुतेँ'।
'ए म निदाएकै थिइनँ, साढे बाह्र बजेसम्म पोइ खाना खान आउलान् र सँगै खाउँला भनेर पर्खेर बसें अनि त्यत्तिकै उता कोठामा गएर सुतेको सबै कुरा थाहा पाएकी थिएँ। लोग्ने आएर खाना खायौ कि खाइनौ भनेर सोध्लान र सँगै खाउँला भनेको त उतै खाएर आएको रहेछ र मलाई नसोधी चुपचाप सुतेको। म त रातभर निदाएकी पनि छैन।'
'बिहेमा गएको मान्छेले उतै भतेरमा खाएर आउँछ होला भन्ने पनि त लाग्नु पर्ने हो। मैले त तिमीले खाएर सुतेको होला भन्ने लाग्यो।'
'कहिले पो पोइलाई नखुवाई खाएकी छु र हिजो खान्थें र? कि त म आज उतै खाएर आउँछु, मलाई नपर्ख, तिमीले खाऊ भन्नु पर्थ्यो। अर्कालाई सताउन मात्रै जानेको।'
'ल ल, भैगो नि त मेरै गल्ती रहेछ, अब त भयो?'
'रुपालाई जसरी पनि पकाइदिनु होला है आमा भनेर भानु त साह्रै रोला जस्तो गरेर काममा गएको छ भन्नु भयो र आमाको कुरा मानेर मात्रै बसेको, नत्र यतिबेला माइतमा हुन्थेँ।'
अहिले भने दुवै श्रीमान्-श्रीमती नरम रुपमा एकअर्कोलाई सफाइ दिइरहेका हुन्छन्। यत्तिकैमा झगडाको कुरा छोडेर विषयलाई अन्यत्रै मोड्दै भानुले 'हाम्री काली बाख्री ब्याउने कहिलेलाई रे?' भन्दै श्रीमतीतर्फ व्यंग्य हान्छ।
श्रीमती लोग्नेको मुखमा हेरेर लजाउँदै मसक्क परेर उता फर्कन्छे। यतिन्जेलमा श्रीमतीले खाजा तैयार गरिसकेकी हुन्छे, दुइटा थालमा रोटि र प्लेटमा अचार लिएर दुवै जना खान थाल्छन्।
भनुले 'आजको अचार त अलिक पिरो बढी भएछ नि त' भन्छ।
रुपाले 'मैले बनाएको अचार आज त अरु दिनभन्दा बढी पिरो त हुने नै भयो नि' भन्छे। दुवै जना गलल्ल हाँस्छन्।