म आफै अघि सर्छु भन्दै
घिस्रिदै, पर्खिदै अनि चर्किंदै
सन्तानका चोट र लात सम्झिंदै
बुढ्यौली बलले टेवा लाउँदै
परिवर्तनको आशाको लहरो समात्दै
कोही आउला कि भनी पर नियाल्दै
म आफैं अघि सर्दैछु, भन्थिन्
पक्कै एक निडर र महान् थिइन्
उनी घिस्रिदै घिस्रिदै
विस्तारै अघि सर्दै थिइन्
मुहारमा बुढ्यौली रेसाले ढाकेको
केशमा पुरै टुसारो पलाएको
ओठ थर्थर् काम्दै थियो
लाग्थ्यो केही शब्द अड्किरहेका
कुनै आशाको ज्योती थियो
नयनभित्रबाट उम्किन खोज्दै
नाकको फुली कुच्चिसकेको
ओठ सुकेर कटकट चर्किएको थियो
चिउँडोमा काटिएको खत अनि
निधारमा प्रहारको निशाना
गलामा कसैले चिथोरेको अनि
पोतेको झुत्तो लत्रेको थियो
छातीमा कुल्चिएको डामै डाम
च्यातिएको झुत्रो चोलीले ढाकेको
पाखुरा पुरै पासिएका थिए
टोकाइका खतले पुरै भरिएका
थोत्रो मैलो मजेत्रो ओड्दै
सकि नसकी अघि बढ्दै थिइन्
कम्मरको पटुकी पुरानो टालेको
खिइएको हँसिया जसमा सिउरिएको
खुइलिएको फरियाले बेरिएकी थिइन्
काम्दै हत्केलाले टेक्दै थिइन्
पाउमा उनको चिरै चिरा
फोहोर मैलो र घाउै घाउ
रगताम्मे छायाले पछ्याउँदै उनलाई
सूर्यास्तको जीवन झैं भौतारिँदै थिइन्
भन्दै थिइन् सन्तानले लत्ताएका रे
आमाको इज्जत लुछी हुत्याएका रे
ती को थिइन् म अतालिएँ
भावविह्वल भई भकानिएँ
को हुन् ती महानिडर आमा
जसका सन्तान यति निर्दयी रैछन्
सोच्दै म अलिक अघि बढेँ
उनी त्यो झुत्रो मजेत्रो मिलाउँदै थिइन्
टक्टक्याउँदै त्यसलाई स्याहार्दै थिइन्
जसको फेरमा लेख्या थियो ‘नेपाल आमा’।