हाम्रो परिवार अलिक ठूलो थियो। गाउँघरतिर यसलाई लामो हाँगो भन्थे। अरु सबै कुरा राम्रो भएपनि यस्तो परिवारमा चाडबाड, त्यसमा पनि दसैँ-तिहार जस्ता चाडपर्वमा कहिले जुठो त कहिले सुतक परेको समाचार सुन्न पर्थ्यो।
परिवार ठूलो भएका कारण कतिपय अवस्थामा काका भतिजको पनि राम्ररी चिनजान हुन पाउदैन थियो। अझ फुपूसँग चिनजान भए फुपाजुसँग अनि भदाहा भाइ र सोतिरका अन्य परिवारसँग चिनजान हुन पाउने अवस्था नै थिएन।
फुपू र उनका परिवार मावला आउँदा मामा र उनका छोराहरु पनि आफ्नो आमासँग मामाघर पुगिसकेका हुन्थे। यसरी चिनजान हुने क्रम कम हुन्थ्यो। अझ पहाड र मधेश तिर दिदीबहिनी हुनेहरुको हकमा त उनीहरुका सम्झना मात्रै बाँकी रहन्थे।
उनीहरुका सन्तान र दरसन्तानहरुका बीचमा चिनजान हुँदैन थियो र चिनजान हुन पनि लामो परिचय हुन पर्थ्यो। अर्थात्, मावली नै सोध्न पर्थ्यो। यसरी मावली सोध्दाखेरी कताका मावली हुन्? मामाको नाम के हो? इत्यादी विषय नै सोधेर अनि मात्रै ए हजुर त हाम्रो आफ्नै सानिमा-ठुलिमाको छोरा, मामाको छोरा, फुपूको छोरा, मामाको नाती पर्नु हुँदो रहेछ भनेर चिनजान गर्नेपर्ने अवस्था देखिन्थ्यो।
तराईमा हुने दिदीका छोराहरु लोकसेवाभन्दा पनि व्यापार बैँकिङ तिर जागिर खान लाग्थे भने पहाडमा हुने बहिनीका छोराहरु भने लोकसेवा शिक्षक सेवा आयोगको तयारी गर्न लाग्थे।
यस्तै हाम्रो परिवारमा ५ जना फुपू हजुरआमाहरु अर्थात् बुवाका फुपूहरु थिए। जसलाई हामी फुपू हजुरी भन्थ्यौँ। उनीहरु मध्ये २ जना पहाडमा नै अर्थात् माइती गाउँ नजिकै थिए भने अन्य भने बसाइ सरेर तराईतिर झरेका थिए। उनीहरु बीचमा सधैँ दसैँमा भेट हुन्थ्यो।
दसैँमा भेट हुन नहुने कुराको चाजोपाजो चिठीले मिलाउथ्यो। र दसैँमा भेट नभएसम्म पहाडका र तराईका फुपू हजुरीहरु पूर्णिमाका दिनसम्म पर्खेर टीका लगाउँथे। भेट भएन भने अर्को दसैँको भाका वा सम्भव भए तिजको भाका राखेर बिदा हुन्थे।
देशमा जब द्वन्दको चरम उत्कर्षमा पुग्न थाल्यो। दिन दहाडै मानिसहरु मारिन थाले, जताततै अपहरण र हत्या हुन थाल्यो तब हाम्रो परिवारमा पनि दसैँमा फुपूहरुको आगमन पातलिन थाल्यो। यसरी आगमन पातलिन थाल्यो जसै फुपूका छोराहरु जसलाई हामीले अंकल भन्थ्यो। अर्थात् हाम्रा हजुरबाका भान्जाहरु, उनीहरु पनि अब दशौँ वर्ष भेटिन छोडेपछि अनुहार बिर्सिन थालियो।
जसै देशमा शान्तिप्रक्रिया अब फेरि दसैँमा ५ जना फुपू अनि फुपूका परिवाहरु भेट हुने अवसर जुर्ने आशामा हामी थियौँ तर त्यही वर्ष हजुरबा बित्नु भयो। हजुरबा बित्दा पनि फुपूहरु आउन सक्नु भएन। त्यो बेला तराईमा मधेश आन्दोलन चल्दै थियो।
जसरी आन्दोलन उत्कर्षमा पुग्दै थियो, उसैगरी फुपूका घरहरु पनि जल्दै थिए। यता हजुरबा बित्नु भएको, उता फुपूका घरहरु जलेका कसले कता संवेदना र सान्त्वना दिने? कसले कसलाई धेर्य धारण गर्ने शक्ति दिने?
यसरी हाम्रो परिवार देशको माओवादी युद्व अनि हजुरबाको देहान्तसँगै छुटिन पुग्यो। चेली माइतीको अब लामो भेटघाट हुन छाड्यो। फुपूका छोराहरु पनि जागिर खान थाले।
हामी पहाडमा भएर होला, पहाडमा फुपूका छोरालाई आफ्नै ठान्थ्यौँ। पहाडका फुपूका छोराले पनि जिल्लाको सदरमुकाममा घर बनाए र छोरालाई राम्रो पढाए। छोराले पनि लोकसेवा पास गरेर जागिर खान थाले। यता जेठी फुपू हजुरीका नाति जो हाम्रो साथी थिए।
सँगै पढेका साथै उनको बुढो मावली हामी पर्ने भएको कारण उनलाई हामी आदर गरेर तिमी भन्थ्यौँ र जसको अफिसमा जाँदा पनि हामी उनलाई तिमी नै भन्थ्यौँ। यसैगरी तराईमा हुने फुपू हजुरीका छोरा जो बैँकमा नाम निकालेर जागिर खाने थालेको खबर आयो। र उनको पनि हाम्रो पहाडको जिल्लामा नै सरुवा भयो भन्ने सुनियो।
अब हामीहरु साथी भयौँ। अर्थात जेठी फुपू हजुरीका नाति, म र कान्छी फुपू हजुरीका छोरा जसलाई हामी अंकल भन्थ्यौँ। अर्थात्, हाम्रा हजुरबाका भान्जा जसलाई हामीलाई अंकल भन्न सिकाएका थिए। अर्थात्, एक अंकल र दुई भतिज।
हामी सँगै नबसे पनि प्रायः भेट भैरहन्थ्यौँ। यसरी हाम्रो चिया पसलदेखि कहिले अंकलको बैंक त कहिले भतिजको सरकारी कार्यालयमा भेट हुन्थ्यौँ। काका र भतिजमा खासै उमेरको फरक थिएन। मात्रै ३ वर्षको मात्रै अन्तर थियो तर सम्बन्धले बाँधेपछि साइनो त लगाउनै पर्थ्यो।
उनी अरुले अंकलभन्दा ननिको माने पनि हामीले भन्दा सहज रुपमा स्वीकार गर्थे। हामी पनि उनलाई जिस्काउन परेमा सार्वजनिक ठाउँमा अंकल भनेर नामै लिएर साह्रो गरी बोलाउँथ्यौँ। उनी पनि त्यस्तो बेला रिसाएर आखा तर्थे।
अंकल र मेरो चिनजानभन्दा जेठी फुपूको नाति र मेरो चिनजान पहिलाको थियो। अर्थात हामी एउटै स्कुल पढेका थियौँ। सँगै क्याम्पस पढ्न सदरमुकाम झरेका थियौँ। तर अंकल तराईमै हुर्किए पनि जागिरको सिलसिलमा आफ्नो मावली जिल्लाको सदरमुकाम उक्लिएका थिए।
हामी तीनजना नै अल्लारे उमेरमा थियौँ। यो उमेर भनेकै मोजमस्ती गर्ने उमेर थियो। कहिले अंकलको कोठामा भेला भएर त कहिले भतिजकोमा हामी गुड फ्राइडे मनाउथ्यौँ।
भाइले यस्तै केही दिनदेखि सप्राइज छ भन्दै थियो। उसको सप्राइज के रहेछ भनेको त उसको काठमाडौं सरुवा भएछ। अब ऊ जाने भयो र हाम्रो ग्याङको एक सदस्य घट्ने भयो। अब अंकल र म मात्रै भयौँ। यसरी हाम्रो भेटघाट चलिरहेको थियो। करीब ६ महिना पश्चात मेरो पनि संखुवासभातिर पोष्टिङ भयो।
अब त हाम्रो ग्याङ पुरै तहसनहस भयो। कसैले चाहेको भरमा जोड्न नसक्ने गरी। तर अंकल र म संखुवासभावाट धनकुटा आउँदा भेट हुने क्रम लामो समयमा नै किन नहोस्, चलिरहेको थियो। तर यो लामो समयमा भेट हुँदा अंकल पहिलेजस्तो रहेको देखिनँ। उनमा परिवर्तन देखियो।
हो, अब मेरो पनि जागिर भएपछि उनी अंकलबाट साथी र बुढा भएका थिए। म उनलाई मायाले भन्दा हेपेर हो कि साथीजस्तो लागेर हो उनलाई बुढा भन्न थालेको थिएँ। म फोनमा पनि उनलाई के छ बुढा खबर, अब बिहे गर्ने हैन भनेर जिस्काउन सक्ने भैसकेको थिएँ।
समय यसरी नै बितिरहेको थियो। समयले जिन्दगीलाई सधैँ एकै रेखामा घुमाउँदो रहेनछ। अब जिन्दगी वक्र रेखामा लड्बडिन थालेको थियो। यसको कारण थियो अंकल अर्थात् बुढामा आएको परिवर्तन। हो, उनमा देखिने गरी परिवर्तन आएको थियो।
उनी मलाई समय दिन छाडेका थिए। यसको कारण के र किन बुढा यस्ता भए भनेर मैले पत्तो लगाउनु नै थियो। तर भौगोलिक दूरीका कारण यो यति चाँडै पत्ता लाग्ने वाला पनि थिएन।
एकपटक मास्टरको परीक्षा दिन पर्यो भनेर एक हप्ताको बिदा लिएर म धनकुटा आउने अवसर मिल्यो। धनकुटा बस्न पनि पाइने, परीक्षा पनि दिने र बुढा चेन्ज भएको कुरा पत्ता लगाउनु पनि थियो। मैले बुढालाई भनिसकेको थिएँ।
बुढा तिमी किन यस्ता चेन्ज भयौ? किन मसँग तर्केर हिड्छौ? किन भेट्न नपरे झैँ गर्छौ? किन अपराधी झैँ व्यवहार गर्छौ? तिम्रो केही क्ल्यू मात्रै पत्तो लगाए भने नि तिम्रो सारा पोल फेसबुकमार्फत खोलिदिन्छु।
त्यही बेला हो भर्खर फेसबुकको चलन चल्न थालेको। त्योबेला परिपक्व स्टाटस लेख्नेभन्दा पनि जे मन लाग्छ त्यही मनका कुरा लेख्ने चलन थियो। त्योबेला अहिले जस्तो रिक्वेस्ट स्वीकार नगर्ने चलन थिएन। जसले जसलाई रिक्वेस्ट पठाए पनि एसेप्ट हुन्थ्यो।
म हरेक दिन बुढाको गतिविधि नियालेर बसेको हुन्थेँ। केही हात लाग्छ कि भनेर तर हरेक दिन हात लाग्यो शून्य हुन्थ्यो। दिनहरु यसरी शून्य उपलब्धिमा नै बितिरहेका थिए। शून्य नै सही।
शून्यबाट उपलब्धि बढेर एक हुनपर्नेमा एकैपटक हात लागेर बाह्र पुग्यो। अर्थात्, बाह्र बज्यो। बुढा त्यस्तै हप्ता दश दिनदेखि गायब थिए। उनको मोबाइल पनि अफ थियो। कोठामा पनि थिएनन्। अफिसमा गएर बुझ्दा पनि स्पष्ट जानकारी प्राप्त भएन।
यस्तै एकदिन फेसबुक चलाइरहेको अवस्थामा पिपुल यु मे नोमा एउटा फोटा सहितको आइडी देखा पर्यो। त्यो फेसवुक आइडी मात्रै थिएन, मेरो लागि त्यो परिचय पनि थियो। बिल्कुलै नयाँ परिचय बोकेको आइडीवाला परिचय।
अब हतपत्त मैले त्यो आइडीको बारेमा थप वास्तविकता जान्न चाहेँ। अर्थात् आइडीमा रहेको एक फोटो मैले आदर गर्नुपर्ने र अर्को नयाँ जोडिएको नाता सम्बन्धको थियो। मैले क्लिक गरेपछि देखियो, फोटोमा धेरैले नाइस कपल, क्युट जोडी, रब ने बनादी जोडी भनेर पनि लेखेको देखियो।
अरु कमेन्ट गर्ने नचिने पनि रब ने बनादी जोडी भनेको आइडी संचालक चिनियो। ऊ अरु कोही नभएर अंकलको बैँकको म्यानेजर थियो। हो, फोटोले यही बताइरहेको थियो कि अंकलले बिहे गरेछन्। बिहे नै के त के भनौँ, केटी भगाएछन् भन्नुपर्ला।
किनकि बिहे गर्नलाई उनीहरुको जात मिल्दैन थियो। ऊ कट्टर उपाध्याय बाह्रमण समुदायका र उनी कट्टर राई समुदायकी थिइन्। आज बल्ल थाहा भयो बुढा 'टेन्सनमा छु, मलाई धेरै किचकिच नगर है, दिक्क नलगा है' भनेर मसँग झर्को र फर्को गर्ने गरेको।
मैले त यसलाई सामान्य अफिसियल टेन्सन पो होला भन्ने सोचेको थिएँ तर कुरा यस्तोसम्म भैसकेको रहेछ। अब मैले उनीहरुको पनि आइडी हेरेँ तर केही कमेन्ट गर्न मन लागेन अनि बुढाको नम्बरमा फोन डायल गरेँ। बुढाको फोन अझै अफ नै रहेछ।
फेरि त्यही आइडी हेर्न मन लाग्यो जुन आइडी संचालिका मेरो चिनजानकै मित्र थिइन्। यो सब गरिरहँदा अनि उनको प्रोफाइल हेरिरहँदा मेरो शरीरका रौँहरु ठाडा भएका थिए। हातका रौँका फेदमा फोका फोका परेका थिए। बिमिरा जस्ता फोका।
तर मैले यो सबलाई छिचोल्दै हेरिरहेँ। सोचेँ, के सपनामा पो छु कि अनि आफैलाई चिमोटेँ। हैन, म बिपनामा नै रहेछु। के आज अप्रिल फूल हो? मोबाइलमा हेरेँ, त्यो पनि होइन रहेछ। यो सबै बिपनामा नै भैरहेको रहेछ।
मैले प्रोफाइलमा हेर्दा उनका र मेरा धेरै म्युचुअल फ्रेण्डहरु देखिए तर अंकल श्रीमान बनिसक्दा पनि अझै त्यो आइडीसँग फ्रेण्ड बनिसकेका रहेनछन्। र मैले उनका पचासभन्दा बढी म्युचुअल फ्रेण्डलाई एक एक गरेर हेरेँ। तर त्यहाँ नदेख्नु पर्ने कुरा देखियो।
म्युचुल फ्रेण्डको लिष्टमा मैले मेरो फुपू हजुरीको नाति अर्थात् मेरो बालसखा मदनलाई पनि देखेँ। जो जागिरको सिलसिलामा काठमाडौं सरुवा भएको, त्यो पूर्व ऊ पनि उही आइडी संचालिकासँग क्लासमेट थियो।
ऊ आइडी संचालिकासँग क्लास मेट मात्रै थिएन। मदन मजस्तो थिएन, ऊ चञ्चले चुलबुले र केटीको मामिलामा माहिर थियो। स्कुल पढ्दा उसलाई सबैले कन्या आकर्षण गर्न सक्ने खुबी भएकोले उसलाई कन्या राशिको भन्थे।
हो, स्कुल पढ्दा ऊ मेरो लागि कन्या राशिको जस्तो नलागे पनि कलेज पढ्न थालेपछि भने ऊ कन्या हैन, सुपर कन्या राशिको लाग्न थालेको थियो।
मैले पो फेसबुक चलाएर यो सबै गतिविधि थाहा पाएँ तर मदनले थाहा पायो कि पाएन अनि थाहा नपाएको भए म कसरी उसलाई थाहा दिनूँ! अनि उसले थाहा पाएको भए ऊ के सोचिरहेको होला! अब म बीचमा परेँ।
थाहा दिउँ कि नदिउँ। अब यो कुरा जतिले थाहा पाउछन्, सबै चकित हुन्छन्। र सबैभन्दा चकित त म हुने नै भए र मभन्दा बढी चकित र मुर्छित, मदनका परिवार हुने भए। जसले मदनको लागि यस्तो नहोस् भनेर उसलाई काठमाडौं सरुवा गरेका थिए।
तर यो मदनको परिवारमा नभए पनि उसको बाबुको सानिमाको परिवारमा त देखा पर्यो पर्यो। अब नहुनु सबै भैसकेको थियो। मैले मदनलाई फोन गर्ने निर्णय गरेँ। फोनमा ऊ मभन्दा केही बढी नै चिन्तित देखियो। उसले पनि थाहा पाइसकेको रहेछ। अब मैले भन्नै परेन, उसैले भन्यो- अब तँ पनि काठमाडौ सरुवा मिलाएर आइज, त्यहाँ नबस्। बरु म पनि सरुवामा सहयोग गरुँला।
सरुवा त आफ्नो ठाउँमा होला। तर अब उता अंकलको परिवारमा भने बिहेको चहलपहल सुरु भयो। बाजा बजाएर धुमधामसँग नभए पनि मन्दिरमा गएर सामान्य टीकाटालो भएर विवाह सम्पन्न भएछ।
केटाका परिवार तिरबाट धेरैले बहिष्कार गरेपनि केटीतिरका भने धेरै नै उत्साहित देखिन्थे बिहेमा। केटा तिरका कसैले पनि विवाहको फोटा अपलोड त परको कुरा, फोटामा लाइक र कमेन्ट पनि गरेको देखिएन।
दिनहरु यसरी नै बितिरहेको थिए। मदनकै सहयोगमा मेरो पनि मन्त्रालयमा सरुवा भयो। म पनि रमाना लिएर रात्रि बसमा आउन लागेको थिएँ। बसमा भेटिए अंकलमा रुम मेट अर्थात् भरत सर। जो बैँकमा अंकलमा सहकर्मी र रुममा सहपार्टनर थिए।
बसमा बिहेको कुरा ननिस्किने कुरा त भएन। कुरा कसले निकाल्ने भन्नेमा हामी दुवै जना अड्किए जस्तो भएका थियौँ। अन्तमा सरले नै निकाले। उनले अलिकति हाँस्दै अनि लज्जित हुँदै भने- बिहेमा त जानु भएनछ त, किन?
मैले पनि पहिलो पटक नै राम्ररी नै सुनेको भए पनि हजुर भनेँ। उनले पुनः त्यही भने- काकाको बिहेमा किन नजानु भएको?
अब यति भनेपछि फेरि हजुर भन्न मिलेन भनेर उत्तर दिनै पर्यो भन्ने लाग्यो। मैले भनेँ- यो प्रश्नको उत्तर दिँदै गरुला तर पहिले भनु होस्, यो सब कसरी भयो?
उनले पनि सुरु गरे। त्यो केटी तिमीहरुकै क्लास मेट रहिछ। उसको र मदनको चक्कर पनि चलेको थियो रे। उसले मदनलाई मनैदेखि स्वीकार गरेकी भएपनि मदनले उसलाई सिजन अर्थात् सिजनल लभको रुपमा मात्रै लिएको थाहा पाएर ऊ मदनको परिवारसम्म पनि पुगिछे।
मदनको परिवारले उसलाई स्वीकार गर्ने कुरै भएन। स्वीकार गर्नुको सट्टा मदनको सरुवा मिलाएर छुटाउन सहयोग गरेको थाहा पाएपछि ऊ डिप्रेशनमा परिछ। डिप्रेशनको उपचार गर्न योगीकोमा जाँदा त्यही तिम्रो काकासँग चिनजान भएछ।
तर त्यतिबेला उसले मदनको काका भनेर नचिने पनि फेसबुकबाट विस्तारै सबै कुरा पत्ता लगाउँदै गएर उसले तिम्रो काकालाई मायाको बन्धनमा पारिछ। काका पनि रुखिएका बुढा न परे। उनी मदन जस्तो खेलाडी परेनन्।
अनि अरुलाई भिराउनुको सट्टा आफै भिर्न बाध्य भए। उनी पनि फुत्किन धेरै खोजेका थिए तर बुढाले फसेर छाडे। प्रयोग गरेर मात्रै छोन लागेका थिए तर केटीले गाउँमा एक/दुई जना भुसतिग्रे ल्याएर थर्काएपछि बुढाले लु हिड्, अब विराटनरतिर भनेर लगेका रे।
काठमाडौंमा मदन र मेरो भेट भयो। उसैले मेरो कोठा म्यानेज गर्नेदेखि लिएर सबै काम गरिदियो। अब मेरो कोठा म्यानेज भएको दिन आज मेरैमा बसौँ भने। उसले पनि सहजै मान्यो। अनि हामीले त्यो दिन स्याम्पेन पिउने निधो गर्यौँ अर्थात् हल्का पार्टी राखियो।
पार्टि चल्दै गयो दुई दाजु भाइको। अब भाइले रक्सीको मातमा उसको विगत ओकल्न थाल्यो। ए भाइ चुप लाग्, अब जे भयो भयो छोड, अब परिवार भित्रको कुरा बाहिर ल्याउन हुँदैन भन्दा भन्दै पनि ऊ रक्सीको मातमा तिघ्रा ठटार्दै कराउन थाल्यो।
त्यसलाई मैले के मात्रै गरिनँ। कहाँ गरिनँ। कहाँ लगिनँ। कहाँ कहाँ गएर बसेनौँ। मलाई सुन्नु कि कान थुन्नु भयो। मैले उसलाई यो सब रिस कसलाई देखाएको, मलाई कि विमलालाई कि काकालाई कि तेरो परिवार कि आफैलाई भनेँ।
ऊ अलिक शान्त भयो र फेरि अमेरिकामा गरेको रिसर्चको अनुसन्धानको उदाहरण दिँदै भन्यो- अमेरिकामा गरेको रिसर्चको अनुसन्धानले गहिरो लभ परेर ब्रेकअप भएको महिलाबाट जन्मिने बच्चाका कम्तिमा पनि ४० प्रतिशत आनीबानी र २० प्रतिशत अनुहार पूर्वप्रेमिसँग मिल्छ रे।
अनि मैले पनि भनेँ- उसो भने तेरो २० प्रतिशत अनुहार हेर्न जाने हो त विराटनगर।
कुरा यसरी नै चलिरहेको थियो। मैले उसको मोबाइल मागेँ। उसको मोबाइलमा गएर क्रोमबाट फेसबुक खोलेँ अनि बिमला राई सर्च गरेर त्यो आइडीलाई अनफ्रेण्ड र अनफलो गरेँ।
अब मलाई एउटा कुरा ढुक्क भयो, कम्तिमा पनि मैले भोलि आन्टी भन्ने जो मेरो कक्षाको साथी तथा सम्बन्धको भाइको पूर्व-प्रेमिका नै मेरो आन्टी भएको कुरा अंकललाई थाहा नहोस्। र थाहा पाउने संभावित धेरै बाटाहरु मध्ये एउटा बाटो मैले बन्द गरिसकेको थिएँ।
आज करिब १२ वर्षपछि एउटा आइडीबाट मलाई रिक्वेस्ट आयो, कविभट्ट राई। हैन, यो कस्तो थर भएको आइडी हो! थर त ठिक छ तर बीचमा स्पेश किन। अनि सोचेँ, काका भट्ट र काकी राइको कम्बिनेशनमा कस्तो मिलेको नाम र थर।
बाबुको नामको पहिलो अक्षर कमल भट्ट र आमाको विमलाको वि र थर राई। यस्तो त केटीहरुको थर मात्रै जोडिएर आउने अवस्थामा आज पुरुषको पनि थर जोडिएर आउँछ। यही सोच्दै मैले उसको रिक्वेस्ट एसेप्ट गर्नुभन्दा अघि उसको हेर्न मिल्ने जति प्रोफाइल हेरेँ।
त्यहाँ सबैथोक देखियो। ऊ मेरै काकाको छोरा अर्थात् मेरो साथी अर्थात् काकाको ठुलीआमाको नाति अर्थात् भतिजको २० प्रतिशत अनुहार मिलेको बालकको थियो। मैले त्यो आइडी मदनलाई देखाएर मात्रै एसेप्ट गरुलाँ भनेर मदनको कोठामा गएको, मदन त घर गएको कुरा थाहा भयो।
दुई दिनपछि मदनकोबाट एउटा मेसेज आयो जसमा थियो बिहेको कार्ड। मैले कार्ड डाउनलोड गरेँ। कार्डमा उसको हुनेवाली अर्थात् मेरी सम्बन्धकी भाइ बुहारीको नाम हेरेँ। र त्यो नामलाई फेसबुकमा सर्च गरेँ तर त्यहाँ मैले फेरि अचम्म देखेँ।
हैन, मदनकी हुनेवाली श्रीमती त काकाको म्युचअल फ्रेण्ड पो देखाउँछ। अब मलाई सही नसक्नु भयो। अनि मैले केही नसोची मदनलाई म्यासेज गरेँ। काकाको छोराको २० प्रतिशत अनुहार मिल्न सक्छ भनेर उदाहरण दिएको थिइस् नि, अब पछि आफ्नै छोराको अनुहार चालिस प्रतिशत मिलेको दिन थाहा पाउलास्।
त्यसपछि उसले हजार पटक फोन गर्यो। र उसलाई यही लेख मार्फत जवाफ दिन चाहन्छु, ना रहे बाँस न बजे बाँसुरी। यसर्थ आकाशतिर फर्केर थुक्न छाडौँ है भाइ मदन।