म त्यही देशको मान्छे हो
जहाँ
गाउँदेखि सहरसम्म
जन्मिरहेछन् अनेक ब्वाँसाहरू
शान्त मेरो धर्तीलाई
निरीह बनाई
निस्फिक्री हुंकार गर्दै
लामबद्ध भई बसेका छन्
शिकारको पर्खाइमा।
भोका यी झुण्ड ब्वाँसाहरू
बैँसले उन्माद
साढे सरह
जुध्छन् एकआपसमा
मेरो धर्तीलाई
सिनो लुछे सरी
लुछ्न, लछार्न अनि पछार्नलाई।
भय र त्रासदिको आगोमा
जलाइरहेछन् मेरो बस्ती
जहाँ
मान, इमान अनि शान्ति
मुठीभरको गोजीमा छ
जहाँ
बलाकृत भएका छन् सपनाहरू
ध्रुबे हात्तीले
आतंक मच्चाए सरह
भत्काइरहेछन् बुद्धका बस्तीहरू।
त्यसैले
उठ्नुछ अनि जुट्नुछ फेरि
नयाँ उद्घोष र उत्साह सहित
निधारमा रातो कफन बाधेर
अदम्य साहस बोकेर
ब्वाँसाहरुको सत्ता हटाई
ल्याउनुछ नयाँ बिहानी
चम्किलो किरणसँगै
बदल्नुछ संसार
कोर्नुछ नयाँ इतिहास।