महिनौँ सँगै रहेर आज छुट्ने दिन जसोतसो समय निकालेर ऊ साँझ पर्नै लाग्दा उनको डेरासम्म पुगेको थियो। त्यहाँ पुग्दा एक्लै थिइन् उनी, खाना पकाउने सुरसार गर्दै।
अनुहार दुवैका मलिन थिए तर पनि भेट्न पाएकोमा एकअर्काले महशुस गरिएको खुसी प्रष्ट देखिन्थ्यो दुवैका ओठहरुमा।
थोरै अनौपचारिक संवादपछि 'चिया खाने भए पकाइदिन्छु' चोकको पसलमा गएर एकैछिन उभिँदा साहुजीले सोधे जस्तै गरी सोधिन् उनले। अरुबेला कति अप्रिय अनि तिता शब्द हुन् ती उसका लागि तर आज एकाएक मिठा लागे तिनै शब्द। एउटा छुट्टै नादानी थियो ती शब्दहरुमा।
'उम् पकाऊ, मरिचवाला है' उसले आग्रह गर्यो।
ऊ कहिले आउला र कतिखेर चिया पकाएर दिउँ भनेर कुरी बसेको झैँ झट्पट सोफाबाट उठेर चिया पकाउन किचेनसम्म गइन् उनी। समय थोरै थियो अनि भन्ने र सुन्ने कुरा धेरै।
चिया आफ्नै रफ्तारमा पाक्दै थियो। घडीको सुइ भने अरु दिनभन्दा आज चाँडै चले जस्ता थिए। मानौँ एक मिनेट ६० सेकेन्डको नभई ५० सेकेन्ड भए जस्तो। उसलाई त भन्न मन थियो धेरै कुराहरु तर सुन्ने मान्छे चियामा मिठास भर्न व्यस्त थिइन्।
'तिम्रो चिया उम्लेन?' अब ग्यास बन्द गर, आऊ केही बात गरौँ भन्ने भावमा ऊ प्रश्न गर्छ।
'ह्या चिया पनि चिसो पिउँछन्?' उनी कन्फिडेन्सका साथ प्रतिप्रश्न गर्छिन्, मानौँ उनी स्पेसलिस्ट हुन् चिया पकाउनमा। चिया आफ्नो अस्तित्व बनाउँदै कालो हुँदै उम्लिन्छ, उनी आफ्नो सेतो कपमा चिया सारेर ऊतर्फ आउँदै एक हातमा चिया लिएर अघि बढ्छिन्।
एकाएक नजर जुध्छन्। उनी थोरै लजाउँदै एउटा हातको कुहिनोलाई अर्को हातले छोएर 'ओहो! यसरी पो है' भन्दै अक्मकाउँदै चिया दिन्छिन् र त्यही सोफामा बस्छिन्। संस्कारी छोरी बनाउन आमाले गाउँमै सिकाएको तर प्रयोगात्मक अभ्यास गर्ने मौका नपाएको झैँ देखिन्थ्यो।
'सुनन, फेरि भेट हुन्छ होला नि है?' छुटिनुको पीडालाई चियाका चुस्कीसँगै भित्र लान्छ ऊ अनि दबाउँछ त्यो पीडा भावलाई। उनी एक नजर उसको आँखामा हेर्छिन् अनि 'खै' भन्दै आफैलाई थाहा नभएको आशय देखाउँछिन्। समय रोकिएको छैन, प्रत्येक मिनेट अब ४० सेकेन्डको भएको जस्तो लाग्छ उसलाई।
चिया आधा कप हुन्छ। चार तल्ले घरको भुइँ तल्लाको घाम खासै नआउने चिसो कोठामा उनले पकाएको तातो चिया, त्यसमाथि मरिच हालेको, एकैछिनमा सकिन्छ। भन्नलाई धेरै कुरा हुन्छन् तर समय र अवस्थाले भनिहाल्न मिल्दैन।
'पुस-माघको जाडोको समय दिउँसै साँझ पर्छन्, घर पुग्दा अबेर हुन्छ म जान्छु। तिमी आफ्नो ख्याल राख है फ्युचर डाक्टर साब' ऊ जुन कामको लागि गएको हो आफैले बिर्सिए जसरी यस्तै के-के भन्दै निस्किन खोज्छ।
ढोकामा पुगेर जुत्ता लगाउँदै उनको आँखामा हेर्छ।
'हिँड परसम्म छोड्न मलाई।'
'नाई, एक्लै फर्किनु पर्छ' उनलाई उसित परसम्म गएर फर्किन मन हुन्न। त्यसैले सिधैँ इन्कार गरिन् उसको त्यो प्रस्ताव। 'हिँड, सधैंलाई जाम मेरो घर' भन्ने उसको अवस्था थिएन। काठमाडौँको पुराना गल्लीहरु हुँदै ऊ फर्किन्छ।
दिन ढल्दै साँझ हुँदै गर्दा जाडो बढिरहेको हुन्छ। त्यो केही समय अघिको उनले बनाएको चियाको स्वाद गढिरहेको छ उसका जिब्रोमा अनि महिनौँदेखिको केही पल अघिसम्मको भेट्घाट र कुराकानीले उनको चित्र मनमा त्यसैगरी गढिदैछ विस्तारै विस्तारै।