हरबखत सम्बन्धका पानाहरु पल्टाएर बितिरहेछन् दिनहरु। सम्झिनलायक केही यादहरु मध्यरातमा बादलको आकृति नै छताछुल्ल पारिदिन्छन्। सुरु हुन्छ हुरी बतास सँगै असिना-पानी।
क्षणभरमै निथ्रुक्क भिजेको सिरानीले बदलाको भावमा कारणको खोजि गर्छ। अन्तत: डरलाग्दो कालो बादलाई निम्ता गर्ने आफ्नै आँखामाथि दोष थुपार्न खोज्दा आरोप र प्रत्यारोप चलिरहन्छ।
कसैलाई नपाएर जिन्दगी समाप्त भएको थिएन तर पाएर गुमाउँदा बाँकी पनि केही रहेन। हरेकलाई दिने जवाफ एउटै हुन्छ। अरु सबथोक ठिक छ, जिन्दगी र भविष्य बाहेक।
अँ! आजकाल एकान्तसँग गहिरो प्रेम बसेको छ। एक्लोपन भनेको यस्तो पो होस्। आफैले फेरेको सासले पनि चुनौती दिँदैछ। हिँडेका पाइलाहरुले सिमलका भुवा र पातहरु हावामै विलप्त बनाइदिन्छन्।
यस्तो लाग्दै छ, यी वनजंगलहरु खाली जनावरहरुका लागि मात्र संरक्षण गरिएको होइन रहेछ। आफन्तजनले सम्झाउन गरेका प्रयासहरु गिज्याउन प्रयोग गरेका शब्द जस्तै लाग्छ। उफ्! कसरी वर्णन गरुँ। मेरा यी दिनहरु। यी अन्धकार रातहरु।
यसरी हिँडेको बाटोबाट अन्तिम गन्तव्यमा पुगिसकेपछि अगाडि बढ्न त्याहाँ कुनै बाटोको निशानी समेत बाँकी रहने छैन। थाहा छ, कयौं वर्षहरु यस्तै अन्धकारमा बिताउनु पर्नेछ।
म सुमना, उसको नयाँ साथी। त्यो रात उसका यति कुरा सुनी सकेपछि सम्झाउने शैलीमा मैले भनेँ। रातपछि दिनको सुरुआत अवश्य हुन्छ। त्यसैले त हामी हरेक नयाँ दिनको पर्खाइमा बसिरहेका हुन्छौं।
गन्तव्यमा हिँडेको बाटो मेटिएपछि अगाडि बढ्न पैताला टेक्ने खुड्किलाहरु आफैले निर्माण गर्नु पर्छ। यहीं कुरा गलत गरे जस्तो लाग्छ। जवाफमा उसले भन्यो, नयाँ बाटोको निर्माण गरुन्जेल आजकल मान्छेहरु पर्खेर बस्दैनन्। मान्छेहरु आफ्नो गन्तव्य नै बिर्सिन्छन् बरु तर बाटो मोडन पछि पर्दैनन्।
सँगै हिडेका सहयात्रीले साथ छोडेपछि आफूभित्रको इच्छा-आकांक्षा, आशा-भरोसा सबथोक मर्दो रहेछ। थप्दै भन्यो, मलाई सबथोक पुगिसक्यो। थाहा छैन भोलि कहाँ पुगिन्छ यसरी आफैले रोजेको बाटोबाट! यस्तो लाग्दै छ, अब पाउन बाँकी केही पनि छैन।
भित्रैदेखि रित्तो भैसकेको म गुमाउन बाँकी पनि के नै छ र!
'भएको चाहिं के?' मैले सोधें, 'गल्ती उसको कि तिम्रो? फेरि जसले गल्ती गरे पनि गल्तीलाई सच्याउँदै अगाडि बढ्ने हो। के यो अब सम्भव छैन?'
हरेक मान्छेले गल्ती गर्छन्। उसले भन्न सुरु गर्यो, केही गल्ती उसको थियो होला केही मेरो। हिजो मेरा लागि ऊ नै सबथोक थिइ, सायद भोलि पनि। ऊ बिनाको परिकल्पना पनि खल्लो लाग्थ्यो। घर परिवार, साथीभाइ, आफन्तजन सबैको मायाको प्यास ऊ एक्लैले मेटाइदिएकी थिइ।
उसले पनि भन्ने गर्थी। यदि मलाई केही कुराको खाँचो छ भने त्यो माया र स्नेह हो। बाबाको मायाको अगाडि सबथोक फिक्का लाग्छ। त्यो तिमी नै किन नहोस्, उहाँ नै मेरो देउता हो। मैले हरेक दिन पुज्ने मेरो भगवान हो।
मेरो लागि केही गर्न सक्छु जस्तो लाग्छ भने मेरो बाबालाई खुसी बनाउन कोशिश गर्नु। त्यो नै मेरो लागि ठूलो उपलब्धि हुनेछ। धन, पैसा, पावर सबथोक क्षणिक हुन्छ र यी सब कुराको मलाई कुनै मोह छैन। संसारमा सबैभन्दा ठूलो कुरा प्रेम हो। माया हो। उसले थप्यो, म प्रभावित थिएँ, उसको विचारबाट। उसको आचरणबाट।
जब जब ऊ आफ्नो विगतलाई कोट्याँउथ्यो, ऊ धेरै भावुक हुन्थ्यो। थप्दै गयो। एउटा प्रसंग: घन्टौं कुरा भइसकेपछि एकदिन मैले उसलाई जिस्काउने शैलीमा सोधें, 'तिम्रो बाबा मैले के गरेपछि खुसी हुनुहुन्छ?'
प्रश्न मुखबाट झर्न पाएको थिएन, उसले फ्याट्ट जवाफ दिइ 'तिमी डाक्टर भएऊ भने।'
'यो तिम्रो सपना कि तिम्रो बाबाको?' मैले भनेँ, 'ल ठिक छ, धैर्य गर्नु एकदिन अवश्य पूरा हुनेछ।'
उसले आश्चर्य मान्दै सोधी, 'त्यो कसरी?'
'तिम्रो बाबाको लागि डाक्टर पढ्न सुरु गर्छु नि त अब, हुँदैन?'
'पागल नबन,' उसले अलि सिरियस मुडमा भनि।
'मजाक गरेको' मैले भनेँ, 'पीएचडी गर्छु नि छिट्टै, त्यसपछि तिम्रो बाबालाई उपचार गर्ने डाक्टर बन्न त नसकूँला तर मेरो नामको अगाडि डाक्टर अवश्य लेखिने छ।'
हामी दुवैजना नमज्जाले हास्यौं।
'प्रमिश गर,' उसले भनि, 'तिमी नामको अगाडि डाक्टर मात्र होइन, मेरो बाबाको हेरचाह गर्ने डाक्टर बन्नेछौ। त्यसको लागि डाक्टर नै पढ्नु पर्छ भने छैन।'
'तिम्रो कसम' मैले भनेँ।
'तिम्रो सपना पूरा हुनेछ।'
म चुपचाप रहें। ऊ भन्दै थियो, यस्तो लाग्थ्यो आफ्नो बाआमालाई यति धेरै माया गर्ने मान्छे, हेरचाह गर्ने मान्छे। बिहेपछि आफ्नो बा-आमासँगै मेरो बाआमालाई पनि उत्तिकै सम्मान गर्ने छे। उत्तिकै माया गर्ने छे।
हरेक मान्छेको आफ्नो-आफ्नो स्वार्थ हुँदो रहेछ। यस अर्थमा म पनि स्वार्थी नै थिएँ होला। म भगवानसँग प्रार्थना गर्थें, समय परिवर्तन होस्। संसार परिवर्तन होस्। यो समाज परिवर्तन होस्। तर, उसको सोचमा परिवर्तन नहोस्।
उसले रोजेको बाटो परिवर्तन नहोस्। म आदर गर्थेँ उसको विचारलाई। उसको सोचलाई। हौसला दिन्थेँ, जब-जब उसको बाको लागि केही गर्न खोज्थी। थाहा छैन, कति सफल भएँ र कति असफल।
फोनमा लामो कुरा भैसकेपछि एकदिन तिहारको लागि सँगै घर जाने कुरा गरें। हाम्रो बुकिङ टिकट साहित जुट्नुभन्दा चार दिनअघि उसले आफ्नो बा उपचारको लागि काठमाडौँ आएको बताई।
'यदि मेरो भाइ र बासँग घर जानु पर्यो भने तिमीसँग जान मिल्दैन होला। तर पनि म कोशिश गर्छु है' भन्दै व्यस्त शैलीमा फोन काटी।
उसले आफ्नो सबै वास्तविकता यसरी बताउँदै थियो कि मानौं हामी एकअर्कालाई धेरै पहिलादेखि नै चिन्छौं। बीचबीचमा प्रमाणको लागि घरि ऊ फ्रेममा राखेको फोटो देखाउथ्यो त घरि ऊसँग भएका सम्बादहरु।
फेसबुकमा भएका कुराकानीको स्क्रीनसर्ट पठाउँदा उसले आफूले लेखेको कुरा मात्र देखाउँथ्यो। रिप्लाईमा के आएको थियो, उसले कहिले देखाएन। यसबाट कहिलेकाहीं शंका गर्ने ठाउँ हुन्थ्यो। के उसले मात्र एकोहोरो प्रेम गर्थ्यो?
तर, जब त्यो ब्लन्डर गरेको म्यासेजको रिप्लाइमा उसले लेखेको रिप्लाइ पढ्थेँ अनि म निचोडमा पुग्थें, ती दुवैले हिजो एकअर्कालाई प्रेम गरेकै हुन्। सायद भोलि पनि गर्नेछन्।
सदाभन्दा आज ऊ अलि भावुक नै थियो। आफूसँगको पीडा अरुसँग बाड्दा केही हदसम्म कम हुन्छ रे। यस अर्थमा पनि म उसको पीडा एक टक्क परेर सुनिरहेकी थिएँ। उसले आफ्नो विगतलाई यसरी सुनाइरहेको थियो कि मानौँ ऊ कसैको आत्मकथा पढदै छ र त्यो लिपिबद्ध कथा पढ्दा रोकिनु पर्ने कुनै कारण छैन।
उसले अगिकै सम्वादलाई निरन्तरता दिँदै भन्न सुरु गर्यो। मलाई पछुतो लागिरहेको थियो, आजसम्म पनि हाम्रो सम्बन्ध बारे उसको घरमा जानकारी नगराएकोमा। मैले प्रस्ताव गरेकै हो। तर उसले नै यो सब मानेकी थिइनन्। भनेकी थिइ, 'हतार नगरौं, हरेक कुराको दिन आउँछ। यो तिमीले चिन्ता गर्ने विषय नै होइन। मेरो निर्णयको निर्णायक म नै हो र भागेदार पनि।'
उसको अगाडि मेरो के नै लागोस्! यति हुँदा हुँदै पनि कमसेकम उसको घरमा जानकारी गराएको भए हुनेवाला ससुराबालाई बिरामी हुँदा हस्पिटलमा भेट्न पाउने थिएँ, गल्ती भएकै हो भन्ने लाग्यो। तर जे होस्, अप्रत्यक्ष रुपमा ऊमार्फत सक्दो सहयोग गरेँ।
त्यही दिन बेलुका आफ्नो फेसबुकको पासवर्ड र हामीले दिनभरि गरेको हरेक कृयाकलाप उसको बालाई जानकारी भएको बताउँदै रुन्चे शैलीमा फोनमा भनि, 'म फेसबुकमा एउटा म्यासेज छोडछु है र आजदेखि हामी फेसबुकमा कहिल्यै कुरा गर्ने छैनौँ।'
मैले 'हुन्छ' भनेँ। बाँकी केही बोलिनँ र उसले नै फोन काटी। त्यो दिनको अन्तिम म्यासेजपछि हामीले फेसबुकमा कहिले पनि कुरा गरेनौं। फेसबुकमा मात्र होइन, फोन बाहेक अरु कुनै माध्यम नै प्रयोग गरेनौँ। सोच्थेँ, हामी कोही सानो छैनौं। कोही अबुझ छैनौं। आफ्नै काममा व्यस्त हुनु पर्छ।
एकअर्कालाई पाउनु वा गुमाउनुभन्दा पनि आफ्नो सपना पूरा गर्नु ठूलो कुरा हो। भौतिक साथभन्दा आत्मिक साथ जो हामी दुवैलाई खाँचो थियो, त्यो केही हदसम्म पूरा गरेकै थियौँ। यद्यपि हामीले केही समय छुट्टाउनै पर्थ्यो एकअर्काको लागि। कहिलेकाहीं भेटनै पर्थ्यो।
कोहीँमाथि शंका गरेर बर्बाद हुनु भन्दा त बरु भरोसा गरेर टुट्नु राम्रो। मैले जानेको यहीं हो। यो मेरो धर्म पनि हो। सकेसम्म मैले मेरो धर्म निभाएको थिएँ। ऊमाथि शंका गर्नु पर्छ कहिले सोचिनँ।
आज हजार प्रश्न उठेका छन्। के उसले मेरो विश्वासलाई कमजोरी सोचेकी थिइ? मेरो भरोसालाई लाचारपन सोचेकी थिइ? यसो भनिरँहदा उसको आँखाको कहीं कतै कुनामा टिलपिल-टिलपिल आँसु रसाइरहेका थिए। म भने मौन थिएँ।
केही समयसम्म त ऊ बोल्न समेत सकेन। जब-जब ऊ आफूले गरेको सतकर्मको फल आज यो सब भोगिरहेछु भन्ने निचोडमा पुग्थ्यो, ऊ धेरै भावुक हुन्थ्यो। कयौं दिन यस्तै प्रसंगमा ऊ लामो समयसम्म रोएको पनि छ।
यतिकैमा बसेको कुर्सीबाट ऊ जुरुक्क उठ्यो र भखरै किनेको जस्तो देखिने नयाँ दराज खोल्न सुरु गर्यो। त्यहाँबाट एउटा सानो गोलाकार बट्टा झिक्यो र मलाई नै सोध्यो 'यो भित्र के छ होला? के तिमी अनुमान गर्न सक्छऊ?'
उसको हाउभाउ देखेर यस्तो लाग्दै थियो, यो उसको प्रेमिकाले नै छोडेको कुनै गिफ्ट हुनुपर्छ। तर, मैले अनुमान गर्न जरुरी देखिनँ। बरु उल्टै सोधेँ 'यसको बदलामा तिमीले के दिएका थिएऊ?'
उसले कुनै जवाफ दिएन। त्यो बट्टालाई सुरक्षित साथ अगिकै ठाउँमा राख्दै भन्यो 'भैगो, यो भित्रको बस्तुभन्दा योसँग जोडिएको कथा धेरै लामो छ। कुनै दिन फुर्सद मिलेछ भने अवश्य बताउने छु।'
सबथोक देखाउन खोज्दा पनि ऊ केही न केही छुपाएकै हुन्थ्यो। हरेक कुरा खोल्दा पनि ऊ केही न केही लुकाएकै हुन्थ्यो।
ऊ अगिकै ठाउँमा फर्कियो। र जबर्जस्ती हाँस्न कोशिश गर्दै भन्यो 'कुनै बेला के तिमीले मेरो लागि तिम्रो बा-आमालाई छोडन सक्छौ?' भन्ने उसको प्रश्नको जवाफ दिएको थिएँ। हामी कसैले आफ्नो बा-आमालाई छोडनु पर्दैन।
भौतिक रुपमा बिहेपछि तिमीले बा-आमाबाट टाढा हुनै पर्छ। तर, भौतिक साथभन्दा आत्मिक साथ मजबुद हुन्छ। जुन कुरा हामी दुवैले निभाउनु पर्छ र निभाउने छौं। ऊसँग सम्बध बिग्री सकेपछि मैले मेरो बा-आमालाई पनि छोडेर उसलाई साथ दिने कुरा गरेको थिएँ।
ऊसँग सम्बन्ध सुधार्नैको लागि मलाई जन्म दिने आमालाई पनि त्याग गर्न तयार थिएँ। उसलाई पाउनैको लागि सबथोक छोड्न तयार थिएँ, ऊ बाहेक। यो मेरो बौलठी पन हो कि प्रेम? मैले प्रेमको परिभाषा जान्या छैन्।
यदि प्रेम क्षणिक हुन्छ भने उसले जे गरी, ठिक गरी। सम्बन्धहरु पनि क्षणिक हुन्छ भने उसले जे गरी ठिक गरी। हिजो उसलाई मेरो आवश्यकता थियो होला, मसँग प्रेम गरी। त्यो पनि क्षणिक थियो। हामीले खाएको कसम पनि क्षणिक थियो। ती दिनहरु पनि क्षणिक थिए। कति छिट्टै बिते पत्तै भएन।
संसार परिवर्तनशील छ। समय र संसारसँगै ऊ पनि परिवर्तन भइ। अँ! आज सबथोक परिवर्तन भएको छ। म र मेरो मन बाहेक। म आफूले आफूलाई परिवर्तन गर्न सकिनँ। छोडेर जानेहरुलाई फूलमाला लगाएर बिदाइ गर्न सकिनँ। धोका दिएर जानेलाई भुल्न सकिनँ।
थाहा छैन के थियो ऊसँग जो अरु कसैले पूरा गर्न सकेन। किन बर्बाद गरेँ आफ्नै जिन्दगी उसको लागि? राम्रोसँग थाहा छ, अब उसको लागि म एक सामान्य मान्छे मात्र हो। साहेद अब उसले बिर्सी सकी होलि हिजोको हाम्रो सम्बन्ध पनि।
यस अर्थीमा ती यादहरु पनि क्षणिक थिए। उसको भौतिक उपस्थिति पनि क्षणिक थियो। सब थोक क्षणिक थियो।
हामीले एकअर्कालाई चिनेको पनि त्यति धेरै भएको थिएन। फेसबुकमा भेटेका हामी। केही समयमै यति धेरै नजिक भयौँ। भौतिक उपस्थिति त बहाना मात्र रहेछ। आत्मिक रुपमा हामी एकदमै नजिक थियौं।
जुन अवस्थाबाट ऊ गुज्रिरहेको थियो, त्यो क्षणमा उसलाई पनि मेरो आवश्कता छ जस्तो लाग्थ्यो र झन् झन् नजिक हुन्थें। उसले आफ्नो प्रेम सफल नहुनुमा समबन्धभन्दा बढी साधनलाई दोष दिन्थ्यो र अन्तिममा भन्थ्यो, उसले मलाई चिन्न नसक्नु र मैले उसलाई चिन्न नसक्नुनै मुख्य कारण हो।
दोष जति सबै उसलाई नै थुपार्थ्यो। कुनै पनि कुराको परिणाम मुख्य हुँदैन कारण मुख्य हुन्छ भन्दै ऊ भन्थ्यो, ऊ कारण थिइ परिणाममा मैले पनि केही गल्ती गरे होला। उसको एकतर्फी कुराले गल्ती जति सब छोडेर जाने मान्छेकै हो भन्न सक्ने अवस्थामा म पुगिसकेकी थिइन।
तर, एउटा कुरा जो कसैले पनि सजिलै अनुमान गर्न सक्थ्यो ऊ हिजो मात्र होइन, आज पनि उसलाई उत्तिकै माया गर्छ। उत्तिकै प्रेम गर्छ।
ऊसँग कुरा नभएको झन्डै सात/आठ दिन भएको थियो। कारण, उसले आफ्नो फेसबुक डिएक्टिभेट गरेको थियो। एकदिन उसले म्यासेज छोडेको रहेछ। लेखेको थियो, 'आज मभन्दा पनि बढी मेरा बा-आमा कमजोर भएका छन्। मेरो यो बिग्रिएको हालत देखेर उनीहरु सधैँ चिन्ता गर्छन्। ती बाआमा मात्रा होइन म आफूलाई पनि आफ्नै चिन्ता लाग्छ। आफ्नै हालत देखेर सोच्न बाध्य हुन्छु। के यसरी नै जिन्दगी चल्छ होला?
अर्को मनले भन्छ, जिन्दगी हुनेहरुको लागि पो जिन्दगीको चिन्ता। भविष्यको चिन्ता। यसरी भत्किएर बर्बाद भएको जिन्दगीको के चिन्ता! उनीहरु मलाई हिजोको 'म' देख्न आत्तुर छन्। यो हालतमा पुगिसकेको म हिजोको 'म' बन्न कति दिन कुर्नु पर्ने हो? महिनौं बितिसके, म जहाँको त्यहीं छु। बाच्ने आफ्नो लागि मात्र होइन् रहेछ।
अरुको लागि भए पनि बाच्न सिक्नु पर्ने। हाँस्न सिक्नु पर्ने। रमाउन सिक्नु पर्ने। म हरबखत कोशिश गरीरहेछु। म आफू कमजोर भने भएको छैन। यसको ठूलो प्रमाण म आजसम्म जीवित हुनु पनि हो। यो अवस्थामा यदि मैले अन्तिम विकल्प मृत्यु नै रोजे भने पनि त्यसको कारण त्यो हिजोको प्रेम हुने छैन...।'
उसले छोडेको त्यो चालिस पेज लामो म्यासेजलाई पीडिएफमा कन्भर्ट गरेर पठाएको थियो। मलाई त्यो सब पढेर सक्न झन्डै दुई घण्टा जति लाग्यो। विगतदेखि भविष्य समेटिएको त्यो म्यासेजमा केही आशाका धर्साहरु थिए जसले उसलाई आजसम्म जीवित हुनुमा सहयोग गरेको हुनुपर्छ।
उसको त्यो सम्बन्ध र घटेका घटनाहरुले बेलाबेलामा मेरा पनि आँखाबाट आँसु नबगीरहन सकेनन्। समबन्ध बिग्रिएपछि ती दुईबीच भएको घटना रोचक थियो। थाहा छैन उसले भनेको कुरामा कति सत्यता छ र कति झुट।
यो सब पढिसकेपछि ममाथि उसलाई छोडेर जाने मान्छेलाई भेट्ने उत्सुकता एक्कासी झन् झन् बढेर आयो। धेरै दिनपछि एक्टिभ गरेर आएको त्यो म्यासेजको रिप्लाई दिन असमर्थ भएँ। हिजो अस्ति उसको फेसबुक अकाउन्टमा एक्सिस गर्न खोज्दा 'दिस कन्टेन्ट इज नट एभाइलेबल राइट नाउ' भनेर आउथ्यो तर आज उसले मलाई म्यासेन्जरमा मात्र ब्लक गरेको रैछ।
उसको टाइम लाइनमा गएर उसका पोस्टहरु हेर्न थाले। त्यो पहिलो पोस्ट देख्ने बित्तिकै मेरा हातहरु काप्न थाले। आफ्नै आँखाले देखेको त्यो सब पत्याउन गाह्रो भैरहेको थियो। घरि उसले लेखेको चालिस पेज लामो म्यासेज दिमागमा ठोकिन्थ्यो त् घरि उसको वालमा त्यो देखिरहेको तस्बिर।
विश्वास गर्न गाह्रो भइरहेको थियो जुन कुरा आफ्नै आँखाले देखें। हिजोको उसको प्रेम भ्रम हो कि आजको यो तस्बिर? के हामी दुईबीच भएको वार्तालाप पनि भ्रम थियो? आज हजार प्रश्नहरु उब्जिएका छन्। के उसले भने जस्तै सबथोक क्षणिक हुन्छ? सब थोक भ्रम हो? मान्छे मान्छे बीच स्थापित सम्बन्ध मात्र होइन, यो धर्तीमा हाम्रो उपस्थिति पनि भ्रम हो?
हामी दुई बीचको क्षणिक भेटमा पनि ममाथि उसले केही कर्तव्य थुपारिदिएको छ। भ्रम भित्रको वास्तविकता चिरफार गर्नु छ। कोही किन कसैलाई यति धेरै प्रेम गर्छन्? बदलामा कोही किन यति धेरै घृणा गर्छन्? सबथोक भ्रम हो भने वास्तविकता के हो र कुन कुरामा लुकेको छ?
सबथोक क्षणिक हुन्छ भने अजम्बरी के हो र कुन कुरामा लुकेको छ? बाआमाले गर्ने माया र एउटा प्रेमिकाले गर्ने प्रेममा के फरक छ? उसको बाआमाको मायालाई लत्याउन कसरी सक्यो होला एउटा प्रेमिकाको लागि? थाहा छ उसलाई घृणा गर्ने मान्छेलाई प्रेम गर्नुको कुनै अर्थ छैन। तर पनि किन भुल्न सकिरहेको थिएन?
आफूले प्रेम गरेको प्रेमिकालाई भुल्न नसक्ने उसले यो संसारलाई भुल्न कसरी सक्यो होला? बा-आमा नै सबथोक हुन् भन्ने उसले उनीलाई भुल्न कसरी सक्यो होला? आफूले प्रेम गरेको प्रेमिकालाई भुल्न नसक्ने उसले आफूले आफूलाई भुल्न कसरी सक्यो होला?