देश सुचारुरूपले चल्न सकेन। सत्तामा जुन जोगी आए पनि कानै चिरेका। न शासन चलाउन जाने, न अनुशासित बने। न त देशको माया नै थियो, न जनताले रुचाएका थिए। न आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न सके न जनतालाई खुसी पार्न सके।
दशकौंसम्म पनि देश त्यसैको भूमरीमा परेकोले अब एउटा सक्षम प्रधानमन्त्री खोज्नुपर्यो भनेर देशका सबै तह-तप्काका विज्ञहरूको समूह बनाएर प्रधानमन्त्री खोज्ने उच्चस्तरीय टोली गठन भयो। त्यसमा सबैले समर्थन जनाए।
उच्चस्तरीय टोलीले पक्कै पनि अब साँच्चै नै सक्षम प्रधानमन्त्री चुन्नेछ भनेर सबै ढुक्क बने। देशको मुहार फेरिने आशा पलायो। गोरखापत्रको पहिलो पृष्ठमा दृष्टी गुमाएकाहरूले पनि देख्न सक्ने जस्ता भिमकाय अक्षरमा विज्ञापन छापियो- देशको प्रधानमन्त्री पदको लागि आवेदन खुला।
म त्यही घडीको प्रतिक्षमा थिएँ। मलाई पनि पहिलेदेखि नै प्रधानमन्त्री बन्ने तीव्र इच्छा थियो। यो देशमा जनताले चुनावमा पराजित गरेका मान्छे प्रधानमन्त्री बनेका थिए। देश छोडेर वर्षौं विदेशमा बसेकाहरूलाई झिकाएर प्रधानमन्त्री बनाइएको थियो।
आइए पनि पास नगरेका प्रधानमन्त्री बनेका थिए। खुल्लम खुला जनताका घाँटी गिंडेका मन्छेहरू प्रधानमन्त्री बनेका थिए। च्याँखे थापेर कहिले यता त कहिले उता गर्ने मान्छे प्रधानमन्त्री बनेका थिए। आफ्नै दलका नेतालाई अन्तर्घात गर्ने मान्छे प्रधानमन्त्री बनेका थिए।
विरोधीसँग मिलेर आफ्नै दल फुटाउने मान्छे प्रधानमन्त्री बनेका थिए। देशका नदीनाला बेच्ने मान्छे प्रधानमन्त्री बनेका थिए। आफ्नो देशको भन्दा छिमेकी देशको माया मान्ने मान्छे प्रधानमन्त्री बनेका थिए। आफ्नो स्वास्थ्यको समेत हेरचाह गर्न नसक्ने वृद्ध त रोगी प्रधानमन्त्री बनेका थिए। मैले सोचेँ, म पनि केमा कम छु र? ठोक्दिएँ निवेदन।
श्रीमतीले थाहा पाइन् र भनिन् 'बहुलायौ कि के हो?'
कुनै दिन मैले श्रीमतीसँग भनेको थिएँ- 'म यो देशको प्रधानमन्त्री बनेँ भने यसो गर्छु, उसो गर्छु' भनेर।
तर त्यो बेला उनले मेरो कुरा दाहिने कानले सुनेर देब्रे कानले उडाएकी थिइन्। मैले आफूलाई चिन्नुभन्दा बढी उनले मलाई चिनेकी थिइन्।
उनले मैले दुई वटा काममा हात नहालेकै वेश भन्थिन्। ती दुई काम थिए- राजनीति र व्यापार। उनले भनेको सही थियो। ती दुई कुरा मेरो लागि बनेका थिएनन्, त्यसैले म समाज सेवामा लागेको थिएँ।
भगवानले तिमी सोच म पुर्याउँछु भन्छन् भन्ने सुनेको थिएँ, पत्यार लागेको थिएन। त्यो विज्ञापन छापिएको कुरा सुनेपछि साँच्चै हो कि जस्तो लाग्न थालेको थियो। कता-कता मेरो प्रधानमन्त्री बन्ने सपना पूरा हुन लागेको भान हुन थालेको थियो।
'कोशिश गर्दैमा के जान्छ त?' मैले श्रीमतीलाई सम्झाएँ।
'घर त राम्ररी चलाउन नसक्नेले चलाउँछौ देश? निवेदन दिएको अरु कसैलाई नभन्नू। अरुले थाहा पाए भने मेरो बेइज्जत हुन्छ' उनले भनिन्। म हाँसें।
कहिले कुनै पत्रिका नपढ्ने र त्यसमा पनि गोरखापत्र त झन् टाढाबाट पनि नहेर्ने मैले खोजी खोजी गोरखापत्र ल्याउन लगाएर निकै ध्यान दिएर प्रधानमन्त्रीको आवेदनको लागि चाहिने योग्यता पढें।
प्रधानमन्त्री जस्तो पद, देश सम्हाल्ने मान्छे, त्यसको लागि चाहिने योग्यता चानचुने थिएन, तर भाग्यवश मेरा सबै योग्यता त्यसको लागि ठ्याक्कै मिले। त्यसैले श्रीमतीले जे भने पनि म प्रधानमन्त्री बन्न योग्य थिएँ भन्ने मलाई थाहा थियो।
आवश्य योग्यताहरू यस्ता थिएः
- वंशज नेपाली नागरिक हुनुपर्ने
- देशभक्त हुनुपर्ने
- शैक्षिक योग्यताः स्नातकोत्तर या सोभन्दा बढी
- भ्रष्टाचारमा नमुछिएको
- युवा हुनुपर्ने
- जनताको विश्वास जित्न सक्ने
- समाज सेवामा अनुभव भएकोलाई प्राथमिकतामा राखिने
सबैजसो योग्यता मिलेपछि मैले पनि आफ्नो योग्यता, आफूले हासिल गरेका सफलता र अन्य सबै कामहरूको विवरण सहित निवेदन हालेको थिएँ।
निवेदनको लागि एक हप्ता समय सीमा तोकिएको थियो। एक लाखभन्दा बढी निवेदन परेछन्। ती निवेदनबाट अयोग्यहरूलाई हटाएर योग्यता पुगेकाहरूलाई मात्र अन्तर्वार्तामा बोलाउने योजना थियो। तर सबैजसो निवेदकहरूको आधारभूत योग्यता पुगेको थियो।
सबैलाई अन्तर्वार्तामा बोलाउन सम्भव नभएकोले ती एक लाख हाराहारीका निवेदकहरूबाट १०० जनालाई चिठ्ठाको आधारमा चयन गर्ने, त्यसपछि तिनै १०० जनलाई अन्तर्वार्तामा बोलाउने र तिनै मध्येबाट एकजनालाई प्रधानमन्त्री नियुक्ति हुने निर्णय गरियो।
जसको भाग्य बलियो छ ऊ नै प्रधानमन्त्री हुने भयो। भाग्यको कुरा आएपछि म तुरुन्तै हात हेराउन गएँ। पाँच हजार दक्षिणा अगाडि राखेर ज्योतिषीलाई मेरो हात देखाएँ। उनले मेरो भाग्य बलियो भएको बताएपछि मेरो आशाको मुना झन् पलाउन थाल्यो।
अन्तर्वार्ताका लागि चिठ्ठाबाट १०० जना छान्ने प्रकृयामा कुनै पनि धाँधली नहोस् भनेर निकै पारदर्शी रुपमा टेलिभिजनहरूमा प्रत्यक्ष प्रसारण गरेर ती सय जना छान्ने कुरा निर्णय भएको थियो। चिठ्ठाको नतिजा निस्कने दिन मेरो मन निकै डराएको थियो।
तर ज्योतिषी सही रहेछन्, लाखका हाराहारीका निवेदकहरूमा १०० जना छान्दा म पनि त्यो भित्रमा परें। मैले पहिले त विश्वास गरेको थिइनँ तर आफू पनि परेपछि मेरो आशाको मुना झन् पछि झन् झाँङ्गिदै जान थाल्यो।
चिठ्ठामा छानिएपछि म जति खुसी थिएँ त्योभन्दा बढी दुखी आफ्नो बेइज्जत भएकोमा मेरी श्रीमती थिइन्। तर मलाई मतलब थिएन। मलाई चिठ्ठा परेको थाहा पाएर मलाई चिन्नेहरूले खिसी गरे। अन्तर्वार्तामा म सोझै फालिन्छु भन्ने सबैको विश्वास थियो, मेरो पनि।
बाहिर दुखी भए पनि भित्र भित्र त मेरी श्रीमती पनि म प्रधानमन्त्री बनूँ भन्ने चाहन्थिन्।
'देख्यौ त, भाग्यले फेरि साथ दियो भने अब म प्रधानमन्त्री बन्ने दिन धेरै छैन' मैले श्रीमतीलाई भनेँ।
'भैसकेको जस्तो गर्छौ त। कस्ले तिम्लाई बन्न दिन्छ? कति पैसाको चलखेल भैरहेको होला' उनले थपिन्।
'त्यही घुस नखाने मान्छे ल्याउन त यत्रो प्रयास भैरहेको छ, कसरी हुन्छ त्यस्तो? यो प्रकृया पुरै पारदर्शी हुन्छ' मैले विश्वाका साथ उनलाई भनेँ।
अन्तर्वार्ता लिनको लागि जम्बो टोली बनाइयो। त्यसमा सबै दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार, न्याय परिषदका सदस्य, आदिवासीका प्रतिनिधि, महिला प्रतिनिधि, सबै धर्मका प्रतिनिधि, सबै भाषाका प्रतिनिधिहरू, युवा प्रतिनिधि, वृद्ध प्रतिनिधि, तेश्रो लिङ्गी प्रतिनिधि, कर्मचारीका प्रतिनिधि सबै मिलाउँदा १०० जनाभन्दा बढीको टोली बन्यो।
अन्तर्वार्ता दिन आउनेलाई उनीहरूले अंक दिने र त्यो अंक जनसंख्याको आधारमा समानुपातिक रुपमा बनाएको गणितीय सुत्रमा हालेर त्यसबाट आउने परिणामको आधारमा प्रधानमान्त्री छनौट हुने भयो। निकै नै समावेशी र वैज्ञानिक रुपमा छनौट हुने भएकोले त्यसमा सबैको सहमती थियो।
अन्तर्वार्ता सुरु भयो। हरेक दिन ५ जनाको दरले अन्तर्वार्ता हुन्थ्यो र अन्तर्वार्ताको सबै भाग र प्रत्याशीहरूले पाएको अंक प्रत्यक्ष प्रशारण हुन्थ्यो। बीस दिन लगाएर सबैको अन्तर्वार्ता पूरा गर्ने र त्यही दिन नै प्रत्यक्ष प्रसारण गरेर सबै प्रतिस्पर्धीहरूले पाएको अंकलाई गणितीय सुत्रमा हालेर सबैको आँखा अगाडि प्रधानमन्त्रीको विजेता घोषणा गर्ने योजना बनेको थियो।
बाह्रौं दिन मेरो पनि अन्तर्वार्ताको पालो आयो। के प्रश्न सोध्लान्, के उत्तर दिने होला भने म अलि डराएको थिएँ। भित्र पसेर म कुर्सीमा बसें। एकातिर म एक्लो, अर्कोतिर मलाई प्रश्न गर्न १०० जनाभन्दा बढी निर्णायकहरू। निकै सम्हालिएर प्रश्नको प्रतिक्षा गरें।
'कति पढ्नु भएको छ?' पहिलो लहरमा बसेका एक जनाले सोधे।
'मसँग चारवटा विश्वविद्यालयको विद्यावारिधीको प्रमाण पत्र छ हजुर' मैले आफूसँग जे थियो त्यही भनेँ। झुटो बोलेको प्रमाणित भएमा अथवा झुटो विवरण पेश गरेको पत्ता लागेमा तुरुन्तै प्रतिस्पर्धीको रुपमा अयोग्य घोषित गरिन्थ्यो। त्यसैले झुटो बोल्ने कुरा पनि भएन।
'ओहो! तपाईँ त हामीले अहिलेसम्म अन्तर्वार्ता लिएकोमा सबभन्दा धेरै शैक्षिक योग्यता भएको हुनुहुँदो रहेछ' मलाई प्रश्न सोध्ने मान्छेको छेउमा बसेकाले भने। म मुसुक्क हाँसें।
'उमेरमा अलि पाको देखिनु हुन्छ नि, हामीले त युवा खोजेको हो नि' अर्को एक जनाले दाहिनेतिरको कुनाबाट सोधे।
'म विद्यार्थी संगठनको सदस्य हुँ, कपाल खुइलिएकोले अलि बुढो देखिएको होला' मैले उत्तर दिएँ।
'अनि कतै भ्रष्टाचारमा मुछिनु भएको त छैन नि?' बीचबाट एकजनाले हात उठाएर सोधे।
'यो मामलामा म निकै शुद्ध छु। मलाई भ्रष्ट्राचार भन्ने शब्द सुन्दा नै रिस उठ्छ। मैले आजसम्म १ पैसा पनि भ्रष्ट्राचार गरेको छैन' मैले जे हो त्यही उत्तर दिएँ।
'धेरै राम्रो' पहिलो लहरका एक जनाले मेरो तारिफ गर्दै भने। मैले टाउको निहुँराएर मुसुक्क हाँस्दै उनीप्रति कृतज्ञता ज्ञापन गरें।
'अनि जनताले तपाईंलाई रुचाउँछन् भन्ने कसरी प्रमाणित गर्न सक्नुहुन्छ त?' फेरि पहिलो लहरकै एक जनाले सोधे।
'मैले आजसम्म कुनै पनि चुनाव हारेको छैन। त्यो नै जनताले म प्रति गरेको विश्वास जस्तो हो जस्तो लाग्छ मलाई' मैले सगौरव उत्तर दिएँ।
'अनि तपाईंको पेशा?' उनैले अर्को प्रश्न सोधे।
'म समाज सेवा गर्छु। त्यसैले नै अब समाज सेवाबाट एक खुड्किलो माथि उक्लेर देश सेवा गर्न चाहन्छु' मैले भने।
'तपाई देशभक्त हुनुहुन्छ जस्तो लाग्छ?' अलि पछाडितिरबाट एकजनाले सोधे।
'म देशभक्त हुँ, यसमा मलाई कुनै शंका छैन' मैले उत्तर दिएँ।
एकछिन् कोही केही बोलेनन्।
'तपाईंहरू मध्ये अरु कसैको केही प्रश्न छ?' पहिलो लहरको बीचमा बसेकाले पछाडि र दायाँ बायाँ हेरेर सोधे। कोही केही बोलेनन्।
'ल उसो भए तपाईंले पेश गरेका सबै विवरण र अन्तर्वार्तामा बोलेका सबै कुरा सत्य हुन् भनेर यहाँ दस्तखत गर्नुस्' एउटा कागज मतर्फ तेर्साउँदै उनले भने। म दस्तखत गरेर सबैलाई नमस्कार गरे बाहिर निस्कें र लामो श्वास फेरें।
अरु एक हप्ताभन्दा बढी मेरो दिमागमा रात दिन प्रधानमन्त्री बन्ने कल्पना गर्दै बिते। निकै अधिर बनेर नतिजा निस्कने घडीको प्रतिक्षा गर्दै म कुरेर बसें। ती आठ दिन मेरो लागि आठ वर्षभन्दा पनि लामा जस्ता लागे।
टिभीमा प्रत्यक्ष प्रशारण गरेर प्रधानमन्त्रीको नतिजा घोषणा हुँदै थियो। कस्ले बाजी मार्ला भन्ने सबैमा कौतुहलता थियो। कस्को अंक कति होला भन्ने कसैलाई पनि थाहा थिएन। कम्प्युटरले सबै अंकको हिसाब गरेर सबभन्दामाथि सबभन्दा बढी अंक ल्याउने प्रतिस्पर्धीको नाम देखाउने मान्छे नै प्रधानमन्त्री बन्नेवाला थियो।
प्रतिक्षाको घडी सकियो। एक नम्बरमा मेरै नाम देखियो, त्यो पनि अरु प्रतिस्पर्धीहरूभन्दा धेरै अंकले अगाडि। मलाई धेरैबेर विश्वास लागेन, म हेरेको हेर्यै भएँ। श्रीमती पनि तीनछक परिन्।
भाग्यले साथ दिएपछि जे पनि हुन सक्दो रहेछ, म आखिर प्रधानमनत्री बनेरै छाडें।
भोज गरियो, खुसीयाली मनाइयो। ज्योतिषीलाई दिन हेराएर कति घडी कति पलामा गृह प्रवदेश गर्ने भनेर त्यही शुभ मुहूर्तमा हामी गृहप्रवेश गर्यौं। मलाई त्यत्रो ठूलो भाग्य प्रदान गर्ने भगवानलाई खुसी पार्न मैले मुसाको बली दिएँ, भैँसीको पूजा गरें।
ज्योतिषीलाई फेरि हात हेराएँ। ज्यातिषीले म अँझै ४ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेपछि मैले उनलाई मोटो रकम पकडाएँ।
प्रधानमन्त्रीको रुपमा मेरो काम सुरु भयो।
अप्रत्याशित रुपमा म प्रधानमन्त्री बनेपछि मलाई नजिकबाट चिन्नेहरू कति त अचम्म मानेर मुर्छा नै परे। तर उनीहरू मुर्छा परुन् कि मरून्, मलाई के मतलब? म प्रधानमन्त्री भैसकेको थिएँ, मेरो सपाना पूरा भैसकेको थियो।
मेरो काँधमाथि देशको सपना पूरा गर्ने जिम्मा थियो तर देशको सपना पूरा गर्ने मेरो क्षमता थिएन, म त्यसको लागि प्रधानमन्त्री बनेको पनि थिइनँ।
मैले शासन सम्हालेको दिनदेखि नै देशमा झन् भद्रगोल हुन थाल्यो। म प्रधानमन्त्री बन्नासाथ मेरो विरोध सुरू भैसकेको थियो। म प्रधानमन्त्री बनूँला भनेर कस्ले पो सोचेको थियो होला र? मलाई नजिकबाट चिन्नेहरू र मेरा विरोधीहरूले मेरो विरुद्ध झुटो विवरण पेश गरेको र अन्तर्वार्तामा पनि झुटो बोलेको भनेर मेरो प्रधानमन्त्रीत्व अवैधानिक छ भनेर अदालतमा मुद्दा हाले।
अदालतले मलाई स्पष्टिकरणको लागि बोलायो। विरोधी वकिलहरू एकातिर म र मेरो वकिल एकातिर। अदालतमा बहस सुरु भयो। चार जना न्यायाधीशको इजलासले त्यो मुद्दा हेर्दै थियो।
'तपाईंले झुटो विवरण पेश गरेर, झुटो अन्तर्वार्ता दिएर प्रधानमन्त्री बनेको भन्ने आरोपमा तपाईं के भन्नु हुन्छ?' एकजना न्यायाधीशले सोधे।
'मैले कुनै पनि झुटो विवरण पेश गरेको छैन श्रीमान्। अन्तर्वार्तामा पनि मैले झुटो बोलेको छैन। म एक एक प्रश्नको उत्तर दिन तयार छु श्रीमान्' मैले आत्मविश्वाशका साथ भने।
'तपाईंको वंशज नेपाली नागरिक हैन भन्ने आरोप छ, यसमा तपाईं के भन्नुहुन्छ?' विपक्षीका वकिलले सोधे।
'मसँग वंशजको आधारमा प्राप्त नागरिकताको प्रमाणपत्र छ भने म कसरी वंशज नागरिक भइनँ?' मैले प्रतिप्रश्न गरें।
'तर श्रीमान्, उहाँ नेपाल जन्मनु भएकै हैन। उहाँका बाबुआमा पनि नेपाली नागरिक हुनुहुन्न भने कसरी उहाँ वंशजको आधारमा नेपाली नागरिक हुनु भयो? वकिलले न्यायाधीशतर्फ हेर्दै सोधे।
'कस्ले के भन्छ भन्ने भन्दा पनि प्रमाणले के भन्छ भन्ने ठूलो कुरो हो श्रीमान्' मैले उत्तर दिएँ। विपक्षी वकिलको मुखमा बुझो लाग्यो।
'ल ठिक छ तर तपाईं नेपालप्रति देशभक्त हुनुहुन्न भन्ने आरोप पनि छ। सार्वजनिक रुपमै तपाईंले देशको गरिमामा आँच आउने अभिव्यक्ति दिनु भएको छ। यसको बारेमा तपाईंले के भन्नु हुन्छ? अन्तर्वार्ताको क्रममा यो त तपाईंले झुटो बोल्नु भयो नि हैन र?' न्यायाधीशले सोधे।
'हो श्रीमान, मैले त्यस्तो अभिव्यक्ति दिएकै हो। मेरो व्यक्तिगत धारणा पनि त्यही हो' मैले भनेँ।
'त्यसको मतलब, उहाँले अन्तर्वार्तामा झुटो बोलेको स्वीकार गर्नुभयो, त्यसैले उहाँलाई तुरुन्त बर्खास्त गर्ने फैसला होस् श्रीमान' विपक्षी वकिलले खुसी हुँदै ठूलो स्वरमा भने।
'मैले झुटो बोलेको छैन श्रीमान्। मेरो अन्तर्वार्ताको रेकर्ड हेर्न सक्नु हुन्छ। उहाँहरूलाई मैले म देशभक्त हुँ भनेको थिएँ। मेरो नामै देशभक्त हो त मैले कसरी हैन भन्ने श्रीमान्? अनि यो कसरी झुटो भयो?' मेरो उत्तर सुनेर विपक्षी वकिलले पसिना पुछे।
'तपाईंले त दश कक्षा पढ्दा पढ्दै छोड्नु भएको रहेछ अनि किन चार वटा विद्यावारिधिको प्रमाणपत्र छ भनेर झुटो बोल्नु भयो?' न्यायाधीशले सोधे।
'हो, मैले दश कक्षा उत्तिर्ण गरेको छैन तर म झुटो बोलेको पनि छैन श्रीमान। मसँग चार वटा विश्वविद्यालयको विद्यावारिधिको प्रमाणपत्र छ। मैले नेपालबाट उनीहरूको विश्वविद्यालयमा पढ्न विद्यार्थी पठाउने काम पनि गर्छु, त्यही गुन तिर्न उनीहरूले मलाई त्यो सम्मान प्रदान गरेका हुन्' मैले प्रष्ट पारें।
'अनि तपाईको उमेर साठी नाघेको छ तर कसरी आफूलाई युवा भन्नु भयो? त्यो झुटो भएन?'
'क्याम्पसमा पढ्ने विद्यार्थीलाई युवा भन्ने कि वृद्ध श्रीमान्?' मैले सोधें।
'युवा' न्यायाधीशले छोटो उत्तर दिए।
'म पनि एउटा क्याम्पसको विद्यार्थी हुँ श्रीमान। आवश्यक परेमा प्रमाणहरू पेश गर्न सक्छु। त्यसैले आफू विद्यार्थी भएको नातामा म आफूलाई युवा नै ठान्छु श्रीमान्। म मात्रै हैन विद्यार्थी बनेर बुढो हुँदासम्म पनि युवाको राजनीति गर्ने, यहाँ धेरै छन्। यसमा मेरो केही दोष छैन श्रीमान।'
मेरो दमदार उत्तरले दर्शकदीर्घाबाट गडड ताली बज्यो। त्यतातिर हेरेर हात हल्लाउँदै म मुसुक्क हाँसेँ।
'अनि चुनाव हारेको छैन भन्नुहुन्छ तर तपाईं त कहिले चुनाव नै उठेको देखिदैन' अर्को न्यायाधीशले मैले अन्तर्वार्तामा दिएका उत्तरहरूको लिखित पत्र हेर्दै सोधे।
'हो, श्रीमान्। म कहिले पनि चुनावमा उठकै छैन, त्यसैले हार्ने कुरो नै भएन' मैले जवाफ दिएँ।
दर्शकदीर्घाबाट हाँसोको फोहरा छुट्यो।
विपक्षी वकिल कराए, 'यस्तो कामलाई सरासर झुटो र किर्ते भन्न मिल्छ श्रीमान्।' तर न्यायाधीशले हथौडा ठोकेर उनलाई चुप गराए र प्रश्न सोध्ने क्रम जारी राखे।
'अनि तपाईंले भ्रष्ट्राचार नै गरेको छैन भन्नु भएको रहेछ। तपाईं त लुटपाट मचाउने गुण्डा हुनुहुन्छ भन्ने विपक्षीको दावी छ, के छ यसमा तपाईंको स्पष्टिकरण?'
'हो श्रीमान, मैले भ्रष्ट्राचार गर्दिनँ। आवश्यक परेमा म सोझै लुटपाट गर्छु। मलाई भ्रष्ट्राचार गर्ने आवश्यकता नै छैन' मैले उत्तर दिएँ। दर्शकहरू फेरि जोडले हाँसे।
'अनि समाज सेवा? के समाज सेवा गर्नुहुन्छ, लुटपाट?' जङ्गिदै न्यायाधीशले सोधे।
'मैले मेरो जिल्लाका सबै सरकारी ठेक्काहरू लिने गरेको छु श्रीमान्। त्यहाँ बाटाघाटा, पुल पुलेसा, सरकारी भवन सबै मेरै कम्पनीले गर्छ श्रीमान्। जिल्लाका कुनै पनि ठेकेदारहरूले टेन्डरमा भाग नै लिँदैनन्। सधैं मेरो कम्पनीको मात्र टेन्डर पर्छ।
तर के गर्नू, आफ्नै जिल्लाको काम हो भनेर समाज सेवा सम्झेर सबै काम मैलै नै गर्ने गरेको छु श्रीमान्। अरु कसैले गर्न नचाहेने काम मैले समाजको लागि गर्दा त्यो समाजको सेवा भएन र श्रीमान?' मैले नम्र हुँदै सोधें।
विपक्षी वकिल मुर्छा हुन मात्र बाँकी थियो। दर्शकदीर्घामा हाँसोको साथै खासखुसको आवाज सुनिन्थ्यो। सबै प्रश्नहरू सोधिसकेर न्यायाधीशहरूले आपसमा छलफल गरे। मलाई थाहा थियो, मेरो झुट प्रमाणित गर्ने उनीहरूसँग एउटा पनि प्रमाण थिएन किनभने म जे बोलेको थिएँ सबै सत्य नै बोलेको थिएँ।
उनीहरू कानुनले बाँधिएका थिए। इजलासमा बसेका न्यायाधिसले हथौडा ठोकेर आफ्नो फैसला सुनाए, 'प्रधानमन्त्रीले निवदेन र अन्तर्वार्तामा पेश गरेका र बोलेका कुराहरू कुनै पनि कुरा झुटो सावित हुन नसकेकोले यो मुद्दा खारेज गरिन्छ।'
अदालतको फैसलाले मेरा विरोधीहरू एकपल्ट फेरि मुर्छा परे। शिर ठाडो पार्दै अरु चार पटक प्रधानमन्त्री बन्ने मिठो कल्पना बुन्दै म अदालत परिसरबाट निस्केर प्रधानमनत्रीको कार्यालयतिर लागें। अदालतले मलाई सफाई दिइकोमा मेरा समर्थकहरू मेरो जयजयकार गर्दै थिए।